शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पठाओ लुटपाट : लुटेराको कोडवर्ड– खाना तयार गर्नु !

‘मोटरसाइकल लुटेका होइनौं, किनेका हौं’
बिहीबार, १३ माघ २०७८, ०९ : ०९
बिहीबार, १३ माघ २०७८

काठमाडौं । काठमाडौंको कोटेश्वरबाट यात्रु बोकेर ललितपुरको धापाखेल पुगेका पठाओ राइडर २४ वर्षीय प्रविन राई माघ ८ मा मध्यरातमा लुटिए । आफैले लिएर गएका यात्रु र धापाखेलस्थित आँखादहमा लुकेर बसेका अर्का एकजना अपरिचित मिलेर उनको हातखुट्टा बाँधे, मुखमा टेप लगाएर भिरालो ठाउँबाट खसालिदिए । त्यसपछि उनको मोटरसाइकल, सामसुङ कम्पनीको मोबाइल र ८ हजार नगद लिएर उनीहरु भागे ।

उदयपुरको त्रियुगा नगरपालिका घर भएका प्रविन डेढ महिनाअघि काठमाडौं आएका थिए । काठमाडौं आउँदा उनको साथमा थियो प्रदेश–२–०१–००१ प ११६६ नम्बरको मोटरसाइकल । काठमाडौंमा आएर गोंगबुमा बस्न थालेका उनी पठाओको कार्यालयमा आफ्नो मोटरसाइकल दर्ता गराएर चलाउन थालिहाले ।

प्रविनलाई काठमाडौंको बारेमा त्यति धेरै जानकारी थिएन । उनी साँझ डेराबाट निस्कन्थे, रातभर पठाओ चलाएर बिहान ५ बजेतिर डेरामा फर्किन्थे । माघ ८ मा उनी कोटेश्वर चोकमा यात्रु कुरिरहेका थिए । रात छिप्पिँदै थियो, करिब ११ बजेर ३० मिनेट गएको थियो । एकजना यात्रु आएर सोधे– पठाओ हो ?

प्रविनले भने– हो ।

यसरी उनलाई सोध्ने यात्रु थिए सिन्धुलीको मरिण घर भएका २१ वर्षीय सुमन तामाङ । सुमनले उनलाई भने– गाडी पाइएन, मलाई अप्ठ्यारो परेको छ, धापाखेलसम्म छाडिदिनुस् न ।

सुरुमा प्रविणले मानेका थिएनन् । सुमनले आफू ‘वायरिङको काम गर्ने मान्छे’ रहेको भन्दै धापाखेलसम्म लगिदिन आग्रह गरे । त्यसपछि राइडर ‘अफलाइन’मा धापाखेल जान राजी भए ।

बालकुमारी पुल कटेपछि सुमनले आफ्नो साथीलाई फोन गरेर भने– म आउँदै छु, खाना तयार गर्नु ।

उनले फोन गरेका साथी थिए, खोटाङको हलेशी नगरपालिका–३ घर भई धापाखेल बस्ने बिनराज राई ।

 


साथीको फोनपछि २६ वर्षीय बिनराज उता लुट्न तयार भएका थिए । ‘खाना तयार गर्नु’ भनेको लुटमा संलग्नहरुले प्रयोग गर्ने कोडभाषा रहेको बताउँछन् महानगरीय प्रहरी वृत सातदोबाटोका डिएसपी दिनेश घिमिरे ।

रातोपाटीसँग घिमिरेले भने, ‘फोनमा लुटेराले प्रयोग गरेको कोड भाषा उनका साथी बिनराजले बुझे तर, पठाओ राइडरले नबुझ्दा लुटिए ।’

सुमनको फोनपछि बिनराज आँखीदहस्थित एकान्त ठाउँमा गएर तयारी अवस्थामा बसे । उनले दुईवटा काठको लौरा, टेप र हातखुट्टा बाँध्न मफलर तयार गरेका थिए । बाटोमा पठाओ राइडरले ‘टाढा रहेछ म फर्किन्छु’ भन्न थालेपछि सुमनले फकाउँदै आँखीदहमा पुर्‍याए ।

सुमन ओर्लेपछि प्रविनले मोटरसाइकल घुमाउन खोजेका थिए, त्यहिबेला लुकेर बसेका विनराजले उनलाई पछाडिबाट लौरोले हिर्काए । बिनराजले सुमनलाई पनि लौरो दिए । त्यहाँ केहिबेर लडाइँ भयो । लुटेराले पेटमा लात्ता हानेपछि प्रविन मुकाबिला गर्न सकेनन् । अनि, सुमन र बिनराजले साथमा रहेको मफलरले प्रविनको हातखुट्टा बाँधे, मुखमा पानी टेपले बाँधेर भिरालो ठाउँबाट पल्टाए । मोटरसाइकल, प्रविनको खल्तीमा भएको ८ हजार नगद र सामसङ कम्पनीको ए–५० मोबाइल लिएर उनीहरु फरार भए ।

कन्ट्रोल रुममा आएको त्यो कल

झाडीमा फालिएका प्रविनले विस्तारै खुट्टा फुकाए । अनि, घटनास्थलबाट केही पर रहेको घरमा गएर ढोका ढकढक्याए । स्थानीयले प्रहरी कन्ट्रोलमा फोन गरेर ‘अपरिचित व्यक्तिले गेट ढकढक्याएको’ जानकारी दिए । धापाखेल चोकमा ड्युटीमा रहेका प्रहरी तत्काल घटनास्थलमा पुगे । प्रविनले आफूलाई अपहरण गरेर दुईजना युवाले लुटेको ती प्रहरीसमक्ष बताए ।

प्रहरीले उनलाई त्यहाँबाट उद्धार गरेर पाटन अस्पताल लग्यो । लुटेराको प्रहारबाट उनी हिँड्न सक्ने अवस्थामा थिएनन्, एउटा हात भाँचिएको छ ।

घाइतेलाई उद्धार गरेपछि प्रहरी लुटेराको खोजीमा जुट्यो । महानगरीय प्रहरी वृत्त सातदोबाटोका डिएसपी दिनेश घिमिरे र इन्स्पेक्टर हरि वली सहितका अनुसन्धान अधिकृत प्रदेश–२ को ११६६ नम्बरको मोटरसाइकलको खोजीमा जुटे ।

प्राविधिक पक्ष विश्लेषण गर्दा आरोपितहरु कलंकी पुगेको खुल्यो । अनि, प्रहरीले कलंकीबाट नागढुंगासम्म स्वीप अपरेशन चलायो । बलम्बुस्थित ‘चन्द्रागिरि रिकण्डीशन’मा लुटिएको मोटरसाइकल देखियो । लुटेरामध्येका एकजना त्यहाँ मोटरसाइकल किन्न आग्रह गर्दै थिए । उनी भन्दै थिए, ‘बुबा बिरामी हुनुभो, कागजपत्र पछि ल्याईदिउँला मोटरसाइकल राखिदिनुस् ।’

चन्द्रागिरि रिकण्डीशनका सञ्चालकले आफू नकिन्ने बरु सो मोटरसाइकल कलंकीमा रहेको ‘कलंकी अटो इन्टरप्राइजेज’ले किन्न सक्ने जानकारी दिए । प्रहरीले विनराज राईलाई त्यहीँबाट नियन्त्रणमा लियो । ‘सुमन कलंकीमा पर्खिरहेका थिए,’ डिएसपी घिमिरे भन्छन्, ‘त्यसपछि हामीले सुमनलाई कलंकीबाट नियन्त्रणमा लियौं ।’

लुटेको होइन, किनेका हौं !

पक्राउ परेपछि लुटमा संलग्न सुमन तामाङ र विनराज राईले प्रहरीसँग इन्कारी बयान दिएका छन् । मोटरसाइकल आफूहरुले लुटेको नभई मध्यराति नै किनेको बताएका छन् । पीडितको मोबाइल बोकेर उनकै मोटरसाइकल चढेर हिँडेका आरोपितहरुले प्रहरीसँग भनेका छन्, ‘माघ ८ मा राति बल्खुको पुलमा एकजना अपरिचितसँग २ लाखमा मोटरसाइकल किनेका हौं, लुटेको होइन ।’

विनराजले चढ्ने पल्सर मोटरसाइकल बरामद गरिएको र सो मोटरसाइकल पनि चोरीको रहेको ललितपुरका एसएसपी यज्ञविनोद पोखरेलले रातोपाटीलाई बताए । उनले भने, ‘आरोपितहरु व्यावसायिक रुपमै लुटमा संलग्न रहेको थाहा भएको छ, थप अनुसन्धान हुँदैछ ।’

आरोपितहरुमाथि डाँकाचोरी र ज्यानमार्ने उद्योग मुद्दामा ७ दिनको म्याद लिएर महानगरीय प्रहरी वृत सातदोवाटोले अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप