बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानन्यायाधीशले मार्ग प्रशस्त गर्नुपर्ने कानुन व्यवसायीको तर्क

सोमबार, ०८ कात्तिक २०७८, १७ : २८
सोमबार, ०८ कात्तिक २०७८

 पूर्व महान्यायाधिवक्ता मुक्ति प्रधानले अहिलेको अवस्थामा न्यायालयको साख जोगाउन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले निकास दिनुपर्ने बताएका छन् । सोमबार रिपोर्टर्स नेपालले आयोजना गरेको कार्यक्रममा उनले न्यायालयको विषयमा गम्भीर प्रश्न उठेको भन्दै प्रधानन्यायाधीशको बारेमा उठान भएको विषयमाथि प्रस्ट पार्ने समयसमेत घर्किसकेको बताए ।

उनले न्यायपालिकाको र जनताको अभिभावकका रुपमा प्रधानन्यायाधीशले त्यो भावना र मर्मलाई आत्मसात् गर्न नसकेको बताए । प्रधानन्यायाधीशले राजनीतिक दलसँग सौदावाजी गरेको भन्दै उनले प्रधानन्यायाधीशले कार्यपालिकासँग भागबण्डा खोजेको विषयमा पनि प्रश्न उठेको स्मरण गराए ।

उनले भने, ‘यो नेपालको न्यायिक इतिहासमा गम्भीर विषय हो, अब यति विवाद सिर्जना हुँदाहुँदै पनि तपाईँ त्यो पदमा बसिरहन अन्तरआत्माले दिन्छ त ? म प्रश्न गर्न चाहन्छु ।’ न्यायपालिका अब विवादित नेतृत्वको आधारमा सञ्चालन हुन नसक्ने प्रस्ट पार्दै उनले विवादका विषयहरु, प्रश्नहरुलाई प्रधानन्यायाधीशले नजरअन्दाज गर्दै आएको बताए ।

उनले भने, ‘दलहरुका आफ्नो किसिमको सोच होलान्, विधि र प्रक्रियालाई उहाँले आत्मसात् गर्नुभएन । निजी सोच र चिन्तनलाई पूरा गराउनतर्फ लाग्नुभयो,’ प्रधानन्यायाधीशप्रति लक्षित गर्दै उनले भने, ‘यथाशक्य उहाँले सोच्नुप-यो । न्यायपालिकाको स्वच्छता, निष्पक्षतामा कुनै दाग नपर्नेगरी निकास खोज्नुपर्छ ।’

प्रधानन्यायाधीशले निकास नदिए यसबारे थप छलफल गर्ने र आफूहरुले गम्भीर रुपमा सोच्नुपर्ने उनले बताए । ‘प्रधानन्यायाधीश जबरजस्ती गरेर पदमा बसेमा नेपालको न्यायिक छवि नै धुमिल हुने उनको भनाइ छ ।

कार्यक्रममा वरिष्ठ अधिवक्ता महेश नेपाल भने प्रधानन्यायाधीश जबराले स्वेच्छाले राजीनामा दिए अलग कुरा हुने तर कसैले माग्दैमा राजीनामा दिन नहुने बताउँछन् । प्रधानन्यायाधीश जबराको सवालमा कुनै एउटा विषयलाई हेरेर हट्नुपर्छ वा पर्दैन भन्न नहुने उनको टिप्पणी छ ।

​उनले भने, ‘मलाई चित्त बुझ्यो कि बुझेन भनेर राजीनामा वा हट्नुपर्छ भन्ने कुरा गर्नुहुँदैन, प्रधानन्यायाधीशले संवैधानिक अधिकारभन्दा बाहिर गएर भूमिका खेलेको हो भनेर मान्ने हो भने उहाँलाई राजीनामा दिएरमात्रै उन्मुक्ति दिनुहुँदैन । प्रतिनिधिसभामा महाभियोग प्रस्ताव दर्ता गर्नुपर्छ ।’

यो विषयमा दलहरुले आफ्नो दायित्व पूरा नगर्ने अनि प्रधानन्यायाधीशले ठाउँ खाली गर्नुपर्छ भन्नुको अर्थ नहुने उनले बताए । उनले भने, ‘न्यायालयभित्र अहिले जुन विषयहरु उठिरहेका छन्, ती विषयहरु समग्र न्यायालयको बारेमा उठेका विषय हुन् वा त्यो न्यायालयको कुनै पदाधिकारी वा न्यायाधिशको बारेमा उठेको हो भन्ने कुरालाई छुट्याउनुपर्छ ।’

हिजो गोपाल पराजुलीका बारेमा त्यत्रो बबण्डर भएको र दीपकराज जोशी कसरी बाहिरिएको भन्ने कुरा सबैलाई थाहा भएको अधिवक्ता नेपालले स्मरण गराए । उनले भने, ‘गलत गरेको छ भने सजाय गर्नुपर्छ । सजाय गर्ने संवैधानिक व्यवस्था छ । राजीनामा दीर्घकालीन समाधानको विषय होइन । दण्ड र पुरस्कार नै दीर्घकालीन समाधान हो ।’

वरिष्ठ अधिवक्ता परशुराम कोइरालाले प्रधानन्यायाधीश जबराले राजीनामा दिएर ‘फेस सेभ’ गर्नुपर्ने बताए । उनले मैदानमा अब टिम क्याप्टेनले मात्रै खेलेर केही नहुने भन्दै प्रधानन्यायाधीशले राजीनामा दिँदा नै राम्रो हुने तर्क गरे ।

उनले भने, ‘टिम क्याप्टेनले एक्लैले खेलेर पुग्दैन । टिम लिडरले भनेको कुरा अरु टिम मेटहरुले नमान्ने अवस्था आउनु भनेको यो शर्मनाक हो । आज उप्रान्त जति जति दिन ढल्दै जान्ँछ, त्यति त्यति नै चरित्रमा दाग लाग्दै जान्छ ।’

उनले अहिलेको समस्याको एकमात्रै कारक प्रधानन्यायाधीश एक्लै भने नभएको टिप्पणी गरे । उनले भने, ‘उहाँको पालामा जति विवाद अरु बेला कहिल्यै आएको थिएन, अब उहाँले राजीनामा दिएर फेस सेभ गर्नुपर्छ ।’

उनले १४ न्यायाधीशले फूलकोर्टमा जाँदैनौं भन्नु ठूलो प्रश्न भएको पनि बताए । उनले प्रधानन्यायाधीश अहिले एक्लिएको पनि टिप्पणी गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप