ad
x
राष्ट्रिय जनगणना

तथ्यांकमा राजनीति : तर्क एउटा, तथ्यांक अर्कै !

person explore access_timeमाघ १३, २०७८ chat_bubble_outline0

राजनीतिक दलका नेता, चियाचौतारी र सामाजिक सञ्जालसम्म ‘३ करोड नेपाली’ भन्न थालिएको धेरै भइसक्यो । केन्द्रीय तथ्यांक विभागले समेत डेढ वर्षअघि नै नेपालको जनसंख्या ३ करोड नाघेको भनेर अनुमानित विवरण सार्वजनिक गरेको थियो । तर विभागले नै बुधबार सार्वजनिक गरेको राष्ट्रिय जनगणनाको प्रारम्भिक तथ्यांकमा नेपालको जनसंख्या अझै तीन करोड पुग्न सकेको छैन । अर्थात्, वर्षौंदेखि नेपालको जनसंख्या तीन करोड नाघिसक्यो भन्ने हिसाबले गरिँदै आएको तर्कलाई राष्ट्रिय जनगणनाको प्रारम्भिक तथ्यांकले मिथ्या साबित गरिदिएको हो ।


२०७७ असारको पहिलो साता विभागको जनसंख्याको घडीअनुसार नेपालको जनसंख्या तीन करोड नाघेको उल्लेख गरिएको थियो । त्यतिबेला अर्थात् असार १२ गते शुक्रबार विभागको जनसंख्या घडीमा नेपालको जनसंख्या ३ करोड ६३४ जना देखाइएको थियो । तर, जनगणना २०७८ को बुधबार सार्वजनिक प्रारम्भिक तथ्यांकमा नेपालको जनसंख्या ३ करोड नपुगेको देखिएको छ । अर्थात् ८० वर्ष यताकै जनसंख्या वृद्धिदर न्यून देखिएको छ ।



२०६८ सालको जनगणनाअनुसार नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४ जना थियो भने त्यसको १० वर्षपछि गरिएको जनगणनामा नेपालको जनसंख्या करिब २७ लाखमात्रै बढेर २ करोड ९१ लाख ९२ हजार ४८० जना कायम भएको हो ।



‘३ करोड नेपाली’ भन्न थालिएको लामो समय बितिसक्दा पनि जनसंख्या वृद्धि आशातीत नभएको पाइएको हो । योसँगै यतिबेला सामाजिक सञ्जालमा विभिन्नखाले टिकाटिप्पणी भइरहेका छन् । कतिपयले जनगणना वैज्ञानिक ढंगले नभएको हो कि भन्ने प्रश्न उठाएका छन् भने कतिपयले तथ्यांक संकलनमा गणक घरसम्म नआएको, आफ्नो गणना नै नभएको जस्ता प्रश्न पनि उठाइरहेका छन् ।



राजनीतिक दलका नेताहरुले देशको बारे चर्चा गर्ने क्रममा आफ्नो भाषणमा ‘३ करोड नेपाली जनता’ भन्न छुटाउँदैनथे । एमाले अध्यक्ष केपी शर्मा ओली आफ्नो पार्टीको पक्षमा जनमत रहेको तर्क गर्दै ‘३ करोड नेपाली जनताको भरोसाको पार्टी’ भन्ने गर्दथे । अन्य पार्टीको अवस्था पनि उस्तै हो ।



यतिमात्रै होइन, धार्मिक समूदाय, गैरआवासीय नेपालीदेखि विभिन्न क्षेत्र र लिंगका आधारमा गरिँदै आएका कतिपय दाबीलाई राष्ट्रिय जनगणनाको प्रारम्भिक प्रतिवेदनले खण्डन गरिदिएको छ । तथ्यांकअघि उनीहरुले गरेका दाबी र अहिलेको वास्तविकताले स्वाभाविक रुपमा केही प्रश्न उठाएको छ ।



यही प्रश्न गैरआवासीय नेपाली (एनआरएनए) को हकमा पनि उठेको हो । विश्वभरका नेपालीहरुको साझा संस्था भनिने एनआरएनएले ८० लाख नेपाली विदेशमा रहेको दाबी गर्दै आएको छ । तर, सरकारी तथ्यांकमा विदेशिनेको संख्या २१ लाख ६९ हजार ४७८ जनामात्रै रहेको उल्लेख छ । जबकि एनआरएनएले खाडी मुलुकमा मात्रै २० लाख बढी नेपाली श्रमिक रहेको दाबी गर्दै आएको छ ।

एनआरएनएका प्रवक्ता डीबी क्षेत्रीले तथ्यांक विभागको तथ्यांकले आफूहरुलाई आश्चर्यचकित बनाएको प्रतिक्रिया दिए । ‘तथ्यांक विभागले कसरी डाटा निकाल्यो, त्यो हामीलाई जानकारी हुने कुरा भएन । तथ्यांकको विश्वास पनि गर्नुपर्यो नै तर विश्वास गर्न लायक पनि छैन’, उनले रातोपाटीलाई प्रतिक्रिया दिए, ‘जनगणनामा श्रम स्वीकृति लिएर जानेलाई मात्रै आधार बनाएर विदेशिनेको संख्या समेटिएको हो कि ?’

उनका अनुसार गैरआवासीय नेपालीचाहिँ विदेशी पासपोर्ट बोकेका र उनीहरुका सन्तान पनि हुन् । जनसंख्याले सबैलाई समेटे पनि विदेशिनेको संख्या सोचेभन्दा कम देखिएको उनको भनाइ छ ।

उनले आफूहरुले ८० लाख नेपाली भने पनि त्यसबारे आधिकारिक तथ्यांक नभइ अनुमानित भएको उनको भनाइ छ ।  एनआरएनएको ८० भन्दा बढी देशमा शाखा छन् भने त्यही शाखामार्फत विश्वभर संगठित भएर अभियान सञ्चालन हुँदै आएको छ ।

तपाईँहरुले तथ्यांक बिनै ८० लाख एनआएनए भनेर राजनीति गरेको भन्ने आरोप छ नि भन्ने प्रश्नमा उनले आफूहरुले अनुमानित भनेको र त्यसबारे राज्य पनि गम्भीर भएर तथ्यांक संकलनमा जुट्नुपर्ने बताए । उनका अनुसार संघमै साधारण सदस्यता लिएर संगठित भएका एनआरएनए भने १ लाख ६ हजार जना छन् । उनीहरुले नियमित रुपमा संस्थालाई लेबी तिर्ने गर्छन् । उनको भनाइले पनि नेपालमा अनुमानित तथ्यांकलाई टेकेर ३ करोड नेपाली भनिएजस्तै एनआरएनए पनि ८० लाख भनेर दाबी गरेजस्तो देखिएको कतिपयको भनाइ छ ।

एक एनआरएनए अभियन्ताले भने ८० लाख भन्दै बढी संख्या देखाएर एनआरएनएको नाममा कतिपयले राजनीति गरिरहेको आरोप लगाए । यही प्रवृत्ति नेपालको राजनीतिक क्षेत्रदेखि विभिन्न क्षेत्रमा देखिँदै आएको थियो ।

विभाग भन्छ– जवाफ दिएर साध्य छैन

तथ्यांक विभागले भने तथ्यांक संकलन सही र तथ्यपरक भएको दाबी गरेको छ । विभागका निर्देशक ढुण्डीराज लामिछानेले बुधबार सार्वजनिक प्रारम्भिक तथ्यांकबारे तथ्यभन्दा बाहिर गएर अनावश्यक टिप्पणी गर्ने काम भएको बताए । ‘यो विषयमा जवाफ दिएर साध्य छैन । मलाई व्यक्तिगत रुपमा पनि मेरो गणना भएन भनेर धेरैले भन्नु भएको छ । तर बुझ्दा परिवारबाट भएको पाइएको छ’, उनले रातोपाटीसँग भने, ‘नबुझिकन भनेर टिकाटिप्पणी गरिदिँदा समस्या भएको छ ।’ उनले ठूलो स्केलमा देशभरको जनगणना गरिएकाले केही संख्या भने छुट्न सक्ने स्वीकार गरे । तर, बाहिर भइरहेको टीकाटिप्पणीमा चाहिँ सत्यता नरहेको उनको भनाइ छ ।

उनले विदेशमा कार्यरतहरुको हकमा भारतसहित विश्वभरकै देशमा गएका नेपालीहरुको संख्या भएको स्पष्ट गरे । ‘विदेशमा गएका सबैको तथ्यांक हो । यसमा भारत पनि पर्छ’, उनले भने, ‘रोजगारीको सिलसिला र पढ्न गएकाहरुको विवरण हो । स्थायी प्रकृतिले पीआर लिएर परिवारसहित विदेशमा बस्नेको भने गणना भएको छैन ।’

गणनाका क्रममा ‘अनुपस्थित विदेश’ भनेर सोधिएको प्रश्नमा आएका जवाफ नै विदेशिनेको तथ्यांक भएको विभागको भनाइ छ । लामिछानेले जनगणनामा विदेशबाट फर्किने पुरुषको संख्या धेरै देखिएको पनि बताए । तथ्यांकमा कुनै अस्पष्टता नरहेको दाबी गर्दै उनले श्रम मन्त्रालयको तथ्यांकमा पनि विदेशिनेको संख्या १२–१२ लाखभन्दा बढी नरहेको प्रस्ट पारे । श्रम मन्त्रालयले पनि आफूहरुको डाटा स्वीकार गरेको उनको भनाइ छ ।

उनले अबको २–३ महिनाभित्रै छुटेकाहरुको हकमा गणनापछिको सर्भेक्षण गरिने बताए । कति प्रतिशत गणना छुट्यो भनेर त्यसमा देखिने उनले उल्लेख गरे । जनसंख्याको सिद्धान्तअनुसार कति प्रतिशत ‘इरर’ आयो, त्यसलाई समेटिने उनको भनाइ छ । विदेशका कतिपय मुलुकमा छुटेका जनसंख्यालाई ‘एडजस्ट’ गर्ने चलन रहेको उल्लेख गर्दै उनले नेपालमा भने त्यस्तो नरहेको बताए । ‘यति प्रतिशत अन्डर काउन्ट भयो, यति प्रतिशत ओभर काउन्ट भयो भनेर हामी निकाल्छौँ’, उनले भने, ‘२–३ महिनाभित्र हामी सर्भे गरिसक्छौं ।’

यस्तो देखियो विदेशिनेको तथ्यांक

सरकारी तथ्यांकअनुसार कुल विदेशिने २१ लाख ६९ हजार ४७८ जनामध्ये पुरुष १७ लाख ६३ हजार ३१५ र महिला ४ लाख ६ हजार १६३ जना छन् । जसमध्ये सहरी क्षेत्रका १४ लाख ५० हजार  ५६३ जना र ग्रामिण क्षेत्रका ७ लाख १८ हजार ९१५ जना विदेशिएका छन् ।

भौगोलिक क्षेत्रअनुसार हिमालबाट १ लाख १८ हजार ६१३, पहाडबाट ९ लाख ८४ हजार ८९६, तराईबाट १० लाख ६५ हजार ९६९ जना विदेशिएका छन् । तथ्यांकअनुसार तराईबाट सबैभन्दा धेरै ४९.१३, पहाडबाट ४५.४० र हिमालबाट ५.४७ प्रतिशत विदेशिएका छन् ।

यसैगरी प्रदेशगतरुपमा प्रदेश १ बाट ३ लाख ३७ हजार ९०५, मधेस प्रदेशबाट २ लाख ९५ हजार ९२३, बागमती प्रदेशबाट ३ लाख ९० हजार ७४१, गण्डकी प्रदेशबाट २ लाख ८७ हजार ४५०, लुम्बिनी प्रदेशबाट ४ लाख १५ हजार ५८८ जना विदेशिएका छन् भने कर्णाली प्रदेशबाट ९५ हजार ३५ तथा सुदूरपश्चिमबाट ३ लाख ४६ हजार ८३६ जना छन् । सबैभन्दा धेरै लुम्बिनी प्रदेशबाट १९.१६ प्रतिशत विदेशिएका छन् भने सबैभन्दा कम विदेशिनेमा कर्णालीका नागरिक छन् ।

२०६८ सालको जनगणनामा घरपरिवारमा अनुपस्थित अर्थात विदेशमा अक्सर बसोबास गर्नेहरूको सङ्ख्या १९ लाख २१ हजार ४९४ थियो । जसमध्ये पुरुष १६ लाख ८४ हजार ०२९ (८७.६४%) र महिला २ लाख ३७ हजार ४०० (१२.३६%) थिए । समग्रमा २०६८ को तुलनामा २०७८ मा विदेशिने महिलाहरुको संख्या करिब दोब्बर (७१.०९% विन्दु)ले बढेको तथ्यांकमा उल्लेख छ । जिल्लागत आधारमा ७७ वटै जिल्लाबाट विदेशिएको देखिएको छ भने सबैभन्दा बढी विदेश जानेमा काठमाडौं, कैलाली, झापा, रुपन्देही र मोरङ जिल्लावासी छन् भने सबैभन्दा कम विदेश गएका ५ जिल्लाहरुमा मनाङ, डोल्पा, हुम्ला, मुगु र मुस्ताङ छन् ।

विदेशिनेको जिल्लागत तथ्यांक हेर्नुहोस्ः


 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।