शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : सुरु भयो एमालेको विधान महाधिवेशन, चार पूर्व प्रधानन्यायाधीशले पाए सफाइ

सत्तारुढ गठबन्धनको बैठक बस्न नसक्दा मन्त्रिपरिषद विस्तारमा ढिलाइ
शुक्रबार, १५ असोज २०७८, २० : २३
शुक्रबार, १५ असोज २०७८

आज २०७८ असोज १५ गते शुक्रबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’ मा प्रस्तुत गरेका छौं–

आजका मुख्य समाचारहरुमा सुरु भयो एमालेको विधान महाधिवेशन, ओलीले भाषण टुंग्याउनै सकेनन्, चार पूर्व प्रधानन्यायाधीशले पाए अदालतबाट सफाइ, सत्तारुढ गठबन्धनको बैठक बस्न नसक्दा मन्त्रिपरिषद विस्तारमा ढिलाइ, प्रतिभा पलायनप्रति हिमानी शाहको चिन्ता लगायत छन् । 

१. सुरु भयो एमालेको विधान महाधिवेशन, ओलीले भाषण टुंग्याउनै सकेनन्
नेकपा एमालेको प्रथम विधान महाधिवेशन सुरु भएको छ । शुक्रबार ललितपुरको गोदावरीमा एमाले अध्यक्ष केपी शर्मा ओलीले विधान महाधिवेशन उद्घाटन गरेका हुन् । उनले उद्घाटन सत्रलाई सम्बोधन गर्दागर्दै रुघाखोकीका कारण आफूलाई समस्या भएको जानकारी दिँदै आफ्नो लिखित सम्बोधन शंकर पोखरेललाई बाचन गर्न लगाएका थिए ।

२. चार पूर्व प्रधानन्यायाधीशले पाए अदालतबाट सफाइ
अदालतको अवहेलनासम्बन्धी मुद्दामा चार जना पूर्व प्रधानन्यायाधीशले सफाइ पाएका छन् । शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश सपना प्रधान मल्लको संयुक्त इजलासले पूर्व प्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीलाई सफाइ दिएको हो ।

उनीहरुले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीबाट पहिलोपटक प्रतिनिधिसभा विघटनको निर्णय गर्दा सो निर्णय असंवैधानिक भएको दाबी गर्दै संयुक्त विज्ञप्ति निकालेका थिए । उनीहरुले विज्ञप्ति निकाल्दा उक्त विषय अदालतमा पुगिसकेको भन्दै अदालतलाई प्रभाव पार्ने गरी विज्ञप्ति निकालेकोमा अदालतको अवहेलना मुद्दा दायर गरिएको थियो ।

३. सत्तारुढ गठबन्धनको बैठक बस्न नसक्दा मन्त्रिपरिषद विस्तारमा ढिलाइ
सत्तारुढ गठबन्धनको बैठक बस्न नसक्दा मन्त्रिपरिषद विस्तारमा ढिलाइ भएको छ । शुक्रबार बैठक बस्ने भनिए पनि गठबन्धनका नेताहरु छलफलमा जुट्न सकेनन् । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन घटकका नेता माधवकुमार नेपाल अस्वस्थ भएका कारण बैठक सार्दै आएका छन् ।

४. प्रतिभा पलायनप्रति हिमानी शाहको चिन्ता
पूर्व युवराज्ञी हिमानी शाहले नेपालबाट भइरहेको प्रतिभा पलायन रोक्नुपर्ने बताएकी छन् । नवलपरासीका बाढी पीडितलाई राहत वितरण गर्नेक्रममा बिहीबार उनले प्रतिभा पलायनको स्थितिलाई सहेर बस्ने सुविधा हामी कसैलाई नभएको बताइन् ।

५. माओवादी छाडेर एमाले रोजेका प्रभु साह किन गएनन् विधान महाधिवेशनमा ?
नेकपा एमालेका महासचिव ईश्वर पोखरेलको नेतृत्वमा बिहीबार राति पूर्व माओवादी नेता प्रभु साहसँग भएको वार्ता सहमतिमा नपुगी टुंगिएको छ । आफ्नो ८ बुँदे माग लिखित रुपमा सम्वोधन नभएसम्म विधान महाधिवेशनमा उपस्थित नहुने अडानबाट प्रभु साह टसको मस भएनन् । 

६. प्रदेश २ का मुख्यमन्त्रीको राजीनामा माग
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा छापा मारेपछि विपक्षी दलले मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गरेका छन् । अख्तियारले प्रदेश सरकारको ‘बेटी बचाउ बेटी पढाउ’ अभियान अन्तर्गत खरिद गरिएको साइकलमा व्यापक अनियमितता भएको भन्दै मुख्यमन्त्रीको कार्यालयमै छापा मारेर फाइल नियन्त्रणमा लिएपछि विपक्षीहरुले मुख्यमन्त्री राउत पदमा रहिरहन नमिल्ने बताएका छन् ।

७. पशुपतिको बाबालाई छुरा हानेको आरोपमा पक्राउ
पशुपतिका बाबालाई छुरा प्रहार गरी फरार रहेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको जगतपुर घर भएका ताराबहादुर लामिछाने छन् । असोज ११ गते बिहान पौने ६ बजेतिर पशुपतिस्थित विश्वरुपा जाने बाटो छेउको झाडीमा सन्तोष भन्ने बाबालाई उनले छुरा प्रहार गरी फरार भएको प्रहरीको भनाइ छ ।

८. कर्णालीमा चाडबाडको समयमा खाद्यान्न अभाव हुन नदिइने 
बर्सेनि खाद्यान्न अभाव झेल्दै आएको कर्णाली प्रदेशमा यो वर्ष भने चाडबाडको समयमा खाद्यान्न अभाव नहुने गरी आवश्यक योजना बनाइएको छ ।

९. को आउला अखिल क्रान्तिकारीको नेतृत्वमा ?
माओवादी केन्द्रको भ्रातृ संगठन अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलन अन्तर्गत शुक्रबारदेखि बन्दसत्र सुरु भएको छ । कार्की पार्टी प्यालेसमा बन्दसत्र सुरु भएको हो । राष्ट्रिय सम्मेलनले संगठनको नयाँ नेतृत्वसमेत चयन गर्नेछ ।

१०. पछिल्लो २४ घण्टामा एक हजार ६६ संक्रमित थपिए
नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट एक हजार ६६ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा कोरोना संक्रमणबाट १३ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा देशभर ९३८ जना संक्रमणमुक्त भएका छन् ।

११. र यो पनि,
साफ च्याम्पियनसिप फुटबलमा आज आयोजक माल्दिभ्स र नेपालबीच भिडन्त हुँदैछ । यो खेल नेपाली समयअनुसार ९ बजेर ४५ मिनेटमा सुरु हुनेछ । राउन्ड रोबिन लिगका आधारमा हुने यस संस्करणको प्रतियोगितामा पाँच टिम सहभागी छन् । सहभागी पाँच टिममध्ये शीर्ष स्थानमा रहने दुई टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । 

बागमती प्रदेश सरकारले विद्युतीय बस खरिद प्रक्रिया पुनः सुरु गरेको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको यातायात व्यवस्थापन बोर्डमार्फत सरकारले विद्युतीय बस खरिद प्रक्रिया पुनः सुरु गरेको हो ।

नागरिक उड्डयन सम्बन्धी समस्या र समाधान उपसमितिले हवाइजहाजमा देखिएका प्राविधिक समस्याका सम्बन्धमा छलफल गरेको छ । शुक्रबार सिंहदरबारमा बसेको उपसमितिको बैठकले पछिल्लो समय हवाइजहाजमा देखिएका प्राविधिक समस्याहरूको बारेमा छलफल गरेको हो ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप