बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : बारको मार्चपासको तयारी, माटो बटुल्दै सिके राउत

मङ्गलबार, ०७ मङ्सिर २०७८, १९ : ३९
मङ्गलबार, ०७ मङ्सिर २०७८

आज २०७८ मंसिर ७ गते मंगलबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–

१. बारको मार्चपास, संवैधानिक इजलास अन्योलमा

नेपाल बार एशोसिएसनले सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्ने भएको छ ।  मंगलबार पनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै सर्वोच्चमा धर्ना दिएको बारले बिहीबार (९) गते दिउँसो २ बजे सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्ने जनाएको हो । धर्नामा बोल्दै नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले मार्चपासमा नागरिक समाजका सदस्यहरू समेत संलग्न रहने जानकारी दिए । उनले प्रधानन्यायाधीश जबरा बालुवाटारका कारण लुकेर न्यायालय आउने गरेको भन्दै अव सर्वोच्चदेखि बालुवाटारसम्म मार्चपास गर्न लागिएको स्पष्ट पार्नु भयो । अध्यक्ष श्रेष्ठले बुधबार (भोलि) देशभरका १८ वटा उच्च अदालतमा धर्ना कार्यक्रम आयोजना गर्ने पनि बताए ।

यता, गोलाप्रथामा गए पनि संवैधानिक इजलास अन्योलमा देखिएको छ । न्यायाधीशहरुले प्रधानन्यायाधीशले तोकेको पेसीका आधारमा इजलासमा नबस्ने प्रधानन्यायाधीशसँग बेञ्च सेयर नगर्ने भद्र सहमति गरेका छन् । सोही आधारमा यतिबेला न्यायाधीशहरुले बन्दी प्रत्यक्षीकरण, तामेली र मेलमिलापका निवेदनहरू मात्रै सुनुवाइ गर्ने गरिएको छ । अन्य मुद्दाहरू पेसीमा चढे पनि हेर्न नभ्याइने सूचीमा पर्ने गरेका छन् । सर्वोच्च अदालतका न्यायाधीश मात्रै नभएर कानुन व्यवसायीहरूले पनि प्रधानन्यायाधीशको इजलासमा गएर बहस नगर्ने बताएका छन् । यस्तो अवस्थामा अबको केही दिनमा अन्य मुद्दा पेसीमा चढेर नियमित सुनुवाइ हुने अवस्था आए पनि संवैधानिक इजलास भने बस्न सक्ने अवस्था छैन । किनभने, संवैधानिक इजलासको गठन हुँदा प्रधानन्यायाधीशलाई अनिवार्य गरिएको छ ।

२. निर्वाचन आयोगको निर्देशन

निर्वाचन आयोगले राजनीतिक दलहरूलाई नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेका स्वशासित संस्थाको बहालवाला प्राध्यापक, शिक्षक वा कर्मचारीलाई राजनीतिक दलको सदस्यता वितरण नगर्न नगराउन निर्देशन दिएको छ । आयोगमा दर्ता भएका विभिन्न राजनीतिक दलको महाधिवेशनमा सार्वजनिक पदमा बहाल रहेका शिक्षक, कर्मचारी, प्राध्यापकहरू समेत दलका महाधिवेशनमा भाग लिई प्रतिनिधि समेत चयन भएको भनी सञ्चार माध्यममा प्रकाशित तथा प्रसारित समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै आयोगले दलहरूलाई यस्तो निर्देशन दिएको हो ।

३. सचिवमा उम्मेदवारी घोषणा

नेकपा एमालेका केन्द्रीय सदस्य महेश बस्नेतले पार्टीको दसौँ महाधिवेशनमा सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गरी बस्नेतले सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । उनले देशभरिका कार्यकर्ताले माया गर्ने भएकाले लोकप्रिय मत ल्याएर सचिव पद जित्ने दाबी समेत गरे ।

४. ओलीका ६ सन्देश

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको दशौं राष्ट्रिय महाधिवेशनको सम्मुखमा महाधिवेशनबारे मंगलबार काठमाडौंका सम्पादकहरुसँग खुल्ला अन्तरक्रिया गरे । पार्टीको स्थायी कमिटी बैठक केही समयका लागि रोकेर अन्तरक्रियामा सहभागी भएका ओलीले मूलतः ६ वटा सन्देश दिए । अन्तरक्रियामा समसामयिक राजनीतिदेखि महाधिवेशनको प्रक्रिया, अदालतमा भइरहेको आन्दोलन, एमालेबाट छुटेका माधव नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसमेतलाई जोडेर केही ठट्टा, केही चर्चा र केही आलोचना गर्न भ्याए ।

५. राष्ट्रियसभा निर्वाचनमा साझा उम्मेदवार

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रियसभा निर्वाचनमा पाँच दलीय गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनाइने जनाएका छन् । मंगलबार जनकपुरधाम विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपालले सत्तारुढ गठबन्धनबीच लामो सहकार्य हुने र उपनिर्वाचनमा पनि साझा उम्मेदवार बनाइने बताएका हुन् ।

६. खोप लगाएको प्रमाणपत्र देखाएर मात्रै भारत 

अब कोरोनाविरुद्धको खोप लगाएको प्रमाणपत्र देखाएर मात्रै भारत जान पाइने भएको छ । नेपाल र भारत दुवै देशमा आवतजावत गर्न लागि अनिवार्य रूपमा खोप लगाएको प्रमाणपत्र देखाउनुपर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

७. २० जिल्लाको माटो सङ्कलन गर्ने

संगठन बिस्तारको नाउँमा जनमत पार्टीका अध्यक्ष सीके राउतले मेचीदेखि महाकालीसम्मका विभिन्न पालिकाकाको माटो सङ्कलन गर्ने भएका छन् । मेचीदेखि महाकालीसम्म तराई मधेशका २० जिल्लाका प्रत्येक मधेशी बाहुल्य पालिकमा पुगेर अध्यक्ष राउतले त्यहाँको माटो सङ्कलन गरी ‘मधेश एकता उद्यान’ निर्माण गर्ने निर्णय गरेको पार्टीका महासचिव चन्दन सिंहले बताए । पार्टीको कार्यकारिणी समितिको बैठकले सो निर्णय गरेको हो ।

८.  ३५१ जनामा संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा कोरोनाभाइरस संक्रमणबाट ९ जनाको मृत्यु भएको छ । यस्तै ३५१ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार १७४ जनाको नमुना परीक्षण गर्दा ३५१ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा २७३ जना निको भएका छन् । 

९. कर्जा सुरक्षण कोषमा बदमासी

निक्षेप तथा कर्जा सुरक्षण कोषकी निमित्त कार्यकारी प्रमुख उषा पौडेल गौतमले कोष ऐन, २०७३ विपरीत जिम्मेवारी लिएको खुलेको छ । पूर्व कार्यकारी अधिकृत (सीईओ) विष्णुबाबु मिश्रले कोष ऐन, २०७३ को दफा ४९ को उपदफा ५ विपरीत पौडेललाई गत असोज २५ गते निमित्त सीईओको जिम्मेवारी दिएका थिए । मिश्रको कार्यकाल असोज २६ गते सकिएको थियो । 

१०. बारको मार्चपास, संवैधानिक इजलास अन्योलमा

नेकपा एमालेले पार्टीको दसौँ महाधिवेशनको सम्मुखमा ‘साइबर सर्कल’ घोषणा गर्ने भएको छ । यसअघि ‘साइबर सेना’ बनाएको एमालेले त्यसको नाम परिवर्तन गर्दै ‘साइबर सर्कल’ को घोषणा गर्न लागेको हो । नेकपा एमालेको भ्रातृ संगठन युवा संघको मातहत रहनेगरी मङ्सिर ८ गते एमाले अध्यक्ष केपी शर्मा ओलीले साइबर सर्कलको घोषणा गर्नेछन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप