शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय

सहमतिको अध्यक्ष बन्ने ओलीको चाहनामा रावलको धक्का, घनश्याम अलमलमा !

उपाध्यक्ष पदका लागि बार्गेनिङ होइन : रावल
आइतबार, ०५ मङ्सिर २०७८, १७ : ५६
आइतबार, ०५ मङ्सिर २०७८

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेसँगै दशौँ महाधिवेशनमार्फत सर्वसम्मत अध्यक्ष बन्ने केपी शर्मा ओलीको चाहाना पूरा नहुने भएको छ । सँगसँगै अध्यक्षमा उम्मेदवारी दिने तयारीमा रहेका अर्का नेता घनश्याम भुसाल चाहिँ रावलको उम्मेदवारीपछि अलमलमा परेका छन् ।

अध्यक्ष ओली अध्यक्षसहितका १५ पदाधिकारी सहमतिकै आधारमा चयन गर्ने पक्षमा रहेका थिए । त्यसका लागि ओलीले आफ्ना प्रत्येक भाषणमा सहमति पनि लोकतन्त्रको उच्चतम विधि भएकाले त्यसैबाट अघि बढ्नुपर्ने बताउँदै आएका थिए । तर, ओलीको उक्त चाहानाविपरीत उपाध्यक्ष रावलले अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेपछि एमालेको महाधिवेशनले फरक मोड लिने भएको छ ।

मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुने एमालेको १० औँ महाधिवेशनमा रावलले सबैभन्दा अगाडि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । महाधिवेशन उद्घाटन हुनु ५ दिनअघि रावलले आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गरी ओलीलाई चुनौती दिँदै अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेपछि एमाले वृत्तमा तरङ्ग पैदा हुन पुगेको छ । यद्यपि एमालेमा ओलीको तुलनामा रावलका मतदाता न्यून रहेका छन् ।

रावलको उम्मेदवारी किन ?

विगतमा केपी शर्मा ओलीका कदमविरुद्ध माधव नेपाल र झलनाथ खनाल समूहमा रहेर संघर्ष गरेका रावल नेपालले अलग पार्टी गठन गर्दा भने एमालेमै बसेका थिए । आफ्नो उम्मेदवारी घोषणा गर्दै रावलले १२ उद्देश्य १५ वटा मान्यता अघि सारेका छन् । ‘पार्टीलाई विधि, पद्धति, सामूहिक निर्णय र व्यक्तिगत जिम्मेवारीको प्रणाली अनुरूप सञ्चालन गर्ने । पार्टी कमिटी र जनसंगठनको सञ्चालन घोषित सिद्धान्त, पद्धति र लक्ष्य अनुरूप गर्ने र अन्तर्विरोध तथा समस्याहरूको यथा समयमा समाधान गर्दै संगठनलाई क्रियाशील र सशक्त तुल्याउने’ रावलको मान्यता छ ।

​उनले शीर्ष कार्यकारी तहको नेतृत्वपंक्तिबाट नै गुटबन्दी हुने कार्यले पार्टीको शक्ति र प्रभावलाई कमजोर पार्दै अन्ततः फुटको दिशामा धकेल्ने तथ्यको पुष्टि भइसकेकोले गुटबन्दीबाट पार्टीलाई मुक्त गरी यसको समग्र क्षमताको सदुपयोग हुने र विषयवस्तुमा विवेकसम्मत किसिमले छलफल हुने स्थिति निर्माण पनि आफूले उम्मेदवारी दिनुपरेको बताएका छन् । ‘निर्णय प्रक्रिया संस्थागत नहुने र केही व्यक्ति–समूह हुँदै व्यक्तिमा केन्द्रित हुने स्थितिको अन्त्य गर्ने’, आफ्नो १५ बुँदे मान्यता रहेको रावलले जनाएका छन् ।

त्यस्तै रावलले आफूले  विजय र पराजयको अर्थमा भन्दा आफ्ना धारणा र मान्यतालाई महत्त्व दिएको बताएका छन् । ‘कुनै व्यक्ति विशेषप्रति कुनै आग्रह राखेको छैन । पार्टी एकताका लागि १०–बुँदे सहमति गरिरहँदा पनि मैले देश, जनता र पार्टीको हितका लागि अवलम्बन गर्दै आएको विचार कै पक्षपोषण गरेको हुँ, तिनलाई  परित्याग गरेको छैन वा कहीँ समर्पण गरेको छैन’, रावलले भनेका छन् ‘कुनै पनि पनि इमानदार पार्टी नेताले त्यसो गर्न पनि सक्दैन । यही विचार र मान्यता अनुरूप नै मैले आफ्नो उम्मेदवारीको घोषणा गरेको छु ।

अतः केन्द्रीय कमिटीको अध्यक्ष पदमा मेरो उम्मेदवारीप्रति सहयोग र समर्थनका लागि  नेकपा (एमाले) का सम्पूर्ण नेता, कार्यकर्ता, सदस्य र शुभेच्छुकहरूमा हार्दिक आह्वान गर्दछु । अध्यक्षको पदमा मलाई आफ्नो अमूल्य मत प्रदान गरी पार्टीलाई नयाँ चरणको प्रगति र सशक्त भूमिकामा अघि बढाउन तथा नेपाल  नेपाली जनताको आकाङ्क्षा, प्रगति र परिवर्तनको नेतृत्व गर्ने अवसर दिनुहुन सम्पूर्ण प्रतिनिधि कमरेडहरूलाई हार्दिक अनुरोध गर्दछु’, रावलको भनाइ छ ।

‘अतः मेरो अध्यक्ष पदको उम्मेदवारीलाई सहजरुपमा लिई पार्टीलाई नयाँ गतिका साथ अघि बढाउन मप्रति सद्भाव प्रदर्शन गर्नहुन कमरेड केपी शर्मा ओली एवम् सबै नेतृत्व तहमा रहनुहुने कमरेडहरू समक्ष हार्दिक आह्वान गर्दछु’, रावलले आफ्नो उम्मेदवारी घोषणा गर्दै लिखित वक्तव्यमा भनेका छन् ।

ओलीलाई उम्मेदवारी सहज रूपमा लिन आग्रह

नेता रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीले ७० वर्षको उमेरसम्म आइपुग्दा पार्टीको अध्यक्ष  र देशको प्रधानमन्त्री समेत भई महत्त्वपूर्ण जिम्मेवारी बहन गरिसकेको भन्दै यस क्रममा देश र जनताका लागि गर्न सक्ने काम आफ्नो सम्पूर्ण क्षमता, योग्यता, सक्रियता र लगनका साथ गर्दै देश र जनता सबैले देखिसकेको पनि बताएका छन् ।

‘उहाँ स्वयंले केही समय पहिले पार्टीको नेतृत्व हस्तान्तरण गर्ने र पुनः अध्यक्ष पदमा प्रतिस्पर्धा नगर्ने घोषणा पनि गर्नुभएको हो । उहाँको यस्तो कार्य र घोषणाको सम्मानका लागि पनि उमेर र अनुभव लगायत सबै दृष्टिबाट परिपक्व भइसकेकोले मैले केन्द्रीय कमिटीको अध्यक्ष पदका लागि अग्रसर हुनु उचित सम्झेको छु’, रावलले आफ्नो उम्मेदवारीको पुष्टि गर्दै भनेका छन्, ‘पार्टीमा फुट भएको बेला अरूबाट परिस्थितिको सामना गर्न केही कठिनाइ हुन्छ कि भन्ने लागेको भए त्यसबारे ममाथि भरोसा गरी ढुक्क हुन उहाँलाई हार्दिक आग्रह गर्दछु ।’

साथै रावलले अध्यक्ष पदको जिम्मेवारी पाएमा ओलीको महत्त्वपूर्ण अनुभव, ज्ञान र दक्षतालाई जहिले पनि पार्टीको विकास, विस्तार र सफलताका लागि सदुपयोग गरिरहन सदा तत्पर रहने बताएका छन् । ‘अतः मेरो अध्यक्ष पदको उम्मेदवारीलाई सहजरुपमा लिई पार्टीलाई नयाँ गतिका साथ अघि बढाउन मप्रति सद्भाव प्रदर्शन गर्नहुन कमरेड केपी शर्मा ओली एवम् सबै नेतृत्व तहमा रहनुहुने कमरेडहरू समक्ष हार्दिक आह्वान गर्दछु’, रावलले आफ्नो उम्मेदवारी घोषणा गर्दै लिखित वक्तव्यमा भनेका छन् ।

रावलसहितका नेता १० स्थायी समिति सदस्यहरू पार्टी विभाजनमा नलागे पनि उनीहरूमाथि ओलीले न्याय दिन नसकेको गुनासो सुनिँदै आएको थियो । पार्टी एकताका लागि भन्दै १० बुँदे सहमतिका पक्षधर समेत रहेका रावल ओलीले उक्त सहमति कार्यान्वयन नगरेपछि भने रुष्ट बनेका थिए । त्यतिमात्रै होइन, एमालेको वडा र पालिका अधिवेशन तथा महाधिवेशन प्रतिनिधि छनोटमा समेत ओली समूहले एकलौटी गरेकोमा रावलले सार्वजनिक रूपमै असन्तुष्टि जनाएका थिए । उनले कैलाली लगायतका जिल्लामा छनोट भएका महाधिवेशन प्रतिनिधि रद्द गरी पुन चयन गर्नुपर्ने माग अघि सारेका थिए । यी सबै मागमा ओलीले बेवास्ता गरेपछि रावल ओलीसँग थप आक्रोशित बन्न पुगेका थिए ।

उपाध्यक्ष रावलले अध्यक्षमा उम्मेदवारी घोषणा गरेर उपाध्यक्षको पद सुरक्षित गर्न खोजेका हुन् कि भन्ने आशङ्का भइरहेका बेला उनले त्यसको समेत प्रतिवाद गरेका छन् । ‘अध्यक्षको उम्मेदवारी घोषणा गरिरहेको छु भने किन घटाउनुहुन्छ ?’, रावलको जवाफ छ ।

अध्यक्षमा उम्मेदवारी दिएका रावल को हुन् ?

२०१३ साल साउन ४ गते अछाममा जन्मेका रावल राजनीतिक शास्त्रमा विद्यावारिधि र कानुनमा स्नातक हुन् । नेकपा (एमाले), केन्द्रीय कमिटीको  उपाध्यक्ष तथा अछाम जिल्ला निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभाको सदस्य रावल २०३० सालदेखि प्रगतिशील विद्यार्थी राजनीतिमा संलग्न भएका थिए । 

२०३२ सालको विद्यार्थी आन्दोलनमा सुरक्षा कानुनअन्तर्गत केन्द्रीय कारागारमा बन्दी जीवन बिताएका रावल त्यहीँ झापाली राजबन्दीहरूसँग भेट भएर राधाकृष्ण मैनालीबाट सदस्यता प्राप्त गरेका थिए । कारागारमा पार्टी सदस्यता कायम नहुने भएकाले पुनः २०३५ सालमा तत्कालीन नेकपा (माले) को सदस्यता प्राप्त) गरेका थिए ।

२०३३ सालमा राजकाज मुद्दाअन्तर्गत कारागार चलान भएका उनी २०३५ सालदेखि पार्टीको विद्यार्थी क्षेत्रमा पार्टीको नेतृत्ववादी केन्द्रीय न्युक्लियसको सदस्य, अनेरास्ववियु, (एकताको पाँचौँ) को संस्थापक मध्येको एक नेता, २०३६ सालमा त्यस संगठनको केन्द्रीय सचिवालय सदस्य, विदेश विभागको प्रमुख, विद्यार्थी आवाज र स्टुडेण्ट्स भ्वाइसको सम्पादक भएका थिए ।

२०३८ सालमा अनेरास्ववियु, एकताको पाँचौँ राष्ट्रिय सम्मेलनका सिलसिलामा  गिरफ्तार भएर डिल्लीबजार खोरमा विद्रोह र भैरहवा कारागारमा ९ दिन आमरण अनशन बसेका उनी  २०३९ साल पछि नेकपा (माले) को काठमाडौँ बुद्धिजीवी कमिटीको सचिव र पार्टीका तर्फबाट साप्ताहिक पत्रिकाको सम्पादनको जिम्मेवारी प्राप्त गरेसँगै  २०४८ साल पछि लगत्तै प्रचार विभागको सदस्य बनेका थिए ।

२०५० सालदेखि विदेश विभागको सदस्य  र सचिवका रूपमा लामो समय काम गरेको उनी  २०५४ सालमा छैटौँ र २०५९ सालमा सातौँ  राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटीको सदस्यमा निर्वाचित हुँदै २०६५ सालमा आठौँ राष्ट्रिय महाधिवेशनमा उपाध्यक्ष पदमा पराजित भएका थिए । २०७१ सालमा नवौँ राष्ट्रिय महाधिवेशनबाट सर्वाधिक मत प्राप्त गरी केन्द्रीय कमिटीको उपाध्यक्षमा निर्वाचित रावल १० वर्ष सेती अञ्चल इन्चार्ज, झण्डै १५ वर्ष प्रवास क्षेत्रको पार्टी कामको जिम्मेवारी वहन र विभिन्न समयमा केन्द्रीय संगठन विभागको सदस्यका रूपमा जिम्मेवारी बहन गरेका थिए ।  संघीय व्यवस्था आइसकेपछि सुदूरपश्चिम प्रदेश कमिटीको संयोजक र त्यसको संस्थापक भएका उनी २०७५ सालमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का बीच एकीकरण भएपछि स्थायी कमिटीको सदस्य र सुदूरपश्चिम प्रदेश कमिटीको इन्चार्ज भएका थिए ।  

के गर्लान् घनश्याम भुसाल ?

रावलले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरे पनि अर्का नेता घनश्याम भुसालले भने अहिलेसम्म कुनै पदमा उम्मेदवारी दिने बताइसकेका छैनन् । यसअघि रावलले अध्यक्षमा उम्मेदवारी नदिए भुसालले दिने तयारी गरेका समाचारहरू सार्वजनिक भएका थिए । कतिपयले रावलले अध्यक्षमा उम्मेदवारी दिएकाले भुसालले महासचिवमा उम्मेदवारी दिन सक्ने सम्भावना रहेको बताएका छन् ।

माधव नेपालले पार्टी विभाजन गर्दा नेपालको नयाँ पार्टीमा नलागी  रावलसहित १० नेता एमालेमै बसेका थिए । यसरी एमालेमै बस्ने नेताहरूमा उपाध्यक्षत्रय भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य तथा उपमहासचिव घनश्याम भुसाल पनि एमालेमै बसेका थिए । त्यस्तै सचिवहरू योगेश भट्टराई, भीम आचार्य, गोकर्ण विष्ट तथा अनुशासन आयोगका अध्यक्षसमेत रहेका अमृतकुमार बोहरा र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे पनि एमालेमै बसेका थिए ।

यी नेताहरू विगतमा ओलीले गरेको संसद् विघटनविरुद्धको संघर्षमा नेपालसँग भए पनि पार्टी विभाजनका बेलामा भने एमालेमै बस्न पुगेपछि कतिपयले ओलीको टाङमुनि छिरेको भनेर टिप्पणी समेत गर्ने गरेका थिए । तर, उनीहरूले भने पार्टीमै रहेर संघर्ष गर्नु उपयुक्त हुने भन्दै ‘फेस सेभिङ’ गर्दै आएका थिए । यसमा उपाध्यक्ष रावल र उपमहासचिव घनश्याम भुसाल बाहेक अन्य नेताहरूले भने ओलीका पछिल्ला निर्णयहरूमा समेत प्रश्न उठाउन सकेका थिएनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप