बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

विदेशबाट मोबाइल ल्याउन गरिएको कडाइ तत्काल कार्यान्वयन नहुने, प्रधानमन्त्रीले लिए एक्सन

शुक्रबार, १५ पुस २०७९, २१ : ४२
शुक्रबार, १५ पुस २०७९

आज मिति २०७९ साल पुस महिनाको १५ गते शुक्रबार । आज दिनभर भएका मुख्य-मुख्य घटनाक्रमलाई रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा प्रस्तुत गरिएको छ–

१. विदेशबाट मोबाइल ल्याउन कडाइ नहुने

मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम (एमडीएमएस) प्रणाली तत्काल लागू नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएका छन् ।  नेपाल दूरसञ्चार प्राधिकरण सोतका अनुसार प्रधानमन्त्री कार्यालयबाट एमडीएमएस प्रणाली लागू नगर्न निर्देशन आएको छ । यससँगै विदेशबाट मोबाइल ल्याउन तत्काल कडाइ नहुने भएको छ ।

 नेपाल दूरसञ्चार प्राधिकरणले पुष १५ गते शुक्रबारदेखि पूर्णरुपमा एमडीएमएस प्रणाली लागू गर्ने योजना बनाएको थियो । नेपालको भन्सार कार्यालयमा दर्ता नभएका मोबाइल चलाउन नपाउने गरी एमडीएमएस प्रणाली लागू हुन लागेपछि यसको व्यापक विरोध भएको थियो । विदेशमा काम गरेर फर्किएकाहरुले आफ्ना परिवारका सदस्यका लागि नेपाल ल्याएका मोबाइलको पनि कर र भन्सार महसुल तिर्नैपर्ने गरी एमडीएमएस प्रणाली सुरु हुन लागेपछि यसको व्यापक विरोध भएको थियो ।

जनस्तरबाट व्यापक विरोध र विदेशबाट नो रेमिटेन्सको ह्यासट्याग अभियान नै सुरु भएपछि प्रधानमन्त्री दाहालले तत्कालका लागि एमडीएमएस प्रणाली लागू नगर्न प्राधिकरणलाई निर्देशन दिएका हुन् ।  प्रधानमन्त्री कार्यालयबाट निर्देशन आएलगत्तै प्राधिकरणले तत्कालका लागि एमडीएमएस प्रणाली कार्यान्वयन रोक लगाएको छ ।

​२. ल्होसार मनाइयो

प्रधानमन्त्री प्रचण्डले तमू समूदायको गौरवशाली परम्परालाई सरकारले उच्च सम्मान गर्ने बताएका छन् । तमू ल्होसारको अवसर पारेर शुक्रबार काठमाडौंको टुँडिखेलमा आयोजित विशेष समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले सो कुरा बताएका हुन् ।  तमू ल्होसार आज देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

​३. शिक्षकलाई तलबको समस्या

महिना बितेपछि तलब नपाउने गरेको शिक्षकहरूले गुनासो गरेका छन् । उनीहरूले नियमित तलब पाउनुपर्ने माग गरेका हुन् । हाल शिक्षकहरूले तीन–तीन महिनाको अन्तरालमा मात्रै तलब पाउने गरेका छन् ।

​४. राजनीतिक संयन्त्र किन ?

तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा नेतृत्वको सरकारका प्रधानमन्त्री थिए, हालका एमाले अध्यक्ष केपी शर्मा ओली । पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवैमा एकै व्यक्ति हुँदा सरकारका काम कारबाही चुस्तदुरुस्त हुन नसक्ने भन्दै त्यसबेला नेकपाका अर्का अध्यक्ष समेत रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउन प्रस्ताव गरे ।

तर, त्यसबेला प्रचण्डले गरेको उक्त प्रस्तावलाई प्रधानमन्त्री रहेका ओलीले कुनै चासो देखाएनन् । त्यसबेला प्रचण्डको संयन्त्र निर्माणको प्रस्तावलाई ओलीले चासो नदेखाएका मात्रै होइनन् बरु प्रचण्डले ‘समानान्तर’ सरकार चलाउन खोजेको भन्दै सार्वजनिक रुपमै असन्तुष्टि पोखेका थिए । तीन वर्षअघि संयन्त्रप्रति ‘अरुचि’ राख्ने उनै ओली अहिले यूटर्न हुँदै प्रचण्डकै प्रस्तावमा उच्चस्तरीय संयन्त्रको संयोजक बनेका छन् ।

​५. साताको सेयर बजार

सेयर बजारका लागि यो साता निकै उल्लासमय देखिएको छ । सोमबारदेखि बिहीबारसम्म जम्मा ४ दिन मात्र खुलेको बजारमा नेप्से सूचक १६१ अंकले बड्दै २०३० को हारहारीमा पुगेको छ भने १० अर्ब ८३ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।

कोरियन भाषा परीक्षा (ईपीएस) मार्फत दक्षिण कोरिया जाने कामदारहरूको भिसा शुल्क बढेको छ । नेपालस्थित कोरियन राजदूतावासले १ जनवरी २०२३ देखि लागू हुने गरी भिसा शुल्क बढाएको हो ।  अहिलेसम्म दूतावासले ७ हजार २०० रूपैयाँ भिसा शुल्क लिने गरेको छ । अबदेखि उक्त शुल्कमा ६०० रूपैयाँ बृद्धि गरी ७ हजार ८०० पुर्याइएको हो ।

​सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले सहकारी संघ संस्थाहरूले घरजग्गा, गाडी तथा यस्तै अनुत्पादक क्षेत्रमा लगानी बढाउँदा समस्या आएको बताएका छन् । 

​६. खेलकूदका बेथिति

बाँके जिल्ला भलिबल संघको आयोजनामा नेपालगन्जमा भएको आठौं संस्करणको प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताको पुरस्कार एक वर्ष बित्दा पनि खेलाडीले पाएका छैनन् । प्रतियोगिता गत वर्ष फागुन २१ देखि २५ गतेसम्म आयोजना भएको थियो ।

उक्त प्रतियोगिताको पुरस्कार अहिलेसम्म नपाएको खेलाडीहरूले बताएका छन् । प्रतियोगिताको उपाधि भारतको हरियाणा स्पोर्ट्स क्लबले जितेको थियो ।

​थप समाचार

​७. प्रहरी हेडक्वार्टरमा रवि

उप–प्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रहरी प्रधान कार्यालयको निरीक्षण गरेका छन् । नक्सालस्थित प्रहरी प्रधान कार्यालय निरीक्षण गर्दै लामिछानेले प्रहरी कर्मचारीका लागी सेवा सुविधा बढाउन आफू लागिपर्ने बताए । करिब २० मिनेट लिखित भाषण गरेका लामिछानेले प्रहरी अधिकृतहरूलाई नेताका घरमा धाएर सरुवा नहुने चेतावनी दिएका छन् । ‘सरुवा बढुवाका लागि नयाँ कार्यविधि बन्छ’ गृहमन्त्रीले भने–‘अब नेताका घरमा धाएर सरुवा हुँदैन ।’

​८. ओली र प्रचण्डबीच भेटवार्ता

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेका अध्यक्ष केसी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सरकारको साझा न्यूनतम् कार्यक्रम, मन्त्रिपरिषद विस्तार लगायतका विषयमा छलफल प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

​एमालेले एकीकृत समाजवादी पुरानै घरमा फर्काउन पहल भइरहेको बेला एमालेका एक नेताले यसको खण्डन गरेका छन् ।  एमाले नेता प्रदीप ज्ञवालीले ‘अहिले चलिरहेको छलफल सरकारको समर्थनको दायरा विस्तार गर्नमा सीमित’ रहेको बताएका हुन् । ‘त्यसभन्दा बाहिर चलेका चर्चा अनुमान,अतिरञ्जना र हल्ला मात्र हुन्,’ उनले फेसबुकमा लेखेका छन् ।

९. माओवादीमा वरीयताको लफडा

नेकपा माओवादी केन्द्रबाट सरकारमा सहभागी हुने मन्त्रीको वरियतामा लफडा भएको छ । प्रधानमन्त्री प्रचण्डले  विष्णु पौडेललाई उपप्रधानसहित अर्थ मन्त्रीको जिम्मेवारी दिएर पहिलो वरियतामा राखेपछि अर्का उपप्रधानसहित भौतिक मन्त्रीको जिम्मेवारी सम्हालेका नारायणकाजी श्रेष्ठले असन्तुष्टि जनाएका छन् ।

​१०. यो पनि...

रौतहट क्षेत्र नम्बर २ का सांसद किरण साहलाई चुनाव जिताउन सहयोग गर्नेहरू यतिबेला उनीसँग रुष्ट भएका छन् । ‘स्वतन्त्र जिताउ अभियान’का पदाधिकारीहरू सांसद किरण साहले प्रभु साहको साथ छाडेपछि रुष्ट भएका हुन् ।

सुदूरपश्चिम प्रदेश सभाका नवनिर्वाचित प्रदेश सभा सदस्यहरूले शुक्रवार पद तथा गोपनीयको शपथ ग्रहण गरेका छन् । त्यसअघि  प्रदेश सभाका ज्येष्ठ सदस्य मानबहादुर रावलले प्रदेश प्रमुख देवराज जोशीबाट शपथ ग्रहण गरेका थिए ।

​नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको बैठक भोलिसम्मका लागि स्थगित भएको छ । संसदीय दलको नेता चयनका बारेमा निर्णय गर्न शुक्रबार काठमाडौंमा बसेको बैठक निष्कर्षमा पुग्न नसकेपछि शनिबारसम्मका लागि  स्थगित भएको हो ।

मधेश प्रदेशसभाका नवनिर्वाचित सदस्यले शुक्रबार पद तथा गोपनीयताको सपथ लिएका छन् । मधेश प्रदेशसभा भवनमा आज आयोजित एक समारोहमा ज्येष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेसमक्ष उनीहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

​सङ्घीय राजधानी काठमाडौँलाई चीनसँग जोड्ने काठमाडौँ–केरुङ रेलमार्गको विस्तृत अध्ययनको काम अघि बढेको छ । गत सोमबार काठमाडौँ आइपुगेको चिनियाँ टोलीले काम सुरु गरेको रेल विभागले जनाएको छ ।  चीन सरकारको सहयोगमा गर्न लागिएको अध्ययनका लागि यसअघि नै सम्झौता भइसकेको छ ।

​नागरिक उन्मुक्ति पार्टीले टीकापुर घटनासम्बन्धी मुद्दा खारेजीलगायत मागअघि सार्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई स्मरण पत्र बुझाएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटेर शुक्रबार सो पार्टीले पाँच बुँदे मागसहित नागरिक स्मरण पत्र बुझाएको हो ।

​थप समाचार




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप