बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

नयाँ हाकिमबाट पनि जोखिम भत्ता आएन, वीरमा चर्कियो आन्दोलन

४ महिनाभित्र जोखिम भत्ता स्वास्थ्यकर्मीले पाउँछन् : डा. गौतम
आइतबार, १७ साउन २०७८, १७ : ११
आइतबार, १७ साउन २०७८



कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)का स्वास्थ्यकर्मी जोखिम भत्ता माग गर्दै आन्दोलित भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्यकर्मीको लागि आवश्यक रकम निकासा गरे पनि समयमै वितरण नभएपछि गएको आर्थिक वर्षमा सो रकम त्यत्तिकै फ्रिज भएको थियो ।

कोरोनाको पहिलो लहरदेखि फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी तथा सफाइकर्मी लगायतका कर्मचारीले जोखिम भत्ता र ओभरटाइम काम गरेबापतको अतिरिक्त रकम तथा सधैँ खाइपाइ आएको औषधि उपचार खर्च समेत नपाएको आन्दोलनरत पक्षको भनाइ छ ।

 महामारीमा दिनरात खटिए काम गरे पनि जोखिम भत्ता नपाएकाले बाध्य भएर काम छाडेर आन्दोलनमा उत्रिएका नर्स सीता भुसालले बताइन् ।  ‘कोरोना बिरामीको चाप हुँदा हामीले  दिनरात खटिएर बिरामीको सेवा गर्‍यौँ,’ उनले भनिन्, ‘डा.बाहिरबाहिरबाट हेरेर जान्थे उनीहरूले जोखिम भत्ता पाए तर हामीले पाएनौँ ।’

कोभिड वार्डमा कार्यरत सफाइकर्मी पार्वती महर्जनले पहिलाको   निर्देशकले जोखिम भत्ता नदिइ गएको र  अहिले आएको नयाँ व्यवस्थापकले पनि नदिएको गुनासो गरिन् । वीरमा केही महिनाअघि नयाँ कार्यकारीको रूपमा डा जागेश्वर गौतम पुगेका थिए ।

उनीहरूले आफूहरूले पाउनुपर्ने रकम दिन निरन्तर आग्रह गर्दा पनि सुनुवाइ हुन नसकेपछि आन्दोलन गर्नुपरेको बताउँदै आएका छन् । भत्ताको माग गर्दा अस्पतालका प्रमुख कार्यकारी अधिकारी डा. जागेश्वर गौतमले प्रहरी बोलाएको आन्दोलनकारीहरुले आरोप लगाएका छन् । आक्रोशित उनीहरूले जोखिम भत्ता माग गर्दै आइतबार गौतमको राजीनामा समेत माग्दै चर्को नाराबाजी गरेका थिए ।

आन्दोलन कारण बिरामीलाई सास्ती

आइतबार स्वास्थ्यकर्मीले सेवा सुविधा माग गरेर आन्दोलन गर्दा अस्पतालको सेवा अवरुद्ध भएको थियो । अस्पतालको पुरानो भवनको चौथो तलाको प्रशासन शाखासँगै गरेको विभिन्न वार्डका स्वास्थ्यकर्मीले आन्दोलन भएकाले बिरामीका आफन्तलाई आज हुँदैन भन्दै फिर्ता गरिरहेको थिए । चौथो तल्लाको ज्येष्ठ नागरिक सामाजिक सुरक्षा कार्यक्रममा बालुवाटारका विनोद पराजुली ८० वर्षीय दिदीको उपचार भइरहेकाले हातमा कागजात लिएर बन्द ढोका अगाडि उभिएका थिए ।

आईसीयूमा उपचाररत दिदीको ब्लड, पिसाब लगायतका परीक्षणको रिपोर्ट आजै बुझाउनुपर्ने डाक्टरले भनेको बताउँदै उनले आन्दोलनका कारण काम नभएकाले निकै मन आत्तिएको रातोपाटीलाई बताए ।

आन्दोलनकारी अस्पतालका प्रमुख कार्यकारी अधिकारी डा. गौतमको कार्यकक्षमा समेत गएर चर्काचर्की गरिरहेका देखिन्थे ।

 भत्ता स्वास्थ्यकर्मीले पाउँछन् : गौतम

कोरोनाको पहिलो लहरदेखि नै फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी, सफाइकर्मी र कर्मचारीले तलब नपाएको अस्पतालका प्रमुख कार्यकारी अधिकारी डा. गौतमले स्वीकारे । उनले क्रमशः स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलब्ध गराउने रातोपाटीलाई बताए ।

 अस्पताल यही ढङ्गले अझै ३ महिना जति सञ्चालन भएमा क्रमशः सबै फ्रन्टलाइनर स्वास्थ्यकर्मीले जोखिम भत्ता पाउने उनको भनाइ छ ।

 ‘अस्पतालले कमाएपछि क्रमशः भत्ता दिन्छ, पहिलैदेखि जोखिम भत्ता पाउनु भएको रहेनछ,’ उनले भने, ‘अस्पतालले दिनै नसक्ने स्थितिमा कसरी भत्ता दिने ? तर, अस्पतालले अब क्रमशः भत्ता दिन्छ, नियमित तलब सबैले पाउनु भएको छ, सुनियोजित ढङ्गले मेराविरुद्ध आन्दोलन भएको छ ।’

अस्पतालले क्रमशः गति लिँदै गरेको अवस्थामा केही स्वार्थ समूहले अनावश्यक लफडा गर्न उक्साइरहेको उनको आरोप छ ।

सही कामको विरुद्धमा लाग्नेसँग आफू कहिल्यै पनि नझुक्ने समेत उनले सुनाए ।

भएको के हो ?

कोभिड उपचार संलग्न स्वास्थ्यकर्मीलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जोखिम भत्ता उपलब्ध गराए पनि वीर अस्पतालका पूर्व निर्देशक केदार सेन्चुरीको कार्यकालदेखि नै फ्रन्टलाइनरहरुले जोखिम भत्ता नपाएका हुन् ।

 स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वीर अस्पताललाई कोभिड बिरामीको उपचारका तथा स्वास्थ्य सामग्री खरिद लागि पठाएको दुई करोड मात्रै खर्च गरेर बाँकी ३८ करोड रुपैयाँ फ्रिज भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप