बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

महामारीमा सिटामोलको हाहाकार गराएर मूल्य बढाउने उत्पादकको चलखेल

औषधीको मूल्यवृद्धि गर्ने कार्यविधि स्वास्थ्य मन्त्रालयमा (भिडियो रिपोर्ट)
शुक्रबार, ०७ माघ २०७८, ०८ : ०६
शुक्रबार, ०७ माघ २०७८

ललितपुरको इजी फर्माका फर्मासिस्ष्ट मेनकुमार घोराथोकीले विगत एक सातादेखि सिटामोल बिक्री गर्न पाएका छैनन् । कोरोना सङ्क्रमण बढिरहेका कारण धेरै उपभोक्ता सिटामोल खोज्दै आउने गरेका छन् । 

औषधीको होलसेल बिक्रेतासँग पनि सिटामोल नभएको उनले बताए । घोराथोकीले भने–‘हामीले खरिद गर्ने होलसेलमा पनि कम्पनीबाटै सिटामोल नआएको भन्ने गरेका छन् । एकसातादेखि सिटामोल बिक्री गर्न पाएका छैनौँ ।’ सिटामोल नभएकोले डाक्टरले सिफारिस गरेको आधारमा सिटामोल मिक्स भएको अन्य औषधी वितरण गरेको उनले बताए ।  

यता वीर अस्पताल छेउ रहेको आरएफ फार्मेसीका नागार्जुन अधिकारीले हिजोसम्म अस्पतालमा भर्ना भएर इर्मरजेन्सीमा रहेकालाई मात्र जेनतेन सिटामोल दिएको बताए ।  बिहीबार नेश्नल हेल्थ केयर कम्पनीले एक हजार ट्याब्लेट सिटामोल पठाइदिएकोले केही सहज भएको बताए । सिटामोल खरिदका लागि आउनेलाई दश–दश ट्याब्लेटका दरले बिक्री गर्न सो कम्पनीले भनेको उनले सुनाए । एक हप्ता सिटामोलको अभाव भएका कारण बाहिरका अन्य मेडिकलबाट सिटामोल खरिद गरेर इर्मरजेन्सीका बिरामीमात्र विक्री गरेको बताए । 

अर्को एक मेडिकलका औषधी बिक्रेता दुर्गाचन्द्र मौरठीले कम्पनीले सिटामोल नदिएका कारण अभाव भएको बताए । उनले भने–‘औषधी उत्पादक कम्पनीले सामान भएर दिएको हो वा नभएर दिएको हो थाहा भएन, अहिले बजारमा सिटामोल छैन, भएको पनि अत्यन्तै कम मात्रामा छ ।’ होलसेल तथा वितरकले अहिले सिटामोल छैन, पछि आएपछि खबर गर्छाैँ भनेर सुनाएको उनले बताए । सिटामोल उत्पादक कम्पनी नेश्नल हेल्थ केयरले अस्पताल आसपास रहेका औषधी पसलमा बिहीबार १ हजार ट्याब्लेट सिटामोल बिक्री गरेको वीर अस्पताल छेउ रहेको एक मेडिकल सञ्चालक अमृत बरालले बताए । उनले झन्डै २ हप्ता सिटामोलको अभाव झेल्नुपरेको उनले बताए । उनले अबको केही दिनपछि सिटामोल सहज रूपमा पाइने आशा व्यक्त गरे । 

बिहीबार बिहान नेश्नल हेल्थ केयर कम्पनीले वीर लगायत केही ठूला अस्पताल आसपास रहेका मेडिकलहरूमा एक एक हजार ट्याब्लेट सिटामोल बिक्री गरेको थियो । केही समयपछि बजारमा सिटामोलको अवस्था बुझ्न भन्दै औषधी व्यवस्था विभागका निरीक्षकहरू तिनै मेडिकलहरूमा पुगेका थिए । त्यसपछि उनीहरूले बजारमा कतै कतै सिटामोलको अभाव भए पनि अस्पताल छेउका मेडिकलहरूमा सिटामोल पाइएको विवरण विभागमा दिएका थिए । 

औषधीको मूल्य समायोजन गर्ने बारेको कार्यविधि मन्त्रालय पठाएका छौँ :  महानिर्देशक ढकाल 

औषधी व्यवस्था विभागका महानिर्देशक नारायण प्रसाद ढकालले औषधी उत्पादकहरूले सिटामोल लगायतका औषधीको मूल्य वृद्धि गर्न माग गरिरहेको बताए । बर्षौैदेखि औषधीको मूल्य समायोजन नगरेको भन्दै केही औषधीको मूल्य समायोजनका लागि आवश्यक कार्यविधि बनाएर स्वास्थ्य मन्त्रालयमा पठाइएको र सो कार्यविधि स्वीकृत भएर आएपछि मूल्य समायोजनको  प्रक्रिया अघि बढ्ने ढकालको भनाई छ ।  

उनले भने–‘औषधीमा मूल्य बढाउन उहाँहरूले वर्षौँदेखि माग गर्नुभएको छ, त्यसमा हेर्नुपर्ने अवस्था पनि छ । सधैँभर एउटै मूल्य रहँदैन । अत्यावश्यक औषधीहरूमा अनावश्यक मूल्य वृद्धि नहोस् भनेर सरकारले समयानुसार समायोजन गर्दै जान लागेको हो ।’

मन्त्रालयले एउटा टोली नै बनाएर कार्यविधिलाई अन्तिम रूप दिने तयारी समेत गरेको छ ।

उनले सिटामोलको हालको बजार मूल्य औसतमा प्रति ट्याब्लेट एक रुपैयाँ रहेको र त्यसमा केही पैसा वृद्धि हुन सक्ने बताए । उत्पादकहरूले एक रुपैयाँ प्रति ट्याब्लेटमा लागत खर्च पनि नउठ्ने बताउने गरेको सुनाए । कच्चा पदार्थ, ढुवानी खर्चमा भएको मूल्य वृद्धिलाई हेरेर कति मूल्य वृद्धि गर्दा ठिक हुन्छ भनेर कार्यविधि अगाडि बढाइएको ढकालको भनाई छ । 

उनले भने–‘मन्त्रालयले कार्यविधि स्वीकृत गरिदियो भने त्यही अनुसार हामी कार्ययोजना अघि बढाउँछौँ । अहिले त्यो कार्यविधि स्वीकृत भइसकेको अवस्था छैन् ।’

कार्यविधीमा कुनै एउटा औषधीको मात्र मूल्य यति हुने भनेर नतोकिएको र त्यसले समग्र औषधीहरूलाई समेट्ने ढकालले बताए । 

उनले अब बजारमा सिटामोलको अभाव नहुने दाबी पनि गरे । बिहीबार विभागको तर्फबाट औषधी पसलमा निरीक्षकहरू पठाएको बताउँदै केही मेडिकलमा सिटामोलको अभाव रहेको र केहीमा पाइएको बताए । उनले केही दिनभित्र सिटामोलको सहज अवस्था हुने दाबी गरे । 

महानिर्देशक ढकालले भने–‘माग र आपूर्तिको तालमेल नहुँदा अभाव भएको हो । आइतबारसम्म सबै उत्पादकहरूले बजारमा सिटामोल पठाउँदै छन् । आइतबारपछि अरू थप सिटामोल आउने खबर आएको छ । हामीले उत्पादकहरूलाई उत्पादन बढाउन जोडपनि गरेका छौँ । सिटामोलको अभाव भएको खबर आएपछि नचाहिएपनि मानिसहरूले खरिद गर्ने क्रम पनि रहेको छ ।’

उनले उत्पादकहरूले सिटामोलको उत्पादन रोकेका कारण पनि अभाव भएको बताए । 

रातोपाटीसँग कुरा गर्दै महानिर्देशक ढकालले भने–‘अहिले केही उत्पादकहरूले कम उत्पादन गरेको पनि देखियो । कतिपय उत्पादकले उत्पादन नगरेको पनि सत्य हो । उहाँहरूले सिटामोलमा अरू कम्बिनेशन मिसाएर उत्पादन भने गरिरहनु भएको छ । पारासिटामोल प्लेनमा मात्रै अभाव हुने जुन स्थिति सिर्जना भएको छ, त्यसमा उत्पादकहरूले पनि बिचार गर्नुहुन्छ भन्ने हामीले आशा लिएका छौँ ।’

बजारमा सिटामोलको अभावपछि बुधबार औषधी व्यवस्था विभागले सरोकारवाला निकायसँग छलफल गरेर ४ वटा निर्णय समेत गरेको छ । ती निर्णयहरूमा सिटामोलको उत्पादन बढाउने, बिक्री वितरणलाई नियन्त्रण गर्ने लगायत रहेका छन् । उत्पादन र विक्री वितरणको विवरण विभागमा पठाउने र सिटामोल नपुगेमा विदेशबाट औषधी ल्याउनेबारे निर्णय भएको छ । 

नेपालमा कोभिड सुरु हुनु पहिले वार्षिक १० देखि १५ करोड ट्याब्लेट सिटामोल माग हुने गरेकोमा कोभिड सङ्क्रमण बढेपछि यसको माग धेरै औषधी व्यवस्था विभागको अनुमान छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप