शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

गठबन्धनको आक्रामक चुनावी प्रचार : प्रचण्ड रुख र देउवा हँसिया हथौडामा भोट माग्न व्यस्त

शुक्रबार, २३ वैशाख २०७९, १८ : ५८
शुक्रबार, २३ वैशाख २०७९

स्थानीय तह निर्वाचनको मतदान मिति नजिकिएसँगै सत्ता गठबन्धनका शीर्ष नेताहरु आक्रामक चुनावी प्रचार अभियानमा जुटेका छन् । बिहीबार चितवनको भरतपुरमा संयुक्त चुनावी सभा गरेर गठबन्धनका साझा उम्मेदवारलाई जिताउन मत मागेका शीर्ष नेताहरुले शुक्रबार सोही शैलीमा काठमाडौं महानगरका मतदातासँग मत मागे । गठबन्धनका शीर्ष नेताहरु शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, जनता समाजवादीका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले एकअर्कालाई छाति फुकाएर मत मागे ।

कुनै बेला राजनीतिक रुपमा एक अर्काप्रति ‘पानी बाराबार’को जस्तै व्यवहार गर्न पछि नपर्ने दलका शीर्ष नेताको यो पछिल्लो व्यवहार झट्ट हेर्दा अनौठो झै देखिन्थ्यो । तर, सवै दलका शीर्ष नेताहरु गठबन्धनप्रति इमान्दार देखिन्थे । उनीहरुले एकअर्का पार्टीका नेता कार्यकर्ताहरूलाई ढुक्क भएर गठबन्धनका उम्मेदवारहरूलाई मत दिएर जिताउन आग्रह गरेका छन् । विगत लामो समयदेखि देउवाले रुख र प्रचण्डले हँसिया हथौडामा भोट माग्दै आएपनि यो पटक उनीहरुले रुपान्तरित ढंगले भोट माग्ने अभ्यासको थालनी गरेका छन् । 

काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले भरतपुर र काठमाडौमा भएको चुनावी सभालाई सम्बोधन गर्दै गठबन्धन काँग्रेस महाधिवेशनको म्यान्डेट नै भएको बताए । उनले भरतपुरमा रेनु दाहाल र काठमाडौं महानगर मेयरका उम्मेदवार सिर्जना सिंह सक्षम रहेको दावी समेत गरे । ‘सिर्जनाले प्रकाशमानसँग बिहे गर्नु र रेनु प्रचण्डको छोरी हुनु के गल्ती हो, उहाँहरूसँग के को कमी छ ?’देउवाको प्रश्न छ । महिला मेयर भएको ठाउमा राम्रा कामहरु भएको भन्दै उनले उनीहरु मेयर भए अझ राम्रो काम गर्ने अपेक्षा गरेको देउवाको भनाइ छ । गठबन्धन काँग्रेस महाधिवेशनको म्यान्डेट भएको भन्दै देउवाले अहिले केहीले विरोध गर्नु दुखपूर्ण रहेको बताए ।​

यता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतमा वामपन्थीबीच गठबन्धन बनाएर अघि बढ्न खोज्दा ठुलो धोका र षडयन्त्रबाहेक केही नपाएको स्मरण गरे । उनले त्यही धोका र षडयन्त्रपूर्ण व्यवहारका कारण पछिल्लो (पाँच दलीय ) प्रगतिशिल लोकतान्त्रिक वामपन्थी गठबन्धन बनाउनु परेको बाध्यता सुनाए ।

 

‘कांग्रेस र कम्युनिष्टबीच पानी बाराबारको अवस्था हुँदा मुलुकले केही पाएन तर कांग्रेस कम्युनिष्ट मिलेपछि प्रजातन्त्र पुनःस्थापना पनि भयो, शान्ति प्रक्रिया पनि भयो, संविधानसभाबाट संविधान पनि बन्यो, यो वामपन्थी र प्रजातन्त्रवादी शक्तिकै सहकार्यले सम्भव भएको हो’, प्रचण्डले विगतको स्मरण गरे ।

विगतमा वाम गठबन्धन र कम्युनिष्ट एकतामार्फत केपी शर्मा ओलीलाई नायक बनाउन खोजेपनि ओली खलनायक बनेको प्रचण्डको भनाइ थियो । ‘वाम गठबन्धन र पार्टी एकता गरेर स्थायित्व र विकासको सपना देखेका थियौं त्यो सपना ३ वर्षमै चकनाचुर भयो । केपी ओलीलाई नायकको भूमिकामा पुर्‍यायौँ तर, एकताको २ हप्तादेखि नै ओलीबाट धोका पायौं ’ अध्यक्ष प्रचण्डले लकिरका फकिरको प्रसंग सुनाउँदै रुख वा हँसिया हथौडा बाहेक अन्त मत दिन्न भन्नेहरूलाई जडता त्याग्न आग्रह पनि गरे ।

​‘रुखवालाले बडो खुसी र गर्वका साथ हँसिया हथौडामा छाप लगाउन सक्नैपर्छ । हँसिया हथौडावालाले गर्वका साथ रुखमा छाप हान्न सक्नैपर्छ, वा काँग्रेस माओवादीेले कलम र उहाँहरुले रुख वा हँसिया हथौडामा छाप हान्नैपर्छ’, प्रचण्डले गठबन्धनमा आवद्ध नेता कार्यकर्ताहरुलाई सुझाव दिदै भने ।

 

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पनि देउवा र प्रचण्डकै शैलीमा मत मागे । उनले पनि सत्ता गठबन्धन बन्नुको बाध्यता सुनाउँदै मुलुकमा दुईवटा गठबन्धन रहेको सुनाए । ‘एमाले र केपी ओली नेतृत्वको गठबन्धनले दक्षिणपन्थीहरूको नेतृत्व गरिरहेको छ’, अध्यक्ष नेपालको भनाइ छ । उनले प्राप्त उपलब्धीको रक्षा गर्ने ,संविधान जोगाउने, समाजवाद र सुशासनको पक्षमा रहेकाहरु, गणतन्त्रका हिमायतीहरू सत्ता गठबन्धनमा सामेल भएको र यो गठबन्धनमा रहेका उम्मेदवारहरूलाई मत दिन र विजयी गराउन आग्रह गरे ।

काँग्रेस नेता रामचन्द्र पौडेलले पनि एमाले अध्यक्ष केपी ओली मुलुकको स्थिरताको कारक भएकाले गठबन्धन बनाएर संविधान र लोकतन्त्रको रक्षा गर्नुपरेको बताए ।

उनले ओलीलाई बलियो बनाउन गठबन्धनलाई कमजोर पार्ने काम गर्न नहुने भन्दै हँसिया हथौडामा भोट हालिँदैन भनेर गठबन्धनलाई कमजोर बनाउने खेल नगर्न आफ्ना नेता कार्यकर्ताहरूलाई आग्रह गरे । उनले नेपाली काँग्रेसका गठबन्धन विरोधी नेताहरुलाई संकिर्ण सोच त्याग्न आग्रह गरे ।

​‘मेरा साथीहरुलाई भन्न चाहन्छु– यो संकीर्णता त्यागेर गठबन्धनको पक्षमा उभिनुस् । प्रतिगामीहरु एक ठाउँमा उभिँदैछन् । आज काँग्रेस र कम्युनिस्टको द्वन्द्व होइन,’ उनले भने, ‘परिवर्तन र प्रतिगामी  शक्ति बीचको द्वन्द्व हो । हामीले पुराना कुरामा अल्झिने होइन । हामीले गठबन्धनलाई मजबुद बनाउन जरुरी छ ।’

त्यस्तै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले पाँच दलका बीच थुप्रै बेमेल रहे पनि प्रतिगमनविरुद्ध आफूहरु एक ठाउँमा उभिएको उनले प्रस्ट पारे । ‘हामी गणतन्त्रका लागि एक ठाउँमा छौं,’ उनले भने । गठबन्धनको यस्तो अभ्यास यसअघि पनि पटकपटक भइसकेको भन्दै केसीले पञ्चायत विरोधी आन्दोलन, २०६२÷६३ को जनआन्दोलन समेत गठबन्धनकै बलमा परिणाममुखी भएको बताए ।

जसपाका नेता राजेन्द्र श्रेष्ठले पनि गठबन्धन अहिलेको राष्ट्रिय आवस्यकता रहेको भन्दै विगतमा केपी ओलीका भाषण सुनेर जनताले भोट दिएपनि जनताको भोटको सदुपयोग गर्न नसकेको बताए ।

‘राम्रा राम्रा हास्यव्यङ्ग्य सुनेर जनताले स्थानीय निर्वाचन र संसदीय निर्वाचनमा केपी ओलीको पार्टीलाई बहुमत दिलाए, तर स्थिति के भयो ?’, श्रेष्ठले प्रश्न गरे । उनले त्यसबेला एमालेलाई जनताले मत दिनु थारो गाईलाई दाना दिएजस्तै भएको बताए । ‘थारो गाईलाई दाना दिएर लोकतन्त्र र संविधान बँच्छ त ? यो गल्ती भयो’, श्रेष्ठको भनाइ छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप