शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

यूरो कप फाइनल प्रिभ्यू : इङ्गल्यान्डसँग ठूला प्रतियोगितामा हारेको छैन इटाली

तर वेम्बली रङ्गशालामा पछिल्ला १७ खेलमध्ये एकमात्रै खेलमा इङ्गल्यान्ड पराजित
आइतबार, २७ असार २०७८, १७ : ११
आइतबार, २७ असार २०७८

ठुला नकआउट प्रतियोगिताको फाइनलमा सधैँ दुई उत्कृष्ट टोलीको भेट हुन्छ भन्ने ग्यारेन्टी हुँदैन । तर, आज मध्यरात नेपाली समयअनुसार १२:४५ मा इटाली र इङ्गल्यान्ड भिड्दै छन्, जो हरेक हिसाबले यस प्रतियोगिताका उत्कृष्ट टिम हुन् । 

यी दुवै टिम अपराजित रहँदै फाइनलसम्म आइपुगेका हुन् । इटाली पछिल्ला ३३ खेलदेखि अपराजित छ । अब दुई खेल जित्न सके उसले सर्वाधिक धेरै खेलसम्म अपराजित रहने ब्राजिल र स्पेनको कीर्तिमान बराबरी गर्नेछ । जारी प्रतियोगितामा इटालीले अहिलेसम्म सबै ६ खेल जित्यो, उसले समूह चरणमा टर्की र स्विट्जरल्यान्डलाई समान ३–० तथा वेल्सलाई १–० ले हराएको थियो । 

अन्तिम १६ मा अस्ट्रियालाई अतिरिक्त समयमा २–१, क्वाटर फाइनलमा बेल्जियमलाई २–१ र सेमिफाइनलमा स्पेनलाई टाई ब्रेकरमा ४–२ ले हराएर इटाली फाइनलमा आइपुगेको हो ।

यता, इङ्गल्यान्डले सुरुवाती खेलमा क्रोयशियाविरुद्ध प्रतिस्पर्धात्मक १–० को जित निकाल्यो । दोस्रो खेलमा स्कटल्यान्डसँग गोलरहित बराबरी खेलेको इङ्गल्यान्ड समूह चरणको अन्तिम खेलमा चेक गणतन्त्रलाई १–० ले हराएको  थियो । अन्तिम १६ मा जर्मनीलाई इङ्गल्यान्ड २–० ले हरायो । त्यस्तै, क्वार्टर फाइनलमा युक्रेनविरुद्ध ४–० को जित निकाल्यो । 

डार्क हर्स मानिएको डेनमार्कलाई सेमिफाइनलमा २–१ ले हराउँदै इङ्गल्यान्ड फाइनल आइपुगेको हो । 

साउथगेट भर्सेस मान्चिनी

आजको भिडन्त इङ्लिस प्रिमियर लिगका दुई पूर्व प्रशिक्षकहरुका कारण पनि चर्चामा छ । १२ वर्षअघि आफ्नो प्रशिक्षणमा रहेको मिडिल्सब्रो इङ्लिस प्रिमियर लिगबाट रेलिगेसनमा परेपछि ग्यारेथ साउथगेटले राजीनामा गरेका थिए, त्यसपछि उनी चार वर्ष प्रशिक्षण करियरबाट टाढा रहे । यो त्यही अवधि थियो, जतिबेला इङल्यान्डमा म्यानचेस्टर सिटीको जगजगी थियो । मान्चिनीको प्रशिक्षणमा यस क्लबले एफए कप र लिग उपाधि जितेको थियो । 

​सिटी छाडेपछि मान्चिनीले गालातासारेलाई टर्किस कप जिताए । यता, २०१३ देखि इङ्गल्यान्डको यु–२१ टिम सम्हालेका साउथगेट २०१६ यता सिनियर टिमको प्रशिक्षक छन् । 

खेलाडीका रूपमा पनि यी दुवै चर्चित थिए । तर, दुवैले ठूला प्रतियोगिता जित्न सकेनन् । मान्चिनीले इटालीको जर्सीमा १९८८ को युरोकपको सेमिफाइनल र साउथगेटले इङ्लिस टिमबाट १९९६ को सेमिफाइनल खेलेका थिए । 

युरो २०२० मा यी दुवै प्रशिक्षकको रणनीति सफल देखिएको छ । इङ्गल्यान्ड यसपटक रक्षापंक्तीमा जोड दिएको छ, उसले ६ खेलमा केवल १ गोल खाएको छ । पारम्परिक रुपमै रक्षात्मक खेल्ने इटालीको  रक्षापंक्ती सुदृढ हुने नै भइहाल्यो । तर, यसपटक मान्चिनीले विपक्षी टोलीको मिडफिल्ड र रक्षापंक्तीमा कडा चुनौती पेस गर्ने रणनीति अख्तियार गरेका छन् । 

इङ्गल्यान्ड ५५ वर्षपछि कुनै पनि ठुलो प्रतियोगिताको फाइनलमा पुगेको हो, यसअघि १९६६ मा उसले विश्वकपको फाइनल जितेको थियो । यता, चारपटकको विश्वविजेता तथा १९६८ को युरो विजेता इटाली सन् २००० र २०१२ मा उपाधि नजिक पुगेर हारेको छ ।  सन् २००० मा फ्रान्स र २०१२ मा स्पेनले उसलाई फाइनलमा हराएका थिए । 

इटालीको टोली कस्तो ?

बेल्जियमविरुद्धको खेलमा चोट लागेकाले लियोनार्दो स्पिनाज्जोला आजको खेलमा मैदान उत्रन पाउनेछैनन् । उनीबाहेक इटालीको टोलीमा फिटनेसलाई लिएर चिन्ता छैन । प्रशिक्षक मान्चिनीले आजको खेलमा पनि यसअघिझै ४–३–३ को सेटअप नै उतार्ने अपेक्षा गर्न सकिन्छ । 

इटालीका गोलकिपर गियानलुईगी डोनारुम्माले जारी प्रतियोगितामै इतिहास बनाइसकेका छन् । अस्ट्रियाविरुद्धको खेलमा गोल खानुअघि उनले अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक ११ सय ६८ मिनेटसम्म गोल नखाने कीर्तिमान बनाएका थिए । डिफेन्समा लियोनार्दो बुनुची र कप्तान जर्जियो किएलिनीजस्ता विश्वस्तरीय खेलाडी इटालीसँग छन् । जियोभानी डि लोरेन्जोले राईट ब्याक, इमर्सन पाल्मिइरीले ल्फेट ब्याकका रूपमा खेल्नेछन् । 

जर्जिन्हो, निकोलो बरेल्ला र मार्को भेराट्टीले इटालीको मिडफिल्ड सम्हाल्नेछन् । क्वाटरफाइनल र सेमिफाइनल भिडन्तमा फेडरिको चिएसाले अग्रपंक्तीबाट खेलेका थिए, राईट विंगर चिएसाले स्पेनविरुद्ध गोल पनि गरे । उनको विकल्पमा डोमिनिको बेरार्डीले पनि खेल्नसक्छन् । लेफ्ट विङमा लोरेन्जो इन्सिग्ने हुनेछन् । जसले इङ्लिस डिफेन्डरहरुसामु खतरा सिर्जना गर्नसक्छन् । 

सेन्टर फरवार्डका रूपमा सम्भवतः सिरो इम्मोबिले हुनेछन् । तर, मान्चिनीले इन्सिग्नेलाई फल्स नाईनका रूपमा खेलाउने सम्भावना पनि छ । 

इङ्गल्यान्ड टोली 

फाइनलको पूर्व सन्ध्यामा अभ्यासका दौरान फिल फोडेन घाइते भएका छन्, म्यानचेस्टर सिटीका यी स्टार ठिक हुन्छन् वा हुँदैनन् भन्ने हेर्न बाँकी छ । यदि फोडेन मैदान उत्रन नसक्ने भए भने पनि साउथगेटसँग आक्रमणमा धेरै विकल्पहरू छन् । यी प्रशिक्षकले प्रतियोगितामा ४–२–३–१ को रणनीतिमा टोली उतारेका छन् । 

जोडर्न पिकफोर्डले गोलपोस्ट सम्हाल्नेछन् । जोन्स स्टोन्स र ह्यारी म्याग्वायर रक्षापंक्तीमा हुनेछन् । 

कायल वाल्कर राईट ब्याकका रूपमा पहिलो रोजाईमा छन् । त्यसैगरी लेफ्टमा लुक श हुनेछन् । म्यानचेस्टर सिटीका यी स्टार निकै फर्ममा छन् र इङ्गल्यान्डका लागि धेरै अवसर सिर्जना गर्नेमध्ये उनी एक हुन् । मिडफिल्डमा डेक्लान राईस र केल्भिन फिलिप्स साउथगेटको पहिलो रोजाईमा हुनेछन् । 

मासोन माउन्ट जर्सी नम्बर १० का रूपमा ह्यारी केनभन्दा ठिक पछाडि हुनेछन् । लेफ्ट विङ्समा राहिम स्ट्रलिङ र कप्तान ह्यारी केन फल्स नाईनका रूपमा सेन्टर फरवार्ड रहने पक्का छ । राईट विङ्समा जाडन सान्चो वा बुकाया साकामध्ये कसले अवसर पाउँछन् भन्ने हेर्न बाँकी छ । यी दुवै खेलाडी निकै उत्कृष्ट मानिन्छन्, यद्यपि डेनमार्कविरुद्ध उत्कृष्ट खेलेकाले साकाले अवसर पाउने सम्भावना धेरै देखिन्छ । 

सम्भावित टोली

इटाली सम्भावित ११ (४–३–३) : गियानलुईगी डोनारुम्मा, लियोनार्दो बुनुची, जर्जियो किएलीनी, जियोभानी डि लोरेन्जो, इमर्सन पाल्मिइरी, जर्जिन्हो, निकोलो बरेल्ला, मार्को भेराट्टी, फेडरिको चिसा, लोरेन्जो इन्सिग्ने, सिरो इम्मोबिले 

इङ्गल्यान्ड सम्भावित ११ (४–२–३–१) : जोडर्न पिकफोर्ड, जोन्स स्टोन्स, ह्यारी म्याग्वायर, केल वाल्कर , लुक श, डेक्लान राईस, केल्भिन फिलिप्स, मेसन माउन्ट , रहिम स्ट्रलिङ, बुकाया साका, ह्यारी केन ।

केही तथ्य :

   – इङ्गल्यान्ड र इटाली २८ औं पटक अन्तर्राष्ट्रिय फुटबलमा भिड्न लागेका हुन् । अहिलेसम्मका २७ खेलमध्ये इटालीले ११ खेल जितेको छ । इङ्गल्यान्ड ८ पटक जितेको छ भने ८ खेल बराबरीमै टुङ्गिएको छ । 

– इटालीले ठुला प्रतियोगिताको फाइनल खेल्न लागेको यो दसौँ पटक हो । ६ पटक विश्वकपको फाइनल खेलेर उसले चार पटक उपाधि जितेको छ । युरोकपमा इटालीले यसअघि तीनपटक फाइनलमा स्थान बनाएको थियो । १९६८ मा उसले उपाधि जितेको थियो, २००० र २०१२ मा पराजित भयो । 

– युरोपको फाइनलमा इङ्गल्यान्ड स्थान बनाएको यो पहिलो पटक हो । १९६६ को विश्वकपपछि इङ्गल्यान्ड कुनै पनि ठुला प्रतियोगिताको फाइनलमा स्थान बनाएको यो पहिलो पटक नै हो । 

– – इटालीले कहिल्यै पनि ठुला प्रतियोगितामा इङ्गल्यान्ड हारेको छैन । अहिलेसम्म ठुला प्रतियोगितामा चार पटक यी दुई टोली आमने–सामने भएका छन् । युरो १९८० मा इटाली १–० ले विजयी भएको थियो । १९९० र २०१४ को विश्वकपमा समान २–१ स्कोरले विजयी भयो । युरो २०१२ मा गोलरहित बराबरीपछि पेनाल्टीबाट विजेताको छिनोफानो भएको थियो, जहाँ इटाली ४–२ ले विजयी भयो । 

– इङ्गल्यान्ड वेम्बली रङ्गशालामा पछिल्ला १७ खेलमध्ये एक खेलमात्रै हारेको छ । १५ खेल जितेको छ भने एक खेल बराबरी गरेको छ ।  उनीहरु सबै खाले प्रतियोगितामा गरेर पछिल्ला १२ खेलमा अपराजित छन् । ११ खेल जितेका छन् भने एक खेल बराबरी खेलेका छन् । 

हेर्नलायक खेलाडी 

जर्जियो किएलिनी : 

२०१२ मा इटालीले युरोकपको फाइनलमा स्थान बनाउँदा जर्जियो किएलिनी पनि टोलीमा थिए ।  त्यतिबेला फाइनल खेलेका खेलाडीमध्ये अहिले किएलिनी र लियोनार्दो बुनुचीमात्रै फाइनलमा हुनेछन् । किएलिनीसँग त्यतिबेलाको नमिठो अनुभव पनि छ, उनी फाइनलमा घाइते भएका थिए ।  विगतको तितो बिर्सेर यसपटकको फाइनललाई मिठासपूर्ण बनाउने किएलिनीको योजना छ । ३६ वर्षका किएलिनीको नेतृत्वमा रहेको इटाली २०१८ सेप्टेम्बरदेखि अपराजित छ । क्वाटर फाइनलमा रोमेलु लुकाकुजस्ता तिव्र गतिका फरवार्डलाई रोक्दै उनले बढ्दो उमेरमा पनि आफु उत्कृष्ट रहेको प्रमाणित गरेका छन्, अबको लक्ष्य ह्यारी केनलाई रोक्नु हो । उनलाई रोक्नु भनेको इटालीले आधा युद्ध जित्नु बराबर हो । 

ह्यारी केन : 

अर्का, हेर्नलायक खेलाडी ह्यारी केन हुन् र उनी पनि कप्तान नै हुन् । त्यहीकारण फाइनलमा दुई विपक्षी कप्तानहरुमध्ये रोक्ने र उछिन्ने प्रतिस्पर्धा चल्नेछ । विना दुविधा रहिम स्ट्रलिङ निकै उत्कृष्ट लयमा छन् । तर, प्रतियोगिताको सुरुवातमा राम्रो खेल्न नसकेको भन्दै आलोचना सहेका केनले पछिल्लो समय प्रशंसनीय खेलेका छन् । 

नकआउट चरणका तीन खेलमा उनले चार गोल गरिसकेका छन् । यसमध्ये डेनमार्कविरुद्ध उनले खेलको निर्णायक गोल गरेका थिए । आज उनले अझै ठुलो परीक्षण दिनुपर्नेछ । दुई परिपक्व डिफेन्डर लियोनार्दो बुनुची र किएलिनीलाई छक्याएर गोल गर्न सहज पक्कै छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप