बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : वैशाखमा चुनाव नहुने, गठबन्धनले थप परामर्श गर्ने

शुक्रबार, ०७ माघ २०७८, २१ : ४४
शुक्रबार, ०७ माघ २०७८

आज मिति २०७८ साल माघ महिनाको ७ गते शुक्रबार । आज देशभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको नियमित प्रस्तुति ‘रातोपाटी ब्रिफिङमा प्रस्तुत गरिएको छ–

१. वैशाखमा चुनाव नहुने, गठबन्धनले थप परामर्श गर्ने
नेकपा एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरले सत्ता गठबन्धनमा तीन तहको चुनाव एकै पटक गर्ने सहमति भएको बताएका छन् । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकपछि उनले वैशाखमा स्थानीय तहको चुनाव समेत नहुने बताए ।

उनले वैशाखमा चुनावमा हुन नसक्ने पनि बताए । यस्तै गठबन्धनले चुनावका सन्दर्भमा कानुनविद्सँग छलफल गर्ने निर्णय पनि गरेको छ ।

२. प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक
प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्री देउवाले  प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान साढे ९ बजे सर्वदलीय बैठक बोलाएका हुन् ।  शुक्रबार उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकपछि स्थानीय तहको निर्वाचनबारे छलफल गर्न सर्वदलीय बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

३. देउवाद्वारा देशबासीको नाममा सम्बोधन
प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानको कार्यान्वयन, शान्ति सुरक्षाको प्रत्याभूति, विभिन्न पक्षसँग भएका सहमति कार्यान्वयन गर्ने प्रदेश र स्थानीय तहका सरकारलाई सबलीकरण गर्ने कार्यलाई सरकारले उच्च प्राथमिकता दिएको जनाएका छन् ।
शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले एक वर्षभित्रै तीन तहको निर्वाचन गर्नुपर्ने दायित्व आफू नेतृत्वको सरकारको काँधमा रहेको भन्दै निर्वाचन तयारीका काम गर्न सबै सरोकारवालालाई आग्रह गरेका छन् ।

पछिल्लो २४ घण्टामा १० हजार ७०३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर सक्रिय संक्रमितको ६५ हजार ३७४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २३ हजार ९२ जनाको नमुना परीक्षण भएको थियो । सोही अवधिमा ७६६ जना निको भएका छन् भने ३ जनाको मृत्यु भएको छ । 

५. खाडीमा भिजिट भिसामा रोक
सरकारले माघ १० गतेदेखि खाडी राष्ट्रहरुको भिजिट भिसामार्फत भ्रमणमा जान रोक लगाएको छ । पछिल्ला दिन कोभिड १९ को ओमिक्रोन भेरियन्ट तीव्र रुपमा फैलिँदै गएका बेला खाडी राष्ट्र र मलेसिया पुग्ने नेपाली बिचल्लीमा परेको भन्दै सरकारले तत्कालका लागि ती मुलुकमा जान रोक लगाएको हो ।

५. संक्रमणदर दैनिक २० हजार बढी पुग्ने
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले माघ महिनाको तेस्रो साता संक्रमण दर उच्च विन्दुमा पुग्ने प्रक्षेपण गरेको छ । मन्त्रालयका अनुसार माघको तेस्रो सातादेखि दैनिक २० हजारभन्दा बढी संक्रमित हुन सक्ने अनुमान गरिएको छ । हाल भइरहेको पीसीआर तथा एन्टिजेन परीक्षणको आधारमा मन्त्रालयले तेस्रो सातासम्म संक्रमण दर उत्कर्षमा पुग्ने आँकलन गरेको इपिमिडियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा कृष्णप्रसाद पौडेलले रातोपाटीलाई बताए ।

६. काँग्रेस जिल्ला अधिवेशन फेरि स्थगित
नेपाली काँग्रेसको १६ जिल्ला अधिवेशन फेरि स्थगित भएको छ । यसअघि राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी गर्नुपर्ने भन्दै स्थगित गरिएको अधिवेशन फेरि कोरोनाका कारण स्थगित गरिएको हो । काँग्रेस निर्वाचन समितिका अनुसार १६ जिल्लाको अधिवेशन कोरोनाका कारण हाललाई स्थगित गरिएको र अवस्था सामान्य बनेपछि नयाँ मिति तोकिने छ । 

७. जोरबिजोर लागू नगर्न माग
यातायात व्यवसायीहरुले सवारीसाधनमा जोरबिजोर प्रणाली लागू नगर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई सुझाव दिएका छन् । शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र सरोकारवाला निकायहरुसँग सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्ने सम्बन्धमा छलफल गरेको थियो । छलफलका क्रममा यातायात व्यवसायीहरुले सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेर कोरोना संक्रमण नियन्त्रण हुने तर्क वैज्ञानिक नहुने बताएका छन् ।

८. साताको सेयर
पछिल्लो एक सातामा शेयर बजार मापक नेप्से परिसूचक ७३.५९ अंकले वृद्धि भएको छ । गत साताको बिहीबार अन्तिम कारोबारको दिन परिसूचक १६५.२८ अंकले बढेर २ हजार ८५७.७५ विन्दुमा पुगेर रोकिएको थियो । यो साताको पाँचै दिन कारोबार भएको नेप्से परिसूचक तीन दिन बजार उकालो लाग्दा दुई दिन भने गिरावट आएको छ । यो साताको पाँच दिनको कारोबारमा नेप्से परिसूचक ७३.५९ अंकले बढेर २ हजार ९३१.५९ विन्दुमा पुगेर रोकिएको छ ।

९. मन्त्रीलाई पदमुक्त गर्न माग 
हिंसात्मक अभिव्यक्ति दिएको भन्दै  भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवलाई पदमुक्त गर्न नागरिक समाजले अपिल गरेको छ । डा। केदानरनरसिंह केसी, चरण प्रसाईं, गणेशकुमार मण्डल, सुशील प्याकुरेल, तारानाथ दाहाल, इन्द्र अर्याल, महामुनीश्वर आचार्य र कनकमणि दीक्षितले शुक्रबार संयुक्त रुपमा अपिल जारी गर्दै मन्त्री यादवलाई पदमुक्त गर्न आग्रह गरेका हुन् ।  

​१०. यो पनि 
राष्ट्र बैंकको अनुमति विपरित क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्वत घर भई पोखरा बस्ने २१ वर्षीय राजन भट्टराई, सुनसरी घर भएका २५ वर्षीय विशाल श्रेष्ठ र काठमाडौंका २७ वर्षीय दिपेनराज श्रेष्ठ छन् ।

पत्रकार एलबी विश्वकर्माको निधनको विषयमा निजामती कर्मचारी अस्पतालले छानविन गरी दोषीलाई कारबाही गर्नुपर्ने प्रेस काउन्सिल नेपालले माग गरेको छ ।  टिभि टुडेमा कार्यरत पत्रकार एलबी विश्वकर्माको बिहीवार पाटन अस्पतालमा निधन भएको थियो । 

काठमाडौंमा कोरोनाविरुद्धको भेरोसेल खोपको अभाव भएपछि बुस्टर डोज कार्यक्रम स्थगित भएको छ । जिल्ला स्वास्थ्य कार्यालय प्रमुख शम्भु काफ्लेले भेरोसेल खोप मौज्दात कम भएकाले केही दिनका लागि भेरोसेल बुस्टर डोज अभियान बन्द गरिएको बताए । 

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । पदाधिकारी चयन लगायतका विषयमा निर्णय लिनका लागि पार्टी केन्द्रीय समिति बैठक  शुक्रबारका लागि बोलाइएको भएपनि कोरोनाको बढ्दो संक्रमणका कारण स्थगित गरिएको हो ।

​थप समाचार

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप