बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रचण्डको ब्रिफिङ : माधव समूह सरकारमा आउने सम्भावना टर्‍यो, अब मन्त्रिमण्डललाई पूर्णता

‘हामी पनि एमाले नफुटोस् नै भन्न चाहन्छौँ’
आइतबार, १७ साउन २०७८, १५ : २९
आइतबार, १७ साउन २०७८

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेको माधव नेपाल समूह तत्काल गठबन्धनको सरकारमा सहभागी हुने सम्भावना टरेको बताएका छन् । आइतबार कोटेश्वरस्थित पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकमा सदस्यहरूलाई ब्रिफिङ गर्दै अध्यक्ष प्रचण्डले एमालेको माधव समूह संस्थागत रूपमा सरकारमा सहभागी हुने सम्भावना नरहेको बताएका हुन् । 

‘उहाँहरू (माधवजी) लाई अहिले नै सरकारमा सहभागी हुन समस्या छ, व्यक्तिगत रूपमा आउने कुरा बेग्लै भयो’, प्रचण्डले बैठकमा गरेको ब्रिफिङ उद्धृत गर्दै एक स्थायी समिति सदस्यले भने, ‘अब तत्काल उहाँहरू नआउने भएपछि मन्त्रिमण्डललाई पूर्णता दिएर अघि बढ्नुको विकल्प छैन ।’

​आइतबारको बैठकअघि अध्यक्ष प्रचण्डले नेता नेपालसँग सरकारमा सहभागी हुने नहुनेबारे नेता नेपाललाई भेटेर छलफल गरेका थिए । अध्यक्ष प्रचण्डले बैठकमा आफूले माधव नेपाललाई सरकारमा सहभागी हुन गरेको आग्रहका सन्दर्भमा नेता नेपालले पनि संस्थागत रूपमा सहभागी हुन नसक्ने जवाफ दिएको बताएका थिए । ‘एमाले एकताको प्रयास भइरहेको छ । माधवजी त्यसमा पनि लागिरहनुभएको छ । हामी पनि एमाले नफुटोस् नै भन्न चाहन्छौँ । एमाले फुट्दा कम्युनिस्ट आन्दोलनलाई पनि केही न केही क्षति हुन्छ,’ प्रचण्डको भनाई थियो । 

​बैठकपछि माओवादी नेता नारायणकाजी श्रेष्ठले गठबन्धन र सरकारले गरिरहेका कामहरूबारे अध्यक्ष प्रचण्डले ब्रिफिङ गरेको जानकारी दिए । साथै उनले सरकारको काम जनमुखी र प्रभावकारी बनाउनेबारेमा छलफल भएको पनि जानकारी दिए । बैठकले यसअघि साउन २० गतेबाट बस्ने भनिएको केन्द्रीय कमिटी बैठक साउन ३० गतेबाट बस्ने गरी मिति परिवर्तन गरेको जानकारी दिए । 

पार्टीका सबै कमिटीहरूलाई साउन ३० गतेभित्र वडा कमिटी गठन गर्न पनि माओवादीले मातहतका कमिटीलाई निर्देशन दिएको छ । 

​त्यस्तै माओवादीले मन्त्रिमण्डलमा जाने नेताहरूको नामबारे सोमबार बैठक बसेर टुङ्गो लगाउने भएको छ । ‘सरकार गठनलाई पूर्णता दिने सम्बन्धमा भोलि पुनः बैठक बसेर निर्णय गर्नेछ । आज अध्यक्ष प्रचण्डले सत्ता घटकहरूसँग बसेर छलफल गर्नुहुनेछ,’ नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए । त्यस्तै उनले पार्टीबाट सरकारमा जाने नेताहरूका बारेमा अध्यक्ष प्रचण्डलाई निर्णय गर्ने अन्तिम अधिकार दिइनसकेको पनि बताए । 

बैठकले महाकाली नदीमा तुइनबाट खसेर बेपत्ता भएकोप्रति बैठकमा गम्भीर ध्यानाकर्षण भएको भन्दै घटनाबारे सरकारलाई छानबिन गर्न र दोषीलाई कारबाहीका लागि भारतसँग पहल गर्न माग गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप