शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

चुनाव जित्न धर्मगुरुको शरण, आत्मानन्दलाई खुशी पार्न दलहरुले उम्मेदवारी नै दिएनन् !

माङसेबुङ–५ को वडाध्यक्षमा जनमुक्ति पार्टीलाई सबै दलको समर्थन
शुक्रबार, २३ वैशाख २०७९, २२ : ३१
शुक्रबार, २३ वैशाख २०७९

एमाले अध्यक्ष केपी शर्मा ओली बुधबार सुवास नेम्वाङलाई लिएर धर्मगुरु आत्मानन्द लिङ्देनलाई भेट्न पुगे । माङसेबुङ गाउँपालिकाको वडा नम्बर ५ मा पर्ने लारुम्बा किराँत धर्मको प्रमुख आस्थास्थल मानिन्छ । ओलीले धर्म गुरुमार्फत आफ्नो पार्टीलाई सहयोग मागेको बताइन्छ ।

किराँत धर्मगुरु फकाउन एमालेमात्रै होइन, हरेक दलका नेता धाउने गर्दछन् । गुरुलाई फकाउनकै लागि दलहरुले माङसेबुङको वडा नम्बर ५ मा उम्मेदवारी समेत दिएनन् । धर्मगुरु लिङ्देनले राष्ट्रिय जनमुक्ति पार्टीका तर्फबाट यसअघि पनि वडाध्यक्ष जितेका नरेन्द्रकुमार राईलाई समर्थन गरेपछि अन्य दलले उम्मेदवारी नदिएका हुन् ।

गठबन्धनमा आबद्ध नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चमात्रै होइन, नेकपा एमाले र राप्रपाले समेत त्यहाँ वडाध्यक्षको उम्मेदवारी दिएका छैनन् ।

‘जनमुक्ति पार्टीले पहिले पनि वडाध्यक्ष जितेको हो माङ्सेबुङमा । त्यहाँ हामीले जनमुक्ति पार्टीलाई सघाउने भनेका छौं । त्यो धार्मिक क्षेत्र पनि हो । जम्मै किराँत धर्ममात्रै मान्ने मतदाता भएका कारण त्यो वडामा चाहिँ चुनाव नगराऔं भन्ने हिसावले पनि पहल ग-यौं,’ माओवादी इलामका नेता धिरेन्द्र शर्मा (रमण)ले भने, ‘त्यो प्रस्ताव मैले नै गरेको थिएँ । पछि गठबन्धनका नेताले त्यही कुरालाई स्वीकार गरेको छ । पछि एक जनाले स्वतन्त्र उम्मेदवारी दिएका कारण त्यहाँ सर्वसम्मत भने हुन सकेन । त्यहाँ एमालेले पनि उम्मेदवारी दिएको छैन ।’

नरेन्द्रकुमार राई

०७४ सालको निर्वाचनमा पनि माङसेबुङ–५ मा राष्ट्रिय जनमुक्ति पार्टीका तर्फबाट वडाध्यक्षमा नरेन्द्र राईसहितको प्यानलले जितेको थियो । त्यसबेला भने दलीय प्रतिस्पर्धा भएको थियो । राईले त्यसबेला ४८३ मत ल्याएर जितेका थिए । हाल २०१९ मतदाता रहेको वडा नम्बर ५ बाट अत्यधिक मत ल्याएर आफू जित्ने राई बताउँछन् । ‘म त अत्यधिक मत ल्याएर जित्छु भन्ने लागेको छ । समाजसेवी, बुद्धिजीवीहरुदेखि सबै क्रियाशील पार्टीहरुले मलाई समर्थन गर्नुभएको छ,’ उनले भने, ‘यो मुलुककै लागि उदाहरणीय हुनसक्छ । मेरो विपक्षमा एक जना व्यक्ति उठ्नु भए पनि म ढुक्क छु ।’

आफूलाई गुरुको आशीर्वाद प्राप्त भएकै कारण दलहरुले समर्थन गर्न बाध्य भएको उनको भनाइ छ । ‘माङसेबुङको किराँत धर्मावलम्वीको आस्थामा विराजमान गुरुजी पनि यो वडाको नागरिक हुनुहुन्छ । यो वडामा उहाँ पनि सामाजिक क्षेत्र, आर्थिक क्षेत्रसँग जोडिएका कारणले उहाँको समर्थन कहाँ छ भन्ने कुरा पनि राजनीतिक दलले हेरेको होला,’ राईले भने, ‘त्यसो हुँदा नरेन्द्र राईलाई गुरुले समर्थन गर्नुभएको छ । अब नरेन्द्र राईको विरोध गर्दा गुरुको विपक्षमा गएको सन्देश जाने भएको कारण पनि मलाई समर्थन गर्नुभएको होला ।’

उनलाई एक जना स्वतन्त्र उम्मेदवार सुव दल सेप्लिङले टक्कर दिइरहेका छन् । उनी यसअघिका काँग्रेस कार्यकर्ता हुन् । यद्यपि हाल काँग्रेसबाट राजीनामा दिएर आफू उम्मेदवार बनेको उनले बताउने गरेका छन् ।

सो क्षेत्र पशुबली र मदिरा निषेधित क्षेत्र हो । पहिलेको लारुम्बा क्षेत्र नै हाल आएर माङसेबुङ नामले प्रख्यात छ । बर्सेनि मंसिर १८ गते धर्मगुरु लिङ्देनको र फागुन ३ गते गुरुधर्मपत्नी साँवा पवित्रहाङमा लिङ्देनको शुभजन्मोत्सवलाई त्यहाँ धार्मिक उत्सवको रूपमा मनाइन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप