शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

हितेन्द्रदेव शाक्यले भने – मेरा कारणले विद्युत प्राधिकरण बद‍्नाम नहोस्

‘अन्याय गरे अदालत जान्छु, जुनसुकै जिम्मेवारी दिए पनि सम्हाल्छु’
बुधबार, २० साउन २०७८, १७ : १४
बुधबार, २० साउन २०७८

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई हटाएर पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई जिम्मेवारी दिन लागिएको चर्चा चलेसँगै शाक्यले बुधबार केही पत्रकारहरुलाई कार्यालयमा बोलाएर आफ्ना कुराहरु राखे ।

कार्यकारी निर्देशक शाक्यले सरकारले उचित जिम्मेवारी दिए सहयोग गर्ने बताए । सीमित पत्रकारसँग अनौपचारिक भेटघाट कार्यक्रमको आयोजना गरेका शाक्यले सरकारले जुन जिम्मेवारी दिए पनि आफूले सम्हाल्ने बताए ।

गत कात्तिकमा प्राधिकरणको कार्यकारी निर्देशक बनेका शाक्यलाई हटाएर विद्युत् प्राधिकरणमा कुलमान घिसिङलाई ल्याउने चर्चा चलेसँगै शाक्यले यस्तो बताएका हुन् ।

मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाले शाक्यलाई हटाएर घिसिङलाई प्राधिकरणमा ल्याउन उर्जामन्त्री पम्फा भुसाललाई निर्देशनको चर्चा लगत्तै शाक्यले आफू बाटो सहज पारिदिन तयार रहेको बताएका हुन् ।

६ महिनाको अवधिमा आफूले प्राधिकरणमा के–के काम गरें भनेर फेहरिस्त सुनाएका शाक्यले सरकारले अर्को जिम्मेवारी दिँदा जिम्मेवारी लिने बताए । सरकारले हटाएमा वा बर्खास्ती गरेमा के गर्नुहुन्छ भन्ने प्रश्नमा शाक्यले आफूलाई अन्याय गरिए अदालत बाँकी नै रहेको बताए ।

​शाक्यले भने, ‘सरकारले सही ढङ्गले कामको जिम्मेवारी दिँदा म काम गर्न तयार छु । म कर्मचारी भएकाले सरकारले खटाउँदा काम नगर्ने भन्ने भएन । तर मलाई असक्षम देखाएर जबरजस्ती निकाल्न खोजियो वा अन्याय गरियो भने अदातलसम्म पुग्ने बाटो छँदैछ ।’

आफूले सुरुवातदेखि नै कुशलतापूर्वक आफ्नो जिम्मेवारी पूरा गरेको भन्दै उनले भने, ‘मैले कागती लिएर गए पनि ‘लेमेनेट’ बनाएको छु । जहाँ गएको छु, राम्रो गरेको छु । तर, दण्ड दिएर, असक्षम भनेर हटाउन खोजियो भने न्याय खोज्ने नै छु ।’

राजीनामाको सम्बन्धमा पत्रकारको प्रश्नमा शाक्यले आफूलाई कसैलाई राजीनामा दिन निर्देशन वा अनुरोध नगरेको भन्दै त्यस सम्बन्धमा अहिले केही नसोचेको बताए ।

७ महिनाको अवधिमा आफूले ढल्केबरको ४०० केभीए प्रसारणलाइनमा पूर्णता दिएको, लकडाउनका समयमा पनि छिटो छरितो सेवा दिएको, अक्सिजन उद्योगहरुलाई प्यारालाल फिडर दिएको, सिस्टम कोल्याप्स हुने अवस्थालाई गत वर्ष ४० पटक रहेकामा यसपटक ३४ मा झारेको लगायतको प्रगति सुनाए ।

त्यसैगरी अपर तामाकोसीको विद्युत्लाई केन्द्रीय प्रसारण लाइनमा जोडिएको, भारतीय बजारबाट सोझै विद्युत् खरिद गर्न सकिएको लगायत प्रगति सुनाए ।

यस आर्थिक वर्षमा विद्युत् पधिकरणको नाफा घट्नुमा प्रशासकीय नभई प्राविधिक कारण रहेको भन्दै नाफा घट्नुमा आफ्नो कुनै हात नभएको शाक्यले बताए । यस वर्ष डेडिकेडेट फिडर नदिइएको कारण ३ अर्ब ५० करोड कम आम्दानी भएको, भारतबाट गत वर्षभन्दा धेरै विद्युत् ल्याइएको कारण खर्च बढेको र केही चुहावट बढेको कारण नाफामा कमी आएको शाक्यको भनाइ थियो ।

​यसअघि किन पत्रकार भेटघाट नगरेको र अहिले किन भेटघाटको आवश्यकता पर्यो भन्ने पत्रकारको प्रश्नमा शाक्यले आफूले हल्ला नगरिकनै काम गरेकाले अहिले भने कामबारे बोल्नुपर्ने बेला आएको बताए । उनले भने, ‘म चाहन्छु मेरो कारणले प्राधिकरणको बदनामी नहोस् ।’

पत्रकार भेटघाटको उद्देश्यबारे बताउँदै हितेन्द्रले भने, ‘अहिले सामाजिक सञ्जालमा अनेक कुरा आइसकेका छन्, आइरहेका छन् र आउनेछन् । तर, यथार्थ के हो भनेर भन्नैपर्ने भएकाले मैले भेटघाट गरेको हुँ । प्राधिकरणमा म हुनु र नहुनु ठूलो कुरा भएन, तर मेरो कारणले प्राधिकरणको बदनामी हुनु भएन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप