शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रचण्डले छाडेको चितवन–३ मा यस्तो छ चुनावी माहौल

चर्चामा रहेका यी उम्मेदवारका यस्ता छन् एजेण्डा
सोमबार, २८ कात्तिक २०७९, १२ : ३२
सोमबार, २८ कात्तिक २०७९

आसन्न प्रतिनिधिसभा निर्वाचनमा चितवन–३ ले कस्तो परिणाम दिने हो भन्नेबारे चासो बढेको छ । यो क्षेत्रमा ‘हेभी वेट’ वा ‘हाइ प्रोफाइल’ उम्मेदवार छैनन् तर पनि विगतमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जितेको यो क्षेत्रले यस पटक कस्तो नतिजा दिने हो भन्नेबारे चासो बढेको छ ।

२०७४ को निर्वाचनमा प्रचण्डलाई जिताएको यो क्षेत्रमा अहिले उनी उम्मेदवार बनेनन् । यसर्थ यो निर्वाचन क्षेत्र केही ओझेलमा परेको छ । अर्कोतिर, स्थानीय तह निर्वाचनमा यो क्षेत्र अन्तर्गतका वडामा सर्वाधिक मत पाएर पहिलो शक्तिका रुपमा स्थापित नेकपा एमालेले पनि यहाँ उम्मेदवारी दिएको छैन । दोस्रो शक्तिका रुपमा रहेको कांग्रेसले यहाँ नेकपा माओवादी केन्द्रलाई सघाएको छ । कांग्रेसकै राजनीतिबाट आफ्नो पहिचान बनाएका दुई जनाले यहाँ स्वतन्त्र उम्मेदवारी दिएका कारण उनीहरुले कांग्रेसको मत काट्ने निश्चित छ । यो क्षेत्रमा उम्मेदवारी दिएको माओवादी केन्द्र भने स्थानीय तहको निर्वाचनका आधारमा तेस्रो शक्तिका रुपमा छ । यसर्थ पनि चितवन–३ का मतदाताले प्रतिनिधिसभा निर्वाचनमा कस्तो जनादेश दिन्छन् भन्नेमा चासो बढेको हो ।

चर्चामा चार उम्मेदवार

चितवन–३ मा विभिन्न दलबाट ८ र स्वतन्त्र १२ गरी जम्मा २० उम्मेदवार प्रतिनिधिसभा सदस्यमा प्रतिस्पर्धा गर्दैछन् । तीमध्ये चार जना अहिले चर्चामा छन् । यहाँ सत्तारुढ गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका डा. भोजराज अधिकारी उम्मेदवार छन् । विगतमा पार्टी अध्यक्ष प्रचण्डले जितेका कारण उनलाई यो क्षेत्रमा प्रचण्डको विरासत जोगाउने चुनौती छ । यस अतिरिक्त सत्तारुढ गठबन्धनकै घटक नेपाली कांग्रेसका दुई पूर्व नेताले स्वतन्त्र उम्मेदवारी दिएकाले पनि गठबन्धनबाट उनले कति साथ पाउँछन् भन्ने प्रस्ट छैन ।

तर, यो निर्वाचन क्षेत्र अन्तर्गत भरतपुर महानगरपालिका क्षेत्रमा उनको आफ्नै लोकप्रियता छ । यस अतिरिक्त आफूले जनताका दैनिक जीवनका सामान्य विषयलाई सम्बोधन गर्ने एजेण्डा बनाएका कारण आफूलाई जनताले विश्वास गर्ने उनको भनाइ छ । रातोपाटीसँगको कुराकानीमा उनले जनताका सामाजिक जीवनमा देखिएका कठिनाइलाई सम्बोधन गर्ने आफ्नो योजना रहेको सुनाए ।

नेपाली कांग्रेसको केन्द्रीय सदस्य रहेकै अवस्थामा गठबन्धनविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका कारण पार्टीको कारवाहीमा परेका दिनेश कोइराला पनि यस क्षेत्रमा चर्चित अर्का उम्मेदवार हुन् । उनलाई एमालेले सघाउने निर्णय गरेको छ । रातोपाटीसँग संक्षिप्त कुराकानीका क्रममा उनले आफू सैद्धान्तिक मुद्दा लिएर उम्मेदवार बनेको बताए । उनी कांग्रेस र एमाले दुई ठुला दल मिलेरै अघि बढ्नुपर्ने मान्यता राख्छन् ।

चर्चामा रहेका अर्का उम्मेदवार हुन् जगन्नाथ पौडेल । उनले गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिकाको प्रमुखमा पनि स्वतन्त्र उम्मेदवारी दिएका थिए । स्थानीय तह निर्वाचनमा पराजित भएका उनी यस पटक प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका हुन् । उनी आफूले गठबन्धनको संस्कृतिविरुद्ध आन्दोलनको नेतृत्व गर्दै स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएको उल्लेख गर्दै अहिले पनि त्यही आन्दोलनलाई अघि बढाउन उम्मेदवारी दिएको रातोपाटीलाई बताए ।

चर्चामा रहेका अर्का उम्मेदवार हुन् राप्रपाका विक्रम पाण्डे । अन्य केही क्षेत्रमा राप्रपा र एमालेबीच तालमेल भए पनि यो क्षेत्रमा राप्रपा एक्लिएको छ । यसर्थ पाण्डेलाई चुनौती बढेको छ । उनीसँग रातोपाटीले कुराकानीका लागि प्रयास गरे पनि ‘अहिले मैले भन्ने कुरा केही छैन’ भन्दै पन्छिए ।

चितवन क्षेत्र नम्बर ३ मा भरतपुर महानगरपालिकाको ६, ८, ९, १३, १४, १५, १६, १७, १८, १९, २०, २१, २२, २३, २४, २५, २६, २७ र २८ वडा र माडी नगरपालिकाको सबै वडा पर्दछ ।

स्थानीय तह निर्वाचनमा यी वडामा वडा अध्यक्ष पदका लागि दलहरुले पाएको मतको आधारमा यहाँ एमालेको २९ हजार ७७१, कांग्रेसको २९ हजार ३४३, माओवादी केन्द्रको १० हजार ९४०, राप्रपाको ६ हजार १९८, नेकपा एकीकृत समाजवादीको ५ हजार ३७ मत छ । यस आधारमा यहाँ सत्तारुढ गठबन्धन तुलनात्मक रुपमा बलियो देखिए पनि कांग्रेसकै दुई पूर्व नेता उम्मेदवार रहेका कारण उनीहरुले कांग्रेसको केही मत निश्चित रुपमा काट्ने देखिन्छ ।​ अर्कोतिर स्वतन्त्र उम्मेदवार दिनेश कोइरालालाई एमालेले सघाउँदा प्रतिस्पर्धा थप रोचक बन्ने आकलन गरिएको छ ।

के भन्छन् उम्मेदवार ?

चुनाव प्रचारमा व्यस्तताका बाबजुद गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार डा. भोजराज अधिकारी, स्वतन्त्र उम्मेदवार दिनेश कोइराला र जगन्नाथ पौडेलसँग चुनावी अभियान र एजेण्डाका बारेमा रातोपाटीले संक्षिप्त कुराकानी गरेको छ । प्रस्तुत छ, उनीहरुसँग गरिएको कुराकानीको सम्पादित अंश–  

प्रचण्डको क्षेत्र भएकाले मानिसको अपेक्षा बढी छ : डा. भोजराज अधिकारी

उम्मेदवार, नेकपा माओवादी केन्द्र

विगतमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनाव लड्दै आएको क्षेत्रमा तपाई उम्मेदवार हुनुहुन्छ । चुनौती कति देख्नुभएको छ ?

पार्टी अध्यक्ष प्रचण्डले चुनाव लड्नुभएको ठाउँ भएकैले यहाँ मानिसहरुको अपेक्षा बढी छ । त्यसले पनि चुनौती छ । तर, म चुनौती छ भन्दैमा पछि हट्ने अवस्था छैन । त्यो चुनौतीलाई स्वीकार गरेर अघि बढेको छु । किनकि मैले आफ्नो प्रोफेसनबाट यहाँका जनताको सेवा गरेको छु ।

म पेसाले डाक्टर हुँ । यो क्षेत्रमा मेरो छुट्टै खालको पहिचान छ । मेरो कर्ममा विश्वास गरेर जोडिनु भएका व्यक्तिहरु पनि यो क्षेत्रमा हुनुहुन्छ । त्यसैले मलाई खासै अप्ठ्यारो छैन । अलिकति चुनौती कहाँनेर छ भने प्रचण्डसँगको अपेक्षा बढी थियो । राष्ट्रिय महत्वका प्रोजेक्ट के होला ? ठुलाठुला तटबन्धको प्रोजेक्ट के होला ? सिटी हल के होला ? ६ लेन सडक के होला ? भन्ने आशंका छ । तर, मैले प्रचण्डको उत्तराधिकारीको रुपमा चितवन–३ को त्यो काम गर्ने जिम्मेवारी लिएको छु । यस विषयमा उहाँसँग पनि परामर्श र निर्देशन लिएर काम गर्ने छु । त्यसैले म उम्मेदवार हुँदैगर्दा जनताको अपेक्षा रहेको त्यस्ता कामहरु सबै हुन्छ भन्ने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु ।

अर्को हिसावले म नयाँ अनुहारको रुपमा प्रस्तुत हुँदै गर्दा जनताले म आफै पुगेर भेटिदिए हुन्थ्यो भन्ने अपेक्षा पनि छ । डा. भोजराज अधिकारीको नाम त सुनेको हो तर अनुहार नै देख्न पाए हुन्थ्यो भन्ने संख्या पनि निकै ठुलो छ । तरल मतहरुमा त्यस्ता मानिसहरु माडी नगरपालिका क्षेत्रमा बढी भेटिएको छ । त्यसले गर्दा केही चुनौती भने छ ।

तपाई अहिले पेसा नै परिवर्तन गरेर अचानक सक्रिय राजनीतिमा होमिनु भएको छ, कति सहज भइरहेको छ ?

मैले पेसा परिवर्तन गरेको होइन । डाक्टरको पेसा कहिले पनि परिवर्तन हुँदैन । डाक्टर डाक्टर नै हो । तर अहिले केही समयलाई मैले आफ्नो पेसाबाट विश्राम लिएको छु । तर, अप्ठ्यारो कहाँ छ भने मेरो बिरामीहरुले अलिकति दुःख पाउनु भएको छ । त्यसलाई माइन्डमा राखेर चुनाव जितेपछि पनि मैले व्यवस्थित ढंगबाट आफ्नो पेसालाई निरन्तरता दिन्छु । धेरै टाइम दिन नसके पनि, दैनिक १÷२ घण्टा भए पनि पेसामा समय दिन्छु ।

अर्को कुरा भनेको स्वास्थ्य, शिक्षा, रोजगार, सामाजिक सुरक्षा लगायतलाई समेटेर क्लियर एजेण्डाहरु ल्याएको छु । ती एजेण्डाहरुमा मानिस एकदमै प्रभावित भएको र उहाँहरु खुशी हुनुभएकाले मलाई काम गर्न पनि सजिलो भएको छ ।

तपाई राजनीतिका घुरन्धरहरुसँग भिड्दै हुनुहुन्छ । पहिलेदेखि नै यस क्षेत्रमा प्रभाव जमाउँदै आएकाहरु अहिले पनि उम्मेदवार छन् । तपाई नयाँ हुनुहुन्छ । सक्नुहुन्छ उनीहरुसँग प्रतिस्पर्धा गर्न ?

अहिले चुनाव मुखमा आउँदैगर्दा मलाई फाइदा के छ भने राजनीतिक दलहरुमा गुट उपगुट छन् । त्यसतर्फ म छिर्न परेको छैन । मलाई पनि उहाँहरुले कुनै यो गुटको हो कि ? यसलाई सहयोग गर्ने कि नगर्ने भनेर सोध्ने अवस्था बन्दैन । त्यसैले गर्दा त्यो मेरो लागि फाइदाको कुरा हो ।

बाँकी रह्यो राजनीतिक व्यक्तित्वहरु को कोसँग नजिक, को भित्र र को बाहिर भन्ने मलाई थाहा हुँदैन । त्यसैले म सामान्य कुराहरु गर्ने भएकाले मलाई सबैको साथ र सहयोग छ । विस्तारै बुझ्दै गइरहेको छु । सबैले मलाई अगाडि बढाउनेतर्फ नै गइरहनु भएको छ । अहिले राजनीतिक अन्तरविरोधहरुलाई थाँती राखेर चुनाव केन्द्रित भएर गइरहेका छौं । अन्तरविरोध छोडेर चुनावमा केन्द्रित हुने भन्ने पार्टी र गठबन्धनको निर्णय भएकाले म गर्न सक्छु भन्ने लागेको छ । कुनै समस्या हुन्छ जस्तो मैले महसुस गरेको छैन ।

आम मतदाताको अपेक्षा के पाउनु भयो त ?

मतदाताको अपेक्षा एकदम बढी छ । मुख्यगरी मबाट उहाँहरुले गरेको अपेक्षा भनेको स्वास्थ्य र शिक्षा निःशुल्क गरिदिए हुन्थ्यो भन्ने कुरा छ । अर्को कुरा भनेको उहाँहरुले मेरो पेसा निरन्तर भएर सेवा पाइरहन पाए हुन्थ्यो भन्ने कुरा छ । मुख्य रुपमा पार्टी अध्यक्ष प्रचण्डको पालामा सुरु भएका ठुलाठुला प्रोजेक्ट बन्द नभइदिए हुन्थ्यो, ती योजनाहरुले पूर्णता पाइदिए हुन्थ्यो भन्ने कुरा छ । रोजगारी समस्याहरु कृषि र पर्यटनबाट अवसरहरु प्रदान गरिदिए हुन्थ्यो भन्ने छ ।

अर्को मुख्य कुरा भनेको उहाँहरुमा राजनीतिक निराशा बढी देखिएको छ । त्यसैले सानासाना उहाँहरुको दैनिकीसँग जोडिएको कुराहरुबाट विकास गर्ने भनेर म अघि बढेको छु । उहाँहरु उत्साहित हुनुहुन्छ ।

सक्नुहुन्छ त जनताका ती अपेक्षा पूरा गर्न ?

एकदम सक्छु । ठुला कुराहरु भनेर गर्न गाह्रो हुने भएकाले मैलै सानासाना कुराहरु मात्र अघि सारेको छु । ठुला कुराहरु मैले राखेकै छैन । मैले एउटा बच्चा जमिएदेखि ऊ ८४ वर्षको वृद्ध हुँदासम्मको विभिन्न आयामहरुलाई सम्बोधन गर्ने कुराहरु भनेको छु । बच्चा जन्मिदा ऊ र आमालाई समस्या हुनु भएन । ६ महिनामा कुपोषण हुनु भएन । १०÷११ वर्षमा ऊ कुलतमा लाग्नु भएन । २२÷२३ वर्षपछि पढ्दै गर्दा राम्रो काम गर्ने अवसर पाउनु प¥यो । समाजमा उसले सुरक्षाको महसुस गर्न पाउनु प¥यो । ज्येष्ठ नागरिकहरुको सम्मान हुनप¥यो । सामान्य खेल खेल्ने मैदान हुनु प¥यो । महिलाहरुलाई आमा सुरक्षा लगायतका कार्यक्रम, रोजगारीको व्यवस्था हुनुप¥यो । यिनै सानासाना कुरा मैले मुख्य रुपमा आफ्नो एजेण्डा बनाएको छु, जसलाई म पूरा गर्न सक्छु भन्ने विश्वास छ ।

अर्को भनेको माडी नगरपालिका केन्द्रित केही कार्यक्रमहरु छन् । जस्तै रिउ खोला तटबन्ध, नारायणी तटबन्धका विषय छन् । यी योजनाहरु अघि बढिसकेका छन्, यसलाई तदारुकताका साथ सम्पन्न गर्ने कुरामात्र बाँकी छ ।

गठबन्धन संस्कृति अन्त्यका लागि मेरो उम्मेदवारी : दिनेश कोइराला

स्वतन्त्र उम्मेदवार

लामो समय नेपाली कांग्रेसको कार्यकर्ता रहेर अहिले तपाईले स्वतन्त्र रुपमा उम्मेदवारी दिनु भएको छ । कस्तो अनुभव हुँदैछ ?

पहिलो त मलाई सुरुमा केही असहज महसुस भएको थियो । तर, अहिले जसरी यो मुलुक चलेको छ, जसरी दलहरु अघि बढेका छन्, जसरी दलले भन्दा पनि एउटा गठबन्धन बनाएर देश चलिरहेको छ । त्यसको अन्त्यका लागि म यो अभियानमा लागेको हुँ । यो अभियानको सुरुवातमा म एक्लो थिएँ । त्यसपछि केही साथीहरु जोडिनु भयो । अहिले सारा चितवनवासीको सहयोग पाइरहेको छु । अहिले मलाई खुशीको अनुभूति भइरहेको छ ।

अबको यात्रा पनि स्वतन्त्र रहेरै गर्नुहुन्छ कि पुनः दलमा आवद्ध हुने सोच छ ?

अहिले त म पार्टीभन्दा माथि उठेर देशमा देखिएको विकृति अन्त्यका लागि अभियानमा छु । देशमा अहिले भ्रष्टाचार बढेको छ । त्यसको अन्त्य मेरो मुख्य एजेण्डा हो । अहिले मैले यति सोचेको छु कि पार्टीभन्दा माथि उठेर यो मुलुकलाई माथि उठाउनु पर्छ ।

दलको विकल्प दल नै हुन्छ । नेपाली कांग्रेस र नेकपा एमालेले आपसमा सहकार्य गरेर अघि बढ्नु पर्छ । जुन कुनै व्यक्ति विशेष र परिवारको हितको लागिभन्दा पनि यो मुलुकको आम जनताको जीवन परिवर्तनको लागि यी दुई पार्टीबीच सहकार्य गर्नुपर्छ ।

चुनावमा जाँदै गर्दा चाहिँ पार्टीले आ–आफ्ना घोषणा पत्र, सिद्धान्त र कार्यक्रम लिएर अघि बढ्नु पर्छ । निर्वाचनपछि भने यी मेजर दलहरु एक ठाउँमा रहेर सहकार्य गर्नुपर्छ । जस्तो हिजो कम्युनिस्ट मुलधारमा रहेकाहरु र कांग्रेस एक भएर २०४६ सालको आन्दोलन सफल भएको थियो । २०६२÷०६३ को आन्दोलन सफल भएको थियो । पहिलो संविधानसभा निर्वाचनमा यी दुई दल एक ठाउँमा रहेनन्, जसले गर्दा संविधान बन्न सकेन तर, दोस्रो संविधानसभा निर्वाचनमा हाम्रा नेताले त्यो महसुस गर्नु भयो । कांग्रेस र एमाले मिलेर सँगै सरकारमा गए, संविधान जारी गरियो । तर, २०७२ सालपछि कांग्रेस र एमालेलाई टाढा बनाउन कहिले कांग्रेसलाई गाली गर्ने र एमालेसँग मिल्ने, कहिले एमालेलाई गाली गर्ने कांग्रेससँग मिल्ने प्रयास गर्ने काम भयो । यसले अस्थिरताको अवस्था बन्न गएको छ । अस्थिरता सिर्जना गरेर मुलुक र जनतालाई अन्यौल बनाउने र आफ्नो स्वार्थ पूरा गर्ने काम भइरहेको छ ।

चाहे अदालत हेर्नुस्, चाहे कुनै संवैधानिक अंग, कुनै पनि क्षेत्र अछुतो छैन । हरेक ठाउँमा हस्तक्षेप गर्ने र लोकतन्त्रलाई पिंजडामा राखेर केही व्यक्ति तथा परिवारले शासन गर्ने पद्धति भएको छ । जहानियाँ शासन अन्य भइसक्यो तर फेरि त्यही शासन लाद्ने काम भइरहेको छ । यसको अन्त्यको लागि र आम नेपाली जनताको हितको लागि हामी अगाडि बढिरहेका छौं । त्यसैले अहिले पार्टीभन्दा माथि गएर यो दुई पार्टीलाई सहयात्रा गराएर मुलुकमा परिवर्तन ल्याउनु छ र हरेक नेपालीको चेहरामा खुशी ल्याउनु पर्नेछ । त्यही अभियानमा हामी लागिरहेका छौं ।

स्वतन्त्र उम्मेदवारका रुपमा जितेर संसदमा पुग्नुभयो भने तपाईले भने जस्तो उद्देश्य पूरा गर्न सम्भव छ ?

हेर्नुस्, हरेक परिवर्तन एकबाट सुरु हुन्छ । आवाज एकले उठाउने हो । मुलुकको सपोर्ट हुन्छ । मलाई लाग्छ, अहिले आवाज उठाउने मान्छेहरु भएनन् । म एक जना जस्तोले आवाज उठाउँदै गर्दा म एक जनामात्र होइन, धेरै मजस्ताले जितेर आउनु हुन्छ । अर्को, स्वतन्त्रले उठाइरहेको आवाजमा धेरै दलहरुले समर्थन गर्नु भएको छ । अहिले जसरी यो मैले सुर गरेको अभियानलाई नेकपा एमालेले समर्थन गरेको छ । म धन्यवाद पनि दिन चाहन्छु एमालेका नेता तथा सिङ्गो पार्टीलाई । हामीले उठाएको यो आवाजलाई भोलि हाम्रो कांग्रेसका तमाम शीर्ष नेताहरुले पनि सहयोग गर्नु हुनेछ । यी हामीले उठाएका आवाजहरुलाई संसद्मा गएपछि अधिकांश दलहरुले मुद्दा बनाउने छन् ।

तर, तपाईले लामो समय एउटै पार्टीमा बसेर काम गरेका साथीलाई त मिलाउनु सक्नु भएन, यही क्षेत्रमा एउटै पृष्ठभूमिका तपाईसहित दुई जना उम्मेदवार हुनुहुन्छ । सिङ्गो देशलाई कसरी आफ्नो अभियानमा डोर्‍याउन सक्नुहोला र ?

होइन । हामी स्वतन्त्र त एक जना होइनौं । पार्टी र स्वतनत्र गरेर १९÷२० जना उम्मेदवार छौं । को व्यक्ति कसरी लाग्नु हुन्छ, त्यो अलग कुरा हो । तर, यो देशको मुल राजनीतिलाई एक ठाउँमा ल्याउने अभियान हो । केही व्यक्ति, केही गुट कसरी जान्छ अथवा यहीँ पनि अरुले उम्मेदवारी दिँदैमा यो अभियान सफल हुन्छ वा हुँदैन भन्ने कुरा होइन ।

मैले जुन इस्यू उठाउँछु, जस्तो अहिले पनि अख्तियारमा भ्रष्टाचारका फाइलहरु छन् । हजार÷पाँच सय भ्रष्टाचार ग¥यो भनेर सामान्य कर्मचारीहरुलाई कारवाही गरिन्छ । तर १०/२० औं वर्षदेखि अख्तियारमा ठुला व्यक्तिहरु, उच्च अहोदाको व्यक्तिहरुको फाइल छ नि । त्यो सबैलाई थाहा छ नि । त्यो किन खुल्दैन ? किनकि उहाँहरुलाई कारवाही हुनुहुँदैन भन्ने छ । हाम्रो संविधानभन्दा उहाँहरु माथि हुनुहुन्छ । संसारमा हरेक देशहरुमा प्रधानमन्त्रीलाई कारवाही हुन्छ । भ्रष्टाचारमा मन्त्रीहरुलाई कारवाही हुन्छ । यहाँ त त्यो कारवाही गरिएको छैन । त्यसको लागि हाम्रो अभियान छ । त्यसैले त्यो फाइल खोल्न लगाउँछु । त्यो फाइलमा निर्दोष छन् भने कसैलाई बदनाम गर्न पाइँदैन । दोषी छन् भने कारवाही गर्नुपर्छ । यी आवाजहरु उठाउँदै गर्दा लाखौं जनताको साथ हुनेछ । संसद्मा हामी थोरै हौंला तर, सडकमा चितवनका हजारौं युवा हुन्छन् । जब चितवनको हजारौं युवा सडकमा हुन्छन् नि, देशका लाखौं युवा बाहिर आउँछन् र यो अभियानमा साथ दिनेछन् ।

जनतालाई के आश्वासन दिनुभएको छ ?

यहाँका मतदातालाई मैले राजनीति गलत ट्रयाकमा गएको छ । त्यसले आम नेपाली जनताको हित गर्न सकेको छैन । पहिले राजनीति सुधार्नु पर्ने अवस्था छ । यो देशको भ्रष्टाचारलाई निर्मुल गर्नु प¥यो । विकृतिको अन्त्य गर्नु प¥यो । जब भ्रष्टाचार अन्त्य हुन्छ, देशमा अर्बौं पैसा हुन्छ । त्यो पैसा आयो भने यहाँ विकास स्वाभाविक रुपमा हुन्छ । यो चितवन यति स्वर्ग छ कि यसतर्फ नेताहरुको ध्यान नै गएको छैन । नेताहरुको ध्यान कहाँ छ त भन्दा आफ्ना छोराछोरीलाई कसरी स्थापित गर्ने, म कसरी रजाइँ गर्ने, कसरी ठेकेदारहरुलाई हातमा लिने, कसरी मैले पैसा कमाउने, यतातिर छ । साँच्चै नेताहरु यसलाई अन्त्य गरेर जनताको हितमा लाग्ने हो भने ५ वर्षभित्र चितवनलाई विकास गर्न ठुलो कुरा छैन । ५ वर्षभित्र आम जनताको जीवन परिवर्तन आउने गरी काम गरेर देखाउन सकिन्छ भन्ने हाम्रो विश्वास छ । त्यो विश्वासप्रति जनतालाई भरोसा छ ।

लोकतन्त्रलाई जोगाउन मेरो उम्मेदवारी : जगन्नाथ पौडेल

स्वतन्त्र उम्मेदवार

चुनावी अभियान कस्तो हुँदैछ ?

राम्रैसँग चलिरहेको छ । हाम्रो गति अलि फास्ट छ । हामी अलि तीव्र गतिमा हिँड्नु पर्नेछ । हामी अभियानमा लागिरहेका छौं ।

स्थानीय तहको निर्वाचनमा पनि भरतपुर महानगरपालिकाको मेयरमा तपाईले कांग्रेसमा विद्रोह गरेर उम्मेदवारी दिनुभएको थियो । अहिले संसदीय निर्वाचनमा पनि तपाई उम्मेदवार हुनुहुन्छ । जता पनि उम्मेदवारी दिनुको उद्देश्य के हो ?

म सफल भएँ कि भइनँ भन्नेबाट सुरु गरौं । पहिलो कुरा मैले राजनीतिक रुपमा जे निर्णय लिएँ, त्यो देश र लोकतन्त्रको पक्षमा थियो । ३० हजारभन्दा बढी मत (१५ हजार सदर र १६ हजार बदर मत) मैले स्थानीय तहको निर्वाचनमा पाएको थिएँ । यो ठुलो संख्या हो । दशैभरि यसको प्रशंसा भएको छ । उनीहरुले त्यो निर्वाचनलाई सफल भनेका छन् । आंशिक रुपमा असफल पनि हो । मैले जित्न त जितिनँ तर, जुन मुद्दा उठाएको थिएँ, गठबन्धनको बारेमा, लोकतन्त्रलाई सुदृढ बनाउनुपर्छ भन्ने सन्दर्भ र संविधान प्रदत्त हकको सम्बन्धमा । दलीय व्यवस्थामा दलहरु कसरी खुम्चिदै गएका छन्, परस्पर रुपमा दलहरुलाई टाँसिन किन प¥यो भन्ने सन्दर्भमा हामीले गरेको व्याख्या, विश्लेषणलाई दशैभरि उत्साहका साथ समर्थन प्राप्त भएको छ ।

त्यसले गर्दा यो मुद्दा मैले जितेको छु भन्ने लागेको छ मलाई । तर त्यो पर्याप्त छैन । त्यसलाई पूर्णता दिन अरु संघर्ष गर्न जरुरी छ । मेयर भनेको कार्यकारी पद हो । त्यसले कार्यकारी भूमिकासहित विधायिकी र न्यायिक भूमिका समेत निर्वाह गर्नुपर्ने भएकाले अनुभवको हिसावले पनि त्यहाँ जानु मेरो आकांक्षाको विषय थियो । अब संघीय संसद्को निर्वाचन हुँदैछ । यो निर्वाचनमा म जान चाहेको होइन । म पदका निमित्त कहिल्यै लालची भइनँ । तपाईले मलाई गहिराइमा गएर बुझ्नु भयो भने महानगरपालिकाको मेयरमा चुनाव लड्न म इच्छुक थिइनँ । परिस्थितिले मलाई त्यहाँ धकेल्यो । मेरो विचारलाई जीवित राख्न मैले त्याग गर्नुपर्ने स्थिति बन्यो ।

त्यति बेला पनि मलाई साथीहरुको सर्वाधिक जोड भएको हो । अहिले पनि साथीहरुले सर्वसम्मत रुपमा अघि सारेका हुन् । किनकि तपाईलाई थाहा होला भँुइकटहर आन्दोलनको बारेमा । त्यो भँुइकटहर विचार पनि हो । देशमा लोकतन्त्र फलाउने फुलाउने भनेर यो पद्धति स्थापित गरेर हामी लागिरहेका छौं ।

आज त्यसले परिणाम दिन सकेन । लोकतन्त्र कुलिन तन्त्रमा परिणत भएको छ । केही मान्छेहरुको स्वार्थ पूरा गर्न बनेको व्यवस्था जस्तो भएको छ । त्यसैले लोकतन्त्रलाई जोगाउन जरुरी छ । सांसदले आफ्नो भूमिका निर्वाह गर्न नसक्दा सरकार स्वेच्छाचारी भएको छ । राष्ट्रिय राजनीतिमा उसले सिधा हस्तक्षेप गर्न सक्छ । त्यहाँ पनि मेरो अभाव खड्किन सक्छ भनेर साथीहरुको अनुरोधमा म उम्मेदवार भएको हुँ ।

तपाईको जस्तै एजेण्डा र विचार बोकेर यसै क्षेत्रमा कांग्रेसमै लामो समय राजनीति गर्नु भएको दिनेश कोइराला पनि उम्मेदवार हुनुहुन्छ । तपाईहरु मिलेर अघि बढेको भए त्यो विचार समूहको अझ बलियो दाबेदारी हुन्थ्यो होला, किन मिल्न सक्नु भएन ?

यो बहुप्रचारित भएको हुनाले मान्छेहरुमा निराशा उत्पन्न भएको छ । २÷३ जना भएका हुनाले राजनीतिक अपरिपक्वता देखिएको छ, अन्यौलग्रस्त स्थिति बनेको छ र यो भुँइकटहर समूह पनि आफै एउटा गञ्जागोलमा फस्यो, यसले कुनै निकास दिन सक्दैन भन्ने कुरा पनि छ ।

यसको यथार्थ के हो भने गत असार २३ गते उम्मेदवारी निर्णय गर्ने दिनमा दिनेश कोइराला समेत हुनुहुन्थ्यो । म गठबन्धनको विरुद्धमा छु, तपाईहरुले मलाई साथमा लिएर हिँड्नुस् भन्नुभयो र आफू उम्मेदवार नहुने निर्णयसमेत गरेर उहाँ हिँड्नु भयो । त्यसपछि त्यहाँ उपस्थित कांग्रेसका आन्दोलनकारी र कारवाहीमा परेका साथीहरुको बीच उम्मेदवार हुने भन्ने बारेमा छलफल भयो । त्यहाँ सबैलाई सोधियो । बयोवृद्ध नेता कृष्णप्रसाद सापकोटा, भिम बहादुर, मिना खरेल, शम्भु अर्याल, आन्नद राउत लगायतलाई पनि सोधियो । हिजो भुँइकटहर आन्दोलनको नेतृत्व गरेको जगन्नाथ पौडेलको भूमिकाले गर्दा देशभर एउटा तरङ्ग पैदा भएको छ । त्यसकारण उहाँलाई उठाउँदा हुन्छ भन्ने सो भेलामा निर्णय भयो । उहाँहरुको प्रस्तावमा मैले ‘ओके’ गर्नुपर्ने स्थिति आएपछि म उम्मेदवार भएँ ।

अहिले फेरि के भइरहेको छ भने कृष्णप्रसाद सापकोटाजीले जगन्नाथलाई मैले उठ भनेको हो तर, मैले पछि बस पनि भनेको हो भन्नु भएको छ । त्यो उहाँको झुटमुटको कुरा हो । त्यो आपत्तिजनक कुरा हो । अर्को माननीय भिमबहादुरजीले हारेको मान्छेले चुनाव लड्न हुन्न भन्नु भएको छ । यो जालसाजी कुरा भइरहेको छ । यहाँ जगन्नाथलाई साइड लगाउने चलखेल भइरहेको छ । उहाँहरुको चिन्तनमा गम्भिर त्रुटी छ । कांग्रेसको केन्द्रीय सदस्य भइरहेको अवस्थामा भरी सभामा म उम्मेदवार हुन्न भनेर बाहिरिएको मान्छेले एकाएक उम्मेदवारी दिनुभयो । झगडा त त्यहाँबाट सुरु भयो नि । मत सर्वसम्मत मान्छे हुँ । आन्दोलनबाट आएको मान्छे हुँ नि । एक पटक सर्वसम्मत रुपमा निर्णय भइसकेपछि त्यो फिर्ता हुन्छ ? हरेक निर्णय बन्दुकको गोलीजस्तो हो । एक पटक पड्किएपछि पड्क्यो । यो धेरै मान्छे भए भन्ने कुरा आएको छ, त्यो गलत हो । अहिले त दिनेशजीले कित्ता परिवर्तन गरिसक्नु भएको छ ।

जनतामाझ कस्ता एजेण्डा लिएर पुगिरहनु भएको छ ?

पहिलो कुरा चितवन अग्रणी जिल्ला हो । चितवनले आज जे देख्छ, अरु जिल्लाले भोलि देख्छ भन्ने मेरो मान्यता हो । २५ वर्ष अगाडि म भरतपुर महानगरपालिकाको उपमेयर थिए । त्यति बेला हामीले चितवनको विकासका बारेमा योजना पेस गरेका थियौं । यहाँको भूउपयोग नीति, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, एयरपोर्ट, व्यारेक लगायतका विषयलाई त्यसमा समावेश गरिएको थियो । ती सबै कुरा अहिलेसम्म अधुरो छन् । यो गर्न जरुरी छ । यसका लागि स्थानीय सरकार छ । स्थानीय सरकार आफै सक्षम हुनुपर्छ । तर, स्थानीय सरकारसँग मिलेर हामी त्यो काम गर्छौं । सांसद् भएर गर्नुपर्ने कुरा ३ वटा छ । बजेट बनाउने, सरकार गठन गर्ने, ऐन कानुन निर्माण गर्ने ।

चितवन र नवलपरासी जोड्न घोलाघाटमा एउटा पुलको आवश्यकता छ । नवलपरासी हुँदै गौतबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल जाने बाटो चाहिएको छ । यो एउटा क्लोज आइल्याण्ड जस्तो छ । रिटेनिङवाल, पूर्वाधार निर्माण, राप्तीको तटबन्ध, माडी क्षेत्रको सुरक्षा लगायतका कुरा छन् । माडीमा वन्यजन्तुको सुरक्षा अनि वन्यजन्तुबाट नागरिकको सुरक्षाका विषयहरु, निकुञ्जको बीचबाट माडीसम्मको उपयुक्त स्थानमा सडक निर्माण जस्ता विषय मेरो एजेण्डा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप