‘स्थायी राजधानी’लाई चुनावी मसला बनाउँदै एमाले नेता पौडेल र पोखरेल
नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलबीच प्रदेशको ‘स्थायी राजधानी’ का विषयमा वाकयुद्ध भएको छ । दुवै अलगअलग क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार छन् । तर, लुम्बिनी प्रदेशमा एमालेभित्र यिनै दुई नेताको आ–आफ्नै गुट छ । पौडेल बुटवल क्षेत्रका भएकाले अस्थायी राजधानीलाई स्थायी राजधानी बनाउन नसकेकोमा आलोचित छन् भने पोखरेल दाङमा स्थायी राजधानी ल्याएर बुटवल क्षेत्रमा आलोचित बने पनि दाङमा प्रिय बनेका छन् ।
रुपन्देही क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका विष्णु पौडेलले राजधानी बुटवल नै फर्काउन सकिने भन्दै हालै अभिव्यक्ति दिएपछि यहाँको राजनीतिमा नयाँ तरङ्ग उत्पन्न भएको छ । एक टेलिभिजनलाई अन्तरवार्ता दिँदै पौडेलले लुम्बिनी प्रदेशको स्थायी राजधानी बुटवलै राख्ने प्रयास असफल भए पनि फेरि बुटवलमा फर्काउन सकिने अभिव्यक्ति दिएका थिए । उनले भनेका थिए, ‘स्थायी राजधानी तोक्ने कुरा कुनै ढुंगाले कोरेको अक्षर होइन, चकले लेखेको कुरा हो, डस्टरले मेटाएर फेरि लेख्न सकिन्छ, प्रदेशसभाले फेरि सार्न सक्छ ।’
पौडेलले यो अभिव्यक्तिपछि राजनीतिक वृत्तमा विभिन्न खालका टिप्पणी भइरहेको छ । राजधानी बुटवलबाट सारेर आफ्नो स्वार्थ पूरा गरेको भन्दै पछिल्लो समय बुटवल क्षेत्रमा आलोचित पौडेलले निर्वाचन जित्नकै लागि बुटवलबासीलाई फकाउन यस प्रकारको अभिव्यक्ति दिएको धेरैको बुझाइ छ ।
उता एमालेकै महासचिव तथा पूर्व मुख्यमन्त्री शंकर पोखरेलले भने राजधानी सार्ने कुरा अब सम्भव नभएको टिप्पणी गरेका छन् । आइतबार दाङको घोराहीमा आयोजित एक कार्यक्रममा पोखेरले भने, ‘प्रदेशसभाले राजधानी तोकिसकेको छ, पटकपटक राजधानी तोक्ने कुरा संविधानले पनि भनेको छैन, ब्यक्तिले के भने भन्नेतिर नलागौं ।’
राजधानी तोकिए पनि सार्ने काम ढिलो भएको भन्दै उनले निर्वाचन जितेपछि आफूले नै राजधानी सार्ने उद्घोष गरे । उनले भने, ‘प्रदेशको राजधानी तोक्ने काम मुख्यमन्त्रीको हैसियतले मैले नै गरेको हुँ, सार्ने काम पनि मैले गर्नेछु, निर्वाचन जितेपछि जसले तोकेको हो, उसैले सार्छ ।’
एमाले उपाध्यक्ष पौडेलले राजधानी सार्छु भन्नु र महासचिव पोखरेलले सार्न दिन्न भन्नुलाई धेरैले चुनावी मसलाको रुपमा बुझेका छन् । रुपन्देही २ मा पौडेलका मुख्य प्रतिस्पर्धी तथा पाँच दलीय गठबन्धनका साझा उम्मेदवार केशवबहादुर थापाले पनि पौडेलको अभिव्यक्तिलाई ‘राजनीतिक बेइमानी’ भनी टिप्पणी गरेका छन् । उनले भने, ‘जनमतको अपमान गरेर बुटवलको राजधानी दाङ लैजाने राजनीतिक बेइमानहरुले फेरि जनतालाई भ्रममा पार्न खोजेका छन्, चकले लेखेकोलाई डस्टरले मेटाएर फेरि लेख्छु भन्नु घोर राजनीतिक बेइमानी हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानका सर्वोच्च नेतासँग भेट्न तयार छन् ट्रम्प ?
-
पूर्वप्रधानमन्त्री सुशीला कार्कीको सुझाव, ‘सत्तामा पुग्दैमा विपक्षीलाई सिध्याउने खेलमा लाग्नु हुँदैन’
-
वातावरण जोगाउनेलाई विराटनगरको सम्मान
-
संवैधानिक आयोगका १९ पदाधिकारी सिफारिसमा प्रधानमन्त्री मौन
-
लोकतन्त्रको रक्षा र राष्ट्रियता संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री आचार्य
-
कामदार छनौट प्रक्रियामा अनियमितता भएको भन्दै दायर रिटमा लिखित जवाफ माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण