बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

विद्युतीय बस खरिदका लागि पुनः बोलपत्र आह्वान गर्ने तयारी

शुक्रबार, १५ असोज २०७८, १८ : ५१
शुक्रबार, १५ असोज २०७८

बागमती प्रदेश सरकारले विद्युतीय बस खरिद प्रक्रिया पुनः सुरु गरेको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको यातायात व्यवस्थापन बोर्डमार्फत सरकारले विद्युतीय बस खरिद प्रक्रिया पुनः  सुरु गरेको हो ।

बोर्डले विद्युतीय बस तथा विद्युतीय सवारी साधन चार्जर खरिद गर्न पुनः अन्तर्राष्ट्रिय बोलपत्र आह्वानको तयारी गरेको हो । बोर्डले २०७७ चैत १८ गते विद्युतीय बस खरिदका लागि आह्वान गरेको बोलपत्र रद्द गर्दै पुनः बोलपत्र आह्वान गर्ने तयारी थालेको हो । मन्त्रालयले बस खरिदका लागि अध्ययन गरी तयार परेको लागत अनुमानभन्दा बढी रकमको बोलपत्र परेकाले सो बोलपत्र रद्द गर्नुपरेको बोर्डका निर्देशक जगदीश ढुङ्गानाले जानकारी दिए ।

उनका अनुसार बस खरिदका लागि मन्त्रालयले तोकेको लागत अनुमानभन्दा २९.८३ प्रतिशत बढीको प्रस्ताव बोलपत्रदाताले पेस गरेका कारण रद्द गर्नु परेको थियो । बस खरिदका लागि आवश्यक सम्पूर्ण कागजी प्रक्रिया सम्पन्न गरी अन्तर्राष्ट्रिय बोलपत्र आह्वानका लागि अन्तिम तयारी भइरहेको निर्देशक ढुङ्गानाले रातोपाटीलाई बताए ।

उनका अनुसार दसैँ अगाडि नै बोलपत्र आह्वान गर्ने गरी मन्त्रालयसँग सहकार्यसहित काम भइरहेको छ । उनले पहिले नै आह्वान गरिएको लागत मूल्यमा ३० वटा विद्युतीय बस र १५ वटा चार्जर खरिदका लागि ग्लोबल टेन्डर आह्वान गरिने बताए । १० वटा ८.५ मिटरदेखि ९.४ मिटर लम्बाइको कोच सिटी मिनी बस र २० वटा १०.५ मिटर लम्बाइको सिटी मिनी बस खरिद गर्ने प्रदेश सरकारको योजना रहेको उनको भनाइ छ ।

हालै भौतिक पूर्वाधार विकास मन्त्रालयमा भएको सचिवको हेरफेरले बोलपत्र आह्वान केही दिन पर सरेको उनले बताए । केही दिनमै बोर्डको बैठक बसेर बोलपत्र आह्वान गर्न निर्णय गर्ने र प्रक्रिया सुरु गर्ने उनको भनाइ छ ।

वातावरणमैत्री विद्युतीय बस खरिद प्रक्रिया सुरु गरेको ७÷८ महिनामै बस आइपुग्ने उनले बताए । अघिल्ला आर्थिक वर्षमै प्रदेश सरकारले विद्युतीय बस सञ्चालन गर्ने योजना नीति र कार्यक्रममै समावेश गरे पनि कार्यान्वयनमा ल्याउन सकेको थिएन । यातायात व्यवस्थापन बोर्ड गठन र खरिद प्रक्रियाका काममा मिलाउन नसक्दा बस खरिद र सञ्चालनमा ढिलाइ भएको मन्त्रालयले जनाएको छ ।

चार्जिङ स्टेशन निर्माण प्रक्रिया सुरु

त्यस्तै बस सञ्चालनको लागि आवश्यक चार्जिङ स्टेशन निर्माणको प्रक्रिया समेत अघि बढाइएको निर्देशक ढुङ्गानाले बताए  । मन्त्रालय र बोर्डले संयुक्त रूपमा विभिन्न जिल्लाको स्थलगत अवलोकन गरेर बस सञ्चालन हुने रुटमा पर्ने स्थानमा चार्जिङ स्टेशन निर्माण प्रक्रिया सुरु गरेको उनले बताए ।

उनका अनुसार बोर्डले काठमाडौंको गोङ्गबु बसपार्क, हेटौंडा बसपार्क, भरतपुरको पारस बसपार्क, धादिङको गजुरी, काभ्रेको धुलिखेल र नुवाकोटको बट्टार विदुर बसपार्कमा चार्जिङ स्टेशन निर्माण प्रक्रिया अघि बढाएको छ ।

प्रदेशलाई हरित प्रदेश र वातावरणमैत्री प्रदेश बनाउने योजनासहित पहिलो चरणमा सरकारले धुलिखेलबाट बनेपा, काठमाडौँ, धादिङ, चितवन, हेटौँडासम्म बस सञ्चालनको योजना बनाएको उनले बताए । सिन्धुली, रामेछाप, दोलखा लगायतका जिल्लामा भने दोस्रो चरणमा विद्युतीय बसको रुट निर्माण गर्ने योजना रहेको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप