बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

भारतको ‘कम्फर्टेबल’ भएको आरोप लगाउँदै सरकारमाथि खनिए एमाले सांसद

सत्तारुढ दलका सांसदले पनि गराए समसामयिक विषयमा ध्यानाकर्षण
मङ्गलबार, १९ साउन २०७८, १६ : ०४
मङ्गलबार, १९ साउन २०७८

प्रतिनिधि सभाको मंगलबारको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरु दार्चुला घटना र खोपको विषयलाई लिएर सरकारमाथि खनिएका छन् । 

प्रतिनिधि सभाको शुन्य समयमा बोलेका प्रमुख प्रतिपक्षका सांसदहरुले दार्चुला घटनामा सरकार मौन बसेको आरोप लगाएका हुन् । उनीहरुले भारतका विरुद्ध सरकार बोल्न नसकेको र कम्फर्टेवल भएको भन्दै निन्दा गरे ।

 प्रतिनिधि सभाको बैठक सुरु हुनुअघि आफु बसेको स्थानबाट उठेर सरकारको ध्यानाकर्षण गराएका नेकपा एमालेका सांसदहरुले शुन्य समयको भरपूर उपयोग गरे ।  सरकारले छानविन समितिको निष्कर्ष आउनुअघि धारणा सार्वजनिक गर्न उचित नहुने बताइरहेका बेला विपक्षी सांसदले भारतीय राजदूतलाई बोलाएर स्पष्टीकरण लिनुपर्ने आवाज समेत उठाए । त्यसैगरी सत्तारुढ दलका सांसदहरुले पनि समसामयिक विषयमा आफ्नो धारणा राखेका छन् ।

सांसद विमला नेपालीले ३ वर्ष अगाडि नै प्रधानमन्त्री केपी शर्मा ओलीले तुइन विस्थापित गर्ने घोषणा गरेको भएपनि हालसम्म विस्थापित हुन नसकेको भन्दै नेताहरुले सक्ने काम बारे मात्रै बोल्न सुझाइन् । उनले नेताले जनतालाई झुक्याउनुनहुनेमा सचेत गराइन् । उनले भनिन्, ‘केपी शर्मा ओलीले पहिलो निर्णय नै एक वर्षभित्रमा देशैभरीका तुइन विस्थापित गर्छु भन्ने प्रतिवद्धता गर्नुभएको कुरा आज सम्झना आयो । उहाँ ३ वर्ष प्रधानमन्त्री हुनुभयो तर काम भएन । आज हामीले यो दुखद् घटना सम्झनुपर्दा उहाँको बोलीको ठेगान थिएन भन्नेकुरा प्रमाणित भएको छ । तसर्थ हामी नेतृत्वमा बस्ने व्यक्तिहरुले सक्ने काम मात्रै गरौँ । नसक्ने काम नबोलौँ । र जनतालाई नझुक्काउ भन्नेकुरा राख्न चाहान्छु ।’
यसैगरी सांसद भुमि प्रसाद त्रिपाठीले दार्चुला घटनाको सत्यतथ्य सार्वजनिक गरी दोषीलाई कारबाही र पीडित परिवारलाई क्षतिपूर्तिको माग गरे । उनले वर्तमान सरकार भारतको कम्फर्टेबल भएको आरोप लगाउँदै भारतीय दादागिरीका सामु निरिह भएको टिप्पणी गरे । 
उनले भने, ‘सत्यतथ्य अविलम्ब सार्वजनिक गर्न, दोषीलाई कारबाहीको दायरामा ल्याउन र पीडित परिवारलाई उचित क्षतिपुर्ति दिलाउन सरकारको गम्भिर ध्यानाकर्षण गराउँदछु । वर्तमान सरकार भारतीय दादागिरिका सामु निरिह साबित भएको छ । यो सरकार नेपाली नागरिकका लागि होईन । अरु कसैको लागि कम्र्फटेवल भएको चर्चा सर्वत्र सुन्न पाइन्छ । हेक्का रहोस् गोरु सधैँ व्याउँदैन । लोकतन्त्रमा जनता नै भगवान हुन् ।’

अर्का सांसद महेश बस्नेतले कांग्रेस नेतृत्वको सरकारले स्वास्थ्य माफियालाई संरक्षण गरेको आरोप लगाए ।  त्यस्तै सरकारले खोपको दुरुपयोग गरेको प्रति कवितात्मक शैलीमा खरो टिप्पणी गरे । उनले वर्तमान सरकार चल्ने जस्तो नदेखिएको पनि बताए । उनले भने, ‘एसएसबिले तुइन काटे, जयसिंह धामी महाकालीमा डुबे । सरकार भन्छ मौन बस, समाचार नबनाउ । प्रधानमन्त्री भन्नुहुन्छ खोप, खोप, खोप । कांग्रेसको मेयरको घरमा खोप । उपसभापतिको घरमा खोप । होटलमा सत्ता पक्षको कार्यकर्तालाई खोपै खोप, जनता दिनभरी लाइनमा खोप न सोप । बिचरा सरकार व्यापारी मन्त्री बनाउँछ । दक्ष सचिव फेर्छ । बिर हस्पिटलको एमडी फेर्छ । स्वास्थ्य माफियालाई संरक्षण गर्छ । देशभर बाढी पीडित जनता राहत पाइनँ भनेर कराउँदछन् । कांग्रेसका विपक्षीहरु मन्त्री नपाए सरकारमा जान्न भन्दैछन् । कांग्रेसका वडा अध्यक्षहरु नगरपालिकाको कार्यालय फोड्दै छन् । माओवादी, जसपा भन्दैछ मन्त्री संख्या नबढाए सांसदले आत्महत्या गर्ने भए । दिमागमा आतंक ल्याए, भुकम्प ल्याए । परमादेशबाट बनेको सरकार तिन हप्ता भएछ मन्त्रीमण्डल गठन भएन, न्यूनतम साझा कार्यक्रम आएन । प्रधानमन्त्री अब बेरोजगार भएका त्रिपाठीहरुलाई अदालत पठाउनुस् । फलानो पार्टीका फलानो मन्त्रीलाई मन्त्री बनाइँपाउँ भनेर परमादेश जारी गराउनुस् । नत्र जनादेश विनको सरकार चल्ला जस्तो देखिएन । अब जनता भन्दैछन्, केपी बा आइ लभ यू ।’

सांसद महेश्वरजंग गहतराज अथक ले दार्चुला घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई कारबाही गर्न कुटनीतिक र राजनीतिक तहबाट छलफल अगाडी बढाउनुपर्ने बताए । उनले, ‘यसको बारेमा सरकारले छिटोभन्दा छिटो सत्यतथ्य छानविन गरेर यसलाई सार्वजनिक गर्नुपर्छ । र भारत सरकारसँग कुटनीतिक र राजनीतिक तहमा समेत छलफल गरेर यस घटनाको बारेमा गम्भिर ढंगले हामीले पहल कदमी गर्नुपर्छ ।’

सांसद मेटमणि चौधरीले भने अब प्रतिनिधि सभा पुरा अवधि चल्नुपर्ने बताए ।  संविधानको पालना गरी सोही अनुरुप सरकार सञ्चालन गर्न उनले सरकारको ध्यानाकर्षण गराए । सत्तामा बस्नेहरुलाई घमण्ड नदेखाउन पनि उनले सचेत गराए । 
अर्का सांसद योगेश भट्टराईले कोरोना रोकथाम र नियन्त्रणमा सरकारलाई समयको छुट नभएको बताए ।  स्वास्थ्यमन्त्री र प्रधानमन्त्रीले घोषणा गरे अनुरुप खोप उपलब्धता हुनेमा शंका व्यक्त गर्दै उहाँले प्रतिवद्धता अनुरुप काम गर्ने समय सुरु भएको सुझाए । उनले भने, ‘असोज महिनाभित्र सबै खोप लगाउछु भन्ने स्वास्थ्यमन्त्रीको घोषणा, खोप, खोप, खोप भन्ने प्रधानमन्त्रीको घोषणा लागु हुने देखिदैन । सम्माननीय प्रधानमन्त्रीजी कोरोनाको रोकथाम र नियन्त्रणको निम्ति तपाईलाई समयको छुट छैन । शंकाको लाभ छैन । र तपाइको समय अब सुरु भएको छ । हेक्का रहोस् ।’

सांसद रामकुमारी झाँक्रीले वर्तमान सरकारले विगतको सरकारले गरेको जनविरोधी कामहरुलाई खारेजी गर्नुपर्ने बताइन् । उनले भनिन्, ‘ सरकारले संविधानलाई ट्रयाकमा राख्न र लोकतन्त्रलाई सही बाटोमा हिडाउने मात्रै दायित्व बोकेको छैन, पूर्ववर्ति सरकारले गरेका जनविरोधी कामहरुलाई खारेज गर्ने जिम्मेवारी पनि बोक्नुपर्छ । यसको एउटा राम्रो उदाहरण हो, झापाको गिरिबन्धु टि स्टेट गार्डेनको हदबन्दीभन्दा बढी जग्गा विक्रि गर्ने अघिल्लो सरकारको क्याविनेटको निर्णयलाई तत्काल खारेज गर्नुपर्छ भनेर झापाबाट एउटा प्रतिनिधि मण्डलपनि आएको छ । यसतर्फ सरकारको म ध्यानाकर्षण गराउन चाहान्छु ।

सांसद झाँक्रीले वर्तमान सरकारको संविधानलाई ट्रयाकमा राख्ने र लोकतन्त्रलाई सही बाटोमा हिडाउने दायित्व रहेको पनि बताइन् । 
सांसद भरतकुमार साहले राज्य व्यवस्था समितिबाट पास भएर संसदमा आएको नागरिकता सम्बन्धी विधेयकलाई संसदबाट छिट्टै पास गराउनुपर्नेमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । उहाँले सवारी साधनको लाइसेन्स परिक्षा नखुलेको भन्दै त्यसलाई पनि खुलाउनुपर्नेमा जोड दिनुभएको छ । उहाँले भन्नुभयो – ‘राज्य व्यवस्था समितिले नागरिकता सम्बन्धी विधेयक यस संसदमा पेश गरिसकेको छ । जन्मसिद्धका छोराहरुको नागरिकता नभएर धेरै समस्या छ । इन्जीनियर पास। बिए पास, एमए पास छन् । घुमिरहेका छन् । नोकरी पाएका छैनन् । बेरोजगार छन् । बिदेश जाने पासपोर्ट पनि बनाउन सकेका छैनन् । त्यसकारण म सरकारसँग माग गर्न चाहान्छु, त्यो विधेयकलाई संसदमा छलफल गरेर चाडैँ टुंग्याइयोस् । पास गरियोस् भन्ने कुराहरु म निवेदन गर्न चाहान्छु । अर्को कुरा गाडी, मोटरसाइकलहरुको लाइसेन्सको धेरै दिनबाट खुलेको छैन । यसलाई चाडै खुलाइयोस् ।’

यसैगरी सांसद मिनबहादुर विश्वकर्माले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनियमितता र भ्रष्टाचार भएको भन्दै त्यसको छानविन गर्न माग गरे ।  त्यहाँ आन्दोलनरत चिकित्सक, कर्मचारी र विद्यार्थीहरुको मागलाई सम्बोधन गरिनुपर्ने उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप