आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

फुटबलको विवादमा नयाँ छानविन समिति गठन गर्न एन्फालाई एनएनआईपीएको माग

शुक्रबार, २३ वैशाख २०७९, १८ : २२
शुक्रबार, २३ वैशाख २०७९

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले फुटबल खेलाडी र मुख्य प्रशिक्षक विवादको विषयमा छानविन समिति नयाँ बनाउन माग गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले खेलाडी प्रशिक्षक विवादको विषयमा छानविन गर्न एक सदस्यीय समिति गठन गरेको चर्चा चलेको थियो ।

एन्फाले सुरुमा छानविन समिति गठन भएको जानकारी दिएपनि पछि त्यसलाई सच्याउँदै छानविन समिति नबनेको बताएको थियो । एक सदस्यीय छानविन समितिले खेलाडीहरुलाई उचित न्याय नदिने भन्दै एनएनआइपीएले शुक्रबार एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालाई नयाँ समिति गठनको मागसहितको ज्ञापनपत्र बुझाएको छ ।

एनएनआईपीएका अध्यक्ष दिपक श्रेष्ठले शेर्पालाई ज्ञापनपत्र हस्तान्तरण गरे । एन्फाले गत बुधबार मुख्य प्रशिक्षक अलमुताएइरी र खेलाडीबीचको विवादको सत्यतथ्य पहिचान गर्न कमिटि गठन गरेको थियो ।

‘पीडित खेलाडीहरुलाई अमान्य रहेको गठित एक सदस्यीय छानविन समिति एनएनआईपीएलाई पनि नीति सम्मत एवं व्यवहारिक नभएको बुझाइ रहेको छ ।  यसर्थ देशको गौरवसँग जोडिएको गम्भिर विषयमा न्यायिक तथा प्रभावकारी छानविन गर्नको निमित्त न्युनतम ३ वा सो भन्दा बढी सदस्य रहने गरी सबै पक्षले विश्वास गर्न लायक नयाँ छानविन समिति गठन गर्न एनएनआईपीए माग गर्दछ,’ ज्ञापनपत्रमा लेखिएको छ ।

एक साताअघि मुख्य प्रशिक्षक अल्मुताइरीको कार्यशैलीमा असन्तुष्टि जनाउँदै १० खेलाडीले बन्द प्रशिक्षण छाडेका थिए । त्यसपछि खेलाडीहरूले आफूहरु अन्यायमा परेको भन्दै सत्यतथ्य छानविनका लागि माग गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप