शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रावललाई अध्यक्षमा दिएको उम्मेदवारी फिर्ता गर्न बस्नेतको आग्रह

मङ्गलबार, ०७ मङ्सिर २०७८, १४ : १०
मङ्गलबार, ०७ मङ्सिर २०७८

नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीका उपाध्यक्ष भीम रावललाई अध्यक्षमा दिएको उम्मेदवारी फिर्ता गर्न पनि आग्रह गरेका छन् । रावलले अध्यक्षमा उम्मेदवारी दिएर राम्रो सन्देश नगएको उल्लेख गर्दै फिर्ता लिएर विगतमा खेल्दै आएको भूमिकालाई निरन्तरता दिन उपयुक्त हुने सुझाव उनले दिएका हुन् ।

नेता बस्नेतले भने, ‘कमरेड भीम रावलले दुई कारणले उहाँले उम्मेदवारी दिएको हुन सक्छ । एउटा, अध्यक्षको दाबी गर्दै पार्टीका अन्य भूमिकाहरू, अन्य पदहरूमा आफूलाई स्थापित गराउन उहाँले चाहेको पनि हुन सक्छ । दोस्रो, अध्यक्षमा उम्मेदवारी दिने हारजित जे हुन्छ, त्यो कुरालाई सहर्ष स्वीकार गरेर कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाऔँ भन्ने ढङ्गले उहाँले उम्मेदवारी दिएको हुन सक्छ । किनभने जित्ने उहाँको कुनै पनि सम्भावना देखिँदैन । अब चुनावमा यो दुवै प्रक्रियामा जाँदाखेरी मलाई लाग्छ–उहाँले अध्यक्षमा दाबी गरेर एउटा राम्रो सन्देश गएन कि भन्ने मलाई लाग्छ । र मेरो उहाँलाई सुझाव के छ भने त्यो उम्मेदवारी फिर्ता गरेर पार्टी भित्र महत्त्वपूर्ण भूमिका, उहाँले विगतदेखि जुन खेल्दै आउनु भएको छ, त्यसलाई निरन्तरता दिने हिसाबले नै आफूलाई स्थापित गरेर जाने कुरा नै सबभन्दा राम्रो हुन्छ । त्यसो नगरी उहाँ चुनाव जाने र उहाँ निराश हुने, जसरी उहाँका पछिल्ला अभिव्यक्ति अलि उत्तेजक खालको अलि निराशाजनक खालको, अलिकति अराजक खालको देखिन खोज्दैछ र उहाँ एउटा राष्ट्रवादी, बौद्धिक र एउटा विद्यावारिधि गरेको छवि बनेको व्यक्तिलाई फरक ढङ्गले हेर्ने दृष्टिकोण पनि बन्दैछ । यसो हुन नदिने गरी उहाँले उम्मेदवारी फिर्ता लिएर जाँदा राम्रो हुन्छ ।’

नेता बस्नेतले महाधिवेशनमा पूर्व माओवादी पृष्ठभूमिबाट आएका नेताहरू र देश बुँदे सहमतिको अवधारणा बोकेर आएका नेताहरूलाई सम्मानजनक ढङ्गले व्यवस्थापन गर्न लागिपर्ने बताए । बस्नेतले पार्टीको दसौँ महाधिवेशनमा सचिवमा उम्मेदवारी दिने घोषणा गरेका छन् । पूर्व मन्त्री समेत रहेका बस्नेतले पार्टीको सचिवमा उम्मेदवारी घोषणा गर्दै पपुलर मत ल्याएर जित्ने दाबी समेत गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप