बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

गुल्मी–२ मा रामकुमारी र गोकर्णबीच वाकयुद्ध

सोमबार, २८ कात्तिक २०७९, १४ : ३२
सोमबार, २८ कात्तिक २०७९

-भुवन कार्की

आसन्न निर्वाचनमा गुल्मी क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका एमालेका गोकर्ण विष्ट र नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री पछिल्लो समय वाकयुद्धमा उत्रिएका छन् ।

विगतमा एउटै पार्टीमा लामो समयसम्म रहेर अहिले आपसमै प्रतिस्पर्धी बनेका कारण पनि उनीहरु एक अर्काको सबल र दुर्बल दुवै पक्षसँग परिचित छन् । त्यसैले दुवैले आफ्नो चुनाव प्रचारलाई आक्रामक तुल्याएका छन् ।

झाँक्रीलाई मतदाताको घरदैलोमा पुग्न उनलाई भ्याइ–नभ्याइ छ । घरदैलोको क्रममा आयोेजित कोणसभाहरुलाई सम्बोधन गर्दै उनले गुल्मी–२ को परिचय बदल्ने गरी काम गर्ने प्रतिबद्धता जनाउने गरेकी छन् ।

आफूले निर्वाचन जितेको खण्डमा ५ वर्षमा के के काम गर्ने भन्ने रणनीतिक योजना पनि बनाएको उनी बताउँछिन् । उनलाई सत्तारुढ पाँच दलीय गठबन्धनको साथ छ ।

घरदैलोकै क्रममा गुल्मीको इश्मा गाउँपालिका वडा नं. २, रातडाँडा गाउँमा पुगेकी रामकुमारी रातोपाटीसँग संक्षिप्त कुराकानी गरिन् ।

केही समय अघि उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्टले गुल्मीको धुर्कोट गाउँपालिका वडा नं. ३, हाडहाडेको जनजाति बस्तीमा उनीप्रति गरेको टिप्पणीबारे कुरा गर्न खोज्दा उनी भावुक बनिन् । हाडहाडेमा उनीप्रति लक्षित गर्दै विष्टले भनेका थिए, ‘जनजातिकी छोरीचेलीलाई घर पठाउँदा सोलीभरि रोटी र रक्सीको कोसेली बोकाएर पठाउने हो, भोट दिने होइन ।’

विष्टको सो अभिव्यक्तिबारे रामकुमारीले भनिन्, ‘रोटी र रक्सीको कोसेलीले त मलाई समाजसँग झन् नजिक बनाउने भो, जनताको झन् नजिकको चेली बनाउने भो, आफन्त बढेको झन् राम्रो हो तर मलाई भोट नदिनु भन्ने कुरा पराजित मानसिकता हो ।’

उनले विष्टलाई झोला बोकाएर (चुनावमा हराएर) पठाउने आफ्नो चाहना रहेको पनि बताइन् । उनले भनिन्, ‘म एक जनजातिको छोरी अब सबै जनताको छोरी, देशको छोरी हुँ, मैले तमाम महिला, दलित, बालबालिका तथा सम्पूर्ण दमित वर्गको उत्थानका लागि लड्ने छु, नीतिगत रुपमै सामाजिक असमानता र विभेदहरु हटाउने छु, त्यसका लागि मलाई जनताले भोट दिएर जिताउन जरुरी छ ।’

विष्टसँगसँगै दशकौं राजनीति गरेको स्मरण गर्दै उनले पार्टी विभाजनको बेला विष्टले धोका दिएको टिप्पणी गरिन् । उनले भनिन्, ‘एमाले अध्यक्ष केपी ओलीले संसद विघटन गर्दा अदालत जाने उहाँहरुनै हो, गुल्मीमा आएर सूर्य चिह्नमात्र हाम्रो विकल्प होइन भन्दै समानान्तर गतिविधि गर्ने उहाँहरु नै त हो, तर अन्त्यमा धोका दिनुभएको हो ।’

उनले प्र्रतिप्रश्न गरिन्, ‘संसद र संविधानलाई प्रहार गर्ने अग्रमनकारी कि संविधानको रक्षा गर्ने व्यक्ति ?’ संविधानको रक्षा गर्न एमाले पार्टीभित्र विद्रोह गर्नुपरेको उनले बताइन् । एमाले नेतृत्व प्रतिगमनतर्फ लागे पनि अन्य पार्टीले त्यसलाई रोकेको उनको तर्क छ । 

घरमा आगो लगाएर खरानीको भागबण्डा गर्ने होइन : विष्ट

यसैबीच झाँक्रीका प्रतिस्पर्धी एमाले नेता गोकर्ण विष्टले पार्टीमा विवाद भए पनि विभाजनको अवस्था ल्याउनु उचित नभएको टिप्पणी गरे । घरदैलोको क्रममा मालिका गाउँपालिकाको अर्जेमा पुगेका विष्टले रातोपाटीसँग कुरा गर्दै भने, ‘पार्टीमा विचारको बहस त भएकै हो तर यसको अर्थ विभाजन थिएन, पार्टीलाई कसरी सही दिशामा लैजान सकिन्छ भन्ने बहस थियो ।’

संसद विघटनपछि पार्टीमा विवाद र बहस भए पनि आफूले जिल्लामा कुनै पनि समानान्तर गतिविधि नगरेको उनको स्पष्टोक्ति थियो । उनले भने, ‘पार्टीभित्र विचारको बहस भएको हो तर आफ्नो घर जलाएर खरानीको भागबण्डा गर्न खोज्नु उचित थिएन ।’ पार्टीमा छलफल, बहस र आलोचना, आत्मआलोचना हुनु स्वाभाविक हुने उनको तर्क थियो ।

गुल्मी २ मा विष्ट र झाँक्री मुख्य प्रतिस्पर्धी उम्मेदवार हुन् । अन्य साना पार्टीका समेत गरी यस क्षेत्रमा १२ जनाको उम्मेदवारी परेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप