शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

ललितपुरको महालक्ष्मी नगरपालिकामा कसको पल्ला भारी ?

मेयरमा गठबन्धनबाट कट्टेल र एमालेबाट श्रेष्ठबीच भिडन्त, यस्तो छ उम्मेदवारको दाबी
शुक्रबार, २३ वैशाख २०७९, २१ : १८
शुक्रबार, २३ वैशाख २०७९

ललितपुर महानगरसँगै जोडिएको क्षेत्र हो महालक्ष्मी नगरपालिका । नयाँ र पुराना बस्तीको मिश्रण रहेको महालक्ष्मी नगरपालिकामा मेयर र उपमेयरका लागि नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले तालमेल गरेका छन् । माओवादी केन्द्रका शिवप्रसाद कट्टेलले गठबन्धनका तर्फबाट मेयरमा उम्मेदवारी दिएका छन् ।

माओवादीका जिल्ला संयोजक कट्टेल दोस्रो पटक चुनावी मैदानमा उत्रिएका हुन् । उनी यस पटक काँग्रेसले समेत साथ दिएकाले चुनाव जित्ने आत्मविश्वासका साथ प्रतिस्पर्धामा छन् । उपमेयरमा गठबन्धनबाट काँग्रेसकी लक्ष्मी महर्जन प्रतिस्पर्धामा उत्रिएकी छन् । उनलाई माओवादी केन्द्रको समेत साथ छ । उनी पनि चुनाव जित्नेमा ढुक्क छिन् ।

एमालेबाट मेयरमा हरिगोविन्द श्रेष्ठ एकल रुपमा चुनावी मैदानमा उत्रिएका छन् । एमालेको नगर कमिटी अध्यक्षसमेत रहेका श्रेष्ठ राजनीतिक रुपमा बलियो पोर्टफोलियो नभए पनि पार्टीको विरासत जोगाउने आत्मविश्वासका साथ चुनावी प्रचारमा जुटेका छन् । एमालेबाट उपमेयरमा बीणा सुवेदीले उम्मेदवारी दिएकी छन् ।

यता, सत्तारुढ गठबन्धनमै रहेको नेकपा एकीकृत समाजवादीले पनि मेयरमा उम्मेदवारी दिएको छ । सो पार्टीबाट नकुल थापाले मेयरमा उम्मेदवारी दिएका छन् । एमालेबाट मेयरका उम्मेदवार श्रेष्ठ भने गठबन्धनबाटै मेयरमा दुई जना उम्मेदवार भएको भन्दै त्यसको फाइदा आफूलाई हुने विश्वास व्यक्त गर्दछन् ।

‘गठबन्धनबाट कट्टेल र थापाले उम्मेदवारी दिएका छन्, गठबन्धनबाट मेयरको आधिकारिक उम्मेदवार को हो भन्ने छिनोफानो भएको छैन,’ रातोपाटीसँग कुरा गर्दै श्रेष्ठले भने, ‘गठबन्धनबाट मेयरमा दुई जना उम्मेदवार भएकाले मतदाता अलमलमा हुन्छन् । त्यसो हुँदा मलाई चुनाव जित्न सहज हुन्छ ।’

तर, कट्टेलले भने गठबन्धनबाट मेयरमा आफू र उपमेयरमा लक्ष्मी श्रेष्ठ नै आधिकारिक उम्मेदवार भएको दाबी गर्दछन् । ‘एकीकृत समाजवादीले ललितपुरका ६ पालिकाका सात पद माग्यो । महालक्ष्मी नगर र महांकाल गाउँपालिकाको प्रमुख र उपप्रमुख, कान्ज्योसोमका उपप्रमुख, ललितपुर महानगरको उपप्रमुख र गोदावारीको उपप्रमुख माग्यो,’ उनले भने, ‘गठबन्धनमा छलफल हुँदै गयो । एकीकृत समाजवादीसँग कुरा नमिलेपछि काँग्रेस र माओवादीबीच मात्रै तालमेल भयो । एकीकृत समाजवादी बाहिरियो ।’

सत्ता गठबन्धनमा तालमेल हुन नसकेपछि एकीकृत समाजवादीबाट मेयरमा नकुल थापाले उम्मेदवारी दिएको कट्टेलले बताए । गठबन्धनमा भागवण्डा मिलाउन सकिन्छ कि भनेर एकीकृत समाजवादीले उपमेयरमा भने उम्मेदवारी दिएको छैन ।

मेयरमा नेकपा एकीकृत समाजवादीको उम्मेदवारीले गठबन्धनलाई धक्का लाग्छ या एमालेलाई भन्नेबारे पनि प्रस्ट भइसकेको छैन । यो पालिकामा नेकपा एकीकृत समाजवादीको प्रभाव पनि राम्रै रहेको स्थानीयवासी बताउँछन् ।

उपमेयर निर्मला थापासहित एमालेले जितेका ३ वडा अध्यक्षले एकीकृत समाजवादी रोजेका छन् । यस्तै प्रदेश सांसद माधव पौडेल र संघीय सांसद कृष्णलाल महर्जनसमेत एकीकृत समाजवादीमा भएकाले यहाँ चुनावी प्रतिस्पर्धा रोचक हुने अनुमान गरिएको छ । गठबन्धनबाट नेकपा एकीकृत समाजवादी बाहिरिनु, अर्कोतिर एमाले विभाजन भएरै बनेको नेकपा एकीकृत समाजवादीका कारण गठबन्धन र एमाले दुवै पक्षलाई यो पार्टीले समान दबाबमा राखेको छ ।

२०७४ को स्थानीय तह निर्वाचनमा यो पालिकामा माओवादी केन्द्र तेस्रो शक्ति बनेको थियो । पछिल्लो समय माओवादी केन्द्रको संगठन मजबुत भएको मेयरका उम्मेदवार कट्टेल बताउँछन् । ‘अघिल्लो निर्वाचन परिणामकै समीक्षा गर्ने हो भने तीन पार्टीको भोटको अन्तर धेरै छैन,’ उनले भने, ‘पछिल्लो समय माओवादी केन्द्रको संगठन व्यवस्थित बनाएका छौं त्यसैले पहिलेको भन्दा भोट बढेको छ ।’ आफूलाई काँग्रेसको समर्थन रहेकाले एमाले र एकीकृत समाजवादीको तुलनामा स्वाभाविक रुपमा बढी भोट आउने उनले बताए । एमाले आफैमा दुई चिरामा विभाजित भएकाले काँग्रेस र माओवादीका संयुक्त उम्मेदवारले नै जित हासिल गर्ने उनको भनाइ छ ।

मेयरमा ९, उपमेयरमा ४ जनासहित २२८ जनाको उम्मेदवारी

महालक्ष्मी नगरपालिका मेयरमा ९ जना, उपमेयरमा ४ जना गरी जम्मा २२८ जनाले उम्मेदवारी दिएका छन् । माओवादी र काँग्रेसबाट मेयरमा संयुक्त उम्मेदवारका रुपमा शिवप्रसाद कट्टेल र उपमेयरमा लक्ष्मी महर्जनले उम्मेदवारी दिएका छन् । एमालेबाट मेयरमा हरिगोविन्द श्रेष्ठ र उपमेयरमा विणा सुवेदीले उम्मेदवारी दिएका छन् । एकीकृत समाजवादीबाट मेयरमा नकुल थापाले उम्मेदवारी दिएका छन् । नेपाल मजदुर किसान पार्टीबाट मेयरमा महन्त महर्जन उम्मेदवार बनेका छन् ।

यस्तै, राप्रपाबाट मेयरमा प्रविण खत्री र उपमेयरमा रामदेवी महर्जनले उम्मेदवारी दिएका छन् । आमुल परिवर्तन मसिहा पार्टीबाट तिमिला कर्माचार्यले मेयरमा उम्मेदवारी दिएकी छिन् । मेयरमा दिनेशप्रसाद सुवेदी र चिरिबाबु महर्जनले स्वतन्त्र उम्मेदवारी दिएका छन् । छिरिङ दोर्जी शेर्पाले उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

यस नगरपालिकामा कुल ३५ हजार २३० जना मतदाता छन् । यहाँ यसअघि मेयर र उपमेयर दुवै एमालेले जितेको थियो ।

अहिले गठबन्धनकै पक्षमा जनलहर छ : शिव कट्टेल

तपाईलाई मेयरको रुपमा महालक्ष्मीका मतदाताले किन भोट दिने ?

हामीले बिहान सात बजेदेखि ११ बजेसम्म घरदैलो गर्छौं । बेलुका टोलटोलमा भेटघाट र छलफल गरेर भोट मागेका छौं । आमजनताको घरदैलोमा पुगेर मत मागेका छौं । यहाँको शिक्षा, स्वास्थ्य, खानेपानी, मठमन्दिर, रोजगार लगायत क्षेत्रमा काम गर्ने आवश्यकता देखेका छौं । यस क्षेत्रमा बाटो अस्तव्यस्त छ, त्यसलाई व्यवस्थित बनाउनुपर्ने छ । सहरको ढल व्यवस्थित नहुँदा समस्या भइरहेको छ, त्यसमा काम गर्न खोजेका छौं । एक घर एक धाराको अभियान अघि सारेका छौं । हामी जति पनि आमाबुबा दिदीबहिनीको घरदैलोमा पुगेका छौं, त्यहाँ पूर्वाधारको विकास जति हुनुपर्ने हो त्यति हुन सकेको छैन । यहाँको बेरोजगारी पनि उत्तिकै समस्या छ । नगरपालिकाबाट केही सिर्जनशील काम गर्न सकिन्छ भनेर काम गर्न खोजेका छौं ।

तपाई यसअघिको चुनावमा पनि उम्मेदवार हुनुहुन्थ्यो, यसअघिको चुनावी प्रचार र अहिलेको चुनावी प्रचारमा के अन्तर पाउनु भयो ?

त्यतिबेला मलाई छोटो समयमा पार्टीले जिम्मेवारी दिएको थियो । माओवादीबाट एकल उम्मेदवारी दिएकाले एकल प्रचारप्रचार मात्रै भयो । अहिले काँग्रेससहित गठबन्धनको उम्मेदवार भई प्रचारमा जुटेका छौं । त्यसले गर्दा जनतामा जान पनि मलाई सहज भएको छ । काँग्रेस र हाम्रो सुमधुर सम्बन्ध कायम भइरहेको छ । काँग्रेस र माओवादीले १० वटै वडामा संयुक्त उम्मेदवारी दिएकाले यस पटकको चुनावमा फरक अनुभूति गरेका छौं । यसअघि पनि काँग्रेससँग मेरो राम्रो सम्बन्ध थियो । गठबन्धन भएपछि झन् राम्रो सम्बन्ध हुँदै गएको छ र यो गठबन्धनलाई कम्तीमा ५ वर्ष, त्योभन्दा बढी समय लाग्नेगरी सोचिएको छ ।

यसअघिका निर्वाचनभन्दा अहिले निर्वाचन आयोगले आचारसंहिता कडा बनाएको छ । त्यसैले यसअघिको निर्वाचनमा जस्तै चोक, गल्लीमा झण्डा, तुल, ब्यानर देख्न पाइँदैन । कताकता चुनावै आएको छैन कि जस्तो पनि हुन्छ तर, हामीले दैनिक घरदैलो र टोलमा भेटघाट र छलफल जारी राखेकाले चुनावी माहोल तातेको छ । यस्तै यसपटक चुनावमा भर्चुअल प्रचारप्रसार बढी भएको छ । सामाजिक सञ्चालका भित्ताहरु रङ्गिएका छन् । तर चोक, गल्लीहरुमा रौनक हराएजस्तो भएको छ । सायद सूचना प्रविधिको क्रान्तिले ल्याएको परिवर्तन हुन सक्छ ।

तपाईले मेयरको रुपमा उम्मेदवारी दिँदा कत्तिको चुनौतीको रुपमा लिनु भएको छ ?

राजनीतिमा चुनौती नै हुँदैन भन्ने होइन । उहाँहरु आ–आफ्नो पार्टीबाट उठ्नु भएको छ । काँग्रेस र माओवादीको संयुक्त गठबन्धनबाट मेयरमा म र उपमेयरमा लक्ष्मी महर्जन उठ्नु भएको छ । आमजनताले मूल्यांकन गर्नुपर्छ भन्ने लाग्छ । किनभने अघिल्लो चुनावमा यो नगरपालिकामा एमालेले ९० प्रतिशत जित्यो तर, नगरपालिकाको अवस्था कहाँ पुग्यो भन्ने कुरा नगरवासीले राम्रोसँग बुझ्नु भएको छ । म कसैलाई अरोप लगाउने काम गर्दिनँ । उनीहरुले आरोप लगाएकाले गठबन्धन भएको पनि होइन । एमालेले गरेको भ्रष्टाचार र नगरको अस्तव्यस्ततालाई आममतदाताले राम्रोसँग बुझ्नु भएको छ ।

तपाईहरु चुनाव जित्नेमा कत्तिको ढुक्क हुनुहुन्छ ?

अहिले यस नगरपालिकामा गठबन्धनकै पक्षमा माहोल देखिएको छ । यहाँका मतदाता र शुभचिन्तकले साँच्चिकै गठबन्धनलाई जिताउनु पर्छ भन्ने महसुस गर्नु भएको छ । त्यो जनलहर र उत्साहले देखाएको पनि छ । त्यसले हामीमा पनि उत्साह र आत्मविश्वास बढाएको छ । जसले गर्दा हामी जितको नजिक छौं ।

गठबन्धनमा को आधिकारिक भन्नेमै अलमल छ : हरिगोविन्द श्रेष्ठ

चुनावी प्रचारप्रसारलाई कसरी अघि बढाउनु भएको छ ?

दैनिक बिहान र बेलुका घरदैलो भइरहेको छ । मतदातालाई भेट्ने, छलफल गर्ने र आफ्नो पक्षमा मतदातान गर्न आह्वान गर्ने काम भइरहेको छ । अहिलेसम्म वडा नम्बर एकदेखि आठसम्मको चुनावी प्रचार गरिसकेका छौं । त्यसलाई जारी राखेका छौं ।

चुनावी एजेण्डा के अघि सार्नु भएको छ ?

घरदैलोमा जाँदा शिक्षा, स्वास्थ्य, सडक, खानेपानी र पर्यटनका मुद्दा उठाएका छौं । ती मुद्दालाई कसरी सम्बोधन गर्न सकिन्छ भन्ने विषयमा मतदातासमक्ष राखेका छौं । अरु सामाजिक, आर्थिक र जनजीविकाका मुद्दाहरुलाई उठाएका छौं । ती सबै घोषणापत्रमा विस्तृतमा समेटेका छौं ।

एमाले विभाजन भएको छ, कति चुनौती बढेको छ ?

गठबन्धनले खासै असर पार्र्दैन । गठबन्धनबाट को आधिकारिक हो भन्ने नै छैन । माओवादीसँग भएको कि नेकपा एकीकृत समाजवादीसँग गठबन्धन भएको हो ? दुवैले आफू आधिकारिक हुँ भनेर दाबी गरेका छन् । उपमेयरले काँग्रेससँग गठबन्धन भनिरहेकी छिन् । माओवादीले गठबन्धनबाट आफू मेयरको उम्मेदवार भनिराखेका छन् । नेकपा एकीकृत समाजवादीले म गठबन्धनबाटै मेयर हुँ भनिराखेको छ । आधिकारिक को हो भन्ने नै जनतामा अलमल छ । एमालेमा त्यस्तो केही समस्या छैन ।

के यस पटक एमाले पुनः आफ्नो विरासत जोगाउन सक्छ ?

एमालेले मेयर र उपमेयर दुवै जित्छ । हामी घरदैलो र टोल भेला गरिराखेका छौं । हाम्रा एजेण्डा स्पष्ट छन् । समृद्ध नेपाल सुखी नेपालीका लागि शिक्षा, स्वास्थ्य, खानेपानीमा के गर्ने भनेर घरदैलोमा गएर जनतालाई बताइरहेका छौं ।

अघिल्लो चुनाव र अहिलेको चुनावमा के फरक पाउनुभयो ?

यसअघिको चुनावमा तडकभडक धेरै हुन्थ्यो । उम्मेदवारको पैसा धेरै खर्च हुन्थ्यो । अहिले चुनाव नै हो कि होइन भन्ने भइराखेको छ । प्रचारप्रसार खासै भएको छैन तर, हामीले घरदैलो र टोल भेलामार्फत जनतामा पुगेर आफ्नो कुरा राखिरहेका छौं ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

वीरेन्द्र ओली
वीरेन्द्र ओली
लेखकबाट थप