शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

धरहरा उद्घाटनको ९ महिना : ३५ प्रतिशत काम अझै बाँकी

बिहीबार, १३ माघ २०७८, ०६ : ५३
बिहीबार, १३ माघ २०७८

९ महिना पहिले पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले निकै तामझामका साथ उद्घाटन गरेका थिए धरहरा । सर्वसाधारणलाई लागेको थियो, अब त धरहरा चढ्न पाइन्छ । तर ९ महिना बितिसक्दा पनि धरहरा पुनर्निर्माणको काम अझै ३५ प्रतिशत बाँकी छ । मुख्य धरहराभित्र फिनिसिङको कामको साथै तलदेखि बार्दलीसम्म पुग्न भर्‍याङमा रेलिङ तथा एउटा लिफ्ट राख्ने काम बाँकी छ । निर्माण भएका अन्य भौतिक संरचनाको पनि फिनिसिङको काम बाँकी नै रहेको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन तथा आवास) कामु आयोजना निर्देशक कोषनाथ अधिकारीले रातोपाटीलाई जानकारी दिए । 

आयोजनाका कामु निर्देशक अधिकारीले भने, ‘अधिकांश स्ट्रक्चर उठाउने काम सकिएको छ तर ल्याण्डस्केपिङको काम भएको छैन । इलेक्ट्रिक, इलेक्टोमेकानिकल, सेनिटरी सम्बन्धी काम बाँकी नै छ ।’ यस्तै भूमिगत पार्किङको भौतिक निर्माणको काम सकिए पनि फिनिसिङ बाँकी छ । 

निर्देशक अधिकारीका अनुसार ढलान गर्ने काम लगभग सकिए पनि प्लास्टर, विद्युतीकण, रंगरोगन गर्ने, पर्खाल लगाउने काम बाँकी नै छ । म्युजियम छेउको दोस्रो चरणको ढलान गर्ने काम चलिरहेको छ । निर्माण व्यवसायीलाई आगामी चैत मसान्तसम्म निर्माण सम्पन्न गर्नुपर्ने म्याद रहे पनि सो अवधिमा काम सम्पन्न गर्ने अवस्था छैन । 

निर्देशक अधिकारी भन्छन्, ‘आगामी असार मसान्तसम्म काम सम्पन्न गर्ने प्रयास छ । तर कोरोना महामारीले पनि काममा अवरोध पुर्‍याइरहेको छ । त्यसैले निर्धारित समयमा काम सक्न कठिन होला जस्तो छ ।’

पुरानो धरहरामा केमिकल हालिने 

यसैबीच २०७२ साल वैशाख १२ गतेको भूकम्पबाट भत्किएको पुरानो धरहरा संरक्षणका लागि यसअघि सिसाको फ्रेमभित्र राख्ने कुरा भए पनि अहिले त्यसमा घाम पानीले असर नपुर्‍याउने केमिकल हाल्नेबारे छलफल सुरु भएको छ । 

केमिकल ट्रिटमेन्टबाट यथास्थितिमा राख्न सकिने सल्लाह आएको अधिकारीले बताए । उनले भने–‘यो कामका लागि सम्बन्धित विशेषज्ञ बोलाएर कस्तो खालको ट्रिटमेन्ट गर्दा भत्किएको धरहराको बाँकी भाग बिग्रिदैँन, त्यो विषयमा हामीले पुरातत्त्वविद्, सम्पदाविद्हरूसँग छलफल गरेर अगाडि बढाएका छौँ । अहिले केमिकल ट्रिटमेन्ट गर्दा केही असर हुँदैन भन्ने कुरा आएको छ ।’ 

कहिले पाइन्छ धरहरा चढ्न ?

अझै झन्डै एक वर्ष निर्माण कार्य सम्पन्न गर्न समय लाग्ने र त्यसपछि काठमाडौँ महानगरपालिकालाई हस्तान्तरण गरेपछि मात्र सर्वसाधारणले टिकट काटेर धरहरा चढ्न सक्नेछन् ।  कामु आयोजना प्रमुख अधिकारीले भने, ‘पूर्ण रूपमा निर्माण सम्पन्न नभई सर्वसाधारणलाई धरहरा चढाउन उपयुक्त हुन्न । निर्माण सम्पन्नपछि हस्तान्तरणको प्रक्रियामा गएर मात्रै सर्वसाधारणले धरहरा चढ्न पाउँछन् ।’ 

२०७२ साल वैशाख १२ गते भूकम्पले भत्काएको धरहरा पुनर्निर्माणको काम २०७५ पुस १५ गतेपछि सुरु भएको थियो । हाल जीआईईटीसी–रमन जेभीले धरहराको निर्माणको काम गरिरहेको छ । यो आयोजनाका लागि भ्याटसहित तीन अर्ब ४८ करोड बजेट परिचालन गरिएको छ । नयाँ धरहरा क्षेत्र ४२ रोपनी क्षेत्रफलमा फैलिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप