शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

वीरेन्द्रनगर पुनः कोरोनाको ‘हटस्पट’ बन्ने खतरा, परीक्षण गरिएकामध्ये ६२ प्रतिशत संक्रमित

प्रदेश अस्पतालका ५० भन्दा बढी स्वास्थ्यकर्मीमा कोरोना संक्रमण
शुक्रबार, ०७ माघ २०७८, १८ : ०६
शुक्रबार, ०७ माघ २०७८

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर कोरोना संक्रमणको उच्च जोखिममा छ । यसअघि पहिलो र दोस्रो चरणको लहरमा संक्रमणको केन्द्रविन्दु बनेको वीरेन्द्रनगर उपत्यका पुनः कर्णाली प्रदेशमा कोरोनाको ‘हटस्पट’ बन्ने खतरा बढेको हो ।

पछिल्ला दुई दिनको तथ्याङ्क हेर्दा परीक्षण गरिएकामध्ये झण्डै ६२ प्रतिशतमा कोरोना पुष्टि भएको छ । वीरेन्द्रनगर नगरपालिकाका जनस्वास्थ्य अधिकृत भूपेन्द्र गिरीका अनुसार बुधबार १३७ जनामा गरिएको परीक्षणका क्रममा १०५ जनामा कोरोना संक्रमण देखियो ।

यस्तै बिहीबार ८३ जनाको परीक्षण गरिएकोमा ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरेन्द्रनगर नगरपालिकाले यसअघि हप्ताको शुक्रबारमात्र कोरोना परीक्षण गर्ने गरेको थियो । दैनिक कोरोना संक्रमणको दर बढ्न थालेपछि बुधबारदेखि हरेक दिन दिउँसो १ बजेदेखि ४ बजेसम्म परीक्षण गर्ने गरिएको गिरीले बताए ।

उनी भन्छन्, ‘हामीले कोरोना परीक्षणको दायरा बढाएका छौं । आरटी–पीसीआर र एन्टिजेन दुबै विधिबाट परीक्षण गर्ने गरिएको छ । परीक्षणका दायरा अझै बढाएको खण्डमा संक्रमितको संख्या पनि बढ्ने हाम्रो अनुमान छ ।’

प्रदेश राजधानी भएकाले यहाँ दैनिक हजारौं मान्छेको आवत–जावत भइरहन्छ । कोरोनाको तेस्रो लहर सुरु भइसक्दा सर्वसाधारणले स्वास्थ्यका मापदण्ड पालनामा हेलचेक्रयाई गरिरहेको जनस्वास्थ्यविद्हरु बताउँछन् । वीरेन्द्रनगरका मुख्य चोक, होटेल, रेस्टुरेन्टहरुमा मान्छेको भिडभाड उस्तै हुने गरेको छ ।

वीरेन्द्रनगर नगरपालिकाले कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि चालु आर्थिक वर्षमा झण्डै २ करोड बजेट छुट्याएको छ ।

नगर उपप्रमुख मोहनमाया ढकाल (भण्डारी)ले कोरोना रोकथामका लागि पूर्व तयारी गरिरहेको जानकारी दिइन् । ‘स्वास्थ्य संस्थाहरुमा औषधि, मास्क, सेनिटाइजरहरुको व्यवस्थापन गरिसकिएको छ,’ उनले भनिन्, ‘नगरपालिकाले स्वास्थ्य संस्थाहरुमा स्वास्थ्य शिक्षा दिने, मास्क वितरण गर्ने लगायतका अभियान पुनः चलाउने तयारी थालिएको छ ।’

उनका अनुसार सामान्य लक्षण भएका संक्रमितलाई होम आइसोलेशनमा बस्न प्रेरित गर्ने, स्वास्थ्य संस्थाहरुलाई ‘एक्टिभ’ गराउने काम भएको छ । विस्तारै उपचारको विधि बढाउनुपर्ने अवस्था आयो भने नगर अस्पताललाई कोभिड अस्पतालको रुपमा रुपान्तरण गरिने उनले जानकारी दिइन् ।

कोरोनाको दोस्रो लहरको समयमा बिरामीहरु धेरैजसो होम आइसोलेशनमा बसेकाले आफूहरुले कोभिड अस्पताल सञ्चालनमा नल्याएको उपप्रमुख ढकालले बताइन् ।

उनका अनुसार विगतमा भएको अक्सिजन अभावका कारण हाल अक्सिजन प्लान्ट निर्माण गरिए पनि त्यसको सञ्चालनका लागि प्राविधिकको अभाव छ । ढकाल वीरेन्द्रनगर प्रदेशकै राजधानी भएकाले प्रदेश सरकारले पनि नगरपालिकासँग समन्वय गरेर साथ दिनुपर्ने बताउँछिन् । तर व्यवस्थापनको कुरामा प्रदेश सरकारले समन्वय नगरेको उनको भनाइ छ ।

प्रदेश अस्पतालका ५० भन्दा बढी कर्मचारीमा कोरोना

वीरेन्द्रनगरमै रहेको कर्णाली प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा. डम्बर खड्काले कोरोना संक्रमणको तेस्रो लहर नियन्त्रण तथा रोकथामका लागि पूर्व तयारी तीव्र पारिएको जानकारी दिए ।

उनले भने, ‘हाम्रो १३९ बेडको कोभिड अस्पताल सञ्चालनमा छ । आईसीयू बेडहरुमा पनि अभाव नहुने तरिकाले व्यवस्थापन गरिएको छ ।’

खड्काका अनुसार प्रदेश अस्पतालका ५० बढी कर्मचारीमा कोरोना पोजेटिभ देखिएको छ । अस्पतालका कार्यालय सहयोगी, नर्सिङ, अप्रेसन थिएटरका कर्मचारीमा कोरोना संक्रमण देखिएको उनले बताए ।

निर्देशक खड्का प्रदेश अस्पतालमा दरबन्दी अनुसार कर्मचारी अभाव भएको बताउँछन् । उनी भन्छन, ‘हामीले सामाजिक विकास मन्त्रालयसँग कर्मचारी माग गरिरहेका छौं । मन्त्रालयले पनि त्यसको तयारी थालिसकेको छ । अन्य औषधि, सामग्री, बिरामीलाई खानाको व्यवस्थापन लगायतका विषयमा पनि प्रदेश सरकारसँग रकम माग गरेका छौं ।’

अब स्वास्थ्यका मापदण्डहरु पूर्ण रुपमा पालना गरेर सबैको सहकार्यमा कोरोना रोकथाम तथा नियन्त्रण गर्नुपर्ने उनको भनाइ छ । ‘सबैभन्दा पहिला त व्यक्ति आफू सचेत हुन जरुरी छ । अनुशासित हुनुप¥यो । तर यतातिर कमै मात्रामा मान्छे जिम्मेवार देखिन्छ,’ उनले भने, ‘त्यतिकै बजारमा घुमघाम गरिरहेको पनि देखिन्छ ।’

अनुगमनमा कडाई गर्दै प्रशासन

वीरेन्द्रनगरमा कोरोना संक्रमणको दर बढ्न थालेपछि सुर्खेत प्रशासनले केही दिन अघि नै ‘स्मार्ट लकडाउन’ जारी गरिसकेको छ । सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले शनिबार बिहानदेखि वीरेन्द्रनगरमा मास्क अभियान थालिने बताए ।

उनले भने, ‘शुक्रबारदेखि हामीले सार्वजनिक सेवा लिँदा खोप कार्ड अनिवार्य हुनुपर्ने भनिसकेका छौं । बिहीबार पनि वीरेन्द्रनगरमा अनुगमन गरिएको छ ।’ रिजाल अनुगमनलाई तीव्र पार्ने र प्रशासनले भनेका कुराहरुलाई नअपनाइएको खण्डमा कारबाही गरिने समेत बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप