शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : सत्तारुढ गठबन्धनमा घाँडो बन्दै एमसीसी, मोदीको पुत्ला जलाएको घटनाप्रति गृहको आपत्ति

एमालेमा १० बुँदे कार्यान्वयनमा समस्या
आइतबार, २० भदौ २०७८, २० : ४४
आइतबार, २० भदौ २०७८

आज २०७८ भदौ २० गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डट कमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’ मा प्रस्तुत गरेका छौं–
आजका मुख्य समाचारहरुमा सत्तारुढ गठबन्धनमा घाँडो बन्दै एमसीसी, अझै टुङ्गिएन २१ जिल्लामा काँग्रेसको क्रियाशील सदस्यताको नामावली, नेकपा एकीकृत समाजवादीले तोक्यो प्रदेश इन्चार्ज, अल्पमतका बाबजुद बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यले राजीनामा नदिने, सुदूरपश्चिम प्रदेशसभामा एमालेभन्दा ठुलो बन्यो नेकपा एकीकृत समाजवादी, एमालेमा १० बुँदे कार्यान्वयनमा समस्या, मोदीको पुत्ला जलाएको घटनाप्रति गृह मन्त्रालयको आपत्ति, नेप्सेमा १०८ अंकको गिरावट लगायत छन् । 

१. सत्तारुढ गठबन्धनमा घाँडो बन्दै एमसीसी
विभिन्न वैचारिक धारका दलहरु मिलेर बनेको सरकारका लागि मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) घाँडो बन्ने संकेत देखिएको छ । केपी शर्मा ओली नेतृत्वको सरकारलाई विस्थापित गर्न एक मत भएका दलहरु अहिले एमसीसीका बारेमा भने त्यसरी एक मत हुन सकिरहेका छैनन् । सरकारको नेतृत्व गरिरहेको नेपाली काँग्रेस एमसीसीलाई अघि बढाउन चाहेको देखिन्छ भने सत्ता साझेदार अन्य दलहरु एमसीसीका केही प्रावधान परिमार्जन गर्नुपर्ने पक्षमा छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले एमसीसीलाई सरकारले के गर्छ भनेर प्रश्न गर्न थालिरहेको छ । यद्यपि एमालेभित्रै भीम रावल लगायतका नेताहरु एमसीसी पारित गर्न नहुने पक्षमा छन् ।


२. अझै टुङ्गिएन २१ जिल्लामा काँग्रेसको क्रियाशील सदस्यताको नामावली
नेपाली काँग्रेसले २१ जिल्लामा क्रियाशील सदस्यताको नामावली अझै टुङ्ग्याउन सकेको छैन । १४ औं महाधिवेशनमा नेतृत्वको दाबी गर्ने प्रमुख नेताहरुकै गृह जिल्लामा क्रियाशील सदस्यता विवाद टुङ्गिन नसकेको हो । 

 

३. नेकपा एकीकृत समाजवादीले तोक्यो प्रदेश इन्चार्ज

नेकपा एमाले विभाजन भएर माधवकुमार नेपालको नेतृत्वमा गठन भएको नेकपा एकीकृत समाजवादीले नेताहरुको जिम्मेवारी तोक्नुका साथै सचिवालय गठन समेत गरेको छ । नवगठित सचिवालयको बैठकले कार्यविभाजनबारे समीक्षा गर्नुका साथै पार्टीले तत्काल गर्नुपर्ने कामका बारेमा छलफल गरेको छ ।  

४. अल्पमतका बाबजुद बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यले राजीनामा नदिने
एमाले विभाजनपछि बागमती प्रदेश सरकार अल्पमतमा परे पनि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले तत्काल राजीनामा नदिने भएकी छन् । उनी आफ्नो नेतृत्वको प्रदेश सरकारलाई टिकाउन आवश्यक रणनीति बनाउन जुटेकी छन् । 

५. सुदूरपश्चिम प्रदेशसभामा एमालेभन्दा ठुलो बन्यो नेकपा एकीकृत समाजवादी
सुदूरपश्चिम प्रदेशसभामा नेकपा एमालेको तुलनामा नेकपा एकीकृत समाजवादीको आकार ठुलो भएको छ । आइतबार थप तीन सांसदले नेकपा एकीकृत समाजवादी रोजेका हुन् । योसँगै प्रदेशसभामा एकीकृत समाजवादीको पक्षमा १३ सांसद पुगेका छन् । प्रदेशसभामा एमालेका २५ सांसद रहेकोमा १३ नेकपा एकीकृत समाजवादीमा सामेल भएका छन् भने एमालेमा १२ सांसद छन् । यसैबीच प्रदेश २ प्रदेशसभाका थप दुई सांसद एमाले छाडेर नेकपा एकीकृत समाजवादीमा सामेल भएका छन् । प्रदेश २ मा कुल १२ सांसदले एमाले छाडेर एकीकृत समाजवादी रोजेका हुन् ।


६. एमालेमा १० बुँदे कार्यान्वयनमा समस्या
नेकपा एमालेभित्र १० बुँदे सहमति कार्यान्वयनमा समस्या देखिएको छ । तेस्रो धारका नेताहरु १० बुँदे कार्यान्वयनको शर्तमा एमालेमै रहे पनि पछिल्लो समय उक्त सहमति कार्यान्वयनमा समस्या देखिएको हो ।

७. मोदीको पुत्ला जलाएको घटनाप्रति गृह मन्त्रालयको आपत्ति
गृह मन्त्रालयले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएको भन्दै गम्भीर आपत्ति जनाएको छ । मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा छिमेकी प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी नाराबाजी गर्ने, जुलुस प्रदर्शन गर्ने र पुत्ला दहन गर्ने गतिविधिप्रति गम्भीर आपत्ति प्रकट गरिएको छ ।

८. नेप्सेमा १०८ अंकको गिरावट
साताको पहिलो दिन आइतबार नेप्सेमा १०८ अंकको गिरावट आएको छ । खासगरी नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा १२ करोडको सीमा तोकेपछि कारोबार घट्न सुरु भएको थियो । लगानीकर्ताहरुले भने राष्ट्र बैंकले कर्जा सीमा तोकेपछि बजार प्रभावित भएको भन्दै राष्ट्र बैंक घेराउ गर्ने चेतावनी दिएका छन् ।

९. नेपाल–भारत मैत्रीपूर्ण फुटबलमा भारत विजयी
नेपाल र भारतबीच भएको मैत्रीपूर्ण फुटबलमा भारत विजयी भएको छ । भारतले नेपाललाई २–१ गोल अन्तरले पराजित गरेको हो । 

१०. एक हजार ८९ संक्रमित थपिए
नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट थप एक हजार ८९ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा कोरोना संक्रमणबाट २० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा देशभर एक हजार ५३४ जना संक्रमणमुक्त भएका छन् ।

११. र यो पनि,
ललितपुरको नख्खु कारागारमा कैदीबन्दीले जेलभित्रको पसलमा महँगी अत्यधिक बढेको, सेवा सुविधा पारदर्शी नभएको लगायतका विषयलाई लिएर नाराबाजी गरेका छन् । कैदीबन्दीले जेलभित्र ताला लगाएर आन्दोलन गरेका हुन् ।

गण्डकी प्रदेशमा मनसुनी वर्षा सुरु भएसँगै विभिन्न ठाउँमा बाढीपहिरोले वितण्डा मच्चाएको छ । प्रदेशमा यो वर्षको मनसुनी गतिविधिपछि बाढी पहिरोबाट ३३ जनाले ज्यान गुमाएका छन् भने अर्बौंको भौतिक संरचनामा क्षति भएको छ ।

आइतबारदेखि सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा सञ्चालन भएको छ । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका क्रममा स्थानीय प्रशासनले जारी गरेको लकडाउनका कारण लामो समय बन्द भएको परीक्षा आइतबारबाट सुरु भएको हो ।

महालक्ष्मी विकास बैंकले ऋणीको सुन फिर्ता गरेको छ । यसअघि बैंकले ऋणीले सम्पूर्ण रकम चुक्ता गरिसक्दा पनि धितोको रुपमा राखेको सुन नक्कली भएको भन्दै फिर्ता दिन आनाकानी गरेको थियो ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप