बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : कमजोर अवस्थामा विप्लव, चुनावी परीक्षामा प्रचण्ड

शुक्रबार, २३ वैशाख २०७९, २३ : ०५
शुक्रबार, २३ वैशाख २०७९

आज मिति २०२९ वैशाख महिनाको २३ गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको नियमित प्रस्तुती ‘रातोपाटी ब्रिफिङमा प्रस्तुत गरिएको छ ।

१. नेकपा विभाजित

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा विभाजित भएको छ । केही समययता एक अर्कामाथि कारवाही श्रृङ्खला चलेको सो पार्टी शुक्रबार औपचारिक रुपमै विभाजित भएको हो ।

चितवनमा भएको धर्मेन्द्र बास्तोला समूहको राष्ट्रिय भेलाबाट नेकपा (बहुमत) गठनको घोषणा गरिएको छ । भेलाले बास्तोलाको संयोजकत्वमा ८१ सदस्यीय महाधिवेशन आयोजक समिति गठन गरेको एक नेताले जानकारी दिए । महाधिवेशन आगामी फागुन १ गते हुनेगरी टुंगो लगाइएको एक नेताले जानकारी दिए ।

राष्ट्रिय भेलाले एकीकृत जनक्रान्तिको कार्यदिशा खारेज गरेको छ भने वैज्ञानिक समाजवादी क्रान्ति भनेर नयाँ कार्यदिशा तय गरिएको छ ।  पार्टी विभाजित भएसँगै क्रान्तिको उद्घोषसहित नयाँ पार्टी बनाएका विप्लव कमजोर अवस्थामा पुगेका छन् ।

​२. प्रचण्डको परीक्षा

गठबन्धनसँगै चुनावी अभियानमा होमिएका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डमाथि पनि चुनौतीको चाङ रहेको छ । स्थानीय निर्वाचनमा गठबन्धन भएपनि यो चुनावमा माओवादीको शक्ति कति छ भन्ने तस्बिर पनि आउनेछ । विगतमा एमालेसँगको एकता तथा पछि माओवादी ब्युतिसकेको अवस्थामा माओवादी र सो पार्टीको परीक्षाको रुपमा हेरिएको छ । अहिले प्रचण्डसहित गठबन्धनका नेताहरु पार्टी र गठबन्धनको पक्षमा माहोल बनाउन तल्लीन छन् । यही क्रममा शुक्रबार राजधानीमा चुनावी आमसभा सम्पन्न भएको छ ।

आमसभाबारे थप समाचार

३. काँग्रेस र समाजवादीका कार्यकर्ताबीच झडप

बाजुराको बुढीनन्दा नगरपालिका–९ स्थित पाण्डुसैनमा एकीकृत समाजवादी पार्टी र नेपाली काँग्रेसका कार्यकर्ताबीच झडप भएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले २३ राउण्ड हवाई फायर र ३ सेल अश्रुग्याँस प्रहार गरेको बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रबहादुर विष्टले रातोपाटीलाई बताए ।

​४. चुनावका लागि काठमाडौं छाड्ने बढ्दै

स्थानीय तह निर्वाचनको दिन नजिकिँदै गर्दा काठमाडौं उपत्यकाबाट बाहिरिनेको संख्या दैनिक रुपमा बढ्न थालेको छ । काठमाडौंको नागढुंगा, फर्पिङ, मुड्कु र भक्तपुरको जगातेलगायका नाकाबाट यात्रुहरु बाहिरिने गरेका छन् ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको तथ्यांक अनुसार दैनिक सरदर ५ हजारले काठमाडौं उपत्यका छाड्न थालेका छन् । काठमाडौं भित्रिनेहरुको तुलनामा छाड्ने यात्रुको संख्या धेरै रहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी संजिव शर्मा दासले रातोपाटीलाई जानकारी दिए ।

​५. आलम थुनामै

विस्फोटक पदार्थ प्रयोग गरी ज्यान मार्ने उद्योग अन्तर्गत थुनामा रहेका काँग्रेस नेता मोहम्मद आफताब आलम तत्काल थुनामुक्त नहुने भएका छन् । सर्वोच्च अदालतले शुक्रबार उच्च अदालतकै निर्णयलाई सदर गर्दै उनलाई थुनामुक्त गरिरहन नपर्ने ठहर गरेको हो । न्यायाधीशद्वय सुष्मालता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासले आलमलाई थुनामुक्त गर्न नपर्ने ठहर गरेको हो ।

​६. सेयर बजारका कुरा

आगामी जेठदेखि शुक्रबार पनि धितोपत्र बजार खुल्ने भएको छ । यसअघि सातामा पाँच दिन आइतबारदेखि बिहीबारसम्म मात्र खुल्दै आएको बजार अब भने शुक्रबार पनि खुल्ने भएको हो । उसो त सरकारले आगामी जेठ १ गतेदेखि शनिबार र आइतबार, सातामा दुई दिन विदा दिने निर्णय गरेसँगै धितोपत्र बजार समेत प्रभावित हुने भएपछि धितोपत्र बोर्डले बजारलाई शुक्रबार पनि खुल्ला गर्न लागेको हो ।

​७. क्रिकेटमा नेपाल पराजित

नेपाली राष्ट्रिय क्रिकेट टोली एक दिवसीय क्रिकेट सिरिज अन्तर्गत पहिलो खेलमा जिम्बावे ‘ए’ सँग ३ विकेटले पराजित भएको छ । शुक्रबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले दिएको १३७ रनको लक्ष्य पछ्याएको जिम्बावे ‘ए’ ले २६ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो ।

अन्य खेल समाचार

​८. एमाले कमजोर बन्दैन : ओली

नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धनले स्थानीय तहको निर्वाचनमा एमालेलाई कमजोर पार्न नसक्ने जिकिर गरेका छन् । रौतहट सदरमुकाम गौरमा शुक्रबार आयोजित चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेको नेतृत्वमा सरकार गठन भएदेखि गठबन्धनले एमालेलाई गाली गर्नु बाहेक कुनै काम नगरेको आरोप लगाए ।

९. अछाम प्रकरणमा नयाँ खुलासा

बलात्कार पीडित किशोरीलाई नै सजाय हुनेगरी अछाम जिल्ला अदालतले गरेको फैसलाले केही समय पहिले ठुलै तरङ्ग ल्याएको थियो । अछाम जिल्ला अदालतका न्यायाधीश नवीनकुमार जोशीले जाहेरीकर्ता किशोरीलाई नै ३ वर्ष ६ महिना कैद सजाय सुनाएपछि उक्त फैसला चर्चामा आएको थियो ।

फैसलापछि धेरैले न्यायाधीशमा कार्यक्षमताको अभाव भएको र निस्क्रिय भइसकेको अध्यादेशका आधारमा फैसला गरिएको भन्दै आलोचनासमेत गरेका थिए । यही आलोचनाका बीच कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले अछाम जिल्ला अदालतका न्यायाधीश नवीनकुमार जोशीलाई सर्वोच्च अदालत काजमा तानेर छानबिन समेत गरिरहेका छन् ।

पीडित किशोरीलाई नै उल्टै सजाय सुनाएको भन्दै अदालतमाथि अधिकारवादी संघ संगठन खनिएकै बेला किशोरीले बोल्न नसक्ने एक युवकलाई विवाहको नाटक गरी ठगी गरेको अर्को पाटोको खुलासा भएको छ । अछामको कमलबजार नगरपालिका वडा नम्बर ७ की १९ वर्षीय कविता कटुवाल (परिवर्तित नाम) ले अछामकै रामारोशन गाउँपालिका वडा नम्बर २ मा पर्ने चाफामाण्डौ मुजा भन्ने स्थानका बोल्न नसक्ने २८ वर्षीय एक युवकलाई विवाहको नाटक गरी ठगी गरेको खुलेको हो ।

१०. अन्य समाचार संक्षेपमा

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा उम्मेदवारले गरिरहेको खर्चको विवरण संकलन गरिरहेको जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले उम्मेदवारहरूले गरिरहेको खर्चको विवरण संकलन गर्न सूक्ष्म रुपमा अनुगमन भइरहेको जनाएका हुन् ।

​वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि जनकपुरधाम उपमहानगरपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट मेयर पदमा उम्मेदवार बनेका मनोज चौधरीले आफ्नो २९ बुँदे संकल्प पत्र सार्वजनिक गरेका छन् ।

​यसपालिको मनसुनमा मुलुकका धेरै क्षेत्रमा सरदरभन्दा बढी वर्षा हुने आंकलन गरिएको छ ।  जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश नं १ को उत्तरी भूभाग, मधेश प्रदेशको अधिकांश भूभाग र बागमती प्रदेशको दक्षिणी भूभागबाहेक अन्य क्षेत्रमा सरदरभन्दा बढी वर्षा हुने आकलन गरिएको छ ।

​डीआईजी बसन्त लामा एआईजीमा बढुवा सिफारिस भएका छन् । बढुवा समितिको शुक्रबार बसेको बैठकले रिक्त रहेको एआईजी पदमा लामालाई बढुवा सिफारिस गरेको हो ।

​सरकारले आगामी जेठदेखि साताको दुई दिन शनिबार र आइतबार बिदा दिने निर्णय स्वास्थ्य संस्थामा पनि बिदा दिने तयारी गरिएको छ ।

​थप समाचार

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप