जनसङ्ख्या वृद्धिदर गिरावटः रोजगारीको खोजीमा युवा विदेश भासिँदाको नतिजा
युवाहरू रोजगारीको खोजीमा विदेश भासिँदा देशको जनसङ्ख्या वृद्धि दरमा गिरावट आएको छ । वि.स. १९८८ साल यता पहिलोपटक नेपालको जनसङ्ख्या वृद्धिदर वार्षिक एक प्रतिशत भन्दा कम भएको छ । त्यस वर्ष देशको जनसङ्ख्या वृद्धिदर ०.०७ प्रतिशतले ऋणात्मक स्थितिमा थियो ।
त्यसपछिका प्रत्येक जनगणनामा नेपालको जनसङ्ख्या वार्षिक एक प्रतिशत भन्दा माथि नै थियो । १९९८, २०१८ र २०६८ सालमा मात्रै एक प्रतिशत हाराहारीले जनसङ्ख्या बढेको थियो । त्यस बाहेकका अन्य जनगणनामा जनसङ्ख्या वृद्धिदर दुई प्रतिशत भन्दा बढीले उकालो लाग्ने गरेको थियो ।
त्रिभुवन विश्वविद्यालयका अर्थशास्त्र विभागका प्राध्यापक डा. रमेश पौडेल देशको अर्थतन्त्र कमजोर हुँदा जनसङ्ख्या वृद्धिदर घटेको बताउँछन् । देशले श्रम गर्न योग्य युवालाई रोजगारीको दिन नसकेको र ती विदेशिन बाध्य बनेकाले जनसङ्ख्या वृद्धिदर घटेको उनको भनाई छ ।
युवाहरू १८ वर्ष पुग्ने वित्तिकै रोजगारीको खोजीमा विदेशिने तरखर गर्छन् । रोजगारीको क्रममा कम्तीमा ४÷५ वर्ष उतै बिताउँछन् । जसकारण, उनीहरूको विवाह ढिलो हुन्छ । विवाह भएका जोडी पनि वैदेशिक रोजगारीका क्रममा बिजोडी बन्छन् । जसले जन्मदर घटाउँछ र जनसङ्ख्या वृद्धिदर समेत घट्छ । त्यसैले जनसङ्ख्या घट्नुको मुख्य कारण नै वैदेशिक रोजगारी भएको पौडेलको जिकिर छ ।
यसका साथै, सरकारले लामो समयदेखि ‘दुई सन्तान, ईश्वरको वरदान’ लगायतका नारा लगाउँदै जनसङ्ख्या घटाउने अभियान सञ्चालन गरिरहेको छ । ‘लामो समयसम्म चलेको अभियानको प्रतिफल यतिबेला देखिन थालेको हो,’ डा. पौडेलले भने, ‘पाठ्यक्रममै सरकारले सन्तान घटाउने विषयवस्तु उल्लेख गरेको छ । युवाहरू शिक्षित बन्दै जाँदा यसको प्रभाव अहिले देखिन थालेको छ ।’
पौडेलले नेपालको जनसङ्ख्या वृद्धिदर घट्नुको मुख्य कारण यही दुई पक्ष भएको बताउँदै भने, ‘नेपालको जनसङ्ख्या वृद्धिदर घट्नुलाई विकासशील राष्ट्र हुँदै विकसित राष्ट्र बन्नेतर्फ उन्मुख छ भनेर बुझ्न पनि सकिन्छ ।’ यसका साथै, वैदेशिक रोजगारीमा लाखौँ युवा पलायन हुँदा त्यसको असर जन्मदरमा परेको र जनसङ्ख्या वृद्धिदर खुम्चिएको भनेर समेत व्याख्या गर्न सकिन्छ ।
उता पूर्वाधार विज्ञ डा. सूर्यराज आचार्य ग्रामीण अर्थतन्त्रको स्वरूप परिवर्तन हुँदा जनसङ्ख्या घटेको बताउँछन् । उनका अनुसार कृषिमा आधारित ग्रामीण अर्थतन्त्र अहिले बिस्तारै रेमिट्यान्समा आधारित बन्न थालेको छ । गाउँको अर्थतन्त्र रेमिट्यान्समा आधारित बनेसँगै सन्तानलाई राम्रो विद्यालय पढाउन सहर पस्ने क्रम बढेपछि जनसङ्ख्या वृद्धिदर घटेको हो ।
‘अहिले एउटा वा दुइटा सन्तान जन्माउने प्रचलन बढी छ । सन्तानलाई राम्रो र गुणस्तरीय शिक्षा दिन बोर्डिङ स्कुलमा भर्ना गर्नुपर्ने र फि बढी हुँदा तथा हुर्काई खर्च बढ्दा समेत कम सन्तान जन्माउन थालिएको छ,’ उनले भने, ‘यससँगै जन्मदर घट्ने र जनसङ्ख्या वृद्धिदर पनि घट्न थालेको हो ।’ यसअघि, ग्रामीण अर्थतन्त्र कृषिमा आधारित हुँदा खेतीकै लागि पनि धेरै सन्तान जन्माउने प्रचलन थियो ।
‘खेतीपाती गर्न धेरै परिवार चाहिने र त्यसका लागि धेरै सन्तान जन्माउन पर्ने हुन्थ्यो । अहिले खेतीमा आधारित ग्रामीण अर्थतन्त्र रेमिट्यान्समा आधारित बनिसक्यो,’ उनले रातोपाटीसँग भने । डा. आचार्यले यसलाई ग्रामीण अर्थतन्त्रले छलाङ मारेको र कृषिमा आधारित आत्मनिर्भर ग्रामीण अर्थतन्त्र आयातमुखीमा परिवर्तन भएको भनेर व्याख्या गर्न सकिने बताए ।
यस्तै, अर्थविद् डिल्लीराज खनालले नेपालको साक्षरता दर बढेसँगै कम सन्तान जन्माउने प्रचलन बढेको बताए । ‘पहिला जनगणनामा नेपालको साक्षरता दर कम थियो । जुन, अहिले निरन्तर बढिरहेको छ,’ उनले भने, ‘शिक्षितको सङ्ख्या बढ्दा जन्मदर स्वतः घट्छ ।’ यसका साथै, जन्मिने सन्तानको पालन पोषण र शिक्षा दीक्षामा लाग्ने खर्चको डरले समेत मानिसहरूले एक÷दुई सन्तान मात्रै जन्माउन लागेको उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीको विकासका लागि सहकार्य हुनुपर्छ : मुख्यमन्त्री कँडेल
-
पूर्णबहादुरको सारङ्गी : ‘बा’को कथा कि गन्धर्व लोकजीवनको उजागर ?
-
दुई सय ८५ जना कैदीबन्दीलाई ‘प्यारोल’मा राख्न सिफारिस
-
भाटभटेनी र रिन्यु होल्डिङ्सबिच सौर्य विद्युत् उत्पादनको सम्झौता
-
सात लाख बढीको भन्सार छलीको समान बरामद
-
सञ्चालन नहुँदै जीर्ण भयो कुश्मा बसपार्क