शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

आइतबार पनि प्रधानन्यायाधीशले तोके पेसी, आफूलाई भने इजलासमा राखेनन्

बन्दी प्रत्यक्षीकरणको पेसी अन्तिममा !
आइतबार, ०५ मङ्सिर २०७८, ११ : २४
आइतबार, ०५ मङ्सिर २०७८

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आइतबारका लागि ११ वटा इजलासमा पेसी तोकेका छन् । जबराले आइतबारका लागि १० वटा संयुक्त इजलास र एक वटा एकल इजलास गठन गरेका हुन् । बिहीबार सर्वोच्चको पूर्ण बैठकबाट गोलाप्रथाबाट पेसी तोक्नका लागि नियमावली संशोधन भई निर्देशिका समेत बनेको भएपनि कानून मन्त्रालयले उक्त विषय राजपत्रमा प्रकाशित गरिसकेको छैन । जसका कारण आइतबार पनि प्रधानन्यायाधीशले नै पेसी तोकेका छन् । यद्यपि इजलासमा आफूलाई भने राखेका छैनन् । 

करिब एक साता अघिदेखि न्यायाधीशहरूले बन्दी सहित तामेलीका लागि आएका निवेदन, मिलापत्र आदिका निवेदन लगायतका प्रतक्ष सरोकारका विषयमा सुनुवाई सुरु गरेका थिए । तर उनीहरुले अन्य मुद्दा नहेर्ने र प्रधानन्यायाधीशसँग इजलासमा पनि नबस्ने घोषणा गरेका थिए । 

आइतबारका लागि सबै प्रकृतिको मुद्दाको पसी तोकिएको छ । यद्यपि न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरण, तामेली र मिलापत्र लगायतका मुद्दा मात्रै हेरिरहेका छन् । आइतबार सबै मुद्दा गरी कुल ३३४ वटा मुद्दा पेसीमा चढाइएको छ । 

बन्दीको मुद्दा अन्तिममा !

सामान्य अवस्थामा बन्दी प्रत्यक्षीकरण, तामेली, मिलापत्र आदि मुद्दा पेसीको अग्रभागमा राखिन्छ । तर आइतबारका लागि तोकिएको पेसीमध्ये न्यायाधीश दीपककुमार कार्कीलाई १ नम्बरमा बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइका लागि पेसी तोकिएको छ भने त्यसपछि सबै मुद्दा उत्प्रेषण माग गरिएको मुद्दाहरु छन् । त्यसपछि ३० नम्बर पछि मात्रै उनलाई बन्दी प्रत्यक्षीकरणको मुद्दा दिइएको छ । 

न्यायाधीशहरूले बन्दीको मुद्दा हेर्ने भएपनि गोला प्रथा सुरु नभएसम्म अन्य मुद्दा नहेर्ने बताइसकेका छन् । तर १ नम्बरमा बन्दी प्रत्यक्षीकरणको पेसी तोकी फेरि अन्तिममा बन्दीकै सुनुवाई तोक्दा अन्य मुद्दा नहेरी बन्दीकै मुद्दा हेर्न मिल्दैन । त्यसकारण पनि आइतबार न्यायाधीश दीपककुमार कार्कीको इजलासमा परेको पेसीमध्ये एउटा मात्रै सुनुवाई हुने अवस्था आएको छ । 

अदालत भन्छ, मानवीय त्रुटीले यस्तो भयो, भोलि मिलाउँछौ

यसैबीच पेसी व्यवस्थापनमा किन यस्तो भएको हो भनी सर्वोच्च अदालत प्रशासनलाई सोध्दा मानवीय त्रुटीले यस्तो हुन गएको बताएको छ । सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार कम्प्युटरमा प्रविष्ट गर्ने क्रममा मानवीय त्रुटीका कारण बन्दी प्रत्यक्षीकरणका दुईवटा पेसी अन्तिममा परेका हुन् । उनले भने, ‘हाम्रो केही मानवीय कमजोरीका कारण बन्दीका दुईवटा पेसी अन्तिममा परेको हो, नियतवश त्यस्तो गरिएको होइन । श्रीमानले सबै मुद्दा हेर्न भ्याउने अवस्था पनि होइन । त्यसकारण आजको स्थगित भई भोलिका लागि पेसीमा चढ्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप