शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

गोरखामा मैले विकासको पिलर हालेँ, अब प्रचण्डको नेतृत्वमा छाना हाल्ने  काम हुन्छ : डा.भट्टराई

सोमबार, २८ कात्तिक २०७९, २२ : ३९
सोमबार, २८ कात्तिक २०७९

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आफूले गोरखामा थालेको विकासको काम अब प्रचण्डले पूरा गर्ने बताएका छन् । सोमबार गोरखाको पालुङटारमा सत्ता गठबन्धन दलले गरेको चुनावी सभालाई  सम्बोधन गर्दै डा.भट्टराईले गोरखालाई विकास र सम्बृद्धिको नमुना जिल्ला बनाउने सपना पूरा गर्न प्रचण्डलाई जिताउन मतदातालाई आग्रह गरे । 

उनले २०६४, २०७० र २०७४ सालको चुनावमा अत्यधिक मतले आफूलाई विजयी गराएकोमा गोरखावासीलाई धन्यवाद दिँदै अहिलेको व्यवस्था जोगाउन गठबन्धनलाई भोट दिन आग्रह गरे । स्वतन्त्र उम्मेदवारलाई भोट दिए भोट खेर जाने भन्दै उनले स्वतन्त्र उम्मेदवारलाई पनि गठबन्धनलाई भोट हालेर अहिलेको व्यवस्था जोगाउन आग्रह गरे । एमालेमा त्याग र तपस्या गरेका नेता रहेको बताउँदै डा.भट्टराईले ओलीमा रहेको अंहकारले गर्दा एमाले आफैपनि ओरालो लागेको उल्लेख गर्दै ओलीको धुन्धुकारी प्रवृत्तिलाई परास्त गर्न गठबन्धनलाई मत दिन आग्रह गरे । स्वतन्त्र उम्मेदवारलाई लक्षित गर्दै उनले अहिलेका युवा स्वतन्त्र उम्मेदवारले देशको नेतृत्व गर्न नसक्ने र देशलाई अझै केही समय राजनीतिक नेतृत्वको आवश्यकता रहेको बताए ।  

राजा फाल्नका लागि आफू कम्युनिस्ट पार्टीमा लागेको बताउँदै उनले कांग्रेसको प्रजातान्त्रिक विचारधाराको आफूले पहिलेदेखि नै समर्थक रहेको समेत सुनाए । २०७४ सालमा आफू कांग्रेसको मतले पनि विजयी भएको बताउँदै उनले कम्युनिस्ट, कांग्रेस, समाजवादी एकैठाउँमा बसेर मिलेर गोरखामा विकासका काम गर्ने उल्लेख गरे । डा.भट्टराईले गोरखाका नदी किनारका करिडोर सडक पिच गर्न आफूले प्रचण्डलाई आग्रह गरेको र उनले आफ्नो कार्यकालमा नै बुढीगण्डकी आयोजना सुरु भएको बताउँदै अब फेरि सो आयोजना अघि बढ्ने उल्लेख गरे ।

उनले भने–‘म आर्किटेक इन्जिनियर भएको नाताले कुनैपनि घर निर्माण गर्न सबैभन्दा पहिले जग खन्नुपर्ने हुन्छ । त्यसपछि पिलर हाल्ने, पर्खाल लगाउने, झ्याल ढोका हाल्ने र छाना लगाएपछि पूरा हुने हुन्छ । म गोरखाबाट ३ पटक निर्वाचित भएपछि गोरखामा विकासको जग खनेर पिलर हाल्ने काम गरेँ । अव झ्याल हाल्ने, छाना हाल्ने काम प्रचण्डको नेतृत्वमा हुन्छ । त्यसका निम्ति तपाइहरूले सहयोग गर्नुपर्ने हुन्छ ।’ भट्टराईले अब उत्पादन र रोजगारीको विकास गर्नुपर्ने बताउँदै यस क्षेत्रका टारहरुमा सिँचाइको योजना अघि बढेको उल्लेख गरे । गोरखामा कोट, धार्मिक स्थल रहेको र यो क्षेत्रलाई पर्यटन सर्किट बनाउनका लागि डिपिआर तयार भइरहेको उल्लेख गरे । यस्तै गण्डकी प्रदेशस्तरको जडिबुटी प्रशोधन केन्द्र दरौदी नदी किनारमा तयार भइरहेको बताउँदै गोरखाका अस्पतालहरूलाई जोडेर मेडिकल कलेज सञ्चालन गर्ने बताए । 

यस्तै मर्स्याङ्दी नदीछेउ औद्योगिक करिडोर बनाउने, विदेशी लगानी भित्र्याउने र गोरखकाली रबर उद्योग सञ्चालन गरेर रोजगारी सिर्जना गर्ने उल्लेख गरे । भट्टराईले आफ्नो प्रचण्डसँग कुनै विवाद नरहेको उल्लेख गर्दै प्रचण्डले एमालेसँग मिलेर नयाँ प्रयोग गरेको र आफूले नयाँ शक्तिको प्रयोग गरेको तर दुवै प्रयोग असफल भएकाले अब नयाँ ढंगले मिलेरसँगै जान सहमत भएको उल्लेख गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप