शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

गठबन्धनको बैठक नबस्दा मन्त्रिमण्डल विस्तारमा ढिलाइ

माधव समूहका नेता भन्छन्– हाम्रा कारणले रोकिँदैन
शुक्रबार, १५ असोज २०७८, २२ : २२
शुक्रबार, १५ असोज २०७८

आज बस्ने भनिएको सत्ता गठबन्धनको बैठक अनिश्चित भएको छ । आइतबारयता सत्ता गठबन्धनको बैठक बस्नै सकेको छैन । जसले गर्दा मन्त्रिमण्डल विस्तारमा ढिलाइ भइरहेको छ । आइतबारको बैठकले तत्काल अर्को बैठक बसेर मन्त्रालय बाँडफाँट गर्दै मन्त्रिमण्डल विस्तार गर्ने सहमति गरेको थियो ।

बैठक बस्न नसक्नुको कारणबारे गठबन्धनकै नेताहरु नाजवाफ छन् । प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल अस्वस्थ भएको कारण देखाउँदै बैठक सारिरहेका छन् ।

आइतबारको बैठकमा देउवाले मंगलबारभित्र नै बैठक बसेर बुधबारसम्ममा मन्त्रालय बाँडफाँट टुंग्याउने बताएका थिए । तर, उनले त्यसयता बैठक नै नबोलाएपछि गठबन्धनकै नेता अन्योलमा परेका छन् । ‘बुधबार नै बैठक राखेर टुङ्ग्याउने कुरा थियो तर शुक्रबार भैसक्यो बैठक बस्ने तरखर अझै देखिएको छैन’ गठबन्धनका एक नेताले भने, ‘प्रधानमन्त्रीले बैठक नबोलाएसम्म मन्त्रिपरिषदले पूर्णता पाउने देखिँदैन । उहाँले किन नबोलाएको हो बुझ्न सकिएन ।’

एकीकृत समाजवादीका नेता विरोध खतिवडा अध्यक्षले अधिकार प्रत्यायोजन गरिसकेकाले माधव नेपाल विरामी भएकाले गठबन्धनको बैठक बस्न नसकेको भन्ने समाचारमा सत्यता नभएको बताए । ‘अध्यक्षले अधिकार प्रत्यायोजन गरिसक्नुभएको छ । उहाँ उपस्थित नभएर निर्णय गर्न कुनै अप्ठेरो छैन’, खतिवडाले रातोपाटीसँग भने ।

सोमबारदेखि अध्यक्ष नेपाल अस्वस्थ भएका थिए । सोमबार मंगलबार घरमै आराम गरेका नेपाल बुधबारदेखि शिक्षण अस्पतालमा भर्ना भएका छन् । अध्यक्ष नेपालको स्वास्थ्यमा केही सुधार आएपनि उनको तत्कालै डिस्चार्ज हुने सम्भावना नरहेको बताइएको छ ।

‘स्वास्थ्यमा केही सुधार भएको छ । तर, अस्पतालले डिस्चार्जको कुरा गरेको छैन । सम्भवतः शनिबारसम्म डिस्चार्ज हुन्छ कि भन्ने छ’, अध्यक्ष नेपालको सचिवालयले जनाएको छ । नेता नेपाललाई खोकी र ज्वरोले सताएको थियो ।

प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले शुक्रबार बैठक बस्ने भनिए पनि समय यकिन भइनसकेको बताए । प्रधानमन्त्री देउवाले बुधबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग मन्त्रिपरिषद् विस्तारबारे छलफल गरेका थिए । सोही दिन बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकमा अध्यक्ष प्रचण्डले बुधबार बेलुकै गठबन्धनको बैठक बसेर बिहीबार मन्त्रिमण्डल विस्तार हुने ब्रिफिङ गरेका थिए ।

गत असार २९ मा प्रधानमन्त्री नियुक्त भएका देउवाले ६ मन्त्रीको भरमा काम चलाइरहेका छन् । त्यसयता राजनीतिक दलसम्बन्धी अध्यादेशका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको नेताहरुले बताउँदै आएका थिए । तर, गत सातामात्रै सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गरिसकेको छ ।

यसबीचमा गठबन्धनबीच काँग्रेसले प्रधानमन्त्रीसहित ७, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाबाट –६, ६ जना मन्त्री हुने सैद्धान्तिक सहमत भएपनि कुन मन्त्रालय कसले पाउने भन्ने ठोस निर्णय भैसकेको थिएन ।

माओवादी केन्द्र र काँग्रेसका २–२ जना गरी सुरुमा ४ मन्त्री बनाएका देउवाले दुई सातापछि एकजना राज्यमन्त्री र साढे २ महिनापछि परराष्टमन्त्री नियुक्त गरेका थिए । तर, नेकपा एकीकृत समाजवादी र जनता समाजवादबाट हालसम्म सरकारमा प्रतिनिधित्व भएको छैन ।

माधवको स्वास्थ्य बुझ्न मन्त्री अस्पतालमा

यसैबीच, शिक्षण अस्पतालमा उपचाररत नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको स्वास्थ्य अवस्था बुझ्न कानुनमन्त्रीसमेत रहेका ज्ञानेन्द्र कार्की अस्पताल गएका छन् । अस्पतालमा अध्यक्ष नेपालसँगको भेटघाटपछि आज बस्ने भनेको गठबन्धनको बैठक बस्ने नबस्ने निश्चित हुने मन्त्री कार्कीले बताए ।

‘गठबन्धनका नेता माधव नेपाल विरामी हुनुहुन्छ । उहाँलाई भेट्न जाँदैछु । त्यसपछि बैठकबारे निर्क्योल हुन्छ’, कार्कीले रातोपाटीसँग भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप