मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

महाधिवेशनको सम्मुखमा एमालेको ‘साइबर सर्कल’

केन्द्रदेखि पालिकासम्म विस्तारको तयारी
मङ्गलबार, ०७ मङ्सिर २०७८, १० : ३३
मङ्गलबार, ०७ मङ्सिर २०७८

नेकपा एमालेले पार्टीको दसौँ महाधिवेशनको सम्मुखमा ‘साइबर सर्कल’ घोषणा गर्ने भएको छ । यसअघि ‘साइबर सेना’ बनाएको एमालेले त्यसको नाम परिवर्तन गर्दै ‘साइबर सर्कल’ को घोषणा गर्न लागेको हो । नेकपा एमालेको भ्रातृ संगठन युवा संघको मातहत रहनेगरी मङ्सिर ८ गते एमाले अध्यक्ष केपी शर्मा ओलीले साइबर सर्कलको घोषणा गर्नेछन् ।

नेकपा एमालेका नेता महेश बस्नेतका अनुसार साइबर सर्कल केन्द्रदेखि पालिका तहसम्म नै विस्तार गर्ने तयारी छ । यसको प्रत्येक कमिटीमा ३५ जना सदस्य रहने बताइएको छ । ‘राष्ट्रिय युवासंघको मातहतमा रहेर केन्द्र, प्रदेश, जिल्ला, क्षेत्र र पालिका तहमा पनि साइबर सर्कल पुग्छ,’ बस्नेतको भनाइ छ । उनले साइबर सर्कलले एमालेविरुद्ध हुने भ्रम चिर्ने र युवाहरूलाई परिवर्तनसहित रूपान्तरणको बाटोमा लैजाने दाबी गरे ।

‘हामी विरुद्ध फैलाइने भ्रमहरूको खण्डन र भण्डाफोर गर्दै जनतालाई सही सूचना दिने तथा कतिपय कानुन र विधिको प्रक्रियामा ल्याउने कुरामा पनि साइबर सर्कललाई परिचालन गर्ने हाम्रो मानसिकता हो’, बस्नेतको दाबी छ ।

यसअघि साइबर सेनाका कारण एमालेको आलोचना समेत भएको थियो । एमालेभित्रका ओली समूहकै कतिपय नेताले साइबर सेनाका कारण पार्टी बदनाम भएको भन्दै असन्तुष्टि जनाएका थिए । के हो साइबर सर्कल र यसले के गर्छ त ? एमाले सांसद समेत रहेका बस्नेतसँगको छोटो कुराकानी :

एमाले महाधिवेशनको सम्मुखमा साइबर सर्कल घोषणा गर्न लाग्नुभएछ । के हो साइबर सर्कल र किन चाहियो ?

राष्ट्रिय युवा संघको सूचना प्रविधि र साइबर जगतमा काम गर्ने युवा पङ्क्तिलाई समेटेर उनीहरूको योगदानलाई मुलुकको परिवर्तन,रूपान्तरण र समृद्धि परिणत गर्नुपर्छ । साइबर र सूचना प्रविधिलाई कतिपयले गलत ढंगले व्यक्तिगत लाभ र अर्काको चरित्रहत्याको खेती गर्दै गएको अवस्थामा त्यसलाई शुद्धीकरण पनि गर्ने तथा राजनीतिक आकर्षणको हिसाबले आकर्षित भएका युवाहरूबाट सैद्धान्तिक, वैचारिक, राष्ट्रियताप्रति प्रतिबद्ध, प्रगतिशील, जनवादी र देशभक्तिको भावना समेत जगाउने गरी प्रगतिशील मुभमेन्टमा यो अभियानलाई लानुपर्छ भनेर युवासंघले पहिला साइबर सेना बनाउने भनेको थियो । सेना भन्ने शब्द राम्रो भएन । बुद्धिजीवीको सुझाव त्यही रह्यो र हामी लोकतान्त्रिक मूल्यमान्यता राख्ने दल समेत भएकाले यसले हिंसाको सङ्केत गर्ने भएकाले साइबर सेनाको ठाउँमा साइबर सर्कल नाम राख्नु उचित हुन्छ भनेर यो नाम तय गरेको हो । जसको घोषणा सभा मङ्सिर ८ गते अध्यक्ष केपी शर्मा ओलीबाट हुँदैछ ।

साइबर सर्कल साइबर सेनाको परिवर्तित नाममात्रै हो कि परिवर्तित स्वरूप पनि हो ?

साइबर सेनाले युवा संघमा सूचना प्रविधिको डिपार्टका रूपमा काम गरिरहेको थियो । पछिल्लो समय मिडिया, सोसल मिडिया र कतिपय नागरिक समाजसहित केही राजनीतिक पार्टीहरू हाम्रो पार्टी र हाम्रो नेतृत्वको सरकारविरुद्ध निसाना बनाएर लागेका थिए । कम्युनिस्ट आन्दोलनलाई विभाजित गर्न लागेको, हाम्रो पार्टी नै फोर्न लागेको, देशी विदेशी प्रतिक्रियावादीका साथै साम्राज्यवादी दलाल नोकरशाही पुँजीवादीको चङ्गुलमा हामीलाई पार्न खोजेको भन्ने अनुभूति भएपछि यो सोच बनाएका हौ ।  तर हिजो साइबर सेना भनेर असंगठित हिसाबले सुरु भयो । तर पछिल्लो समय यसलाई सम्बन्धित स्वरूप कसरी दिने त भन्दा युवासंघ भित्र प्रचार प्रसार र साइबर ब्युरो बनाएर अघि बढ्नु उपयुक्त हुन्छ भन्ने भयो । यही सुझाव र छलफलपछि सेनाभन्दा द्वन्द्वको अवशेष जस्तो देखिने भएकाले साइबर सर्कल राख्‍ने भनेर निर्णय गरेका हौँ ।

सारमा साइबर सेना भने पनि साइबर सर्कल भने पनि विपक्षीहरूमाथि आक्रमण, प्रहार वा प्रतिकार गर्ने समूह भनेर बुझ्दा गलत हुँदैन ?

आक्रमण शब्द त्यति राम्रो भएन । तर हामीमाथि हुने जस्तो की यही महाधिवेशनको सन्दर्भमा पनि कति करोडको रुमहरू बुकिङ हुँदैछ, यस्तो मेनु आउँदैछ भनेर हाम्रा विरोधीहरूले कपोलकल्पित प्रचार गरिरहेका छन् । त्यस्ता कुराहरूको खण्डन या भण्डाफोर गर्ने, जनतालाई सही सूचना दिने र कतिपय कानुन र विधिको प्रक्रियामा ल्याउने कुरामा पनि साइबर सर्कललाई परिचालन गर्ने भन्ने मानसिकता हो ।

मूलभूत रूपमा युवाहरूमा रहेका सृजनशीलता, राष्ट्रियता, जनवादजस्ता मुभमेन्टको युवा चेतनालाई विकास र विस्तार गर्दै मुलुकको विकास र समृद्धि लगाउने नै हो । सहायक विषयमा विपक्षीहरूले हामीमाथि गरेको आक्रमणमा प्रतिकार गर्ने पनि रहन्छ ।

साइबर सर्कल बनेपछि पार्टी विभाजन रोकिने वा देशी विदेशी प्रतिक्रियावादीको हमला रोकिने के ग्यारेन्टी छ ?

हाम्रा विरुद्ध चौतर्फी हमला हुने र हामीले कुनै सञ्चारमाध्यम पनि सञ्चालन गर्न नसक्ने अनि सोसल मिडियामा पढेलेखेका ठुलो पङ्क्तिलाई सूचना प्रविधि र साइबरको माध्यमबाट सही ढंगले उपयोग गर्ने हो भने हाम्राविरुद्धका भ्रम र हामीमाथि हुने साइबर आक्रमण हुँदैन यदि भयो भने त्यस्ता समस्यालाई न्यूनीकरण गर्न भूमिका खेल्छ भन्ने मेरो बुझाइ हो ।

अहिले मानिसको चेतनास्तर परिवर्तित भूमिकामा पुगेको छ । यस्तो बेलामा एउटा पार्टीले वैचारिक मोटिभेसनलाई जोड दिनुपर्नेमा यस्तो बाटोबाट जाँदा सही सन्देश दिँदैन कि भन्ने लाग्दैन ?

होइन, यसले लेख रचनाको माध्यम, संगीतको माध्यम, साहित्य, नाटक वा अन्य माध्यमबाट जनतालाई सुसूचित गर्ने हो । यसले अधिकतम यस्ता विषयहरूलाई समेटेर समाजलाई सकारात्मक दिशामा लैजाने र परिवर्तनलाई सर्पोट गर्ने नै हो । त्यसपछि हामीमाथि हुने आक्रमण र झुटो प्रचारको खण्डन गर्ने भएकाले यो ठिक ढंगले नै अघि बढ्छ भन्ने हाम्रो बुझाइ हो । हाम्रो विधान महाधिवेशनले पार्टीले तय गरेका विचार सिद्धान्तहरूलाई प्रस्फुटन गर्ला, हिजो केपी ओलीले गरेका राम्रा कामलाई निरन्तरता दिन दबाब दिनसक्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप