शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

चितवन झर्नुअघि ओलीका ६ सन्देश : चोलेन्द्रको बचाउ, प्रचण्ड–माधवको आलोचना, पूर्वसमूहलाई झड्का

बुधबार, ०८ मङ्सिर २०७८, ०५ : ००
बुधबार, ०८ मङ्सिर २०७८

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको दशौं राष्ट्रिय महाधिवेशनको सम्मुखमा महाधिवेशनबारे मंगलबार काठमाडौंका सम्पादकहरुसँग खुल्ला अन्तरक्रिया गरे । पार्टीको स्थायी कमिटी बैठक केही समयका लागि रोकेर अन्तरक्रियामा सहभागी भएका ओलीले मूलतः ६ वटा सन्देश दिए । अन्तरक्रियामा समसामयिक राजनीतिदेखि महाधिवेशनको प्रक्रिया, अदालतमा भइरहेको आन्दोलन, एमालेबाट छुटेका माधव नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसमेतलाई जोडेर केही ठट्टा, केही चर्चा र केही आलोचना गर्न भ्याए ।

केपी ओलीले दिएका ६ वटा सन्देशहरू यस्ता छन्:

१. अध्यक्षमा ठट्टा: अन्तरक्रियामा अध्यक्ष ओलीले दशौं महाधिवेशनमा आफू अध्यक्षमा उठ्ने–नउठ्ने कुनै निर्णय गरिनसकेको जवाफ दिए । प्रायः ठट्टा गर्न रुचाउने ओलीले सम्पादकहरुसँगको अन्तरक्रियामा पनि आफ्नो उम्मेदवारीबारे सोही शैली अपनाए ।

‘म कसैलाई नउठे हुन्थ्यो भन्दिनँ, दबाव पनि दिन्नँ । मैले आफूले पनि उठ्ने, नउठ्ने निर्णय गरिसकेको छैन । भोलि निर्णय गरें भने अर्कै कुरा’, ओलीको भनाइ छ । ओलीले यसो भने पनि उनी अध्यक्ष पदमा नउठ्ने भन्ने अर्थमा भने होइन । यो उनको ठट्यौलो अभिव्यक्ति मात्रै हो, उनी अध्यक्षमा उठ्छन् भन्ने नै ठोकुवा गर्न सकिन्छ ।

​उपाध्यक्ष भीम रावलले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेर आफूलाई चुनौति दिएको भन्ने शब्दावलीलाई पनि ओलीले खण्डन गरेका छन् । उनले भने, ‘रावलजीले चुनौती दिनुभएको छैन । उहाँले अध्यक्षमा म उठ्छु भन्नुभएको छ र मलाई सहयोग गर्नुस् भन्नुभएको छ । यो स्नेहपूर्ण सुझावबाट प्रभावित भएको छु ।’

वरिष्ठ उपाध्यक्षमा धेरै आकांक्षी भएकाले तपाईको साथ कसलाई रहन्छ भन्ने प्रश्नमा पनि ओलीले ठट्यौली पारामै उत्तर दिए । ‘मैले मन पराएको वरिष्ठ उपाध्यक्ष जो निर्विरोध निर्वाचित हुन्छ या प्रतिस्पर्धामा धेरै भोट ल्याउँछ, त्यही हुन्छ’ ओलीको जवाफ छ । 

२. महाधिवेशनको प्रक्रिया: अध्यक्ष ओली यसपटकको महाधिवेशन सहमतिका आधारमा गर्न चाहान्छन् । उनका विगतका अभिव्यक्ति सहमतिकै पक्षमा छन् । तर, मंगलबार भने उनले अलि फरक धारणा सुनाए । ‘भरसक कर लगाएर उठिदिनुस् भन्न परोस्, कामको मूल्यांकनका आधारमा तपाईं बसिदिनुस् भन्न परोस्, भएन भने चुनाव हुनु राम्रो’, महाधिवेशन प्रतिस्पर्धामा हुन्छ या सहमतिका आधारमा भन्ने प्रश्नमा ओलीले भने ।

उनले सहमतिका लागि आफूले कुनै नेतालाई दबावसमेत नदिने दावी गरे । ‘दबाब दिन्नँ, लोकतन्त्र हो भनेर उकास्नुपर्छ भन्ने नीति पनि लिन्नँ’, ओलीको भनाइ  छ ।

३. पूर्वसमूहको व्यवस्थापन: एमाले महाधिवेशनमा नेतृत्वका आकांक्षी बढेपछि व्यवस्थापनको सकस छ । खासगरी पूर्वमाओवादी समुह, १० बुँदे पक्षधर र ओली पक्षकै नेताहरु एउटै पदमा आकांक्षी बन्दा कसलाई कुन पदमा व्यवस्थापन गर्ने सकस छ ।

यस्तोमा कतिपय एमाले नेताहरुले नै केही नेताहरुको व्यवस्थापनका लागि निश्चित पदमा सहमति जुटाएर अन्यमा प्रतिस्पर्धा गर्न सकिने अभिव्यक्ति दिइरहेका छन् ।

तर, ओलीले यी सवै पृष्ठभूमिलाई मध्यनजर गर्दै एमालेमा अहिले एउटै पक्ष मात्र रहेको दाबी गरे । भने ‘यो पक्ष, त्यो पक्षको व्यवस्थापन भन्ने छैन । चुनाव लडेर भोट ल्याउनुपर्छ, त्यही हो व्यवस्थापन । अहिलेको व्यवस्थापन भन्ने नै चुनाव लडेर भोट ल्याउनुपर्छ । जुन पदमा भोट ल्याएर जित्छ, त्यही हो व्यवस्थापन ।’

ओलीले पूर्वमाओवादी समूह र एमालेकै १० बुँदे पक्षधर नेताप्रति संकेत गर्दै उनीहरुले पनि भोट ल्याएर जित्नुपर्ने सन्देश दिएका छन् । । यसको पक्षबाट यतिजना भनेर सचिवालय, स्थायी कमिटी पनि नबन्ने उनले बताए । उनले भने, ‘हामी एउटा पक्षकारुपमा अन्तरघुलित भएर अघि बढ्छौं ।’  

४. चोलेन्द्रको राजीनामा क्यान्सरको रोगीलाई कुखुराको अण्डा : अध्यक्ष ओलीले सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाविरुद्ध भइरहेको नेपाल बार एसोसिएसनको आन्दोलनप्रति पनि कटाक्ष गर्न भ्याए । प्रधानन्यायाधीशको राजीनामाका लागि वकिलहरुले गरेको आन्दोलनलाई उनले क्यान्सरको रोगीलाई कुखुराको अण्डा मन्साएर पार्छु भनेजस्तै भएको टिप्पणी गरे ।​

यो पनि..

ओलीले भने, ‘अहिले सर्वोच्च अदालत प्राङ्गणमा जे भइरहेको छ त्यो दुखद् छ । उहाँहरुप्रति यत्रो प्रश्न उठिसकेपछि, सेटिङमा सहमत भएर फैसला गरेको देखिएपछि उहाँहरुले त राजीनामा गर्नुपर्ने हो । अनि लागेको क्यान्सर छ, कुखुराको अण्डा मन्साउने ? कुखुराको अण्डा मन्साएर क्यान्सर निको हुन्छ ?’

५. प्रचण्डलाई चुनौति– झापामा महाधिवेशन गर्नोस्: माओवादी अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्र रहेको चितवनमा एमालेले महाधिवेशन गरेर प्रचण्डलाई चुनौति दिएको भन्ने टिप्पणी भइरहेका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि सोहीरुपमा बुझ्दै आफूलाई र माओवादी सिध्याउन एमाले चितवन झरेको बताएका थिए । यही प्रशंगमा ओलीले प्रचण्डलाई झापामा माओवादी केन्द्रको महाधिवेशन गरेर देखाउन चुनौति दिए ।

‘चुनाव लड्यो भन्दैमा जिल्ला पुरै (आफ्नो) हुँदैन । उहाँ (प्रचण्ड) रोल्पाबाट लड्नुभयो रोल्पामा नगर्ने ? काठमाडौंबाट लड्नुभयो, काठमाडौंमा नगर्ने ? सिराहाबाट लड्नुभयो त्यहाँ नगर्ने ? झापामा आएर पार्टीको महाधिवेशन गर्नुहोस्, जिल्ला खाली छ’, ओलीको प्रचण्डलाई चुनौती छ ।

ठट्टाको शैलीमा ओलीले प्रचण्डले आफूलाई नभएर सीपी मैनालीलाई भनेको हुन सक्ने बताए । ‘हामीलाई होइन, सीपी मैनालीलाई भन्नुभएको होला’, ओलीको भनाइ छ । सीपी मैनालीको नेतृत्वमा हालै चितवनमा नेकपा मालेको महाधिवेशन भएको थियो ।

६. माधव नेपाललाई निम्तो नदिने कारण: एमाले अध्यक्ष ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई महाधिवेशनमा अतिथिका रुपमा नबोलाउनुको कारण पनि खुलाए । ‘माधव नेपालले नेतृत्व गरेको निष्कासित व्यक्तिहरूको गुटलाई पार्टी भनेर मान्न सक्ने स्थिति रहेन’, ओलीले भने ‘पार्टी नै होइन भने पार्टी भनेर निम्ता गर्ने स्थिति रहन्न । तर, व्यक्ति छानेर निमन्त्रणा गरेका छैनौं ।’

माधव नेपालको प्रशंगमा ओलीले आफ्नो सरकार ढाल्न र विपक्षीको सरकार बनाउने गतिविधिमा लागेको भन्दै त्यस्ताखालका गतिविधि लोकतन्त्रमा नसुहाउने टिप्पणी गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप