विप्लवको एकीकृत जनक्रान्ति अवसानको बाटोमा
२०७१ साल मंसिर १५ गते काठमाडौंको राष्ट्रिय नाचघरको हल नेता, कार्यकर्ता र पत्रकारले खचाखच भरिएको थियो । मञ्चमा मुख्य आकर्षण भएर बसेका थिए– नेत्रविक्रम चन्द ‘विप्लव’ । उनीसँगै खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, धर्मेन्द्र बास्तोला, सन्तोष बुढामगर लगायतका नेता लस्करै कुर्सीमा थिए ।
प्रहरी÷आर्मीकै शैलीमा जुँगा, दाह्री, कपाल काटेर चिटिक्क परेका विप्लवको हाउभाउ अरु दिनभन्दा बेग्लै थियो । उनी घरी तल हेर्थे, घरी दायाँबायाँ फर्किन्थे, मुखको चालले समेत केही सोचेजस्तो वा केही आत्तिएजस्तो भान हुन्थ्यो ।
जब बोल्ने पालो आयो, भावुक हुँदै उनले ‘यो क्रान्तिको यात्रामा दायाँबायाँ प्रचण्ड, बाबुराम र वैद्यहरु हुुनुपर्ने’ भन्दै उनीहरु छुटेकोमा अफसोस व्यक्त गरे । माओवादीको १० वर्षे ‘जनयुद्ध’मा मृत्यु वा मुक्तिको कसम खाएका सबैले क्रान्तिलाई धोका दिएकाले पार्टीका दोस्रो र तेस्रो पुस्ताका नेताहरुले पहल थाल्दा नमज्जा लागेको उनले सुनाए । ‘क्रान्तिको यात्रामा सबै गन्तव्यमा नपुग्ने’ भन्दै उनले अधुरो क्रान्तिको झण्डा एक्लै भए पनि उठाउनु पर्दा कताकता अभिभावकविहीन भएजस्तो अनुभूति भएको समेत बताएका थिए ।
त्यसक्रममा आफूहरुले इमानदारिताका साथ क्रान्तिको झण्डा उठाएको भन्दै उनले त्यसदिन ‘नेकपा माओवादी’को घोषणा गरे । चितवनमा भएको साताव्यापी बहस र छलफलले मोहन वैद्यबाट क्रान्ति हुन नहुने ठहर गर्दै विप्लवको नेतृत्वमा नयाँ पार्टी घोषणा गर्ने उद्घोष ग¥यो । सोही निर्णय सुनाउन राष्ट्रिय नाचघरमा पत्रकार सम्मेलन गरिएको थियो । पत्रकार सम्मेलन भनिए पनि झण्डझण्डै पार्टीको आमसभाजस्तै बन्न पुग्यो त्यो कार्यक्रम ।
क्रान्तिको झण्डा झुक्न नदिने उद्घोष गरेको आठ वर्षपछि चितवनबाटै धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश ओली ‘सुदर्शन’पक्षले विप्लवलाई पार्टीबाट निकालेका छन् । ओली र बास्तोलापक्षले विप्लव निर्वाचनमार्फत संशोधनको बाटोमा हिँडेको र पार्टीलाई बालकोटमा लगेर बुझाउन लागेको भन्दै आफ्नै नेतालाई पार्टीबाट निकालेका छन् ।
विप्लवमात्रै होइन, प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई समेत निकालेर सो पक्षले बास्तोलाको संयोजकत्वमा नेकपा गठन गरेको छ । ओली र बास्तोलाको भाषामा विप्लव नेकपाविहीन भएका छन् ।
विप्लवलाई राजनीतिक विश्लेषक र बुद्धिजीवीहरुले मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीमा दुई लाइन संघर्ष हुँदा माओवादीकै शैलीमा अर्को संघर्ष हुन नसक्ने सुझाए । प्रगतिशील रुपान्तरण आन्दोलनले बागबजारमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा राजनीतिक विश्लेषक श्याम श्रेष्ठ, बुद्धिजीवी महेश मास्के, लेखक राजेन्द्र महर्जन, युग पाठक, यादव देवकोटा लगायत बौद्धिक तप्काले एउटै इतिहास नदोहोरिने भन्दै विप्लवलाई परिस्थिति हेरेर कदम चाल्न सुझाव दिए । त्यतिमात्रै होइन, विप्लवले लिन खोजेको क्रान्तिकारी लाइनमाथि उनीहरुले प्रश्नै प्रश्न तेर्स्याए ।
जवाफ दिने क्रममा विप्लवमा राजनीतिक र वैचारिक भाषाभन्दा बढी बन्दुकको बलमा राज्य सत्ता कब्जा गर्ने क्रान्तिकारी रोमाञ्चकता झल्किन्थ्यो । उनले उल्टै सुझाव दिने र प्रश्न गर्नेहरुलाई घुमाउरो भाषामा संशोधनवादी बिल्ला भिराएर बहस र छलफलको घेराबाट निस्किए । विप्लवले जसरी ती बुद्धिजीवी र लेखकलाई घुमाउरो भाषामा संशोधनवादीको आरोप लगाए, त्यही शैलीमा उनी ओली–बास्तोला पक्षबाट निकालिएको अवस्थामा पुगेका छन् ।
विप्लवले क्रान्ति गर्ने ‘एकीकृत जनक्रान्ति’ नामक पुस्तक मात्रै निकालेका छैनन्, त्यसैलाई क्रान्तिको पथ प्रदर्शक बनाएका छन् । विप्लवको एकीकृत जनक्रान्ति नामक पुस्तकमा दार्शनिक र वैचारिक भन्दा लेखहरुको संग्रह बढी समेटिएका छन् । विचार र राजनीतिको कार्यदिशासहित समग्र आर्थिक, राजनीतिक, सामाजिक, सांकृतिक लगायतका विषयलाई चिराफार गर्नेभन्दा अन्योल र द्विविधाग्रस्त बढी छन् ।
प्रचण्डले विप्लव क्रान्ति गर्न नभई ‘प्रचण्ड बन्न हिँडेको’ भनेर बारम्बार अभिव्यक्ति दिन्थे । ‘इतिहासले बारम्बार प्रचण्ड जन्माउँदैन’ भनेर उनी विप्लवलाई प्रचण्ड बन्न नसक्ने ठोकुवा गर्थे । त्यसैले विप्लवले प्रचण्डकै शैलीमा केही समय शक्ति केन्द्रीकृत गरे । प्रचण्डपथ जस्तै एकीकृत जनक्रान्ति नामक पुस्तकलाई पथप्रदर्शक बनाए । एकीकृत क्रान्तिमार्फत प्रचण्ड हुन खोजेका विप्लव टुटफुट र विभाजन हुँदै मोहनविक्रम सिंहकै हालतमा पुगेका छन् । मोहनविक्रमको इतिहास एकता, रुपान्तरण र संघर्षभन्दा बढी टुटफुट र विभाजनले ग्रस्त छ । पछिल्लो समय उनको सिंगो पार्टी प्यूठान र बाग्लुङमा मात्रै सीमित हुन पुग्यो । विप्लवको पनि हालत मोहनविक्रमकै जस्तै कपिलबस्तुको शिवगढीमा सीमित हुन सक्ने ओली–बास्तोला पक्षको आरोप छ ।
विप्लव समूहमा प्रकाण्ड बहुमतमा
विप्लव समूहबाट ओली र बास्तोला छुट्टिए पनि विप्लव र प्रकाण्डका गुट छुट्टै छन् । पार्टीमा विप्लवभन्दा प्रकाण्ड बहुमतमा छन् । पार्टी प्रवक्ता र आर्थिक विभाग प्रमुख प्रकाण्ड भएकाले विप्लवको पकड पार्टी र जनवर्गीय संगठनमा छैन । बाहिर विप्लवको फेस भए पनि भित्री रुपमा पार्टीमा प्रकाण्ड नै निर्णायक हुने गरेका छन् र उनको लाइन नै विप्लव लाइन हुने गरेको छ । पार्टीमा पकड नभएकै कारण विप्लव आफू अनुकुल निर्णय गराउन सक्दैनन् । विप्लव स्थानीय चुनावमा सहभागी हुनुपर्छ भन्ने पक्षमा थिएनन् । ओली र बास्तोलालाई भेट्दा स्थानीय चुनावमा नजाने, यदि गएमा स्वतन्त्र उम्मेदवार बनाएर जानेमा उनी कन्भिन्स थिए । अन्त्यमा प्रकाण्डकै जोडबलमा स्थानीय चुनावमा जाने र घुमाउरो भाषामा एमालेसँग तालमेल गर्ने प्रस्ताव केन्द्रीय समिति बैठकमा ल्याउन विप्लव सहमत भए ।
पार्टी केन्द्रीय समितिमा दिपक चलाउने, गुणराज लोहनीसहित ३० भन्दा बढी केन्द्रीय सदस्यले विप्लवलाई छोडेका छन् । अरु बाँकी ३५ केन्द्रीय सदस्य पनि अधिकांश प्रकाण्ड पक्षका छन् । पार्टी र संगठन प्रकाण्डले होल्ड गरेका छन् । यदि विप्लव बहुमतमा भएको भए चुनावी तालमेल प्रचण्डसँग र एकता माओवादीसँगै गर्ने थिए । विप्लवलाई माओवादीमा ल्याउन पनि माओवादी प्रवक्ता कृष्णबहादुर महराले निकै जोडबल गरेका थिए । महरा आफै शिवगढी गएर विप्लवलाई भेटे, माओवादी एकतामा ल्याउन प्रयाससमेत गरे । विप्लव आफै काठमाडौं आएर प्रचण्डलाई पटकपटक खुमलटारमा पुगेर भेटे । पार्टीमा ओली र बास्तोलाले वैद्यतिर र प्रकाण्डले केपी शर्मा ओलीतिर नजर लगाउन थालेपछि विप्लवको केही चलेन ।
प्रकाण्डकै जोडबलमा विप्लव समूह एमालेसँग चुनावी तालमेल गर्ने अवस्थामा पुगेका छन् । विप्लव समूहले स्थानीय तहमा एमालेसँग तालमेल गरेको छ । विप्लव समूहले विभिन्न पालिकामा स्वतन्त्र उम्मेदवारी दिएको छ । आगामी संघीय र प्रदेशको चुनावसम्म घोषित रुपमै विप्लव समूह एमालेसँग चुनावी तालमेल गरेर जाने ओली–बास्तोला पक्षको आरोप छ ।
जसले विप्लव समूहलाई प्रतिबन्ध लगायो, उसैसँग नजिक
तत्कालीन प्रधानमन्त्री केपी ओलीले विप्लव नेतृत्वको नेकपाका गतिविधिलाई २०७५ साल फागुन २८ गते मन्त्रिपरिषद बैठकबाट प्रतिबन्ध लगाएका थिए । उच्छृङ्खल गतिविधि गरेको आरोपमा सरकारले सो पार्टीका गतिविधिमा प्रतिबन्ध लगाएको थियो ।
सरकारको प्रतिबन्धपछि झन् बम विस्फोट, चन्दा असुली गर्न थालेपछि देशैभरबाट सो पार्टीका नेता–कार्यकर्ता पक्राउ पर्न थाले । प्रतिबन्धको अवधिमा विप्लव र सन्तोष बुढा मगर बाहेक पक्राउ नपरेका नेता नै भएनन् । देशैभरबाट २ हजारभन्दा बढी नेता–कार्यकर्ता पक्राउ परेर जेलमा पुगे । त्यतिकै मात्रामा नेता कार्यकर्तालाई मुद्दा लगाइएको थियो ।
प्रतिबन्धकै अवधिमा विप्लव समूहका १३ जना सुरक्षा कारवाहीमा मारिए । विप्लव समूहले पनि ३ जना सर्वसाधारणको हत्या ग¥यो । प्रतिबन्धलाई प्रतिरोध गर्न नसकेपछि विप्लव समूह ओली सरकारसँग झुक्न बाध्य भयो । अन्ततः २०७७ साल फागुन २१ गते सरकारसँग तीन बुँदे सहमति गरेपछि प्रतिबन्ध फुकुवा भयो तर, ओलीले तीन बुँदे सहमति गरे पनि विप्लव समूहका कयौं नेता–कार्यकर्ता जेलमै रहे, उनीहरु विरुद्धका मुद्दा फिर्ता लिएनन् । उनीहरुले ओलीसहित तत्कालीन गृहमन्त्री रामबहादुर थापा, नेताहरु प्रचण्ड, माधवकुमार नेपाल लगायतलाई समेत भेटेर सहमति पालनाका निम्ति पहल गर्न अनुनयविनय गरे । यद्यपि, सहमति पालना भएन ।
ओलीको बर्हिगमनपछि शेरबहादुर देउवा नेतृत्वको सरकार बन्यो । गठबन्धन सरकार आएको झण्डै एक वर्ष बित्न लाग्दासमेत बन्दी रिहा र मुद्दा फिर्ता भएको छैन । ओली सरकारले तीन बुँदे सहमति गरे पनि आफूले गरेको सहमति कार्यान्वयन नगर्दा विप्लव समूहका कयौं कार्यकर्ता जेलमै छन्, कयौंमाथि मुद्दा चलिरहेको छ । यद्यपि, विप्लव समूह अनौठो शैलीमा ओलीसँगै नजिक हुन पुगेको छ । अधिकांश स्थानीय तहमा विप्लव समूहले एमालेसँग चुनावी तालमेल गरेको छ । विप्लव समूह र ओलीको कनेक्सनका विषयमा समेत प्रचण्ड निकट नेताहरु अचम्मित छन् । विप्लव समूह ओलीसँग निकटता बढाउँदै दक्षिणपन्थी बाटोमा हिँड्न खोजेको टिप्पणी ओली–बास्तोला पक्षले समेत गर्ने गरेको छ ।
वैद्यलाई प्रचण्डसँग छुट्टिन विप्लवकै जोडबल
तत्कालीन एकीकृत नेकपा माओवादीमा प्रचण्ड र वैद्यबीच दुई लाइन संघर्ष हुँदा एउटा लाइनको नेतृत्वमा बाहिर वैद्य देखिए पनि भित्री रुपमा उनलाई उचाल्ने विप्लव नै भएको प्रचण्ड निकट नेताहरु बताउँछन् । वैद्य वैचारिक रुपमा माओवादी संसदीय भासमा फस्न लागेको भन्दै प्रचण्डलाई क्रान्तिकारी लाइनमा तान्ने ध्याउन्नमा थिए । विप्लवले प्रचण्डसँग एउटै पार्टीमा हुँदा रुपान्तरण गर्न नसकिने भन्दै वैद्यलाई अलग पार्टी बनाउन उचालेको र झन् क्रान्तिकारी भएर पार्टी फुटाएको प्रचण्डपक्षको बुझाइ छ ।
अन्त्यमा विप्लवकै उक्साहटमा वैद्यले २०६९ साल भदौमा एकीकृत माओवादी फुटाएर नेकपा–माओवादी गठन गरे । नेता रामबहादुर थापा‘बादल’ प्रचण्डसँग छुट्टिन मानेका थिएनन् । वैद्य र विप्लवकै जोडबलमा बादल पनि प्रचण्डलाई छाड्न सहमत भए । सो पक्षले २०७० सालको दोस्रो संविधानसभा चुनाव बहिष्कारमात्र गरेन, बादलले संविधानसभा चुनाव अघि रत्नपार्कमा आयोजित कार्यक्रममा ‘ह्याम्मर’ बोकेर मत पेटिका फुटाउँदै चुनाव बहिष्कारको सन्देश प्रवाह गरे ।
दोस्रो संविधानसभा निर्वाचनमा प्रचण्डलाई कमजोर बनाएर क्रान्तिकारी लाइनमा ल्याउन सकिन्छ भन्ने निष्कर्षका साथ वैद्य नेतृत्वको माओवादीले प्रचण्ड नेतृत्वको माओवादीका उम्मेदवारलाई हराउने अभियान थाल्यो । प्रचण्ड–बाबुराम भने माओवादी पहिलो शक्ति हुने भन्दै मेची–महाकाली अभियानमा हिँडेर चुनावी माहोल बनाउन लागे । अन्त्यमा माओवादी प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ २६ सीट सहित तेस्रो शक्तिमा खुम्चियो । यसका बाबजुद प्रचण्ड संसदवादी शक्तिहरूसँग १६ बुँदे सहमति गरेर संविधान जारी गर्ने अवस्थातिर पुगे
। त्यसले वैद्य नेतृत्वको पार्टी एकतावद्ध भएर क्रान्तिकारी पार्टी निर्माणमा जुट्नेभन्दा बढी बादल र विप्लव दुई लाइन संघर्ष हुँदै पार्टी झन् गन्जागोलमा फस्यो । प्रचण्डसँग छुट्टिएको २ वर्ष बित्न नपाउँदै विप्लवले ‘बुढाहरू (वैद्य नेतृत्वको माओवादी)ले क्रान्ति नगर्ने भए, युवाहरुले पहल लिनुपर्ने भयो’ भन्दै २०७१ साल मंसिर १५ गते नेकपा गठन गरे ।