शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

प्रचण्डसँग गोरखा–२ का मतदाताका अपेक्षा के छन् ?

सोमबार, २८ कात्तिक २०७९, १० : ३५
सोमबार, २८ कात्तिक २०७९

नुरा लामिछाने गोरखा बजारस्थित रंगशालाको छेउमा चटपटे व्यापार गर्छिन् । विगत ७ वर्षदेखि सोही पेसाबाट जीवन गुजारासँगै एक छोरा र छोरीलाई शिक्षा दिँदै आएकी छिन् उनले । प्रचण्ड गोरखाबाट निर्वाचित भएपछि रोजगारीको सहज व्यवस्था गरिदिएमा आभारी हुने उनको भनाइ छ । 

उनले भनिन्, ‘उहाँ यहाँ आएपछि रोजगारी, घर घरमा खानेपानी, बिजुलीको सहज व्यवस्था होस् भन्ने चाहना छ । पीडितहरूलाई राहत मिलोस्, गाउँ गाउँमा बाटो घाटो निर्माण, बिरामी भएमा एम्बुलेन्स पुग्ने व्यवस्था होस् भन्ने आशा छ ।’

प्रचण्ड गोरखा–२ मा आएपछि गोरखकाली रबर उद्योग सञ्चालन गर्ने प्रतिबद्धता जनाएको सुनेर शिक्षिका सरला खनाललाई खुसी लागेको छ । उनले ठुला ठुला उद्योग कलकारखाना सञ्चालन गरेर रोजगारीको व्यवस्था गर्न आग्रह गरिन् । 

प्रचण्ड जितेर प्रधानमन्त्री बन्नुहोला र गोरखावासीलाई सेवा सुविधा दिनुहोला भन्ने आस गरेकी सरलाले भनिन्, ‘बाटोघाटो, बत्ती पानीको सुविधा ल्याउलान्, रोजगारी दिलाउलान् भन्ने लागेको छ ।’

गोरखा सिरानचोकका जलन ढकाल पनि प्रचण्डले गोरखा–२ बाट उम्मेदवारी दर्ता गरेपछि उत्साहित बनेका छन् । उनले भने, ‘राष्ट्रिय स्तरको नेता हाम्रो जिल्लामा चुनावी प्रतिस्पर्धामा आएपछि उहाँसँग धेरै अपेक्षा गर्नु स्वाभाविकै हो ।’

जलनका विचारमा गोरखामा विकास गरी स्थानीयको जीवनस्तर उकास्न उनले भूमिका खेले भने उनी यहाँ आउनुको सार्थकता रहन्छ । ‘पहिला पनि यो क्षेत्रबाट डा.बाबुराम भट्टराईले ३ पटक चुनाव जित्नुभयो र प्रधानमन्त्री पनि बन्नुभयो । अहिले यहाँ फेरि प्रचण्ड आउनुभएको छ । यहाँको विकासका लागि बाबुराम र प्रचण्डले चुनाव जित्नुमा केही फरक पर्छ जस्तो लाग्दैन,’ उनले भने ।

गोरखा नगरपालिका–११ का स्थानीय रामबहादुर खड्का प्रचण्ड गोरखा चुनाव लड्न आउनु यस क्षेत्रको विकासका लागि सुनौलो अवसर भएको बताए ।  ​रातोपाटीसँगको कुराकानीमा उनले भने, ‘यति ठुलो नेता गोरखाबाट चुनाव लड्दै गर्दा यहाँका जनताको साथै गोरखाको इतिहासलाई पनि सम्झेर काम गर्नुहुनेछ । ७७ जिल्लामा गोरखा जिल्लालाई विकासको एउटा नयाँ मोडल दिनुहुनेछ भन्ने विश्वास लिएका छौँ ।’ उनले प्रचण्डलाई भाग्यविधाताको रूपमा लिएको बताए ।

गोरखा नगरपालिकाको १३ किलोमा पसल चलाएकी गोमा काप्री गोरखामा चुनाव लड्न आएपछि प्रचण्डमार्फत यस क्षेत्रमा स्थानीय विकासका काम अगाडि बढ्नेमा आशावादी छिन् । उनले भनिन्–‘प्रचण्ड चितवन छोडेर यहाँ आउनुभएपछि हामी धेरै आशावादी बनेका छौँ । हाम्रो आशा भनेकै यहाँ विकास निर्माणको काम अघि बढोस् भन्ने हो ।’

यस्तै, गोरखा नगरपालिका–१० का भैरवबहादुर कुमालले प्रचण्ड गोरखा आएपछि जनताले महसुस हुने गरी काम गर्न सुझाव दिन्छन् । गोरखा–२ मा आसन्न प्रतिनिधि सभा निर्वाचनमा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेका उम्मेदवार अब्दुस मियाबीच प्रतिस्पर्धा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप