शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

समाजमा मेलमिलाप कायम गर्ने कार्यभार बाँकी छ : प्रचण्ड

आइतबार, ०५ मङ्सिर २०७८, १४ : ११
आइतबार, ०५ मङ्सिर २०७८

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनयुद्धका क्रममा घटेका घटनाको सत्य तथ्य छानबिन गरी पीडितहरूलाई परिपूरण र सङ्क्रमणकालीन न्यायको मान्यतामा आधारित छानबिनको प्रक्रियाबाट टुङ्गोमा पुराई समाजमा मेलमिलाप कायम गर्ने कार्यभार बाँकी नै रहेको बताएका छन् । विस्तृत शान्ति सम्झौता सम्पन्न भएको १५ वर्ष पुगेको अवसरमा जारी विज्ञप्तिमा शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गर्न आफूहरू प्रतिबद्ध रहेको बताएका हुन् ।

‘युद्धलाई शान्तिमा रूपान्तरण गर्ने ऐतिहासिक काम सम्पन्न भए पनि सो अवधिमा घटेका घटनाको सत्य तथ्य छानबिन गरी सार्वजनिक गर्न, पीडितहरूलाई परिपूरण र सङ्क्रमणकालीन न्यायको मान्यतामा आधारित छानबिनको प्रक्रियाबाट टुङ्गोमा पुराई समाजमा मेलमिलाप कायम गर्ने कार्यभार बाँकी छ,’ विज्ञप्तिमा भनिएको छ, ‘आजसम्मका राजनैतिक उपलव्धीहरुप्रति गर्व गर्दै सो क्रममा भएका कमीकमजोरीहरूको छानबिन गरी सत्य तथ्य सार्वजनिक गर्न हामी प्रतिबद्ध छौँ । यो मामला सरकारको मात्र मामला नभै राज्यको मामला हो यसर्थ यस विषयमा आजका दिनसम्म सत्ता पक्ष र प्रतिपक्ष एकमत छौँ र बाँकी काम सम्पन्न गर्न पनि प्रतिबद्ध र एकताबद्ध हुने कुरामा कुनै द्विविधा छैन भन्ने हामी सम्बद्ध सबै पक्षलाई  विश्वास दिलाउन चाहन्छौ ।’

 

प्रेस वक्तव्य

बृहत् शान्ति सम्झौतामा हस्ताक्षर भएको पन्ध्र वर्ष बितेको छ । यो अवधिमा हामीले नेपाली समाजका समस्याहरूलाई सम्बोधन गर्न राज्यको अग्रगामी पुनर्संरचना, लोकतन्त्रलाई संस्थागत गर्ने समावेशी समानुपातिक सहभागितामा आधारित सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी गरी ऐतिहासिक रूपमा आदिवासी जनजाति, महिला, दलित, मुस्लिम, अल्पसङ्ख्यक तथा युवाहरूको भूमिका बढाउने प्रयत्नमा उल्लेखनीय सफलता हासिल गरेका छौँ । ती सफलताप्रति हामीलाई गर्व छ । यो प्रक्रियामा योगदान गर्ने सबैलाई हार्दिक बधाई छ ।

संविधानसभाबाट संविधान, सोको कार्यान्वयनका निम्ति ऐतिहासिक निर्वाचन र निर्वाचित पदाधिकारीहरूले पहिलो कार्यकाल सफलतापूर्वक सम्पन्न गर्दै अर्को निर्वाचनको तयारीमा प्रवेश गरिसकेको अवस्था छ । नेपाली सेनाको लोकतान्त्रीकरण र जनमुक्ति सेनाको समायोजनको काम सम्पन्न भैसकेको छ । शान्ति प्रक्रियाको बाँकी कामका रूपमा रहेको द्वन्द्वकालीन घटनाको सत्य तथ्य छानबिन गरी मेलमिलापको वातावरण तयार गर्न सत्यनिरुपण तथा मेलमिलाप आयोग तथा बेपत्ता छानबिन आयोगहरू गठन भई कार्यरत छन् । संवैधानिक रूपमा स्थापित गरिएका राष्ट्रिय मानवअधिकार आयोग, महिला, दलित, आदिवासी जनजाति आयोग जस्ता आयोगहरूले पनि आफ्नो ठाउँमा मानवअधिकार र शान्तिका लागि आफ्नो भूमिका निर्वाह गरिरहेकै छन् ।

युद्धलाई शान्तिमा रूपान्तरण गर्ने ऐतिहासिक काम सम्पन्न भए पनि सो अवधिमा घटेका घटनाको सत्य तथ्य छानबिन गरी सार्वजनिक गर्न, पीडितहरूलाई परिपूरण र सङ्क्रमणकालीन न्यायको मान्यतामा आधारित छानबिनको प्रक्रियाबाट टुङ्गोमा पुराई समाजमा मेलमिलाप कायम गर्ने कार्यभार बाँकी छ । आजसम्मका राजनैतिक उपलब्धिहरू प्रति गर्व गर्दै सो क्रममा भएका कमीकमजोरीहरूको छानबिन गरी सत्य तथ्य सार्वजनिक गर्न हामी प्रतिबद्ध छौँ । यो मामला सरकारको मात्र मामला नभै राज्यको मामला हो यसर्थ यस विषयमा आजका दिनसम्म सत्ता पक्ष र प्रतिपक्ष एकमत छौँ र बाँकी काम सम्पन्न गर्न पनि प्रतिबद्ध र एकताबद्ध हुने कुरामा कुनै द्विविधा छैन भन्ने हामी सम्बद्ध सबै पक्षलाई  विश्वास दिलाउन चाहन्छौ । 

सहिद तथा बेपत्ता परिवार, घाइते, विस्थापित लगायतका पीडितहरूसँगको परामर्शमा अन्तर्राष्ट्रिय मापदण्डको परिपालना गर्दै, नेपाली मौलिकतामा विधेयकलाई परिमार्जन गरी आगामी  अधिवेशनमा टुङ्गोमा पुराउन र शान्ति प्रक्रियाको बाँकी काम सम्पन्न गर्न प्रतिबद्ध छौँ । साथै शान्ति र महिला सम्बद्ध संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को प्रस्ताव नं. १८२० तथा १३२५ को पहिलो राष्ट्रिय कार्ययोजना सफलतापूर्वक सम्पन्न गरिसकेको पृष्ठभूमिमा दोस्रो कार्ययोजना समेत कार्यान्वयन गर्ने कुरा पनि विश्वस्त पार्न चाहन्छौ । आजको यस ऐतिहासिक दिनमा हाम्रो यो प्रतिबद्धता पुरा गर्न सबै सम्बद्ध पक्षबाट सहयोगको अपेक्षा पनि गर्दछौँ ।

५ मङ्सिर, २०७८

पुष्पकमल दाहाल ‘प्रचण्ड’

अध्यक्ष

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप