शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : ‘एक्सन’मा उत्रिए देउवा, कुलमानको कम्ब्याकको तयारी

मङ्गलबार, १९ साउन २०७८, २० : ४३
मङ्गलबार, १९ साउन २०७८

आज २०७८ साउन १९ गते मंगलबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–

आजका मुख्य समाचारहरुमा प्रधानमन्त्री देउवा ‘एक्सन’मा : कुलमानलाई प्राधिकरणमा ल्याउन निर्देशन, लुम्बिनीका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता, अन्तर्राष्ट्रिय क्रिकेटबाट पारस खड्काको सन्यास, काठमाडौं उपत्यकामा निषेधाज्ञा लम्बियो, प्रतिनिधिसभामा सत्ता पक्ष र प्रतिपक्षबीच घोचपेच, मन्त्रिपरिषदको निर्णय : भूमि सम्बन्धी आयोग खारेज, नेपालमै खोप उत्पादन गर्न चाहने कम्पनीलाई अनुमति दिइने लगायत छन् ।

१. ‘एक्सन’मा देउवा : कुलमानलाई प्राधिकरणमा ल्याउन निर्देशन, रेल विभागका महाप्रबन्धकसँग स्पष्टीकरण माग

प्रधानमन्त्री शेरबहादुर देउवा एक्सनमा उत्रिएका छन् । उनले विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई ल्याउन ऊर्जामन्त्री पम्फा भुसाललाई निर्देशन दिएका छन् । घिसिङकै नेतृत्वमा नेपाल लोडसेडिङ मुक्त भएको थियो । तर पूर्ववर्ती सरकारले उनको कार्यकाल बढाउन प्रकट भएको जनदबाबलाई अस्वीकार गरेको थियो । यसैगरी प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको मन्त्रिपरिषद बैठकले विभिन्न ८ वटा निर्णयहरु गरेको छ । ओली सरकारका पालामा गठन भएको भूमि आयोग विघटन गर्ने सरकारले निर्णय गरेको छ । साथै केपी ओलीको पक्षमा वकालत गर्दै आएका नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईलाई सरकारले स्पष्टीकरण सोध्ने भएको छ ।  

 

२. विपक्षी गठबन्धनको घेराबन्दीमा लुम्बिनी सरकार, अविश्वास प्रस्ताव दर्ता

लुम्बिनी प्रदेश सरकारलाई विपक्षी गठबन्धनले घेराबन्दीमा पारेका छन् । प्रदेश प्रमुख परिवर्तन भएलगत्तै सरकारलाई विस्थापित गर्ने पहल तीव्र तुल्याएका काँग्रेस, माओवादी केन्द्र, जसपा, राष्ट्रिय जनमोर्चा लगायतका दलले मंगलबार मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका छन् । प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गरेलगत्तै विपक्षी गठबन्धनका नेताहरु प्रदेश प्रमुखको कार्यालयमा पुगेर प्रदेशसभाको विशेष अधिवेशनको माग गर्दै समावेदन दिएका छन् । उनीहरुले सरकार प्रदेशसभामा अल्पमतमा रहेको दाबी गर्दै आएका छन् ।

३. अन्तर्राष्ट्रिय क्रिकेटबाट पारसको सन्यास, क्यान भन्छ– अप्रत्यासित निर्णय

नेपाली  राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । उनले मंगलबार सामाजिक सञ्जालमार्फत आफ्नो निर्णय सार्वजनिक गरेका हुन् । नेपाल क्रिकेट संघले भने पारसको निर्णय अप्रत्यासित भन्दै यसबारे छलफल भइरहेको जनाएको छ ।​


४. काठमाडौं उपत्यकामा निषेधाज्ञा लम्बियो, भिडभाडजन्य गतिविधि नगर्न प्रशासनको चेतावनी

काठमाडौं उपत्यकामा निषेधाज्ञा लम्बिएको छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले साउन २७ सम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । खुला स्थानमा मानिसहरु भेला हुन, भिडभाड गर्न, सभा तथा जुलुस गर्न तथा भोजभतेर गर्न पनि रोक लगाइएको छ ।

५. वीर अस्पतालबाट डा. जागेश्वरको सरुवा अन्ततः सदर

सरकारले कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) का प्रमुख प्रशासकीय अधिकृत डा. जागेश्वर गौतमको सरुवालाई अन्ततः सदर गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले गौतमसहित उच्च अधिकारीको सरुवा ‘होल्ड’ गरेको भनिए पनि अन्ततः मंगलबार उनको सरुवा सदर गरिएको हो । उनलाई थापाथलीस्थित प्रसूति गृहको जिम्मेवारी दिइएको छ । गौतमको स्थानमा डा. भुपेन्द्र बस्नेतलाई जिम्मेवारी दिइएको छ ।

६. प्रतिनिधिसभामा सत्ता पक्ष र प्रतिपक्षबीच घोचपेच

प्रतिनिधिसभाको बैठकमा सत्ता पक्ष र प्रतिपक्षका सांसदहरुबीच विभिन्न विषयमा घोचपेच भएको छ । मंगलबारको बैठकमा सत्ता पक्षका सांसदले अघिल्लो सरकारको कार्यकालका दृष्टान्त दिँदै एमालेप्रति र एमालेका सांसदहरुले सत्तापक्षप्रति दार्चुला घटना, महाकाली नदीमा झोलुङ्गे पुल निर्माण लगायतका विषयमा आरोप–प्रत्यारोप गरेका हुन् । एमालेकै सांसद रामकुमारी झाँक्रीले पूर्ववर्ती सरकारका जनविरोधी निर्णयलाई देउवा सरकारले खारेज गर्नुपर्ने बताइन् भने काँग्रेस सांसद दिलेन्द्र बडुले महाकालीमा ४ वटा पुलको ठेक्का एमाले कार्यकर्ताले लिएका कारण अझै अलपत्र रहेको बताए । सांसद योगेश भट्टराईले भने कोरोनाविरुद्धको खोपमा सरकारले चासो नदेखाएको आरोप लगाए । बैठकमा गृहमन्त्रीले दार्चुला घटनाबारे जानकारी गराएका थिए ।


७. मन्त्रिपरिषद्का निर्णय : भूमि सम्बन्धी आयोग खारेज, खोप उत्पादन गर्न चाहने कम्पनीलाई अनुमति प्रदान गर्ने

सरकारले भूमि सम्बन्धी आयोग खारेज गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले आयोग खारेज गर्ने निर्णय गरेको हो । यसैबीच सरकारले नेपालमा खोप उत्पादन गर्न चाहने कम्पनीलाई अनुमति प्रदान गर्ने निर्णयसमेत गरेको छ ।

८. माधव नेपाल पक्षका केन्द्रीय सदस्यहरुको बैठक बोलाइयो

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू पक्षीय केन्द्रीय सदस्यहरुको बैठक बुधबार ११ बजे बस्ने गरी बोलाएका छन् । विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बोलाएको बताइएको छ ।

९. नेप्से परिसूचक हालसम्मकै उच्च बिन्दुमा

मंगलबार नेपाली सेयर बजार हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २६.०२ अंकले बढेर ३ हजार १११.०९ बिन्दुमा पुगेको हो ।

१०. कोरोना संक्रमित बढेसँगै अस्पतालका शैय्या भरिँदै, मंगलबार तीन हजार ३८३ संक्रमित थपिए

केही दिन यता कोरोना संक्रमितको संख्या बढेसँगै काठमाडौं उपत्यकाका अस्पतालहरुमा शैय्या भरिन थालेका छन् । नेपालमा पछिल्लो २४ घण्टामा तीन हजार ३८३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यो अवधिमा कोरोना संक्रमणबाट २४ जनाको मृत्यु भएको छ भने एक हजार ९९४ जना संक्रमणमुक्त भएका छन् ।

 

११. र यो पनि,

प्रधानसेनापति पूर्णचन्द्र थापा र नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीबीच शिष्टाचार भेटवार्ता भएको छ ।

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले काँग्रेसको क्रियाशील सदस्यता विवाद भएका ठाउँमा १३ औं महाधिवेशनको क्रियाशील सदस्यतालाई मान्ने गरी १४ औं महाधिवेशनको प्रक्रिया थाल्न प्रस्ताव गरेको छ ।


स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले पर्यटन क्षेत्रका श्रमिक तथा व्यवसायीलाई यथाशक्य खोप उपलब्ध गराउने बताएका छन् ।


नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुले तोकिएभन्दा पनि बढी संस्थागत सामाजिक उत्तरदायित्व शीर्षकमा खर्च गरेको बताएको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप