बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

झापा– ३ : चौथो पटक सिटौला–लिङ्देन आमनेसामने

लिङदेनलाई रोक्न सिटौलालाई कति सहज ?
सोमबार, २८ कात्तिक २०७९, १४ : ०४
सोमबार, २८ कात्तिक २०७९

सत्ता गठबन्धन र एमाले गठबन्धनबाट ‘हेभीवेट’ नेताहरू प्रतिस्पर्धारत झापा निर्वाचन क्षेत्र नम्बर–३ को प्रतिनिधि सभा सदस्य निर्वाचनको सम्भावित नतिजालाई लिएर स्थानीय मतदातामा चासो बढ्दै गएको छ । यो क्षेत्रमा एक पदका लागि १५ राजनीतिक दलका १५ र ३ स्वतन्त्र गरी १८ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

१८ मध्ये सत्ता गठबन्धनका तर्फबाट नेपाली कंग्रेसका नेता तथा पूर्व उपप्रधान तथा गृहमन्त्री समेत रहेका कृष्णप्रसाद सिटौला र एमाले गठबन्धनका तर्फबाट राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनबीच प्रतिस्पर्धा हुँदैछ ।

२०७४ को निर्वाचनमा वाम गठबन्धनको सहयोगमा सिटौलालाई हराएर लिङ्देन विजयी बनेको यो क्षेत्रमा बाह्रदशी, हल्दीबारी, कचनकवल गाउँपालिका तथा भद्रपुर नगरपालिकाका १ देखि ८ वडाका साथै विर्तामोड नगरपालिकाको एउटा वडा (१० नम्बर) स्थानीय तह पर्दछन् ।

सिटौला–लिङ्देन चौथो प्रतिस्पर्धा

तत्कालीन अवस्थामा झापा १ नम्बर निर्वाचन क्षेत्र रहे पनि अहिले यो क्षेत्र ३ नम्बर बन्न पुगेको छ । २०४८ सालमा सिटौला–लिङ्देन यही क्षेत्रबाट पहिलो पटक आमनेसामने भएका थिए । त्यसबेला सिटौला निर्वाचित हुँदा लिङ्देन तेस्रो स्थानमा चित्त बुझाउन बाध्य भए भने २०६४ को पहिलो संविधान सभा सदस्य निर्वाचनमा लिङ्देनले उम्मेदवारी नै दिएनन् तर सिटौला माओवादीका पूर्णसिंह राजवंशीसँग पराजित बनेका थिए ।

२०७० मा भएको दोस्रो संविधान सभा निर्वाचनमा फेरि लिङ्देन र सिटौला प्रतिस्पर्धामा उत्रिए । सिटौलाले १४,३५५ मत ल्याएर सांसद निर्वाचित हुँदा लिङ्देन दोस्रो बने भने २०७४ मा लिङ्देन विजयी बन्दा सिटौला पराजित बन्न पुगे । यो क्रमसँगै २०७९ उनै सिटौला र लिङ्देन चौथो पटक चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् । यसपटक माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र लोसपा सिटौलाको साथमा छ भने लिङ्देनलाई एमालेको साथ छ । गत वैशाखमा सम्पन्न स्थानीय तहमा वडाध्यक्षले पाएको मतका आधारमा लिङ्देन सिटौलाभन्दा अघि छन् । तैपनि सिटौला र लिङ्देन दुवैले आफ्नो जीत सुनिश्चित रहेको दाबी गरिरहेका छन् ।

स्थानीय चुनावको वडागत मत 

कांग्रेस – २५,९४९

राप्रपा–२११५९

एमाले २१०८५

माओवादी केन्द्र –६६८८

नेकपा समाजवादी–५३७

लोसपा–२०८

लिङ्देनलाई गिरीको डर हुँदा सिटौलालाई भर !

एमालेको साथ पाएका लिङ्देन स्थानीय मतका आधारमा अगाडी रहे पनि यहाँको नतिजा यसै हुन्छ भन्न नसक्ने स्थानीय मतदाताहरू बताउँछन् । लिङ्देनविरुद्ध एमालेकै पुराना स्थानीय नेता तथा तत्कालीन हल्दिबारी गाउँपालिकाका उपाध्यक्ष डम्बर गिरीको बागी उम्मेदवारी, लिङ्देनले गएको ५ वर्षमा स्थानीय समस्या सम्बोधनमा नदेखाएको चासो लगायतले जनमत बदलिन सक्ने एकथरीको विश्लेषण छ भने अर्को थरीको कांग्रेसभित्रको आन्तरिक अन्तरद्वन्द्वले पनि काम गर्न सक्ने बुझाई छ । गिरीले एमालेको असन्तुष्ट मत काट्दा सिटौलालाई सहयोग पुग्ने उनी निकटको बुझाई रहँदा लिङ्देन निकटस्थहरू भने कांग्रेसभित्रकै अन्तरद्वन्द्वमा खेल्ने प्रयास गरेका छन् । उम्मेदवार सिटौला र महामन्त्री विश्वप्रकाश शर्माबीचको सम्बन्ध सुमधुर नभएकाले कांग्रेसको मत विभाजित हुनसक्ने लिङ्देन पक्षको बुझाइ छ । अर्कोतिर झापाका प्रभावशाली नेता राम थापा फ्याक्टरले समेत यो निर्वाचन क्षेत्रको मत परिणाममा फेरबदल आउन सक्ने स्थानीयको विश्लेषण छ । दमक नगरपालिकाका मेयर समेत रहेका थापाको भूमिकाले लिङ्देन या सिटौलाको जित निर्धारण हुने सो क्षेत्रका मतदाताको भनाइ छ । थापा गत स्थानीय निर्वाचनमा सत्ता गठबन्धनको सहयोगमा मेयरमा निर्वाचित भएका हुन् ।

तर राप्रपा झापा जिल्ला अध्यक्ष केशव ओझा लिङ्देनको जित सुनिश्चित भैसकेको भन्दै अब कति मतान्तरले जित्ने भन्ने प्रश्न मात्रै बाँकी रहेको बताउँछन् ।

‘जीत त निश्चित नै छ । मतान्तर कति बढाउने भन्ने मात्रै हो’अध्यक्ष जोशीले रातोपाटीसँग भने, ‘अघिल्लो निर्वाचनमा १४ हजार मतान्तरले जितेका हौ यो वर्ष २० हजार बढीको मतान्तर हुने देखिन्छ ।’

यता कांग्रेस झापा जिल्ला सचिव समेत रहेका युवा नेता नवीन विमली गठबन्धनका साझा उम्मेदवार सिटौलाको विजयी यात्रा रोक्ने तागत कसैको नभएको बताउँछन् ।

‘जनमत परिवर्तनको पक्षमा छ । बितेको ५ वर्षमा यहाँका प्रतिनिधिले जनताको पक्षमा कुनै काम नगरेकाले मतदाताको सोच परिवर्तन भएको छ’, विमलीले भने, ‘राष्ट्रिय व्यक्तित्वका रूपमा समेत पहिचान बनाइसक्नुभएका कृष्ण सिटौलाको जीत रोक्ने कसैको तागत छैन ।’ 

म विरुद्ध एमाले किन बारम्बार लाग्छ, केपी ओलीलाई नै सोध्नुस् : कृष्ण सिटौला

चुनाव प्रचारप्रसार अभियानमा हुनुहुन्छ, कस्तो प्रतिक्रिया पाइरहनु भएको छ ?

– एकदमै राम्रो, सकारात्मक प्रतिक्रिया मिलिरहेको छ, विजय सुनिश्चित छ ।

झापा क्षेत्र नं ३ लाई गणतन्त्र र राजतन्त्र पक्षको एक किसिमले मिनी जनमत सङ्ग्रहको रूपमा पनि हेरिएको छ । तपाईंले कसरी लिनु भएको छ ?

राजतन्त्र कुनै सापेक्षित सिद्धान्त होइन । मेरो बुझाइमा अहिले यसको भूत, प्रेतको कुरा गरेर केही फाइदा छैन । २००७ सालको क्रान्तिमा राणा शासनको अन्त्य भएपछि फेरि राणा शासन आउँछ भन्थे एकताका । अहिले फेरि राजा आउँछ भन्नु त्यस्तै हो ।

संघीय लोकतान्त्रिक, गणतन्त्रात्मक शासन व्यवस्थामा यो राजावादी विचार विकृति र विसङ्गति मात्र हो । यसलाई जनताले साथ दिँदैनन् । ५ वर्षअगाडि एमाले, माओवादी दुवै मिलेर राप्रपा जिताएको हो । अब अहिले त्यो परिस्थिति छैन । यहाँका तमाम वामपन्थीहरूले आफ्नो अधिकार र विचारधाराको पक्षमा मत हाल्छन् । 

वामपन्थी विचारधारालाई दमन गर्ने प्रवृत्तिका राजावादी विचारधारालाई यहाँका वामपन्थीले भोट दिन्छन् भन्ने मलाई लाग्दैन ।

एमालेले राप्रपालाई मतदान गर्दैछ, उनीहरूलाई केही भन्नु छ कि ?

– यो कार्यकर्ता मात्रको कुरो होइन, विचारधारा हो । जसले परिवर्तन चाहन्छ, अग्रगामी सोच राख्छ । जनताको प्रगति चाहन्छ । प्रगतिशील विचारधाराले प्रतिगामी विचारधारालाई कसरी मत हाल्छ ? त्यो गर्छ भन्ने लाग्दैन । हामीले बुझाउन नसकेको मात्र हो विगतमा । अहिले बुझेका छन् । यो मेरो आफ्नो विचार हो । 

भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनको तथ्याङ्क हेर्दा गठबन्धनको मत कम जस्तो देखिन्छ नि ?

– मलाई त्यस्तो लाग्दैन । स्थानीय तहको निर्वाचन सानो परिवेशमा हुने हो । यो निर्वाचन भनेको देशको कानुन निर्माताहरूको निर्वाचन हो र यसलाई यसरी नै बुझ्न सक्नुपर्छ । समग्रमा राष्ट्रलाई नेतृत्व दिने निर्वाचन हो यो । राष्ट्रलाई हाँक्ने, नीति निर्माण गर्ने निर्वाचन हो । त्यसलाई जनताले बुझेका छन् र हामीले बुझाइरहेका पनि छौ ।

यस क्षेत्रको विकास निर्माणको तपाईंको एजेन्डा के के छ ?

– यहाँका विकास निर्माणको योजना थुप्रै छन् । विगत ५ वर्ष शून्य रह्यो । केन्द्रीय सरकारको तर्फबाट नयाँ र एक करोडको आयोजना पनि देखिएन । हामी त्यसरी रित्तो रहन दिँदैनौ । कम्तीमा पनि यहाँको सडक, खानेपानी, स्वास्थ्य, शिक्षाको क्षेत्रमा हामीले धेरै काम गर्न सक्नुपर्छ । 

यो निर्वाचन क्षेत्रमा मेचीपारी र बिरिङपारी पनि सानो गाउँ छ । मेचीपारीको गाउँलाई हामीले दोस्रो संविधानसभापछि झोलुङ्गे पुलबाट जोडेका छौ । बिरिङपारीको गाउँलाई झोलुङ्गे पुलले जोड्न सकिएको छैन । यो हामीले बनाउनै पर्छ । बिरिङ खोलालाई बलियो तटबन्ध गरेर बिरिङपारी रहेको पिन्डराबड गाउँमा समेत हामीले झोलुङ्गे पुल राखेर जोड्नुपर्नेछ । 

एमाले, माओवादी, जसको बलमा राप्रपाले जितिसकेपछि उहाँले कुनै पनि वामपन्थीलाई सम्झनु भएन । त्यो यहाँका वामपन्थीले राम्ररी बुझेका होलान् । यसकारण प्रष्ट विचार के हो भने यो निर्वाचन यदि जनताका लागि हो भने जनताले राजावादीलाई परास्त गरेर हामीलाई नै जिताउँछन् । 

तपाईंले नेतृत्व गरिरहेको गठबन्धन भित्रका पार्टीहरुबीच पनि असन्तुष्टि छ भन्ने सुनिन्छ । त्यसलाई कसरी म्यानेज गरिरहनु भएको छ ?

– म हाम्रो प्रतिस्पर्धी पार्टीभित्र धेरै प्रवेश गर्न खोजेको छैन । म स्पष्ट दृष्टिकोण राखेर हिँड्ने मानिस हो । सिद्धान्तविहीन राजनीति गर्नुहुँदैन । सिद्धान्त, नीतिमा आधारित राजनीतिले मात्र सही कार्यदिशा दिन सक्छ, देशलाई गन्तव्य र लक्ष्यमा पुर्‍याउन सक्छ भन्ने मेरो आफ्नो मान्यता हो । 

पद र कुर्सीका लागि सिद्धान्तहीन राजनीति गर्नु भनेको अनैतिकताको पराकाष्ठा हो । एक अर्थमा पापकारी हो । त्यसैले, वामपन्थी विचारधारा र प्रगतिशील विचारधारकालाई, लोकतन्त्रमा विश्वास गर्नेलाई, गणतन्त्रमा, संघीयतामा र समानुपातिक सिद्धान्तमा विश्वास गर्नेलाई जबरजस्ती राजावादीलाई भोट हाल भन्नु अनैतिकताको पराकाष्ठा हुन्छ । त्यो कुरा गणतन्त्रका पक्षधरले बुझेको हुनुपर्छ । 

यो निर्वाचन क्षेत्र सहिद भूमि पनि हो । भद्रपुर नगरपालिका यसैमा पर्छ । सदरमुकाममा २०४६, २०६२÷०६३ को आन्दोलनमा धेरै सहिद भएका छन् । कैयौँ घाइते र अपाङ्ग भएर बाँचेका छन् । त्यो आन्दोलनको स्पीडलाई पनि यहाँका मतदाताले यस पटक सम्झन्छन् भन्ने मलाई लागेको छ । 

वामपन्थीहरूले आफैले पञ्चायती शासनविरुद्ध गरेको आन्दोलन बिर्सिँदैनन् होला । काँग्रेस, एमाले, माओवादीसहित मिलेर गरेको १२ बुँदे समझदारी, शान्ति प्रक्रिया, संविधान निर्माणलाई बिर्सिँदैनन् होला । त्यसको पक्षधर जुटेको म लगायत यो गठबन्धन जुन छ । ती सबैले गठबन्धनको पक्षमा मतदान गर्छन् भन्ने मलाई विश्वास छ । असन्तुष्टि भए मिल्दै जान्छ ।

केन्द्रमा केपी ओलीसँग तपाईंको एकदमै निकट सम्बन्ध रहेको जस्तो पनि देखिन्छ । यो क्षेत्रमा भने एमालेले बारम्बार तपाईं विरुद्ध असहयोग गर्दै आएको छ, किन ?

तपाईंले कहाँ निकट, कहाँ टाढा देख्नुभयो, मलाई थाहा भएन । म निर्वाचन हारेर ५ वर्ष त्यतिकै बसेको मानिस हो । व्यक्तिगत सम्बन्ध मेरो कसैसँग पनि तिक्ततापूर्ण छैन ।

त्यही त यहाँ तपाईं विरुद्ध किन लाग्छ एमाले ?

– मेरो स्वभाव सबैसँग सम्बन्ध राम्रो बनाउने खालको छ । जंगलमा बसेको प्रचण्डलाई त राम्रो सम्बन्ध हुन्छ है भनेर ल्याउने मान्छे म । पूर्व राजा ज्ञानेन्द्रसँग पनि मेरो राम्रो सम्बन्ध छ । अहिले भेट्दा पनि उहाँले साथीजस्तो व्यवहार गर्नुहुन्छ । मेरो सम्बन्ध कसैसँग पनि कटु छैन । 

तर सिद्धान्त, आदर्श र मूल्य मान्यताको कुरो हो । आफैले बनाएको संविधानको रक्षाको विषय हो । त्यसलाई छोडेर पदका लागि अर्कोसँग तालमेल र गठबन्धन गर्नुहुँदैन भन्ने मेरो आफ्नो प्रष्ट मान्यता हो । अबको दिन यो निर्वाचन क्षेत्रबाट आउने परिणाम भनेको हाम्रो विजय हो । 

म विरुद्ध एमाले यहाँ किन बारम्बार लाग्छ, केपी ओलीलाई नै सोध्नुस् ।

तपाईंको निर्वाचन क्षेत्रमा भूमिहीन, नागरिकताविहीन किसान पनि भेटिए । यिनको समस्या अव समाधान हुन्छ त ?

– समाधान हुन्छ । हामी समाधान गर्छौँ ।

***

राजेन्द्र लिङ्देन भन्छन्, ‘कांग्रेस र माओवादी भित्रबाट पनि मलाई समर्थन छ’

चुनाव प्रचार प्रसारको अभियान कसरी चलिरहेको छ ?

व्यक्तिगत, सामूहिक भेटघाट गर्ने र सभाहरूको आयोजना गरिरहेका छौँ । कोणसभाहरू आयोजना गरेर अगाडि बढेका छौँ ।

उपस्थिति, उत्साह र जनताको रेस्पोन्स कस्तो छ ?

असाध्यै सकारात्मक र उत्साहप्रद छ । गत ५ वर्षमा हामीले झापाको कर्णालीको रूपमा परिचित क्षेत्र नम्बर–३ मा सेवा गर्ने मौका पायौँ । हामीले दुई वर्ष राम्ररी गर्न पायौँ । दुई वर्ष त कोरोनामै बित्यो, मान्छेले मान्छेलाई भेट्न पनि मुख छोपेर आउनुपर्ने अवस्था थियो । तर, पाँच वर्षअघि यो क्षेत्रमा कालोपत्रे सडक कस्तो हुन्छ भनेर हेर्नका लागि कि बिहार जानुपर्थ्यो कि बिर्तामोड जानुपर्थ्यो । पुरानो सहर भद्रपुरमा साना टुक्राटाक्री कालोपत्रे सडक थिए। त्यहाँ हेर्न जानुपर्ने अवस्था थियो । अहिले कालोपत्रे सडकले नछोएका कुनै वडाहरू छैनन् । मेची र बिरिङले घेरिएको यहाँ मेची र बिरिङ नदी यस क्षेत्रको जनताको दुःख थियो । हरेक वर्ष कटान र डुबानका समस्या हुन्थे, अहिले डुबान र कटानको समस्या कम भएको छ । डुबान रोकिएको छ ।

तपाईंको क्षेत्रको समस्यामा म पछि आउँछु, देशव्यापी रूपमा चाहिँ उत्साह कस्तो छ परिणाम प्रति कत्तिको आशावादी हुनुहुन्छ ?

समग्रमा असाध्यै उत्साहप्रद अवस्था छ । मैले समय दिन सकिरहेको छैन, जहाँसुकै माग भएको छ । यसपालि राष्ट्रिय प्रजातन्त्र पार्टीले अप्रत्याशित मत परिणाम ल्याउँछ ।

अप्रत्याशित भन्या कस्तो ?

मानिसले अपेक्षा नै नगरेको । भनौँ न, खास गरी आम मतदाताले मत नै दिँदै छन्, राप्रपालाई मैले जिताएर ठुलो पार्टी बनाउँछु भन्ने छ । तर, राजनीतिक ज्योतिषहरू हुन्छन् नि, यसले यति उसले यत्ति सिट ल्याउला भन्नेहरू ? यसपटक अप्रत्याशित परिणाम आउँछ ।

हामी तपाईंको निर्वाचन क्षेत्रमा छौँ, तपाईलाई यहाँका मतदाताले किन मत दिने ?

यहाँका मतदाताको पहिलो प्राथमिकता पूर्वाधार विकास नै हो । यो क्षेत्र पूर्वाधार विकाशको दृष्टिले निकै पछाडि परेको छ । हामीले ५ वर्षमा काम गर्दा यस क्षेत्रले विकाससँग बल्ल हातेमालो गर्ने मौका पाएको छ । अन्य क्षेत्रहरूसँग कुम जोड्ने मौका पाएको छ । यसलाई पूर्णता दिनका लागी बाँकी काम पुरा गर्न र राष्ट्रिय राजनीतिमा मैले जे विषयमा अडान लिइराखेको छु त्यसलाई थप बल प्रदान गर्नका लागी यस क्षेत्रका मतदाता आतुर हुनुहुन्छ  ।

तपाईंको एजेन्डा राजसंस्था कुनै न कुनै रूपमा फर्किनुपर्‍यो त्यसपछि धर्म सापेक्ष राष्ट्र र संघीयता खारेज हुनुपर्ने ? भनेपछि ती मुद्दालाई समर्थन गर्ने मतदाताको सङ्ख्या यहाँ धेरै हुनुपर्‍यो होइन, तपाईंले जित्न ?

हामीले खास गरी पूर्ण समानुपातिक संसद्, सांसद मन्त्री बन्न नपाउने व्यवस्था, जनताले प्रत्यक्ष निर्वाचित गर्ने कार्यकारिणी प्रधानमन्त्री, अभिभावकीय संस्थाको रूपमा राजा रहने व्यवस्था, प्रदेशको खारेजी भनेका छौँ ।  केन्द्र र बलियो स्थानीय तह त्यसै गरेर ०४६ पछिका उच्च पदस्थ नेता र कर्मचारीको सम्पत्ति छानबिन, मल कारखानाको स्थापना, स्वास्थ्य शिक्षा निःशुल्क हुनुपर्ने र न्याय सबैको लागी समान हुनुपर्ने विषय उठाएका छौँ ।  देशभित्र प्रशस्त उद्योग धन्दाको स्थापना गरेर युवाहरूले यहीँ गरिखान पाउने रोजगारीको सिर्जना हुने विषय हामीले उठाएका छौँ । यो सवैमा केन्द्रित रहेर जनताले हामीलाई मतदान गर्नेछन्, र यस क्षेत्रका जनताको पहिलो प्राथमिकता विकाश छ ।

तपाईंको प्रतिस्पर्धी कांग्रेस नेता कृष्ण सिटौला हुन कि अरू छन् ?

त्यसमा हामीले अन्यथा भन्नुपर्ने केही जरुरी छैन । हामीलाई अहिले पछ्याइरहेको निकटतम प्रतिद्वन्द्वीको रूपमा गठबन्धनको तर्फबाट उम्मेदवार कृष्ण सिटौला नै हुनुहुन्छ ।

कृष्ण सिटौला गणतन्त्र ल्याउन लागेको गणतन्त्रवादी, तपाईंहरू बीचको टक्कर पञ्चायतकाल देखी नै देखिन्छ । चौथोपटक आमुन्ने सामुन्ने हुँदै हुनुहुन्छ ? भनेपछि अब यहाँ राजतन्त्र फर्काउने या गणतन्त्रलाई निरन्तरता दिने मतदाता हेर्दा गणतन्त्रको पक्षमा धेरै मतादाता छन् नि ?

गणतन्त्र या राजतन्त्र भन्ने कुरा वा राजसंस्था भन्ने कुरा साध्य होइन साधन हो । मूलतः जनताको सुख, समृद्धि सुदृढ राष्ट्रियता हाम्रा साध्य हुन् । अहिले मुख्य रूपमा गणतन्त्र राजतन्त्र भन्दा पनि यो निर्वाचन क्षेत्रमा कृष्ण सिटौलाले एउटा प्रवृत्तिको प्रतिनिधित्व गर्नुहुन्छ । भ्रष्टाचारलाई संस्थागत रूपमा विकसित गर्ने, आपराधिक प्रवृत्तिलाई राजनीतिमा प्रवेश गराउने र संरक्षण गर्ने प्रवृत्तिको विरुद्ध हामी लडिराखेका छौँ ।  

गणतन्त्र पक्षधर र राजतन्त्र पक्षधरको बिचमा मिनी जनमत सङ्ग्रहको रूपमा यो निर्वाचन क्षेत्रलाई हेरिएको छ नि ?

त्यो आ–आफ्नो ढंगले माने हुन्छ । कत्तिले यसलाई खास गरी ध्रुवीकृत गरेर मत विभाजन गर्ने कोसिस गरेका छन् । नेकपा एमालेको पार्टीगत रूपमा जसरी हामीलाई साथ छ त्यसलाई क्यास गर्न पनि यस्ता कुराहरू चर्को रूपमा उठाउने गरिएको छ  । तर, मैले भनेँ गणतन्त्र, राजतन्त्र वा राजसंस्था जे भनेपछि ती साधन मात्र हुन्,  साध्य देश र जनताको सुख संवृद्धि हो ।

त्यसका लागी यस क्षेत्रका मतदाता मूलतः विकासलाई प्राथमिकता दिन्छन् । एजेन्डामा पनि अहिलेको संघीयता खारेजी र हिन्दुराष्ट्रको पुनर्स्थापनाले पनि निश्चित रूपमा छोएको छ । मैले प्राप्त गर्ने मतमा त्यो पनि आधार छँदैछ । तर, आधारभूत रूपमा यस क्षेत्रका जनता विकासका  भोका छन् ।

तपाई विजयी हुन एमालेको भर एकदमै आवश्यक देखिन्छ । कतै झापा–३ र झापा–५ मा त्यता तपाईंको पार्टीबाट असहयोग हुने र यता तपाईंलाई सहयोग हुँदैन कि भन्ने आशङ्का देखिन्छ नि ?

जनतासम्म त्यो आशङ्का लाने काम मेरो प्रतिस्पर्धी उम्मेदवारले ‘कहाँ एमालेले राजेन्द्रलाई भोट दिन्छ र ?’ भन्ने हल्ला चलाएका हुन् । त्यो विगतमा पनि हामीले राप्रपा र एमाले कुनै पनि निर्णय गरेपछि इमान्दार छौँ भन्ने प्रमाणित गरिसकेका छौ । आगामी दिनमा पनि प्रमाणित गर्छौँ ।  झापा–५ मा राम थापा हाम्रो मेयर हुनुहुन्छ, उहाँ पार्टीको १ नम्बर प्रदेश कार्यसमिति अध्यक्ष हो । त्यसैले उहाँ आफैँ जिम्मेवार हुनुहुन्छ । हामीले सामूहिक रूपमा निर्णय गरेको कुरा हो । नेकपा एमालेको सन्दर्भमा पनि त्यहाँ भित्र मलाई मन नपराउने र मसँग सम्बन्ध राम्रो नभएका साथीहरू पनि हुनुहोला तर, पार्टीगत निर्णय सबैले बोकेर लान्छौँ ।

तपाईंले यो बीचमा एमालेका केही नेताहरूसँग सहकार्य गर्नुभएन भन्ने गुनासो रहेछ ?

त्यो कुरो दमकमा हाम्रो साथीहरूको पनि छ । झापा जिल्लामा हामीले ३ नम्बर क्षेत्र लिएर ४ वटा निर्वाचन क्षेत्रमा त्यसबेला वामपन्थी गठबन्धनलाई सहयोग गरेका थियौँ र हाम्रो सहयोगले निर्णायक भूमिका खेलेको थियो । अहिले पनि हामीले जुन एक अर्कालाई सहयोग गरेका छौँ सबै ठाउँमा हामी दुवै पार्टीहरू एक अर्काको लागी निर्णायक र एक अर्काको लागी अनिवार्य जस्तै छौँ ।

झापा–५ मा एमाले अध्यक्ष केपी ओलीलाई जिताउन राप्रपा र झापा–३ मा तपाईंलाई जिताउन एमाले निर्णायक छ ?

छ । अरू क्षेत्रपछि छन् नि । १ देखी ५ सम्म कुनै क्षेत्रमा हाम्रो दसौँ हजार भोट छ । पाँच नम्बरमा पनि हाम्रो धेरै भोट छ । हामीले गएको स्थानीय तह निर्वाचनमा ६४ हजार मत पाएका थियौँ, अहिले हामीले एमालेलाई धेरै भोट दिँदै छौँ सिट सङ्ख्याको हिसाबमा । हामीले अहिले एमालेसँग लेनदेन गरेका हौँ, यसलाई सबैले इमानदारीपूर्वक निर्वाह गर्छन् ।

कृष्ण सिटौला चर्चित व्यक्तित्व हुन, उहाँलाई अरू ४ वटा दलको समर्थन छ, तपाईंले उहाँलाई कुन रूपमा लिनुभएको छ ?

मेरो विजयमा कुनै समस्या छैन । निश्चित छ, मतान्तर कति हुन्छ भन्ने मात्रै हो । हामीले स्थानीयतहमा पाएको पपुलर मतलाई आधार मान्ने हो भने सिटौलाले नेतृत्व गरेको गठबन्धनको मत चाहिँ ३१ हजार हो । हामीले अहिले जसको समर्थन पाएका छौँ हाम्रो करिब ४३ हजार स्थानीय तहको मत छ । यो  क्षेत्रमा राप्रपा हरेक निर्वाचनमा पपुलर मत बढाउँदै गएको छ । २०६४ देखी यता आउँदा हाम्रो मत बढिरहेको छ यस क्षेत्रमा । स्थानीय तह निर्वाचनमा हामीले झण्डै २२ हजार मत ल्यायौँ । यसरी अरू दलको मत स्थिर र घटेको छ तर, हामीले मत बढाउँदै गएका छौँ । त्यसमाथि पनि म त्यो पार्टीको अध्यक्ष हुँ, स्वाभाविक मत माथि बढेर जान्छ । अहिले एमाले र राप्रपाको तालमेल गरेर उम्मेदवार बनेको भए पनि मलाई खास गरी नयाँ मतदाताहरू जो बिसौँ हजार छन्, उनीहरूमध्ये ८० प्रतिशतको समर्थन मलाई छ । कांग्रेस र माओवादी भित्रबाट पनि मलाई साथ र समर्थन छ । त्यसैले विजयलाई कुनै समस्या छैन, मतान्तर कति भन्ने मात्र हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप