शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल जिम्बावे ‘ए’ सँग पराजित

शुक्रबार, २३ वैशाख २०७९, २२ : ४७
शुक्रबार, २३ वैशाख २०७९

नेपाली राष्ट्रिय क्रिकेट टोली एक दिवसीय क्रिकेट सिरिज अन्तर्गत पहिलो खेलमा जिम्बावे ‘ए’ सँग ३ विकेटले पराजित भएको छ । शुक्रबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले दिएको १३७ रनको लक्ष्य पछ्याएको जिम्बावे ‘ए’ ले २६ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो ।

जिम्बावे ‘ए’ का लागि इनोसेन्ट कायाले ४८ रनको योगदान गरे । ४८ बल खेलेका उनले ४ चौका र १ छक्का प्रहार गरे । त्यस्तै कापेस जवाओले ३२ रन बनाउँदा रोय कायाले १४ रनको योगदान गरे । जिम्बावे ‘ए’ का लागि ब्राड इभान्सले १७ रन बनाउँदा त्यसबाहेकका ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बलिङतर्फ नेपालका लागि सन्दीप लामिछाने र करण केसीले दुई–दुई विकेट लिए । त्यस्तै सोमपाल कामी र सागर ढकालले एक–एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३१ ओभर ३ बलमा सम्पूर्ण विकेट गुमाउँदै १३६ रन बनाएको थियो ।

नेपालका सात ब्याट्सम्यान दोहोरो अंकमा रन जोड्न नसकेर आउट भए । नेपालले दोस्रो ओभरको दोस्रो बलमा पहिलो विकेट गुमायो । ओपनर कुशललाई भिक्टोर नउचीले १९ रन बनाएर क्याच आउट गराए । नेपालले तेस्रो ओभरको पाँचौं बलमा आरिफ शेखको रुपमा दोस्रो विकेट गुमायो । बार्ड इभान्सले आरिफ शेखलाई ५ रनमा क्याच आउट गराए ।

आरिफ शेख ५ रन बनाएर चौथो ओभरको दोस्रो बलमा आउट भए । उनलाई  नउचीले बोल्ड आउट गराए । सातौं ओभरमा नेपालका रोहितकुमार पौडेलले नेपालको चौथो विकेटको रुपमा एलबीडब्लू आउट भए । उनलाई इभान्सले ३ रनमा क्याच आउट गराए ।

नेपालले दशौं ओभरको पाँचौं बलमा आफ्नो पाँचौं विकेट गुमायो । दीपेन्द्रसिंह ऐरीलाई इभान्सले १८ रनमा क्याच आउट गराए । १४ औं ओभरको चौथो बलमा आदिल अन्सारी २ रन बनाएर आउट भए । उनलाई मोटुवाले क्याच आउट गराए । १९ औं ओभरको पहिलो बलमा सुसन भारी बर्नान्डो मभुताको बलमा एलबीडब्लू आउट भए ।

२८ औं ओभरको चौथो बलमा नेपालले आठौं विकेट गुमायो । नेपालका सोमपाल कामी ३० रन बनाएर क्याच आउट भए ।   ३१ औं ओभरको चौथो बलमा नेपालले नवौं विकेट गुमायो । नेपालका करण केसी २५ रन बनाएर क्याच आउट भए । कप्तान सन्दीप लामिछाने ४ रन बनाएर ३१ ओभरको तेस्रो बलमा कट एण्ड बोल्ड आउट भए ।

जिम्बावे ‘ए’ ले आजको खेलमा जित निकाल्दै सिरिजमा १–० को अग्रता बनाएको छ । दुई टोलीबीचको दोस्रो खेल भोलि शनिबार हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप