शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : प्रधानन्यायाधीशलाई राजीनामा दिन चौतर्फी दबाब, स्थानीय निर्वाचन चैत ५ भित्र गर्न सिफारिस

पाँचथरमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु
सोमबार, ०८ कात्तिक २०७८, २० : १०
सोमबार, ०८ कात्तिक २०७८

आज २०७८ कार्तिक ८ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–

आजका मुख्य समाचारहरुमा प्रधानन्यायाधीशलाई ‘मार्ग प्रशस्त’ गर्न बढ्दो दबाब, स्थानीय तहको निर्वाचन चैत ५ भित्र गर्न आयोगको सुझाव, मंगलबार एमालेको पालिका अधिवेशन, पाँचथरमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु, काँग्रेस नेताहरु धमाधम भारत भ्रमणमा, काठमाडौंको सडकमा भ्वाङ, माओवादी केन्द्रमा गुटबन्दीको आरोप–प्रत्यारोप लगायत छन् ।

१. प्रधानन्यायाधीशलाई ‘मार्ग प्रशस्त’ गर्न बढ्दो दबाब
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई ‘मार्ग प्रशस्त’ गर्न दबाब बढ्दै गएको छ । सर्वोच्च अदालतका न्यायाधीशहरुको सोमबार बसेको बैठकले प्रधानन्यायाधीशलाई न्यायालयको गरिमा जोगाउनका लागि ‘मार्ग प्रशस्त’ गर्न आग्रह गर्ने निर्णय गरेको हो ।

सोमबार नै राजधानीमा आयोजित एक कार्यक्रममा पूर्व महान्यायाधिवक्ताहरू र कानुन व्यवसायीहरुले समेत प्रधानन्यायाधीशलाई निकास दिन आग्रह गरेका छन् । कानुन व्यवसायीको छाता संगठन नेपाल बार एसोसिएसनले पनि प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने ठहर गरेको छ ।

​२. स्थानीय तहको निर्वाचन चैत ५ भित्र गर्न आयोगको सुझाव
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन आगामी चैत ५ भित्र गर्न सरकारलाई सुझाव दिएको छ । सोमबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलका क्रममा आयोगका पदाधिकारीले स्थानीय तहको निर्वाचनबारे सुझाव दिएका हुन् । यस्तै आगामी फागुनमा पदावधि सकिने राष्ट्रियसभाका २० सदस्य पदका लागि माघको पहिलो साता निर्वाचन गर्न पनि आयोगले सिफारिस गरेको छ ।

३. मंगलबार एमालेको पालिका अधिवेशन
प्रमुख प्रतिपक्ष नेकपा एमालेले मंगलबार देशभरका पालिकामा अधिवेशन गर्दैछ । राष्ट्रिय महाधिवेशनको तयारीमा जुटेको एमालेले हालै वडा अधिवेशन सकेको छ भने अब पालिका अधिवेशन गर्न लागेको हो । मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट पालिका अधिवेशन उद्घाटन गर्नेछन् ।

४. नेपाल–भारत सम्बन्ध सुदृढ गरेरमात्र राजनीतिक स्थायित्व हुन्छ : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल–भारत सम्बन्ध सुदृढ गरेरमात्र नेपालमा राजनीतिक स्थिरता र विकास हुने बताएका छन् । पूर्व भारतीय राजदूत रञ्जित रेको पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल–भारत सम्बन्धका धेरै आयाम भएको बताए ।

५. पाँचथरमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु
पूर्वी नेपालको पाँचथरमा सोमबार बस दुर्घटना हुँदा कम्तीमा चार जनाको मृत्यु भएको छ । पाँचथरको सविखोलाबाट फिदिम आउँदै गरेको को १ ख ३८६५ नम्बरको बस सरखण्डेमा दुर्घटना भएको हो । दुर्घटनामा ६० जनाभन्दा बढी यात्री घाइते भएका छन् ।

६. काँग्रेस नेताहरु धमाधम भारत भ्रमणमा
१४ औं महाधिवेशनको तयारीमा रहेको नेपाली काँग्रेसका नेताहरु धमाधम भारत भ्रमणमा गइरहेका छन् । भदौको पहिलो साता उपसभापति विमलेन्द्र निधि भारत भ्रमणमा गएका थिए भने त्यसपछि काँग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महत नेतृत्वको टोली भारत पुग्यो । पछिल्लो समय काँग्रेस महामन्त्री डा. शशांक कोइराला भारत भ्रमणमा छन् ।

विभिन्न बहानामा भएका यी भ्रमणमा राजनीतिक भेटघाटसमेत भएको स्रोतहरु बताउँछन् । विश्लेषकहरू भने पछिल्लो समय भारतको संस्थापन पक्षले प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा र काँग्रेस महामन्त्री डा. शशांक कोइरालालाई मिलेर अघि बढ्नका लागि चासो राखेको टिप्पणी गरेका छन् ।

७. काठमाडौंको सडकमा भ्वाङ
काठमाडौंको व्यस्त मानिने नयाँ बानेश्वरको सडकमा सोमबार भ्वाङ परेको छ । भ्वाङ परेको स्थानमा सडक विभागका कर्मचारी मर्मतका लागि खटिएका छन् । एकाएक सडकमा भ्वाङ परेपछि सो रुटमा केहीबेर यातायात प्रभावित भएको थियो ।

८. कर्णाली प्रदेशमा सत्ताका लागि हानथाप, गठबन्धनमा दरार ल्याउने आशंका
कर्णाली प्रदेश सरकारको नेतृत्वका लागि नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच हानथाप बढ्दै गएको छ । तत्कालीन नेकपामा विवादको जड बनेको कर्णाली प्रदेश नेकपा एमाले विभाजनको पनि एउटा कारण बनेको थियो । पछिल्लो समय सत्ताबारे देखिएको हानथापले सत्तारुढ गठबन्धनमा दरार ल्याउन पनि कर्णाली नै कारक बन्ने त होइन भन्ने आशंका गर्न थालिएको छ ।

९. माओवादीभित्र गुटबन्दीको आरोप–प्रत्यारोप
नेकपा माओवादीभित्र गुटबन्दीको आरोप–प्रत्यारोप भएको छ । खासगरी प्रदेश २ मा चरम गुटबन्दी भएको भन्दै कार्यकर्ताले गुनासो गरेपछि सो प्रदेशका पदाधिकारी तथा केन्द्रीय सदस्यहरुसँग नेतृत्वले गरेको छलफलमा आरोप–प्रत्यारोप भएको हो । माओवादी केन्द्रका नेताद्वय नारायणकाजी श्रेष्ठ र मातृका यादवबीच गुटबन्दीका बारेमा आरोप–प्रत्यारोप भएको हो ।

१०. पछिल्लो २४ घण्टामा ७७६ संक्रमित थपिए
नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट ७७६ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा कोरोना संक्रमणबाट १३ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा देशभर ५०१ जना संक्रमणमुक्त भएका छन् ।

११. र यो पनि,
लामो समयदेखि घट्दो क्रममा रहेको शेयर बजार परिसूचक नेप्सेमा सोमबार एकाएक उछाल आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज नेप्से परिसूचक अधिकतम ८७.६३ अंकले बढेर २६७२.२५ विन्दुमा उक्लिएको हो ।

जिल्ला अदालत मोरङले ३३ किलो सुन तस्करी प्रकरणका मुख्य अभियुक्त चूडामणि उप्रेती (गोरे) लाई अपहरण तथा शरीर बन्धक मुद्दामा १० वर्ष कैद, एक लाख जरिवाना र मृतक सनम शाक्यको परिवारलाई १३ लाख ११ हजार क्षतिपूर्ति भराउने गरी सजाय निर्धारण गरेको छ । 

नेपाल प्रहरी अस्पतालमा अनियमितता भएको आशंकामा छानबिन थालिएको छ । अस्पताल प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. आशा सिंहले अस्पतालमा आवश्यक सामग्री खरिद गर्दा अनियमितता गरेको आरोप छ ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप