बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : विपक्षीसँगै सत्तापक्ष पनि सडकमा, गण्डकीमा मन्त्रीलाई जिम्मेवारी (भिडियो)

आइतबार, २७ असार २०७८, २० : ४०
आइतबार, २७ असार २०७८

आज २०७८ असार २७ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकानील ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–

आजका मुख्य समाचारहरुमा कोपा अमेरिका कपको उपाधि अर्जेन्टिनालाई, युरो कपमा कसले मार्ला बाजी, नेकपा माओवादी केन्द्रको दल दर्ता खारेजीको निवेदन निर्वाचन आयोगद्वारा खारेज, सरकारको समर्थनमा प्रदर्शन, पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध थप आन्दोलन घोषणा लगायतका छन् ।

१. कोपा अमेरिका कपको उपाधि अर्जेन्टिनालाई, युरो कपमा कसले मार्ला बाजी ?

कोपा अमेरिका कप फुटबलको उपाधि अर्जेन्टिनाले हात पारेको छ । ब्राजिललाई पराजित गर्दै अर्जेन्टिनाले उपाधि हासिल गरेको हो । अर्जेन्टिनाले २८ वर्षपछि यो उपाधि हात पारेको हो । फुटबलतर्फकै अर्को प्रतिष्ठित प्रतियोजिता युरो कपको उपाधिका लागि भने इंग्ल्याण्ड र इटाली आज नेपाली समयानुसार मध्यरातमा भिड्दै छन् । दुवै टिम अपराजित रहँदै फाइनलसम्म पुगेका हुन् ।

 २. नेकपा माओवादी केन्द्रको वैधानिकतामाथि प्रश्न उठाइएको निवेदन निर्वाचन आयोगद्वारा खारेज

निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रको वैधानिकतामाथि प्रश्न उठाउँदै दर्ता भएको निवेदनलाई आइतबार खारेज गरेको छ । आयोगको आइतबार बसेको बैठकले विभिन्न पाँच कारणसहित उक्त निवेदन खारेज गरेको हो । अधिवक्ता सरोज बुढाथोकीले गत बुधबार आयोगमा माओवादी केन्द्र अवैधानिक रहेको दावीका साथ दल दर्ता खारेजीको माग गर्दै निवेदन दिएका थिए ।

३. पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध आन्दोलन सशक्त बनाउँदै विद्यार्थी संगठनहरु, निगमले बोलायो वार्तामा

पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध आन्दोलन गर्दै आएका विद्यार्थीहरुले राजधानीमा शङ्ख जुलुस निकालेका छन् । आइतबार शङ्ख जुलुस निकालेका उनीहरुले थप आन्दोलनका कार्यक्रमसमेत सार्वजनिक गरेका छन् । यसैबीच नेपाल आयल निगमले आन्दोलित पाँच विद्यार्थी संगठनलाई वार्ताका लागि आह्वान गरेको छ ।

४. नेकपा एमालेको स्थायी समिति बैठक स्थगित

सत्तारुढ नेकपा एमालेको आइतबार बस्ने भनिएको स्थायी समिति बैठक सोमबारसम्मका लागि स्थगित गरिएको छ । कार्यदलको बैठक नटुङ्गिएको कारण जनाउँदै बैठक स्थगित गरिएको हो । एमालेकै खनाल–नेपाल पक्षले भने स्थायी समितिको बैठकबारे अनभिज्ञता प्रकट गरेको छ ।

५. विपक्षी गठबन्धनको विरोध र सरकारको समर्थनमा प्रदर्शन

नेपाल खेलकुद महासंघ (नेकोस) ले विपक्षी गठबन्धनको विरोध र सरकारको समर्थनमा सडक प्रदर्शन गरेको छ । आइतबार राजधानीमा प्रदर्शनकारीहरुले प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको तस्वीरसहित ‘स्वतन्त्र न्यायालयको सम्मान गरौं, संविधानको कार्यान्वयन गरौं, संवैधानिक सर्वोच्चता कायम गरौं, व्यवस्था विरोध कदम बन्द गरौं, राष्ट्रिय एकता जिन्दावाद लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए । सत्तारुढ दल निकट युवा संघले पनि सरकारको समर्थनमा जुलुस निकालेको छ ।

६. अन्तरजातीय विवाह गरेका कानुनी अड्चनका कारण जोडी अलग्गिए

अन्तरजातीय विवाहका कारण आफूहरु जंगलमा बस्न बाध्य भएको भिडियो पोस्ट गरेर चर्चामा आएका कैलालीका प्रकाश विश्वकर्मा र मालती रावल अलग्गिएका छन् । उनीहरुको अन्तरजातीय प्रेम विवाह यात्रामा उमेरका कारण ब्रेक लागेको हो । विवाह गर्नका लागि २० वर्ष उमेर पुगेको हुनुपर्ने कानुनी प्रावधान रहे पनि प्रकाश १९ वर्ष र मालती १८ वर्षमात्र रहेका कारण उनीहरु तत्कालका लागि अलग्गिएका हुन् । परिवारले दुवैलाई आ–आफ्नो परिवारको जिम्मा लगाएको छ ।

७. थ्री नेसन्स कप उपाधि विजेता नेपाली फुटबल टोली पुरस्कृत

थ्री नेसन्स कपको उपाधि विजेता नेपाली राष्ट्रिय टोली पुरस्कृत भएको छ । सरकारले उपाधि विजेता नेपाली फुटबल टोलीलाई आइतबार नगदसहित पुरस्कृत गरेको हो । गत चैत १६ गते घरेलु मैदानमा भएको फाइनल खेलमा नेपालले बंगलादेशलाई २–१ ले पराजित गर्दै उपाधि हासिल गरेको थियो ।

८. सेयर बजारमा हरियाली, एकैदिन ७३.३३ अंकको वृद्धि

आइतबार नेप्से परिसूचकमा ७३.३३ अंकको वृद्धि आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार साताको पहिलो दिन नेप्से परिसूचक २ हजार ८९८.४३ बिन्दुमा पुगेको छ ।

९. र, यो पनि

गण्डकी प्रदेश सरकारमा लामो समय विनाविभागीय हैसियतमा रहेका दुई मन्त्रीले आइतबार विभागीय जिम्मेवारी पाएका छन् । मन्त्री राजीव गुरुङ (दिपक मनाङे)लाई खेलकुद मन्त्री र हरिशरण आचार्यलाई ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको हो ।

नागरिक अभियानका २६ अभियन्ता पक्राउ परेका छन् । सिंहदरबार अगाडि धर्ना दिने क्रममा नारायण वाग्ले, युग पाठकसहितका २६ अभियन्ता पक्राउ परेका हुन् ।


बागमती प्रदेशका विपक्षी गठबन्धनले उठाएका प्रश्नमाथि मुख्यमन्त्री डोरमणि पौडेलले जवाफ दिएसँगै आइतबार बागमती प्रदेशसभाको बैठक सुचारु भएको छ । बजेटसँग सम्बन्धित विभिन्न विषय संशोधनको माग गर्दै विपक्षी गठबन्धनले प्रदेशसभा अवरुद्ध गर्दै आएको थियो ।

गण्डकी प्रदेश सरकारले सबै क्षेत्रका आर्थिक सूचकांकलाई समेटेर श्वेतपत्र जारी गरेको छ । ८५ बुँदे श्वेतपत्रमा गण्डकी प्रदेश सरकारसँग रहेको आर्थिक मौज्दात लगायत आर्थिक अवस्था चित्रण गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप