मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका ‘टपटेन’ समाचार

सोमबार, २८ कात्तिक २०७९, २० : ४९
सोमबार, २८ कात्तिक २०७९

आज २०७९ कार्तिक २८ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’ मा प्रस्तुत गरेका छौं–

आजका मुख्य समाचारमा गठबन्धनको चुनावीसभा : प्रचण्ड र रामचन्द्र पौडेलले गरे एक अर्काको प्रशंसा, सत्तारुढ गठबन्धनप्रति ओलीको कटाक्ष, तोसिमा कार्कीको उम्मेदवारी कायमै, लुम्बिनीको स्थायी राजधानीबारे विष्णु पौडेल र शंकर पोखरेल आमनेसामने, गुल्मी–२ का उम्मेदवार गोकर्ण र रामकुमारीबीच वाकयुद्ध, झापा–३ मा राजेन्द्र लिङदेनलाई रोक्न कृष्णप्रसाद सिटौलालाई कति सहज ?, प्रचण्डले छाडेको चितवन–३ मा कसले मार्ला बाजी ?, इलाम–१ मा झलनाथलाई कति सहज ? लगायत छन् ।

१. गठबन्धनको चुनावी सभा : प्रचण्ड र रामचन्द्र पौडेलले गरे एक अर्काको प्रशंसा
निर्वाचनको मिति नजिकिँदै गर्दा चुनाव प्रचारका कार्यक्रम तीव्र हुँदै गएको छ । यसै क्रममा सत्तारुढ गठबन्धनको चुनाव सभालाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गरेका छन् । गण्डकी प्रदेश केन्द्रित कार्यक्रममा प्रचण्डले सम्बोधन गरेका हुन् । यस क्रममा प्रचण्ड र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एक अर्काको प्रशंसा गरेका छन् ।.

२. सत्तारुढ गठबन्धनप्रति ओलीको कटाक्ष
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनप्रति कटाक्ष गरेका छन् । चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले गठबन्धनमा रहेका दलहरुका आ–आफ्ना घोषणापत्र रहेको भन्दै ती कार्यान्वयन हुनै नसक्ने दाबी गरे ।  

​३. तोसिमा कार्कीको उम्मेदवारी कायमै
सर्वोच्च अदालतले ललितपुर क्षेत्र नम्बर ३ की उम्मेदवार डा तोसिका कार्कीको उम्मेदवारीसम्बन्धी विवादमा यसअघिको अन्तरिम आदेशलाई निरन्तरता दिएको छ । निर्वाचन आयोगले अदालतको आदेशप्रति चित्त नबुझाएर भ्याकेट निवेदन लिएर गएकामा अदालतले यसअघि कै अन्तरिम आदेशलाई निरन्तरता दिने आदेश दिएको हो ।

४. लुम्बिनीको स्थायी राजधानीबारे विष्णु पौडेल र शंकर पोखरेल आमनेसामने 
नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलबीच प्रदेशको ‘स्थायी राजधानी’ का विषयमा वाकयुद्ध भएको छ । दुवै अलगअलग क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार छन् । तर, लुम्बिनी प्रदेशमा एमालेभित्र यिनै दुई नेताको आ–आफ्नै गुट छ । पौडेल बुटवल क्षेत्रका भएकाले अस्थायी राजधानीलाई स्थायी राजधानी बनाउन नसकेकोमा आलोचित छन् भने पोखरेल दाङमा स्थायी राजधानी ल्याएर बुटवल क्षेत्रमा आलोचित बने पनि दाङमा प्रिय बनेका छन् ।

५. गुल्मी–२ का उम्मेदवार गोकर्ण र रामकुमारीबीच वाकयुद्ध
आसन्न निर्वाचनमा गुल्मी क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका एमालेका गोकर्ण विष्ट र नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री पछिल्लो समय वाकयुद्धमा उत्रिएका छन् । 

६. झापा–३ मा राजेन्द्र लिङदेनलाई रोक्न कृष्णप्रसाद सिटौलालाई कति सहज ?
सत्ता गठबन्धन र एमाले गठबन्धनबाट ‘हेभीवेट’ नेताहरू प्रतिस्पर्धारत झापा निर्वाचन क्षेत्र नम्बर–३ को प्रतिनिधि सभा सदस्य निर्वाचनको सम्भावित नतिजालाई लिएर स्थानीय मतदातामा चासो बढ्दै गएको छ । यो क्षेत्रमा १८ जना उम्मेदवार चुनावी मैदानमा छन् । १८ मध्ये सत्ता गठबन्धनका तर्फबाट नेपाली कंग्रेसका नेता कृष्णप्रसाद सिटौला र एमाले गठबन्धनका तर्फबाट राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनबीच प्रतिस्पर्धा हुँदैछ । 

७. प्रचण्डले छाडेको चितवन–३ मा कसले मार्ला बाजी ?
आसन्न प्रतिनिधिसभा निर्वाचनमा चितवन–३ ले कस्तो परिणाम दिने हो भन्नेबारे चासो बढेको छ । यो क्षेत्रमा ‘हेभी वेट’ वा ‘हाइ प्रोफाइल’ उम्मेदवार छैनन् तर पनि विगतमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जितेको यो क्षेत्रले यस पटक कस्तो नतिजा दिने हो भन्नेबारे चासो बढेको हो ।

मंसिर ४ नजिकिँदै गर्दा इलाम–१ को प्रतिनिधिसभा सदस्य निर्वाचन परिणामबारे चासो बढ्दै गएको छ । यो निर्वाचन क्षेत्रमा नेकपा समाजवादीका सम्मानित नेता समेत रहेका पूर्व प्रधानमन्त्री झलनाथ खनाल सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवार रहेकाले पनि धेरैले इलाम–१ लाई चासोका साथ हेरेका हुन् ।

९. ‘रवि लामिछानेका कार्यकर्ताले जिस्काएपछि गाडीमा आक्रमण’
चितवन–२ बाट प्रतिनिधिसभाका उम्मेदवार रवि लामिछानेको प्रचारमा प्रयोग गरिएको गाडी आइतबार तोडफोड भयो । इच्छाकामना गाउँपालिका–४ लेवाटारस्थित मुग्लिङ सडक खण्डमा सत्ता गठबन्धनका उम्मेदवार उमेश श्रेष्ठ र रास्वपाका अध्यक्ष रवि लामिछाने आमने–सामने भएर हात हल्लाउँदै विदा भए । तर, लामिछानेको समूहमा पछाडि रहेको गाडीबाट कार्यकर्ताले गठबन्धनका उम्मेदवार र कार्यकर्तालाई लोप्पा खुवाएर जिस्काएपछि दुई पक्षबीच तनाव भएको गठबन्धनका नेताहरूले दाबी गरेका छन् ।

१०. र यो पनि,
सामाजिक संजाल टिकटक लाइभमा खुलेआम जुवा खेल हुन थालेको पाइएको छ । पछिल्लो समय टिकटक युजरहरुले ‘लाइभ’मा बसेर जुवा खेल्न थालेका हुन् ।

युएईविरुद्धको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले हार व्यहोरेको छ । सोमबार भएको खेलमा नेपाललाई युएईले ८४ रनले हराएको हो । 

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप