मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : ओलीलाई भीम रावलको चुनौती, बार एशोसिएशनको आन्दोलन जारी

आइतबार, ०५ मङ्सिर २०७८, २० : ५७
आइतबार, ०५ मङ्सिर २०७८

आज २०७८ मंसिर ५ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–

आजका मुख्य समाचारहरुमा एमाले अध्यक्ष ओलीलाई भीम रावलको चुनौती, बार एशोसिएशनको आन्दोलन जारी : बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दामा बहस नगर्ने, शान्ति सम्झौताको १५ वर्ष : द्वन्द्वपीडितको अधिकार सुनिश्चित गर्न माग, खेलाडीलाई अभियन्ता बन्न ओलीको सुझाव, पेट्रोलियम पदार्थमा मूल्यवृद्धि अत्याचार : माधवकुमार नेपाल, प्रदेश २ सरकारमा नेकपा एकीकृत समाजवादी पनि सामेल लगायत छन् ।

१. एमाले अध्यक्ष ओलीलाई भीम रावलको चुनौती
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई दशौं महाधिवेशनमा उपाध्यक्ष भीम रावलले चुनौती दिने भएका छन् । रावलले आइतबार पार्टी अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । दशौं महाधिवेशनमार्फत ओलीले आगामी कार्यकाल पनि पार्टीको नेतृत्व सम्हाल्ने तयारी गरिरहेको समयमा रावलले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै ओलीलाई चुनौती दिएका हुन् । 

२. बार एशोसिएशनको आन्दोलन जारी : बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दामा बहस नगर्ने
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनरत नेपाल बार एशोसिएसनले माग पूरा नभएसम्म आन्दोलनलाई निरन्तरता दिने भएको छ । सोही क्रममा बारले आइतबार बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दामा बहस नगर्ने घोषणालाई दोहो¥याएको छ । बारले तेस्रो चरणको आन्दोलन घोषणा गर्दै देशव्यापी रुपमा धर्ना र प्रदर्शनको कार्यक्रम ल्याएको छ ।

३. शान्ति सम्झौताको १५ वर्ष : द्वन्द्वपीडितको अधिकार सुनिश्चित गर्न माग
एक दशक लामो सशस्त्र द्वन्द्व अन्त्य गर्दै विस्तृत शान्ति सम्झौता भएको १५ वर्ष भइसकेको छ । यद्यपि, अझै द्वन्द्व पीडितको अधिकार सुनिश्चित नभएको भन्दै सरोकारवालाले ध्यानाकर्षण गराएका छन् । 

पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खेलाडीलाई अभियन्ता बन्न सुझाव दिएका छन् । खेलकुद महासंघद्वारा आइतबार राजधानीमा आयोजित खेल नीति सम्मेलनलाई सम्बोधन गर्दै उनले खेलाडीहरुलाई खेल अभियन्ता बनाउन सुझाव दिएका हुन् ।

५. पेट्रोलियम पदार्थमा मूल्यवृद्धि अत्याचार : माधवकुमार नेपाल
नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले पेट्रोलियम पदार्थजस्तो जनतासँग प्रत्यक्ष सरोकार राख्ने वस्तुमा गरेको मूल्यवृद्धि अत्याचार नै भएको टिप्पणी गरेका छन् । उनले आइतबार विद्यार्थी संगठनका तर्फबाट बुझाइएको ज्ञापनपत्र ग्रहण गर्दै पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिका बारेमा सत्ता गठबन्धनका दलहरूसँग छलफल गर्ने र उचित निकासका लागि पहल गर्ने बताए । 

६. नारायणकाजी–विप्लव भेट : होला त पार्टी एकता ?
नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीच आइतबार भेटवार्ता भएको छ । श्रेष्ठलाई भेट्न विप्लव उनकै निवासमा पुगेका थिए । दुई नेताबीचको भेटलाई पार्टी एकताको सन्दर्भसँग जोडिएर हेर्न थालिएको छ । पार्टी एकता लगायतको विषयमा छलफल भएको श्रेष्ठको सचिवालयले जनाएको छ ।

७. रामदेवलाई एकातिर पर्यटन सद्भावना दूतको प्रस्ताव, अर्कोतिर सबै आयोजना छाडेर जान चेतावनी
योग गुरु रामदेवलाई नेपाल पर्यटन बोर्डले पर्यटन सद्भावना दूत बन्न प्रस्ताव गरेको छ भने अर्कोतिर समाजवादी केन्द्र नेपालले सबै आयोजना छाडेर भारत जान चेतावनी दिएको छ । सो पार्टीले पतञ्जलीद्वारा सञ्चालित आयोजनालाई जग्गा उपलब्ध गराउने प्रधानमन्त्रीको भनाइप्रति पनि आपत्ति जनाउँदै त्यसो नगर्न चेतावनी दिएको छ । 

८. प्रदेश २ सरकारमा नेकपा एकीकृत समाजवादी पनि सामेल
प्रदेश २ सरकारमा नेकपा एकीकृत समाजवादी पार्टी पनि सामेल भएको छ । आइतबार सो पार्टीबाट शत्रुधन महतो र प्रमोद यादव मन्त्री बनेका छन् । महतोलाई उद्योग, पर्यटन र वन मन्त्रालय तथा यादवलाई कानुन, न्याय तथा प्रदेश मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

९. कोरम नपुगेपछि संसदीय सुनुवाइ समितिको बैठक स्थगित
विभिन्न मुलुकका लागि प्रस्तावित राजदूतका बारेमा सुनुवाइ गर्न बोलाइएको संसदीय सुनुवाइ समितिको बैठक कोरम नपुग्दा स्थगित भएको छ । समितिका सभापति लक्ष्मणलाल कर्णका अनुसार कोरम नपुगेपछि मंसिर १७ गते बस्नेगरी बैठक स्थगित गरिएको हो ।

१०. पछिल्लो २४ घण्टामा २३८ संक्रमित थपिए
नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट २३८ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा देशभर ३७० जना संक्रमणमुक्त भएका छन् ।

११. र यो पनि,
प्रदेश १ सरकारले चालु आर्थिक वर्षको बजेट पुनरावलोकन गर्ने गृहकार्य सुरु गरेको छ । पाँच दलीय गठबन्धनको सरकारले मंसिर महिनाभित्र बजेटमा समावेश कार्यक्रम थपघट गरी आगामी पुस महिनाबाट कार्यान्वयनमा लैजाने गरी बजेट पुनरावलोकन गर्न लागेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको अधिवेशनमार्फत नेतृत्व छनौटका क्रममा भएको हारजितलाई स्वाभाविक रुपमा लिएर ‘इगो’ नराख्न नेता कार्यकर्तालाई आग्रह गरेका छन् । सुनसरीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले हारजितलाई आधार बनाएर दुश्मनीका रुपमा नहेर्न पनि सबैलाई आग्रह गरे ।  

आजदेखि १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोरोनाभाइरस विरुद्धको फाइजर खोप दिन थालिएको छ । काठमाडौं र ललितपुरमा कोरोनाविरुद्धको फाइजर खोप बालबालिकालाई दिन सुरु गरिएको हो ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप