रातोपाटी ब्रिफिङ : ‘ओली सूत्र’ ले एमालेमा हलचल (भिडियोसहित)
आज २०७८ असार १६ गते । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–
आजका मुख्य समाचारहरुमा स्थायी कमिटीमा ८ जना थप्ने एमालेको निर्णय, महाधिवेशन आयोजक कमिटी भंग, माधव नेपाल समूहको बैठक आह्वान, संवैधानिक इजलासमा नियमित बहस, संवैधानिक निकायमा नियुक्तिविरुद्ध सर्वोच्चमा पूरक निवेदन, मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, रुपा सुनार प्रकरण र कोरोनाको नियमित अपडेटलगायत छन् ।
१. जेठमा फर्किएनन् ओली, माधव नेपाल समूहले बोलायो बैठक
२०७५ साल जेठ २ अघिको संरचनामा फर्कन तयार रहेको बताएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अन्ततः २०७७ फागुनभन्दा पछाडि फर्कन सकेनन् । बुधबार बालुवाटारमा बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले एमालेलाई २०७७ फागुन २८ सम्म फर्काएको छ । जबकि, माधव नेपाल पक्षले २०७५ जेठ २ मा फर्कनुपर्ने शर्त राख्दै आएको छ । ओलीले पार्टी मिलाउने उद्देश्यले यस्तो निर्णय गराएको भए पनि उनको यो सूत्रले काम नगर्ने संकेत देखिएको छ ।
आजै बसेको एमाले महाधिवेशन आयोजक कमिटीको बैठकले यसअघि गठन गरिएको महाधिवेशन आयोजक कमिटी भंग गरेको छ भने ८ जना स्थायी कमिटी सदस्य थप गरिएको छ । थप गरिएका स्थायी समिति सदस्यमा एमालेका ४ र पूर्वमाओवादी धारका ४ जना रहेका छन् ।
पूर्व माओवादीका चार नेता एमाले स्थायी कमिटीमा |
२. विघटन मुद्दामा बहस जारी
संवैधानिक इजलासमा बुधबार पनि सुनुवाइ जारी रह्यो । बुधवार सरकारको तर्फबाट सहन्यायाधिवक्ताहरु गोपालप्रसाद रिजाल, सञ्जीवराज रेग्मी, लोकराज पराजुली, खेमराज ज्ञवाली, उद्धव प्रसाद पुडासैनी र उप न्यायाधिवक्ता दशरथ पंगेनीले बहस गरे ।
सरकारी वकिलको बहस सकिएपछि प्रधानमन्त्री ओलीका तर्फबाट बरिष्ठ अधिवक्ता सुशील पन्त, सुरेन्द्र भण्डारी र विजयकान्त मैनालीले बहस गरे । मैनालीको बहस बिहिबार पनि जारी हुनेछ ।
३. मन्त्रिपरिषद् बैठक : रोकिएन राजनीतिक नियुक्ति
मन्त्रिपरिषदको बैठकले राज्यका विभिन्न निकायहरूका विभिन्न पदमा नियुक्ति गरेको छ । राष्ट्रिय योजना आयोगको सदस्य पदमा बाजुराका राजबहादुर गिरीलाई नियुक्त गर्ने निर्णय गरेको छ । राष्ट्रिय समाचार समितिको महाप्रबन्धकमा धनकुटाका सिद्धराज राईलाई नियुक्त गर्ने निर्णय गरेको छ । मदन भण्डारी औद्योगिक विश्वविद्यालय निर्माण समितिको सदस्य पदमा डा. मनराज कोलाक्षेपति, डा पदमबहादुर शाही र डा अनिल पोखरेललाई नियुक्ति गर्ने निर्णय गरेको छ । यसैगरी बैठकले वीर भक्ति थापालाई राष्ट्रिय विभूतिमा थप गर्ने निर्णय पनि गरेको छ ।
४.रुपा सुनार प्रकरण ः सरस्वती गइन् आयोग
जातीय भेदभाव तथा छुवाछुतको कसुर लागेकी सरस्वती प्रधानले आफूले छुवाछुत तथा विभेदकारी व्यवहार नगरेको दाबी गरेकी छिन् । रुपा सुनार लगायतलाई कारबाहीको माग गरेकी छिन् । बुधबार सरस्वतीले राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दिँदै सञ्चारकर्मी रुपा सुनारमाथि आफुले कुनै प्रकारको विभेद एवं छुवाछुतको व्यवहार नगरे पनि आफूमाथि षडयन्त्र गरी प्रहरीमा थुनाएको भन्दै उनलाई हदैसम्मको कारबाही गर्न माग गरेकी छिन् । यसअघि रुपाले पनि मानवअधिकार आयोगमा उजुरी दिएकी थिइन् ।
उता शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले सरस्वतीलाई लिन झण्डावाल गाडीमा आफू जानु गल्ती भएको स्वीकारेका छन् । सरस्वती प्रधानले सञ्चारकर्मी रुपा सुनारलाई जातीय आधारमा विभेद गरी कोठा नदिएको विवाद केही दिनयता जारी छ ।
५. बढ्न थाले कोरोना संक्रमित
पछिल्लो २४ घण्टामा नेपालमा थप २८ सय बढीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो समय देशभर फेरि संक्रमित बढ्न थालेको तथ्यांकले देखाएको छ । सरकारले निशेधाज्ञा खुकुलो बनाएसँगै कोरोना संक्रमणको दर बढ्न थालेको हो ।
६. विपक्षी गठबन्धनको अभियान जारी
विपक्षी गठबन्धनले बुधबार लेखक तथा बुद्धिजिवीसँग अन्तरक्रिया गरेको छ । सो क्रममा काँग्रेस सभापति शेरबहादुर देउवा, जसपा अध्यक्ष उपेन्द्र यादव, एमाले नेता माधव नेपाललगायतको सहभागिता रहेको थियो । अन्तरक्रियामा नेता नेपालले काँग्रेस सभापति शेरबहादुर देउवाको आग्रहका कारण आगामी कदम चाल्न नसकेको बताएका छन् ।
नेपालले भने, ‘मैले केही गरौं भनेर भन्दा शेरबहादुरजीले होइन, होइन, होइन अदालतको फैसलासम्म केही नगरौं भन्नु हुन्छ ।’
७. सर्वोच्चमा अर्को पूरक निवेदन
अदालतमा मुद्दा विचाराधीन अवस्थामा रहेकै बेला सरकारले पटक–पटक संवैधानिक नियुक्ति गरेको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वाेच्च अदालतमा पूरक निवेदन दर्ता गराएका छन् । प्रतिनिधिसभा नै भङ्ग भएको र संसदीय सुनुवाई नै हुन नसक्ने अवस्थामा संवैधानिक नियुक्ति सिफारिस गर्नु संविधान विपरीतको कार्य भएको भन्दै नियुक्ति बदर गर्न माग गर्दै त्रिपाठीले रिट निवेदन दर्ता गराएका हुन् ।
त्यसैगरी बुधबार कालीगण्डकी डाइभर्सन आयोजना बदर माग गर्दै सर्वाेच्चमा अर्को मुद्दा दर्ता भएको छ ।
८. काँग्रेस नेता निधिको दौडधूप तीव्र
नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेटेका छन् । बुधबार विहान निधि पौडेल निवास बोहोराटार पुगेका थिए । १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गरेका निधिले संस्थापन इतर पक्षसँगको भेटघाटलाई तीव्रता दिएका हुन् ।
९. राउटे युवतीलाई दुर्व्यवहार गर्ने कारागार चलान
सुर्खेतमा राउटे युवतीमाथि यौन दुव्र्यवहार गर्ने तीन जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । सुर्खेत जिल्ला अदालतका न्यायाधीश दिलप्रसाद सापकोटाको एकल इजलासले बुधबार उनीहरूलाई कारागार चलान गर्न आदेश दिएको हो ।
सुर्खेत जिल्ला गुर्भाकोट नगरपालिकाका दोमनबहादुर घर्ती, भूपेन्द्र बुढा र होटल सञ्चालक विनोद पुनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको सुर्खेत जिल्ला अदालतका सूचना अधिकारी नरेन्द्रप्रसाद पोखरेलले जानकारी दिए ।
१०. र यो पनि
विपक्षी गठबन्धनका विद्यार्थी संगठनले प्रधानमन्त्री केपी शर्मा ओलीको विरोधमा देशभर पुत्ला जलाउनेसहितका कार्यक्रम गरेका छन् ।
यसैगरी, इटाली पठाइदिन्छु भनी रकम ठगी गरेको अभियोगमा काठमाडौं बूढानीलकण्ठ बस्ने उदयपुर त्रियुगा नगरपालिका ७ घर भएका ३६ वर्षीय उमेश रेग्मीलाई प्रहरीले पक्राउ गरेको छ ।
इटाली पठाइदिने नाममा ठगी गर्ने पक्राउ |
उता, पूर्वराजा ज्ञानेन्द्र शाहले परिवर्तन र अग्रगमनका चर्का नारा घन्काए पनि जनताले सुखको अनुभूति गर्न नपाएको बताएका छन् । ‘परिवर्तन र अग्रगमनका चर्का नारा घन्काएर जति नै रुपान्तरण गरे पनि जनताले ठोस सुख सुविधा नपाइरहेको बुझिएको छ’ पूर्वराजाले बुधबार एक विज्ञप्तिमार्फत भनेका छन्, ‘आफ्ना मूल्य, मान्यता तथा अस्तित्वलाई समाप्त पार्ने तर सही सिर्जना र सार दिन नसक्ने, आज नेपाली जनताको मन अशान्त रहेको छ ।’
बुधबार नेप्सेमा बुधबार थप ४.१३ अंकको गिरावट भई कारोबार रकम ५ अर्बमा झरेको छ ।
यसैगरी सामाजिक सञ्जालमार्फत बैंकको गोप्य विवरण माग्नेहरुसँग सजग हुन बैंकर्स संघको आग्रह गरेको छ ।
उता, सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आन्दोलनरत पक्षले चार पदाधिकारीको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हस्पिट्यालिटी क्षेत्रमा भिन्न उपस्थिति-‘हर्ष बाटिका’
-
अमेरिकाको म्याडिसनस्थित एक स्कुलमा गोली चल्यो, संदिग्ध छात्रसहित तीन जनाको मृत्यु
-
१२ बजे, १२ समाचार : रविविरुद्ध ३ मुद्दादेखि घट्यो दाल, चामल, तेल र चिनीको बजार भाउसम्म
-
सक्षम र नैतिकवान नागरिक तयार गर्नु सबैको दायित्व : मुख्यमन्त्री कार्की
-
स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन : अध्ययन
-
पुटिनद्वारा सन् २०२४ लाई ‘ऐतिहासिक’ वर्ष घोषणा