मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : ओलीले देउवालाई प्रतिगामी देख्न थाले, हावाले पुल ढल्दा सांसद चकित !

आइतबार, १७ साउन २०७८, २० : ४७
आइतबार, १७ साउन २०७८

आज २०७८ साउन १७ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–

आजका मुख्य समाचारहरुमा देउवा सरकार प्रतिगामी रहेको ओलीको आरोप, माधवकुमार नेपाल समूह सरकारमा सहभागी नहुने प्रचण्डको ब्रिफिङ, चौतर्फी दबाबपछि दार्चुला घटना छानबिन गर्न समिति गठन, संसदीय समितिमा पक्की पुल हावाले उडाएकोबारे चर्चा, कोरोनाको तेस्रो लहरको सामना गर्न रणनीति बनाउँदै सरकार, जोखिम भत्ताको माग गर्दै वीर अस्पतालमा आन्दोलन, मेलम्चीमा फेरि बाढी लगायत छन् ।

१. प्रतिपक्षी रवाफमा ओली : ‘देउवा सरकार प्रतिगामी’

पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिपक्षी रवाफ देखाउँदै देउवा सरकारलाई ‘प्रतिगामी’ संज्ञा दिएका छन् । आइतबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नै पार्टीका ‘बिग्रिएका तत्वहरु’ का कारण वर्तमान सरकार बन्ने अवस्था आएको बताए । आइतबार नै बसेको एमाले स्थायी कमिटीको बैठकले भने पार्टीलाई एकतावद्ध गरेर लैजान सबै प्रयास गर्ने निर्णय गरेको छ । उक्त बैठकमा उपाध्यक्ष बामदेव गौतम सहभागी भए पनि माधव नेपाल पक्षका नेताहरु भने सहभागी भएनन् ।

२. सरकारमा माधव नेपाल पक्ष सहभागी नहुने प्रचण्डको ब्रिफिङ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारमा माधवकुमार नेपाल पक्ष संस्थागत रुपमा सहभागी हुने सम्भावना नरहेको बताएका छन् । नेता नेपालसँग आइतबार नै छलफल गरेका प्रचण्डले त्यसपछि बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा यस्तो ब्रिफिङ गरेका हुन् । उनले अब मन्त्रिपरिषदलाई चाँडै नै पूर्णता दिएर अघि बढ्नुको विकल्प नरहेको समेत बताए ।

३. चौतर्फी दबाबपछि दार्चुला घटना छानबिन गर्न समिति गठन

भारतीय सुरक्षाकर्मीले तुइनको तार काट्दा दार्चुलामा तुइनबाट महाकाली नदी पार गरिरहेको अवस्थामा नदीमा खसेर एक नेपाली बेपत्ता भएको घटना छानबिन गरी दोषीमाथि कारवाही प्रक्रिया अघि बढाउन सरकारमाथि चौतर्फी दबाब परेको छ । आइतबार सोही दबाबका कारण गृहमन्त्रालयले सहसचिव जनार्दन गौतमको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ । भारतीय सुरक्षाकर्मीको ज्यादतीका कारण नेपाली नागरिक नदीमा बेपत्ता भएको भन्दै आइतबार राजधानीमा राष्ट्रिय युवा संघले विरोध प्रदर्शन गरेको छ । आइतबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सांसद दीपकप्रकाश भट्टले समेत उक्त घटनाको छानबिन गर्न माग गरे । यस्तै, विप्लव नेतृत्वको नेकपाले पनि सो घटनाको विरोधमा दाङको घोराहीमा प्रदर्शन गरेको छ ।

४. सडक विभागका पदाधिकारी र ‘ठेकेदार सांसद’को जिकिर– पक्की पुल हावाले उडाउन सक्छ

आइतबार संसदको विकास तथा प्रविधि समितिमा सडक विभागका पदाधिकारी र ‘ठेकेदार सांसद’ले अनौठो दलिल पेस गरेका छन् । उनीहरुले हावाले पनि पुल उडाउन सक्ने जिकिर गरेका हुन् ।

५. कोरोनाको तेस्रो लहरको सामना गर्न रणनीति बनाउँदै सरकार

सरकारले कोरोना संक्रमणको पूर्व तयारीसम्बन्धमा रणनीति बनाउन थालेको छ । सोही क्रममा आइतबार गृहमन्त्रालयमा बसेको कोभिड–१९ सम्बन्धी बैठकले राज्यका सबै संयन्त्रबीच सहकार्यका आधारमा परिचालन तथा नागरिक तहको समेत सहभागिता अनिवार्य हुने निष्कर्ष निकालेको छ । होल्डिङ सेन्टर निर्माणलाई तीव्रता दिनुपर्ने, अक्सिजनको व्यवस्था गर्नुपर्ने, सीमा नाकामा खोप लगाउने व्यवस्था गर्नुपर्ने लगायतका निष्कर्ष बैठकले निकालेको हो ।

६. जोखिम भत्ताको माग गर्दै वीर अस्पतालमा आन्दोलन

कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) मा स्वास्थ्यकर्मीहरु जोखिम भत्ताको माग गर्दै आन्दोलनमा उत्रिएका छन् । मन्त्रालयले गत आर्थिक वर्षमा रकम निकासा गरे पनि समयमै वितरण नहुँदा उक्त रकम फ्रिज भएको थियो । स्वास्थ्यकर्मीको आन्दोलनका कारण आइतबार अस्पतालको सेवा प्रभावित भएको थियो ।

७. मेलम्चीमा फेरि बाढी

मेलम्चीमा शनिबार रातिदेखि आएको बाढीले रेडियो मेलम्चीको भवन ढलेको छ भने चनौटेको रातो पुल पनि बगाएको छ । यसअघि असार १ गते आएको बाढीले हेलम्बु, किउल र मेलम्ची बजारलाई बगरमा परिणत गरेको थियो ।


८. म्याद गुज्रेका सामानमा नयाँ मिति राख्दै बजारमा पठाउने गरेको खुलासा, गोदाममा छापा

म्याद गुज्रिएका विभिन्न सामानमा नयाँ मिति राखेर बजारमा पठाउने कार्यमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार काठमाडौंको सानो भ¥याङस्थित एक गोदाममा छापा मार्दा प्रहरीले एक करोडभन्दा बढी मूल्यको म्याद गुज्रिएका सामानसमेत बरामद गरेको छ ।


९. कर्णालीमा डुंगा पल्टियो, एक जनाको शव फेला, तीन जना बेपत्ता

सुर्खेतको चौकुने र कैलालीको मोहन्याल गाउँपालिकाको बीचमा पर्ने कर्णाली नदीमा आइतबार डुंगा पल्टिँदा एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना बेपत्ता भएका छन् ।

१०. दुई हजार ५६८ संक्रमित थपिए

नेपालमा पछिल्लो २४ घण्टामा दुई हजार ५६८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यो अवधिमा कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएको छ भने दुई हजार २० जना संक्रमणमुक्त भएका छन् ।

११. र यो पनि,

साउन २६ देखि लागू हुने गरी राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको कायम मुकायम प्रधानसेनापतिको जिम्मेवारी प्रभुराम शर्मालाई तोकेकी छन् ।

सरकारले अर्थ सचिव शिशिरकुमार ढुंगानालाई सरुवा गर्दै उनको स्थानमा मधुकुमार मरासिनीलाई ल्याएको छ । मरासिनी यसअघि महालेखा नियन्त्रक थिए ।


सर्वोच्च अदालतले लुम्बिनी प्रदेशसभाका तत्कालीन सांसद दधिराम न्यौपाने र दिनेश पन्थीलाई सांसद पदबाट हटाएको बारेमा विपक्षीसँग लिखित जवाफ माग गरेको छ । उनीहरुलाई माओवादी केन्द्रले कारवाही गरेको थियो ।


अर्घाखाँची जिल्लामा निषेधाज्ञा थप कडा तुल्याइएको छ । अब बाहिरी जिल्लाबाट आउने सवारी साधनले सवारी पास लिएरमात्र जिल्लामा प्रवेश पाउने भएका छन् ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप