बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

स्पष्टीकरण सोध्ने सरकारको निर्णयपछि सामाजिक सञ्जालमा गुरु भट्टराईले पोखे आक्रोश

बुधबार, २० साउन २०७८, ११ : ५६
बुधबार, २० साउन २०७८

 सरकारले स्पष्टीकरण सोध्ने निर्णय गरेको रेल्वे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले सामाजिक सञ्जालमा सत्ता पक्षका नेताहरुप्रति आक्रोश पोखेका छन् ।

उनले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालप्रति सामाजिक सञ्जालमार्फत आक्रोश पोखेका हुन् ।

बुधबार मध्यरात आफ्नो फेसबुक पेजमा स्टाटस लेख्दै उनले आफूलाई स्पष्टीकरण सोधिएकामा आपत्ति जनाएका छन् । ‘शेरबहादुर, प्रचण्ड, माधव सरकारले मलाई आचरणको स्पष्टीकरण सोध्न मिल्छ तर त्यसको आधिकारिकता वा कानुनी प्रश्नको फाइल कम से कम सचिव स्तरबाट उठ्नुपर्छ,’ उनले प्रश्न गरेका छन्, ‘मन्त्रालयमा फाइल नल्याइ, मन्त्रिपरिषदको विधि उल्लंघन गरेर ठाडो आदेशमा गुरु भट्टराईलाई २८ दिने सरकारले स्पष्टीकरण दिने ?’

उनले आफ्नो गल्ती पुष्टि गर्न चुनौती पनि दिएका छन् । ‘मुलुकको हितमा काम गर्दा म अपराधी वा बाधा खडा गर्ने भएछु भने फाँसी लगाउ ।’

लगत्तै अर्को स्टाटस लेख्दै उनले प्रधानमन्त्री शेरबहादुर देउवामाथि टिप्पणी गरेका छन् । देउवाले आफ्नो सालोलाई एजेन्ट बनाएर मेलम्ची आयोजनामा भ्रष्टाचार गरेको भनेर तत्कालीन शाही आयोगले थुनामा पठाएको भन्दै उनले लेखेका छन्, ‘अहिले गुरु भट्टराईले विभिन्न योजनामा चलखेल गरेको स्पष्टीकरण सोधिएको भन्ने छ, नेपाल रेलवे कम्पनीले आयोजना सम्बन्धी काम गर्दैन ।’

आफूले पूर्व प्रधानमन्त्रीको सपना साकार बनाउन जिम्मेवारी स्वीकारेको पनि उनले प्रस्ट पारेका छन् ।

​उनले माधवकुमार नेपाल, प्रचण्ड र शेरबहादुर देउवाले आफूलाई किन नेता बनाउन खोजिरहेका छन् भनेर पनि आश्चर्य प्रकट गरेका छन् । उनले चेतावनी दिँदै लेखेका छन्, ‘तर गुरु भट्टराईले राजनीतिक पार्टीको सदस्यता लियो भने तिनको चिहान खन्ने काम त्यही दिनबाट सुरु हुन्छ, प्रस्ट भए हुन्छ ।’

उनले आफूलाई स्पष्टीकरण लिन र पदबाट बर्खास्त गर्न मुख्यरुपमा प्रचण्ड र माधवकुमार नेपालको भीषण दबाब रहेको भन्दै प्रश्न गरेका छन्, ‘गुरु भट्टराई देखेर तीन कान्ला हामफाल्नेहरुले यो देश बनाउँछन् भनेर कल्पना गर्नु ?’

उनले माधवकुमार नेपाललाई चुनौती दिँदै लेखेका छन्, ‘माधव नेपाल कहाँबाट चुनाव लड्छन्, २ महिना म त्यहीँ बिताउनेवाला छु । मसँग जोरी खोज्ने माकुनेलाई मैदानमा हिसाब किताब गर्छु ।’

उनले माधवकुमार नेपाललाई ‘राजनीतिक क्यान्सर’ संज्ञा दिँदै काटेर फाल्न आवश्यक रहेको टिप्पणीसमेत गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप