शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

वीरगञ्जलाई राजधानी नबनाएको विरोधमा आन्दोलन : वीरगञ्ज आसपासकै सांसदको छैन समर्थन

शुक्रबार, ०७ माघ २०७८, १४ : ०७
शुक्रबार, ०७ माघ २०७८

माघ ३ गते साविक प्रदेश २ (हाल मधेस प्रदेश)को प्रदेशसभाबाट जनकपुरधामलाई स्थायी राजधानी बनाउने निर्णय भयो । राजधानीका लागि भएको मतदानमा ९९ जना प्रदेशसभा सदस्य सहभागी भएकोमा ७८ मत जनकपुरलाई राजधानी बनाउने पक्षमा खसेको थियो । २१ मत उक्त प्रस्तावको विपक्षमा खसेको थियो । जनकपुरलाई राजधानी घोषणा गरेसँगै वीरगञ्जमा त्यसविरुद्ध आन्दोलन सुरु भयो । वीरगञ्जलाई राजधानी नबनाएसम्म आन्दोलन नरोकिने आन्दोलनरत पक्षको चेतावनी छ ।

वीरगञ्जलाई राजधानी बनाउनुपर्छ भन्दै भइरहेको आन्दोलनमा पर्सा जिल्लाकै सबै प्रदेश सांसद तथा संघीय सांसदको समर्थन छैन । पर्साबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्य प्रदीप यादव (जसपा नेपालका सांसद) भन्छन्, ‘वीरगञ्ज राजधानी हुनुपर्छ भन्ने कुरा हामीले सुरुदेखि नै उठाउँदै आएको हो, आन्दोलनको क्रममा मधेसका शीर्ष नेता उपेन्द्र यादव, राजेन्द्र महतो, महन्थ ठाकुरलगायतले वीरगञ्जलाई प्रदेशको राजधानी बनाउने अभिव्यक्ति पटक पटक दिनुभएको थियो तर आज उहाँहरु मौन बस्नुभयो ।’

वीरगञ्जमा भइरहेको आन्दोलनप्रति आफ्नो नैतिक समर्थन रहेको र सो आन्दोलनले भोजपुरा प्रदेश बनाउनुपर्ने माग गरेको उनले बताए । उनले भने, ‘हिम्मत छ भने आन्दोलन गर्ने हरेक पार्टीका सांसदले आ–आफ्ना पार्टीका अध्यक्षको पुतला जलाएर देखाउन्, किनभने पार्टीका अध्यक्षहरुकै कारणले वीरगञ्ज राजधानी हुन सकेन ।’ आफ्नो पार्टी र नेताको विरुद्ध आन्दोलन गर्न नसक्नेले यो आन्दोलनको नाटक नगर्दा हुने उनको भनाइ छ ।

पर्साबाटै प्रतिनिधिसभा प्रतिनिधित्व गर्ने लोकतान्त्रिक समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्णले पनि यो आन्दोलनले मधेसवादी दललाई बद्नाम मात्र गराएको बताए । उनले भने, ‘वीरगञ्जलाई राजधानी बनाउँदा राम्रै हुन्थ्यो, तर काँग्रेस र माओवादी केन्द्रले जनकपुरलाई समर्थन गरे । अहिले जनकपुर राजधानी बनाए भनेर मधेसवादी दलमा मात्र बद्नाम भएका छन् ।’

वीरगञ्जमा भइरहेको आन्दोलनको बारेमा आफूसँग कसैले सल्लाह पनि गरेको छैन, कसैले सोधेको पनि छैन त्यसले तत्काल त्यसप्रति आफ्नो कुनै समर्थन नरहेको बताए ।

तर वीरगञ्जकै कतिपय सांसदले वीरगञ्जलाई राजधानी बनाउनका लागि वारपारको आन्दोलन गर्ने चेतावनी दिँदै आएका छन् । वीरगञ्जलाई राजधानी बनाउन दबाबस्वरुप आन्दोलन गर्न अधिवक्ता ओमप्रकाश गुप्ताको अध्यक्षतामा भोजपुरीया प्रदेश संघर्ष समिति बनाइएको छ ।

बुधबार राजनीतिक दलहरुको संयुक्त बैठकले सो समिति गठन गरेको हो । जसपा नेपालका प्रदेशसभा सदस्य प्रल्हाद गिरीले संघर्ष समिति गठन भएको र सो समितिमार्फत व्यवस्थित ढंगले आन्दोलन अगाडि बढाउने बताए ।

उनले भने, ‘वीरगञ्जलाई राजधानी नबनाई हामी विश्राम लिनेछैनौं, यदि वीरगञ्जलाई राजधानी बनाइएन भने यो प्रदेश पनि एक रहँदैन, त्यसपछि विहारबाट जसरी अलग हुन झारखण्डवालाले आनदोलन गरेका थिए, त्यसरी नै मधेस प्रदेशबाट अलग हुने आन्दोलन सुरु हुन्छ ।’

प्रदेशसभाबाट दुई तिहाईभन्दा बढी मतले जनकपुरलाई राजधानी बनाएको विषयलाई आफूले स्वीकार गरेको तर आफू वीरगञ्जवासीको साथमा रहेको उनले प्रस्ट पारे ।

सोही पार्टीबाट निर्वाचित अर्का प्रदेशसभा सदस्य भिमा यादवले वीरगञ्ज राजधानी हुनुपर्ने मागसहित भएको आन्दोलन जायज भए पनि जनकपुरका लागि निर्णय भइसकेकाले त्यसलाई परिवर्तन गर्न नसकिने बताइन् ।

उनले भनिन्, ‘जनकपुर राजधानी घोषणा भइसकेको छ, अब चेन्ज हुने चान्स नै छैन ।’ आन्दोलन गर्ने कि नगर्ने भन्ने विषयमा पार्टीले निर्देशन दिएअनुसार अगाडि बढ्ने उनले बताइन् ।

पार्टीका अध्यक्ष उपेन्द्र यादवले अहिलेसम्म वीरगञ्जमा आन्दोलन गर्ने कि नगर्ने भन्ने विषयमा केही नभनेको उनको भनाइ छ ।

वीरगञ्जमा भइरहेको आन्दोलनमा सो क्षेत्रका सबै सांसद नेता नेताको समर्थन भने छैन । कसैले नैतिक समर्थन जनाएका छन् भने कसैले यो आन्दोलनको कुनै अर्थ नरहेको प्रतिक्रिया जनाएका छन् । कोही भने आन्दोलनमा सक्रियतापूर्वक नै लागेका छन् ।

काँग्रेसका प्रदेशसभा सदस्य राजेश्वरप्रसाद साहले मधेस प्रदेशका लागि राजधानी बनाउन वीरगञ्ज उपयुक्त ठाउँ भए पनि केही नेताको कमी कमजोरीका कारण त्यो सम्भव नभएको बताए ।

प्रदेशसभाले गरेको निर्णयलाई आफूले स्वीकार गरेको तर वीरगञ्जका लागि भइरहेको आन्दोलनमा आफ्नो नैतिक समर्थन रहेको उनले बताए । यो आन्दोलनलाई सरकारले तत्कालै सम्बोधन नगरे यसले अर्को रुप लिन सक्ने चेतावनी पनि उनले दिए ।

जसरी भारतमा १३ राज्यबाट २९ राज्य भयो, त्यसरी नै आफूहरुले पनि अब छुट्टै प्रदेशको माग गर्ने उनले बताए ।

त्यस्तै धारणा, काँग्रेसका अर्का प्रदेशसभा सदस्य शंकर चौधरीको पनि छ । प्रदेशसभाले बहुमतबाट निर्णय गरे पनि २१ जना सांसद विपक्षमा रहेकाले आन्दोलनलाई अगाडि बढाउने उनले बताए । वीरगञ्ज राजधानी भएन भने आफूहरु अर्को प्रदेश बनाउन माग गर्ने उनको चेतावनी छ ।

प्रदेशसभा सदस्य राजेश्वरप्रसाद र शंकर चौधरीले वीरगञ्जलाई राजधानी बनाउन रौतहट र बाराका सांसदहरुको पनि समर्थन रहेको बताए । आवश्यक परे यी तीन जिल्लाका सांसदहरुले राजीनामा दिएर आन्दोलनलाई अगाडि बढाउने उनीहरुको चेतावनी छ ।

तर बारा जिल्लाका प्रदेशसभा सदस्य सारदा शंकर प्रसाद कलवारले वीरगञ्ज राजधानी हुनुपर्छ भनेर आफूले पनि यसअघि आन्दोलन गरेको तर प्रदेशसभाको बहुमतबाट जनकपुरलाई राजधानी घोषणा गरेपछि पुनः वीरगञ्जलाई राजधानी बनाउनुपर्ने मागसहित आन्दोलन गर्नुको अर्थ नरहेको बताए । वीरगञ्जमा भइरहेको आन्दोलनमा आफूहरुको कुनै समर्थन नरहेको उनको भनाइ छ ।

बाराकै अर्का प्रदेशसभा सदस्य एवं माओवादी केन्द्रका नेता महम्मद समिरले पनि वीरगञ्जमा भइरहेको आन्दोलनमा बाराबासीको समर्थन नरहेको बताए । एक समय वीरगञ्ज राजधानी हुनुपर्छ भनेर आन्दोलन गरेको भए पनि अब त्यो अवस्था नरहेको उनले बताए ।

जसपाका प्रदेशसभा सदस्य रामकिशोर यादव (रौतहट) ले वीरगञ्जमा भइरहेको आन्दोलन गलत रहेको बताए । उनले भने, ‘प्रदेशसभाले बहुमतबाट जनकपुरलाई राजधानी घोषणा गरिसकेको छ भने पुनः वीरगञ्जका लागि आन्दोलन गर्नु हुँदैन, त्यो गलत काम हो । त्यसमा रौतहटबासीको कुनै समर्थन रहनेछैन ।’

पर्सा जिल्लाकै जसपाका प्रदेशसभा सदस्यहरु अञ्जु कुमारी र अब्दुल रहिम अन्सारीले बहुमतले जनकपुरलाई राजधानी घोषणा गरेकोमा आफूहरुको समर्थन रहेको बताए । वीरगञ्जवासी भएको नताले वीरगञ्ज मधेस प्रदेशको राजधानी भएमा धेरै राम्रो हुने तर अब त्यो सम्भावना नरहेको उनीहरुको भनाइ छ ।

अहिलेका आन्दोलनकारीले भोजपुरीया प्रदेश बनाउनसमेत माग गरेको छ । त्यसमा आफूहरुको समर्थन नरहेको उनीहरुको धारणा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप