मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : राष्ट्रपति वैशाखमै चुनाव हुनुपर्ने पक्षमा, जनसंख्याको तथ्यांकमा प्रश्न

बिहीबार, १३ माघ २०७८, २१ : ५८
बिहीबार, १३ माघ २०७८

आज मिति २०७८ साल मंसिर १३ गते बिहीबार । आज दिनभर भएका मुखयमुख्य घटनाक्रमलाई रातोपाटीको नियमित प्रस्तुति ‘रातोपाटी ब्रिफिङमा प्रस्तुत गरिएको छ।  आजका मुख्य समाचारमा राष्ट्रपतिको वैशाखमै चुनाव गर्न दवाव, जनसंख्याको तथ्यांकप्रति प्रश्न, मोरङमा दुई जनाको हत्या, कोरोनाको नियमित अपडेट, काँग्रेसद्वारा बैठक बोलावटलगायत रहेका छन् ।

१. वैशाखमै चुनाव हुनुपर्ने पक्षमा राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई शीलतनिवासमा बोलाएर संविधानले भनेकै समयमा स्थानीय तहको निर्वाचन गर्न सुझाव दिएकी छिन् । प्रधानमन्त्री देउवाले भने राष्ट्रपतिको सुझावलाई सरकारमाथि शीतलनिवासको ‘दबाव’ का रुपमा लिएका छन् ।

देउवाले यतिबेला स्थानीय तहको निर्वाचन वैशाखमै गर्ने या सार्ने भन्नेबारे निर्णय लिन सकिरहेका छैनन् । पाँच दलीय गठबन्धनको समर्थनमा प्रधानमन्त्री बनेका देउवालाई गठबन्धनकै केही घटकले वैशाखमा स्थानीय तहको निर्वाचन नगराउन दबाब दिइरहेका छन् । काँग्रेस सभापतिसमेत रहेका देउवालाई आफ्नै पार्टीका अधिकांश पदाधिकारीले भने वैशाखमै निर्वाचन गराउन दबाब दिइरहेको अवस्था छ ।

२. जनगणनाबारे प्रश्न

तथ्यांक विभागले तथ्यांक संकलन सही र तथ्यपरक भएको दावी गरेको छ । विभागले बुधबार सार्वजनिक गरेको जनगणना २०७८ को प्रारम्भिक नतिजामाथि विभिन्न टिकाटिप्पणी भइरहेको बेला विभागका निर्देशक ढुण्डीराज लामिछानेले तथ्यांक सही र तथ्यपरक भएको बताएका हुन् । तथ्यांकबारे वास्तविकता भन्दा बाहिर गएर अनावश्यक टिप्पणी गर्ने काम भएको उनको भनाइ छ ।

‘यो विषयमा जवाफ दिएर साध्य छैन । मलाई व्यक्तिगत रुपमा पनि मेरो गणना भएन भनेर धेरैले भन्नु भएको छ । तर बुझ्दा परिवारबाट भएको पाइएको छ’, उनले बिहीबार रातोपाटीसँग भने, ‘नबुझिकन भनेर टिकाटिप्पणी गरिदिँदा समस्या भएको छ ।’ उनले ठूलो स्केलमा देशभरको जनगणना गरिएकाले केही संख्या भने छुट्न सक्ने स्वीकार गरे । तर, बाहिर भइरहेको टीकाटिप्पणीमा चाहिँ सत्यता नरहेको उनको भनाइ छ ।

​३. काँग्रेसले बैठक बोलायो

नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको छ । शुक्रबार दिउँसो तीन बजे भर्चुअल माध्यममा बैठक बस्न लागेको काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए  । पौडेलका अनुसार बैठकमा पदाधिकारी र केन्द्रीय समिति सदस्यलाई आमन्त्रण गरिएको छ । केन्द्रीय कार्य सम्पादन समिति गठनका सन्दर्भमा बैठक बस्ने पौडेलले जानकारी दिए । यस्तै चुनावका सन्दर्भमा पनि छलफल हुने बताइएको छ ।

४. अन्तर्घात गर्नेलाई काँग्रेसले कारबाही गर्ने​

नेकपा एमालेले राष्ट्रियसभा निर्वाचनमा अन्तर्घात  गर्ने जनप्रतिनिधिहरूलाई कारवाही गर्ने जनाएको छ । बुधबार सम्पन्न राष्ट्रियसभा निर्वाचनमा पार्टीका उम्मेदवारलाई मत नदिने जनप्रतिनिधिमाथि छानबिन गरेर कारवाही गरिने नेकपा एमाले प्रदेश १ कार्यालयले बिहीबार विज्ञप्ति जारी गरेर जनाएको छ ।

​५. कोरोना अपडेट

पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट १५ जनाको मृत्यु भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार यसबारे जानकारी दिँदै मृतकको संख्या १५ जना थपिएसँगै कुल मृतकको संख्या ११ हजार ६८७ जना पुगेको जनाएको छ ।  यस्तै पछिल्लो २४ घण्टामा ८०१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ८०१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै सोही अवधिमा ५ हजार २१९ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा २१ हजार ८०८ जनाको नमुना परीक्षण भएको थियो ।

​६. मोरङमा विभत्स हत्या

मोरङको धनपालथान गाउँपालिका–७ स्थित उखुबारीमा बिहीबार अर्को शव भेटिएको छ । प्रहरीले सो ठाउँमा बुधवार पनि पुरुषको शव उत्खनन गरेको थियो । खाल्डोबाट निकालिएका दुई मध्ये बिहीबार फेला परेको शवको पहिचान खुलेको छ । बुधवार शव निकालिएको ठाउँभन्दा करिब २५ मिटर पर सुनसरीको धरान उपमहानगरपालिका–३ घर भएका ४९ वर्षीय राजेन्द्र कुमार श्रेष्ठका शव भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी दीपक श्रेष्ठले बताए ।

​७. पर्यटन मन्त्रालयले माग्यो प्रमाण

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अन्तर्राष्ट्रिय यात्रु चार्टर उडानमा तोकिएको भन्दा बढी भाडा तिर्न बाध्य भई मर्का परेका व्यक्तिले आधिकारिक कागजातसहित सात दिनभित्र छानबिन समितिलाई इमेलमार्फत निवेदन दिन अनुरोध गरेको छ ।

​८. सेयर बजार

साताको अन्तिम कारोबारका दिन विहीबार नेपाल स्टक एक्सचेञ्जमा सामान्य सुधार आएको छ । कारोबार सुरू भएदेखि उकालो लाग्न थालेको नेप्से परिसूचक अन्तिमसम्म बढ्ने घट्ने क्रम तीव्र बन्यो ।

आज दुई पटक उकालो लाग्दै परिसूचक २८ सय अंकभन्दा माथि पुगेको थियो । तर, दुई पटक नै घट्दै फेरी अन्तिम समय सम्ममा ३ अंकको सामान्य सुधार आएका हो । यससँगै परिसूचक २७ सय ७९ अंकमा पुगेर बन्द भएको छ ।

​९. खोपबारे नयाँ सुझाव

सरकारले फ्रन्टलाइनर, ६० वर्षमाथि र दीर्घरोगीलाई कोरोनाविरुद्धको बुस्टर खोप दिने क्रम जारी छ । काठमाडौं उपत्यकामा कोरोनाविरुद्धको भेरोसेल खोपको दुवै मात्रा लगाएको ६ महिना पुगेका मध्य केहीले बुस्टर डोज लगाए । तर, काठमाडौं उपत्यकामा भेरोसेल खोप अभावमा बुस्टर जोडको प्राथमिकतामा परेको समूहका धेरैले अभियान सुरु गरेको दुई दिनपछि लगाउन पाएका छैनन् ।

यसअघि सरकारले बुस्टर डोज लगाउने लक्षित समूहलाई पहिला दुवै मात्रा जुन खोप लगाइएको हो त्यही लगाउन निर्देशन दिइएको थियो । बुस्टर डोज दिनका लागि भेरोसेल खोप अभाव भइरहँदा खोप सल्लाहकार समितिले भने पछिल्लो समय सरकारलाई भेरोसेल दुवै मात्रा लगाउनेलाई कोभिशिल्ड, फाइजर, मोडर्ना, लगाइदिन सुझाब दिएको परिवार कल्याण महाशाखा अन्र्तगतको खोप शाखाका एक अधिकारीले बताए ।

१० यो पनि...

गृह मन्त्रालयले सार्वजनिक स्थलमा अरुको मजाक, ख्यालठट्टा वा मस्करी (प्राङ्क) गर्नेमाथि कारबाहीको चेतावनी दिएको छ । मजाक तथा  ख्यालठट्टाको नाममा व्यक्तिहरुलाई शारीरिक तथा मानसिक रुपमा सास्ती दिने, हैरानी पार्ने क्रियाकलाप गरी त्यसको भिडियो समेत खिचेर सामाजिक सञ्जालमा अपलोड गर्ने पाइएको भन्दै मन्त्रालयले त्यसो नगर्न सचेत गराएको छ ।

​चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम अगाडि बढाउन भरतपुर महानगरपालिकाले गृहकार्य थालेको छ । ‘धुर्मुस सुन्तली’ फाउन्डेसनले ३ वर्षअघि शुरू गरेको रंगशाला निर्माणको काम अहिले अलपत्र छ । आर्थिक संकटका कारण धुर्मुस–सुन्तलीले रंगशाला निर्माणको कामबाट हात झिकेपछि भरतपुर महानगरले सक्रियता लिएको छ ।

​श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले भिजिट भिसामा विदेश लगेर नेपाली नागरिकहरुलाई अलपत्र बनाउने बैदेशिक रोजगार व्यवसायीहरुलाई सरकारले कारबाही गर्ने बताएका छन् ।  बिहीवार मन्त्रालयमा भिजिट भिसामा यूएई पुगेर अलपत्र भइ फर्केकाहरूसँगको छलफलमा मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।

​साम्प्रदायिक द्वन्द्व फैलाउने अभिव्यक्ति दिएको भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवविरुद्ध जिल्ला प्रहरी कार्यालय रौतहटमा उजुरी परेको छ । नेपाली कांग्रेसका नेता रन्जित कर्णले मन्त्री यादवविरुद्ध उजुरी दिएका हुन् ।

​थप समाचार

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप