शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

निर्माण सम्पन्न भएको ७ महिनापछि बल्ल पूर्णता पाउँदै चोभार सुख्खा बन्दरगाह

२९ जना दरबन्दीसहित भन्सार कार्यालय बस्ने
शुक्रबार, ०७ माघ २०७८, ११ : ५१
शुक्रबार, ०७ माघ २०७८

निर्माण सम्पन्न भएको करिब ७ महिनापछि बल्ल सुख्खा बन्दरगाह ‘चोभार ड्राइपोर्ट’ ले पूर्णता पाउने भएको छ । गत पुस ३० गते बसेको मन्त्रिपरिषद्को निर्णयले उक्त सुख्खा बन्दरगाहमा बस्ने भन्सार कार्यालयको संगठन संरचना र कर्मचारीको दरबन्दी स्वीकृत गरेको छ ।

भन्सार विभागले चोभार सुख्खा बन्दरगाहमा भन्सार कार्यालय रहने गरी सो कार्यालयको लागि सरकारी उपसचिव स्तरको प्रमुख भन्सार अधिकृतको नेतृत्वमा २९ जना कर्मचारीको प्रस्ताव गरेको थियो । विभागले सामान्य प्रशासन मन्त्रालय मार्फत् मन्त्रिपरिषदमा उक्त प्रस्ताव पेस गरेको हो ।

विभागबाट माग भई आएको प्रस्ताव उपर नै मन्त्रिपरिषदको निर्णयले भन्सार कार्यालयको संगठन संरचना र कर्मचारी दरबन्दी स्वीकृत गरी पठाएको अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले रातोपाटीसँग बताए ।

‘चोभार सुख्खा बन्दरगाह भन्सार कार्यालयको टुंगो लागेको छ । अब आवश्यक भौतिक तथा प्राविधिक तयारी पूरा गरेर विभागले सो बन्दरगाहमा भन्सार कार्यालय राख्न सक्छ,’ सचिव मरासिनीले भने, ‘तर यसको सञ्चालन तथा व्यवस्थापनको दायित्व उद्योग तथा वाणिज्य मन्त्रालयको हो । मन्त्रालयले तयारी गरेर आए अर्थ मन्त्रालयले स्वीकृति दिन्छ ।’

त्यसो त भन्सार विभागले पनि सुख्खा बन्दरगाहमा बस्ने भन्सार कार्यालयको तीब्र तयारी गरिरहेको छ । विभागले भन्सार कार्यालयको भौतिक संरचनादेखि भन्सार कार्यालयमा रहने मानवीय जनशक्ति (कर्मचारी) तथा प्राविधिक व्यवस्थापनको तयारी गरिरहेको छ ।

अहिले विभागले सो बन्दरगाहको व्यवस्थापनको जिम्मेवारी निजी क्षेत्रलाई दिने गरी टेन्डर प्रक्रिया अघि बढाइरहेको छ । बाँकी भन्सार कार्यालयलाई आवश्यक पर्ने भौतिक तथा प्राविधिक तयारीमा समेत विभाग जुटिरहेको भन्सार विभागका सूचना अधिकारी पुण्यविक्रम खड्काले रातोपाटीलाई जानकारी दिए ।

‘सुख्खा बन्दरगाहमा भन्सार कार्यालय रहने सञ्चालनको सूचना आदेश जारी गर्नेदेखि कर्मचारी दरबन्दीका लागि अहिले विभागले राष्ट्रिय निजामति किताब खानामा दरबन्दी पठाउने सम्मको काम गरिरहेको छ । बाँकी संगठनात्मक तथा व्यवस्थापनको तयारीमा समेत विभाग आन्तरिक तयारीमा छ,’ सूचना अधिकारी खड्काले भने ।

संगठन संरचना तथा कर्मचारी दरबन्दी

विभागले गरेको प्रस्ताव र अर्थ मन्त्रालयले दिएको सूचनाअनुसार चोभार सुख्खा बन्दरगाह भन्सार कार्यालयले एक प्रमुख भन्सार अधिकृतसहित कुल २९ जना कर्मचारीको दरबन्दी पाउँदैछ । चोभार भन्सार कार्यालयमा एक जना प्रमुख भन्सार अधिकृतसहित १० भन्सार अधिकृत, ६ जना नायव सुब्बा, ६ जना कार्यालय सहयोगी, एक जना कम्प्युटर अपरेटर, एक जना केमिष्टर, एक जना असिस्टेन केमिष्टर (ल्याबका लागि), एक जना लेखापाल र दुई जना हल्का सवारी चालक गरी कुल २९ जना रहने छन् ।

संगठनात्मक संरचना

चोभार सुख्खा बन्दरगाह भन्सार कार्यालयको मोटामोटी ९ वटा शाखा तथा फाँट रहने गरी संगठनात्मक संरचनाको मोडालिटी बनेको भन्सार विभागका सूचना अधिकारी खड्काले जानकारी दिए । उनका अनुसार भन्सार कार्यालयमा जाँचपास तथा सहजीकरण शाखा पहिलो नम्बरमा रहनेछ भने अन्यमा सामान्य प्रशासन तथा आर्थिक शाखा, मूल्याङ्कन तथा व्यवस्थापन शाखा, बैंक जमानत तथा वर्गीकरण शाखा, प्रयोग–प्रविधि शाखा, सूचना तथा प्रविधि शाखा, जोखिम व्यवस्थापन शाखा र मुद्दा शाखा रहनेछन् । आवश्यकता र औचित्यका आधारमा शाखा थपघट हुन सक्ने खड्काको भनाई छ ।

हाललाई इन्टरमोडलले नै हेर्ने

सुख्खा बन्दरगाहको ठेक्का नलाग्दासम्म वा लिजमा नजाँदासम्म सोको व्यवस्थापन तथा सञ्चालन इन्टरमोडल यातायात समितिले हेर्ने भएको उक्त समितिका निर्देशक आशिष गजुरेलले जानकारी दिए । अर्को व्यवस्था नहुँदासम्म बन्दरगाह तथा जाँचपास चौकीको निर्माण तथा नियमनको जिम्मेवारी पाएको गजुरेलको भनाई छ । गत पुसमा मात्र समितिलाई मातहतको तालुक निकाय भन्सार विभागले सो जिम्मेवारी दिएको हो । स्मरण रहोस्, देशैभरीको सुख्खा बन्दरगाह तथा एकीकृत जाँचपास चौकीको निर्माण तथा व्यवस्थापनको जिम्मेवारी पाएको समितिले चोभार सुख्खा बन्दरगाहको निर्माण गत असारमा सम्पन्न गरेको थियो ।

कुल २२० रोपनी क्षेत्रफलमा बनेको चोभार सुख्खा बन्दरगाह २०७५ असारदेखि निर्माण थालनी भएर २०७८ असारमा सम्पन्न भएको हो । कुल निर्माण लागत एक खर्ब ५० अर्ब रहेको यस सुख्खा बन्दरगाहको निर्माण शान्ति–आशिष जेबीले गरेको हो । 

चोभार सुख्खा बन्दरगाहलाई मुख्य गरी तीन भागमा बाँडिएको छ । जसमा तीन मुख्य  डिपार्ट तथा भवन निर्माण गरिएको छ । यसमा डिपार्ट भन्सार, डिपार्ट क्वारेन्टिन र अर्को प्रशासनिक भवनका लागि छुट्याइएको छ । बन्दरगाह हाताभित्र छिर्न फेरि तीनवटै मुख्य गेट निर्माण गरिएको छ । समितिका अनुसार एउटा मुख्य गेटबाट मालसामान लोडेड कन्टेनर भन्सारभित्र प्रवेश पाउनेछन् भने अर्कोबाट बाहिरिने छन् । तर बीचमा छुट्याइएको एक गेटबाट भने आपतकालीन अवस्थामा प्रयोग गर्न सकिने गरी वैकल्पिक व्यवस्था गरिएको समितिले जनाएको छ ।

त्यस्तै तीन वटा ठूला गोदाम बनेका छन् । जुन ५४÷२४ मिटरका रहेका छन् । जसमा आयात निर्यातका मालसामान स्टोर गर्न सकिन्छ भने बन्दरगाहमा तीन वटा फरक फरक संरचना बनेका छन् । जसमा भन्सार आउने तथा बाहिरिने गाडी चेकजाँच, लोडिङ तथा अनलोडिङ हुन्छन् । त्यस्तै पार्किङ, वेटिङ लगायतका संरचना पनि बनाइएका छन् ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप