ad
x
अपराध

व्यवसाय नै नभएका युवकको ३७ करोड बढीको कारोबार !

यसरी भइरहेछ नेपालमा डलरको तस्करी र जुवाको व्यापार

person explore access_timeमाघ १३, २०७८ chat_bubble_outline0

एकै व्यक्तिको खातामा करोडौँ रकम जम्मा हुने तथा झिक्ने क्रम अत्यधिक बढेपछि नेपाल राष्ट्र बैंकले चासो राख्यो । २९ वर्षीय युवतीको बैंक खातामा अप्रत्याशित रुपमा ठूलो रकमको कारोबार हुन थालेपछि नेपाल राष्ट्र बैंकले सो बैंक खाताको प्रयोगबारे छानबिन र खोजबिन गर्न राजश्व अनुसन्धान विभागलाई सूचना र निर्देशन दियो ।  


बैंक खातामा अप्रत्याशित रकम जम्मा हुने र झिक्ने खाता थियो, कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर १० स्थायी घर भएकी २९ वर्षीय भगवती खड्काको । खड्काको नाममा रहेको एनआइसी एसिया बैंकको खातामा २०७७ मंसिर २० देखि २०७८ पुस १६ गतेसम्म १३ महिनाको अवधिमा १९ करोड ५२ लाख ६४ हजार १०१ रुपैयाँको कारोबार भएको थियो ।



कुनै कम्पनी दर्ता समेत नभएको व्यक्तिको नाममा १३ महिनाकै अवधिमा यति धेरै रकमको कारोबार भएपछि राष्ट्र बैंकले निगरानी गरेको थियो र सोबारे अनुसन्धान गर्न राजश्व अनुसन्धान विभागलाई जिम्मेवारी दिएको थियो । तर जब विभागले यसबारे खोजबिन सुरु गर्‍यो, उक्त खातामा प्रयोग भएको मोबाइल नम्बर खातावालको नभएर अर्कै व्यक्तिको भएको पत्ता लाग्यो । अनि पहिले केवाइसी अपडेट गराउँदा प्रयोग भएको मोबाइल नम्बर र त्यसको प्रयोगकर्ताको खोजी सुरु भयो । यस क्रममा उक्त मोबाइल नम्बरको वास्तविक प्रयोगकर्ता नाताले भगवती खड्काकै भाइ २८ वर्षीय दिनेश खड्का रहेको पत्ता लाग्यो ।



त्यसपछि शंकास्पद कारोबारबारे अनुसन्धानका लागि खटिएको टोलीले दिनेशको पिछा गर्न थाल्यो । अनि २०७८ पुस ११ गते कालोपुलमा रहेको एनआइसी एसिया बैंकको गेट अगाडिबाट खड्कालाई बा३३प ४५१९ नम्बरको स्कुटरसहित पक्राउ गर्‍यो । त्यसपछि राजश्व अनुसन्धान विभागको प्रहरीसहितको टोलीले निज बस्ने कालोपुलस्थित फ्ल्याटमा समेत पुगेर छापा मार्‍यो र विभिन्न बैंकका चेकबुक लगायतका कागजात, मोबाइल आदि बरामद गरी खड्कालाई राजश्व अनुसन्धान विभागमा लग्यो । सुरुमा जरुरी पक्राउ पुर्जी दिइएको खड्कालाई पछि जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी अनुसन्धान थालियो ।



विभागले थालेको अनुसन्धानको क्रममा खड्काले आफ्नी दिदी भगवती खड्का, बुवा नरबहादुर खड्का, केटी साथी अनिता धिताल र आफ्नै खाता प्रयोग गरी १३ महिनाको अवधिमा ३७ करोड ६४ लाख ११ हजार १०० रुपैयाँको कारोबार गरेको देखियो । १३ महिनाको अवधिमा खड्काले दिदी भगवती खड्काको नाममा रहेको एनआइसी एसिया बैंकको खाताबाट १९ करोड ५२ लाख ६४ हजार १०१ रुपैयाँ तथा ग्लोबल आइएमई बैंकमा रहेको खाताबाट ९० लाख ३० हजार ४२५ गरी कुल २० करोड ४२ लाख ९४ हजार ५२६ रुपैयाँको कारोबार गरेको देखियो ।



त्यसैगरी दिनेश खड्काकै नाममा रहेको ग्लोबल आइएमई बैंकको खातामा ९ करोड ७९ लाख ९८ हजार ५८१ रुपैयाँको कारोबार गरेको देखियो । यस अतिरिक्त दिनेशले बुवा नरबहादुर खड्काको नाममा रहेको ग्लोबल आइएमई बैंकको खाताबाट १ करोड ६४ लाख ११ हजार ११६ रुपैयाँको कारोबार गरेका थिए ।



दिनेशले आफ्नी केटी साथी अनिता धितालको नाममा रहेको लक्ष्मी, सानिमा, मुक्तिनाथ, मेगा र ग्लोबल आइएमई गरी पाँचवटा बैंकबाट एक महिनाकै अवधिमा ५ करोड ७७ लाख ६ हजार ८२६ रुपैयाँको कारोबार गरेका थिए ।



खड्कासँग रहेको विभिन्न बैंकका चेकबुक तथा कागजातमा आधारमा अनुसन्धान गर्दै एक महिनामै ९ करोड र १३ महिनाको अवधिमा ३७ करोडभन्दा बढी रकमको कारोबारको श्रोत तथा कारण खोजेपछि थाहा भयो २८ वर्षीय युवाले अवैध डलरको कारोबार गर्दै जुवा खेलाउने काम गर्थे । जुवा पनि अनलाइन बेटिङ ।



यस्तो थियो दिनेशको कारोबार र धन्दा

कैलालीका २८ वर्षीय युवा दिनेश खड्का पशुपति मल्टिपल कलेजमा अध्ययनरत विद्यार्थी हुन् । दिनेशको आम्दानीको अन्य कुनै श्रोत थिएन । कृषिकर्ममा लागेको दिनेशको परिवारले एक वर्षकै अवधिमा ३७ करोडको कारोबार गर्ने हैसियत पनि राख्दैनथे । तर दिनेश त अनलाइन बेटिङ अर्थात् जुवाको लागि नेपाली एजेण्ट थिए र उनले डलरको अवैध कारोबारसमेत गर्ने गर्दथे भन्ने तथ्य अनुसन्धानको क्रममा खुल्यो । उनले नेपालमा ‘वान एक्स बेट’मा जुवा खेलाउने गर्दथे भने क्रिप्टोकरेन्सी लगायतमा कारोबार र सहजकर्ताको रुपमा पनि काम गर्दथे ।

झण्डै एक महिना अनुसन्धान गरेर राजश्व अनुसन्धान विभागले मंगलबार काठमाडौं जिल्ला अदालतमा दायर गरेको मुद्दामा पनि दिनेशले ‘वान एक्स बेट’मा जुवा खेलाउने प्रयोजनका लागि विदेशी विनिमयको अवैध कारोबार गरेको उल्लेख छ । राजश्व अनुसन्धान विभागका अनुसन्धान अधिकारीसमक्ष दिनेशले दिएको बयानमा आफूले प्रविण पाण्डेय भन्ने व्यक्तिसँग ‘ई स्क्रिल’ नामक मोबाइल एप र अकाउण्ट १० हजार रुपैयाँमा किनेको र त्यहीँबाट डलरको कारोबार गरेको बताएका छन् । उनले आफू तथा आफन्तको बैंक खाता जुवा खेल्ने र खेलाउने व्यक्तिहरुलाई भाडामा दिएको र त्यसबापत ‘वान एक्स बेट’ले आफूलाई कमिसन दिने गरेको बताएका छन् ।

खड्काले मुख्यतः ‘वान एक्स बेट’मा पैसा लोड गर्नका लागि ग्राहकहरुबाट माग भई आएपछि ‘फ्रिलान्सिङ’को ग्रुपमा कुराकानी हुने र उक्त ग्रुपमा डलर छ भन्ने निश्चित भएपछि जसलाई जति चाहिएको हो, सो रकम बराबरको रकम आफ्नो वा आफन्त र साथीको बैंक खातामा नेपाली रुपैयाँ आएपछि इ–स्क्रिलमार्फत् ‘वान एक्स बेट’को अकाउण्टमा रकम लोड गरिदिन्थे ।

तर खड्का आफैले डलरको कारोबार नहुने र उनीसँग डलर पनि नहुने भएकाले उनले पनि आफ्नो ‘इ स्क्रिल’ अकाउण्टमा डलर लोड गर्नका लागि हरिशरण प्रजापति, मनोज सुवेदी, निल पाठक तथा प्रशान्त श्रेष्ठ लगायतका व्यक्तिलाई भन्थे । त्यसका लागि खड्काले इ स्क्रिल अकाउण्टमा डलर आउनु अगावै ती व्यक्तिहरुको बैंक खातामा नेपाली रुपैयाँ डिपोजिट गरिदिने गरेका थिए ।

यसरी हुन्थ्यो हुण्डीको कारोबार

अवैध भए पनि नेपालमा लुकिछिपी ‘वान एक्स बेट’ लगायतका केही अनलाइन बेटिङ र क्रिप्टोकरेन्सीको कारोबार भइरहेको छ । यी दुवै एप्समा डलरको कारोबार हुने गर्दछ । तर नेपालमा कानुनी मान्यता पनि नपाएको र व्यक्तिले डलरको कारोबार गर्न नपाउने हुँदा यसका लागि हुण्डीको कारोबार हुने गरेको छ । यस्ता अनलाइन जुवा खेल्न प्रयोग हुने रकम नेपालकै एजेण्ट वा व्यक्तिलाई बुझाउने वा बैंकमा डिपोजिट गर्ने, अनि ती व्यक्तिले जुवा खेल्ने वा बिटक्वाइन लगायतका क्रिप्टोकरेन्सी चलाउने व्यक्तिहरुको खातामा डलर लोड गरिदिने गर्छन् ।

नेपालमा बैंक खाता चलाउने वा डिलर चलाउने व्यक्तिले पनि विदेशमा रहेका वा विदेशबाट सामान आयात वा निर्यात गर्ने व्यक्तिको बैंक खातामा रकम जम्मा गरिदिने र उतैबाट ती व्यक्तिको अकाउण्टमा डलर हालिदिने गर्छन् । यसो गर्दा नेपालमा वैधानिक बाटो भएर डलर आउने क्रम पनि रोकिन्छ र कर लगायतको अन्य विषयको डर पनि उनीहरुलाई हुँदैन । विदेशमा काम गरेका नेपाली नागरिकलाई पनि हुण्डी लगायतका यस्तै कारोबार गर्ने व्यक्तिहरुले बजार मूल्यभन्दा बढी रकम दिएर डलर किन्ने र त्यसबापतको रकम नेपालमा रहेका एजेण्ट वा व्यक्तिमार्फत आफन्तलाई उपलब्ध गराउने गर्छन् । त्यसो भएपछि विदेशमा कमाएको डलर वैधानिक बाटो भएर नेपाल आउने क्रम रोकिन्छ ।

त्यसबाहेक विदेशबाट सामान आयात गर्ने व्यापारीहरुले न्युन विजकीकरण गरेर सामान ल्याउने गर्छन् । तर न्युन विजकीकरण गरेर सामान ल्याए पनि ती देशका व्यापारीलाई सामानको मूल्य तिर्नु नै परेको हुन्छ । जस्तो कि, नेपालको भन्सारमा एकजोर एडिडास जुत्ताको स्वघोषित मूल्य वा बिलमा भएको मूल्य नेपाली रुपैयाँ ४ सय रुपैयाँ जतिको हुन्छ तर ती जुत्ताको खरिद मूल्य सम्बन्धित देशमै करिब ३ हजार रुपैयाँ हुन्छ । अब बिलमा २ हजार ६०० रुपैयाँको जुन हिसाब देखिँदैन, उक्त पैसा हुण्डीको कारोबारबाट भुक्तानी गरिएको हुन्छ । ती रकम यसरी नै खरिद गरिएको डलरको आधारमा हुन्छ । ती रकम व्यापारीहरुले विभिन्न व्यक्तिमार्फत भुक्तानी गरेका हुन्छन् ।

अहिले कैलालीका २८ वर्षीय युवाले गरेको विदेशी विनिमय अर्थात् डलरको कारोबार पनि यस्तै प्रकृतिको हुण्डीको एउटा उदाहरण हो । यस्तो कारोबार गरेबापत जुवा खेल्ने व्यक्तिलाई बजार भाउभन्दा केही बढी शुल्क लिएर बेच्ने र हुण्डी कारोबारीसँग सस्तोमा किन्ने वा व्यापारीसँग पनि बढी रकम लिने । डलर किन्ने र बेच्ने रकमको अन्तर नै बीचका दलाल अर्थात् सहजकर्ताको नाफा र आम्दानीको श्रोत हुन्छ ।

अहिले राजश्व अनुसन्धान विभागले विदेशी विनिमय ऐन, २०१९ अनुसार दर्ता गरेको मुद्दाको मुख्य अभियुक्त दिनेश खड्काले आफ्नो बयानमा पनि ‘वान एक्स बेट’ले दिने कमिसन र डलरको कारोवार गर्दा आउने कमिसन नै आफ्नो आम्दानी भएको बताएका छन् ।

३७ करोड कारोबार गर्नेको खातामा शून्य मौज्दात !

राजश्व अनुसन्धान विभागले करिब एक महिना अनुसन्धान गरेर विदेशी विनिमय ऐन अन्तर्गत मुद्दा चलाइएका दिनेश खड्का र उनको केटी साथीको बैंक खातामा कुनै रकम मौज्दात नरहेको पाइएको छ । दिनेशले विभागलाई दिएको बयानमा पनि आफ्नो र केटी साथी अनिता धितालको खातामा पनि कुनै रकम मौज्दात नरहेको र कारोबार हुनेबित्तिकै लेनदेन हुने भएकाले त्यहाँ रकम मौज्दात नरहने बयान दिएका छन् । दिनेशले प्रयोग गरिरहेको डलर खाता रहने इ स्क्रिलमा पनि कुनै डलर मौज्दात नरहेको पाइएको छ । अर्थात् उनले कारोबार गरेपछि बैंक खाताबाट रकम तत्कालै निकाल्ने वा अन्य व्यक्तिलाई दिने गरेका थिए । त्यसकारण पनि उनको बैंक खाता वा अनलाइन डलर खातामा पनि कुनै रकम पाइएको थिएन ।

एमबीबीएस डाक्टर थिइन् भगवती खड्का

१३ महिनाको अवधिमा २० करोडभन्दा बढी कारोबार भएको बैंक खाताको धनी भगवती खड्का चीनमा पढेकी एमबीबीएस डाक्टर हुन् । विभागलाई भगवतीले दिएको बयानमा उनी सन् २०१६ मा एमबीबीएस अध्ययनका लागि चीन गएको र सन् २०२० मा फर्किएको बताएकी छन् । त्यसपछि चीन फर्केर नगएको र नेपाल सरकारले नेपालमै इन्टर्नसिप गर्न पाउने व्यवस्था गरेपछि विगत ४ महिनादेखि आफूले सिभिल अस्पतालमा इन्टर्नसिप गरिरहेको बयानमा बताएकी छन् । इन्टर्नसिप गरेबापत आफूले कुनै रकम नपाउने र आफ्नो आम्दानीको कुनै श्रोत पनि नभएको उनले बताएकी छन् । विभागले दैनिक हाजिरीमा छाडेको भगवती यतिबेला फरार छिन् ।

२० करोडको कारोबार, तर थाहा छैन खातावाहकलाई

१३ महिनाको अवधिमा भगवती खड्काको बैंक खाताबाट २० करोड ४२ लाख ९४ हजार ५२६ रुपैयाँको कारोबार भएको पाइएको छ । तर बयानका क्रममा भगवतीले आफ्नो आम्दानीको श्रोत पारिवारिक कृषि फर्म नै रहेको तर यति धेरै रकम कारोबार गर्ने हैसियत नभएको बताएकी छन् । साथै आफ्नो बैंक खातामा कहाँबाट यति धेरै रकम आयो भन्ने कुरा थाहा नभएको बताएकी छन् । आफूले बैंक खाता पनि चलाउने नगरेको र बैंक खाता भाइ दिनेश खड्काले चलाउने गरेको कारण यो रकमबारे भाइले नै भन्न सक्ने बताएकी छन् । यद्यपि बैंक खाता अरुले चलाएबापत भोग्नुपर्ने सजाय भोग्न तयार रहेको पनि उनले बयानमा खुलाएकी छन् ।

बुवा र केटी साथीको पनि खाता चलाउँथे दिनेश

अनलाइन बेटिङ डलरको अवैध कारोबारमा मुछिएका दिनेश खड्काले बुवा र केटी साथीको बैंक खाता पनि आफैले चलाउने गरेको बयान दिएका छन् । विभागसमक्षको बयानमा दिनेशले आफ्नो केटी साथीलाई उनको खातामा भएको कारोबारबारे केही जानकारी नभएको र ती सबै बैंक खाताको कारोबार र प्रयोग आफैले गर्दै आएको बताएका छन् । यद्यपि उनकी केटी साथी अनिता धिताल पनि यतिबेला फरार छिन् ।

त्यसैगरी दिनेशका बुवा नरबहादुर खड्काले पनि आफ्नो खातामा आएको रकमबारे कुनै जानकारी नभएको बयान दिएका छन् । राजश्व अनुसन्धान विभागलाई दिएको बयानमा नरबहादुरले आफ्नो खातामा कहाँबाट कुन प्रयोजनका लागि पैसा आएको हो थाहा नभएको बताएका छन् । आफ्नो खाता छोरा दिनेश खड्काले पनि चलाउने भएकाले त्यसबारे छोराले नै बताउन सक्ने बयान दिएका छन् । रातोपाटीलाई प्राप्त नरबहादुरको बयानमा यति धेरै रकमको कारोबार आफूले नगरेको र रकम जम्मा गर्ने तथा रकम झिक्ने व्यक्तिहरुलाई आफूले नचिनेको र त्यो सबै काम छोरा दिनेशकै हुनसक्ने उल्लेख छ ।

नरबहादुरसँग भेटियो भारतीय आधार कार्ड र आयकर प्रमाणपत्र, सोधपुछमा भने– केही बोल्दिनँ

राजश्व अनुसन्धान विभागले अनुसन्धानका लागि बरामद गरेको दिनेश खड्काको बुवा नरबहादुर खड्काको मोबाइलमा भारतीय आधार कार्ड लगायत केही भारतीय सरकारी कागजात पनि फेला परेको पाइएको छ । भारतीय आधार कार्ड लगायत सरकारी कागजातका सम्बन्धमा विभागले प्रश्न गर्दा उनले यसबारेमा केही नबताउने बताए । उनको बयानमा भनिएको छ, ‘मेरो मोबाइलबाट आजै निकालिएको फोटो थान ३, भारत सरकारबाट जारी गरेको आधार कार्ड तथा आयकर विभागको प्रमाणपत्र बारेमा मेरो केही भन्नु छैन ।’

राजश्व अनुसन्धान विभागले करिब एक महिना गरेको अनुसन्धानपछि दिनेश खड्कालाई मुख्य प्रतिवादी बनाएर ३७ करोड ६४ लाख ११ हजार १०० रुपैयाँ बिगो र तीन वर्ष कैद सजायको मागदाबी गर्दै मुद्दा दायर गरिएको छ । अन्य प्रतिवादीहरुको हकमा कारोबार भएको रकम बराबर बिगो र प्रत्येकलाई तीन वर्ष कैद सजायको मागदाबी गर्दै मुद्दा दायर गरिएको छ ।

नेपालमा अनलाइन वेटिङ र क्रिप्टोकरेन्सीको कारोबार अवैध हुँदाहुँदै पनि त्यसको कारोबार बढिरहेको भन्दै मंगलबारमात्रै नेपाल राष्ट्र बैंकले सूचित गराउँदै यस्तो कारोबार गर्नेलाई कडा कारवाहीको चेतावनी दिएको छ । तर ‘वान एक्स बेट’का एक एजेण्टसमेत रहेका दिनेश खड्काले विभागलाई दिएको बयानमा नेपालमा ‘वान एक्स बेट’का १० लाख ग्राहक रहेको र करिब १० हजारले नियमित कारोबार गर्ने गरेको उल्लेख छ । दिनेशले बिट क्वाइन लगायतका क्रिप्टोकरेन्सीको कारोबार गरेको हो कि होइन भन्ने अझै पुष्टि भइसकेको छैन । यद्यपि यति ठूलो रकम ‘वान एक्स बेट’मा मात्रै नभएर बिट क्वाइन लगायतको क्रिप्टोकरेन्सीमा पनि प्रयोग भएको राजश्व अनुसन्धान विभागका एक अधिकृतले बताए । तर त्यसको पुष्टि गर्न नसकिएको अभियुक्तले ‘वान एक्स बेट’ लगायत अनलाइन बेटिङका केही नाम लिएकाले त्यसैका आधारमा मात्रै मुद्दा चलाएको ती अधिकृतले बताए । 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

X